नेपालले टोखा-छहरे सुरूङ मार्ग अनुदानमा बनाइदिन चीन सरकारलाई प्रस्ताव गरेको छ।
मंगलबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका प्रधानमन्त्री ली छ्याङको उपस्थितिमा नेपालको प्रस्तावसम्बन्धी पत्र चीनले स्वीकार गरेको हो।
‘गत भदौ पहिलो साता चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसनका प्रतिनिधि नेपाल आएका बेला अर्थ मन्त्रालयले टोखा-छहरे सुरूङमार्ग अनुदान सहायतामा बनाइदेऊ भनेका थियौं,’ स्रोतले भन्यो,‘अहिले त्यो पत्र चीनलाई दिएका हौं।’
मंगलबार बिहान नेपाल र चीनबीच काठमाडौंको टोखा र नुवाकोटको छहरे सुरूङ मार्ग परियोजना निर्माणसम्बन्धी पत्र आदानप्रदान भएको हो।
यसअघि २०७६ सालमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आएका बेला यो परियोजना अघि बढाउने विषयमा दुई पक्षीय सहमति भएको थियो।
त्यतिबेला चीनले सम्भाव्यता अध्ययन गरिदिने प्रतिवद्धता गरेको थियो।
भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरूका अनुसार चीनले पूर्वसम्भाव्यता अध्ययन गरेको छ।
जसअनुसार चीनले तीन वटा वैकल्पिक लम्बाइको सुझाव दिएको थियो।
यसपछिका क्रममा भने यो परियोजनाको काम भएको छैन। नेपाल र चीन बीच यो आयोजनाको विस्तृत अध्ययन गर्ने विषयमा कुन काम पहिले गर्ने भन्ने विषयमा असहमति देखिएको थियो।
चीनले आफ्नो सरकारको कार्यविधिअनुसार आयोजनाको विस्तृत परियोजना अध्ययन (डिपिआर) तयार गर्नु पहिले वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने बताएको थियो।
तर नेपाल सरकार वन मन्त्रालयले भने डिपिआर गरेपछि मात्रै वातावरणीय प्रभाव मूल्याङ्कन गर्न सकिने भन्दै पहिले डिपिआर हुने पुनः बताएको थियो।
वातावरणीय संरक्षण ऐनमा पनि यही व्यवस्था गरिएको छ। तर, नेपालले यो अडान राखेपछि थप काम अघि बढ्न नसकेपछि वातावरणीय प्रभाव मूल्यांकनको कारणले काम नरोकिने भन्दै चिनियाँ पक्षलाई पत्र पठाइएको थियो।
'प्रचण्ड सरकारको पालामा यो परियोजना अघि बढाउन प्रयास गरिएको थियो। त्यति बेलाका अर्थमन्त्री (प्रकाशरण महत) ले पनि निकै चासो राख्नु भएको थियो,' भौतिक मन्त्रालयका एक अधिकारीले भने, 'वन मन्त्रालयको तर्फबाट पनि त्यतिबेला पत्र पठाइएको थियो।'
चिनियाँ पक्षले अध्ययन गर्ने भनिए पनि तत्कालीन अर्थमन्त्री प्रकाशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेटमा यो वातावरणीय प्रभाव मूल्याङ्कनको काम गर्न र डिपिआर गर्न भन्दै एक अर्ब बजेट विनियोजन गरेका थिए। तर यो बजेट खर्च भने भएन।
यद्यपि नेपाल पक्षले यो आयोजनाको लागि विशेष चासो दिँदै आएको छ।
अघिल्ला अर्थमन्त्री वर्षमान पुनले पनि चिनियाँ राजदुतलाई भेटेर आयोजनाको विषयमा छलफल गरेका थिए।
विस्तृत आयोजना प्रतिवेदन नबनेसम्म यसको लागत कति लाग्छ लगायतका विषयमा भन्न सकिने अवस्था नरहेको भौतिक मन्त्रालयका अधिकारीहरू बताउँछन्।
तर, तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले सार्वजनिक कार्यक्रमहरूमा ५० अर्ब रूपैयाँ लागत लाग्ने अनुमान गरिएको बताएका थिए।
नेपाल–चीनको व्यापारिक नाका रसुवागढी हुँदै राजधानी काठमाडौं आउजाउ गर्न सबैभन्दा छोटो दुरीमा पर्ने नुवाकोटको सडकलाई सुरूङ मार्गमार्फत् काठमाडौंमा जोड्नस के दुई देशीय व्यापारको ढुवानीमा अहिलेको भन्दा आधा खर्च कम गर्न सकिने बताइएको छ।
यी पनि: