अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना छोरा हन्टर बाइडेनलाई पूर्ण र निःशर्त आम माफी दिएका छन्।
बाइडेनले बारम्बार आफ्ना प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले उनका सम्धि लगायत उनीनिकट धेरै जना जेलमा रहेकालाई माफी दिए जस्तो आफूले छोरालाई माफी नदिने बताइरहन्थे। तर अन्ततः उनले हन्टरलाई कर छलेको र बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा माफी दिएका हुन्।
त्यति मात्रै नभएर हन्टरले सन् २०१४ जनवरी १ देखि सन् २०२४ डिसेम्बर १ सम्म अमेरिका विरूद्ध गरेको वा गरेको हुन सक्ने सबैखाले कसुरमा पनि बाइडेनले माफी दिएका छन्।
आममाफी दिने आफ्नो कदमको बचाउ गर्दै बाइडेनले हन्टर आफ्ना छोरा भएकाले मात्रै उनीविरूद्ध मुद्दा चलेको जिकिर गरेका छन्।
'हन्टरको मुद्दाको तथ्य हेरेको कुनै पनि समझदार मान्छे उनी मेरो छोरा भएका कारणले मात्रै निशानामा पारिएका हुन् भन्नेबाहेक निष्कर्षमा पुग्न सक्दैन। र, त्यो गलत हो,' हन्टरलाई माफी दिएपछि एक वक्तव्य निकाल्दै उनले भनेका छन्, 'सत्य कुरा यो हो। म न्यायिक प्रक्रियामा विश्वास गर्छु। तर यसबारे गहिरोसँग सोचेपछि यो पनि विश्वास गर्छु कि यो प्रक्रिया भद्दा राजनीतिले संक्रमित छ। र, यसले मिसक्यारिएज अफ जस्टिस (न्यायको पतन) मा पुर्यायो।'
बाइडेनले छोरालाई माफी दिनु सही हो कि गलत हो भन्नेबारे विवेचना गर्नुअघि हन्टरका मुद्दाबारे चर्चा गरौं।
हन्टरविरूद्ध कर छलेको र बन्दुक किन्दा झुटो विवरण भरेको भन्ने छुट्टाछुट्टै मुद्दा थिए। त्यसमध्ये उनले गत सेप्टेम्बरमा संघीय कर सम्बन्धी मुद्दामा गल्ती गरेको अभियोग स्वीकार गरेका थिए।
हन्टरले कर छलेको र करका लागि झुटो बेहोरा बुझाएको सम्बन्धी लस एन्जलसको संघीय अदालतमा चलिरहेको मुद्दामा सेप्टेम्बर ५ मा एक्कासि नौ वटा कसुर गरेर घटीमा १४ लाख डलर कर नतिरेको स्वीकार गरेका थिए।
सुरूमा उनका वकिलले 'अल्फर्ड प्ली' का लागि कुरा गरेका थिए। सन् १९७० मा सर्वोच्च अदालतमा हेनरी अल्फर्डलाई लागेको ज्यान मुद्दामा उनले आफू निर्दोष रहेको तर मृत्युदण्डबाट जोगिन 'सेकेन्ड डिग्री मर्डर' गरेको स्वीकार गरेका थिए। योजना नबनाई गरिएको नियतवश हत्या र मानव जीवनको वास्ता नगरी चरम लापरवाहीका कारण ज्यान गएमा अमेरिकी न्याय प्रणालीमा त्यसलाई 'सेकेन्ड डिग्री मर्डर' भनिन्छ।
न्यायाधीशले उनको माग स्वीकार गरेर अल्फर्डलाई मृत्युदण्ड नदिएर सेकेन्ड डिग्री मर्डरकै लागि ३० वर्ष सजाय दिएका थिए।
अमेरिकामा विरलै मात्रै प्रयोग हुने 'अल्फर्ड प्ली' दिन न्यायाधीशले माने भने, अभियुक्तले गल्ती स्वीकार गरे पनि उनलाई निर्दोष मानिन्छ।
हन्टरले 'अल्फर्ड प्ली' मागेपछि भने सरकारी वकिलले कडा प्रतिवाद गर्दै उनी दोषी भएको जिकिर गरेका थिए। त्यसको केही बेरपछि हन्टरले अप्रत्याशित रूपमा गल्ती स्वीकार गरेका थिए।
अमेरिकामा सरकारी वकिलसँग सहमति गरेर ठूलो सजायबाट जोगिन थोरै सजाय भएको कसुर स्वीकार गर्ने चलन हुन्छ। तर हन्टरले त्यस्तो सहमति नगरी एकतर्फी रूपमा गल्ती स्वीकार गरेका हुन्।
उनले गल्ती स्वीकार गरेपछि यो मुद्दामा डिसेम्बर १६ मा सजाय निर्धारण हुने थियो। उनले बढीमा १७ वर्ष कैद वा १३ लाख डलरसम्म जरिवानाको सजाय पाउने थिए।
गत जुनमा मात्रै हन्टर बन्दुक किन्दा झुटो विवरण भरेको मुद्दामा दोषी ठहरिएका थिए। त्यसमा पनि सजाय सुनाइएको थिएन। डिसेम्बर १२ मा उनलाई सजाय दिन सुनुवाइ हुने थियो। उनलाई त्यसका लागि छुट्टै २५ वर्षसम्मको जेल सजाय हुन सक्थ्यो।
हन्टर दुर्व्यसनी भएको समयमा करसम्बन्धी उनले गरेका दुई सामान्य कसुर स्वीकार गरेमा, करसम्बन्धी अरू कसुर र बन्दुक मामिलाको मुद्दा नचलाउने भनेर उनका वकिल र राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले नियुक्त गरेका संघीय सरकारी वकिल डेभिड वेसबीच कुरा मिलिसकेको थियो।
तर ट्रम्प राष्ट्रपति हुँदा उनले नियुक्त गरेकी न्यायाधीश म्यारिएलेन नोराइकाले सो लेनदेन रोकेकी थिइन्। त्यसपछि बन्दुकसम्बन्धी र करसम्बन्धी छुट्टाछुट्टै मुद्दा चले। बन्दुक सम्बन्धी मुद्दामा हन्टर दोषी ठहरिइसकेका थिए भने करसम्बन्धी मुद्दामा उनले गल्ती स्वीकार गरेका थिए।
बन्दुक सम्बन्धी मुद्दाको सुनुवाइ क्रममा हन्टरले परिवारका सदस्यले लामो समयसम्म बेइज्जती र दुःख बेहोर्नुपरेकाले फेरि त्यस्तो नहोस् भनेर गल्ती स्वीकार गरेको भनेका थिए।
अमेरिकामा संघीय मुद्दामा सजाय पाएकालाई राष्ट्रपतिले आममाफी दिन सक्छन्। तर जो बाइडेनले बन्दुककै मुद्दा चल्दा पनि आफ्ना छोरालाई माफी नदिने भनेका थिए। करसम्बन्धी मुद्दामा हन्टरले गल्ती स्वीकार गरिसकेपछि पनि बाइडेनले माफी नदिइने दोहोर्याएका थिए।
कर छलेको गम्भीर अभियोग हन्टरले स्वीकार नै गरिसकेका छन्। तर बन्दुक सम्बन्धी मुद्दा सामान्य खालको थियो र त्यो मुद्दा उनी अमेरिकी राष्ट्रपतिका छोरा भएका कारणले मात्रै लगाइएको देखिन्थ्यो। यस अर्थमा माफी दिँदा गरेको तर्क सही देखिन्छ।
डेलावेयरको संघीय अदालतमा हालिएको बन्दुक सम्बन्धी मुद्दामा १२ जना जुरी सदस्यले सर्वसम्मत रूपमा जुनमा हन्टरलाई तीन कसुरमा दोषी ठहर गरेका थिए। उनीमाथि सन् २०१८ मा बन्दुक किन्दा संघीय फारममा ढाँटेको, लाइसेन्स प्राप्त संघीय बन्दुक डिलरलाई ढाँटेको र ११ दिन गैरकानुनी रूपमा बन्दुक राखेको तीन अभियोग थिए। यी तीनै अभियोगमा उनी दोषी पाइएका थिए।
सन् १९६८ को बन्दुक नियन्त्रण सम्बन्धी संघीय ऐनले अपराधी, लागुपदार्थ दुर्व्यसनी र मानसिक अशक्तता भएकालाई बन्दुक राख्न दिँदैन। हन्टरले सो ‘ह्यान्डगन’ (एकै हातले चलाउन मिल्ने बन्दुक) किन्दा उनी क्र्याक-कोकिन (बालेर धुँवा लिने कोकिन) को लतमा भएको पुष्टि भएको छ। तर उनले बन्दुक किन्न भरेको विवरणमा आफू लागुपदार्थ दुर्व्यसनी भएको कुरा लुकाएका थिए।
बन्दुक किनेको ११ औं दिनमा हन्टरकी भाउजू (सन् २०१५ मा मृत्यु भएका बो बाइडेनकी श्रीमती) ह्यालीले सो बन्दुक हन्टरको गाडीमा भेटेकी थिइन्। कोकिनको लतमा रहेका हन्टरले गोली हानी आत्महत्या गर्न सक्ने डरले ह्यालीले उक्त बन्दुक नजिकैको सुपरमार्केटमा रहेको फोहोर फाल्ने भाँडोमा फ्याँकेकी थिइन्। त्यति बेला हन्टर र ह्यालीको 'अफेयर' चलिरहेको थियो।
द न्यूयोर्करका अनुसार बन्दुक फ्याँकेको हन्टरले थाहा पाएपछि ह्याली त्यो फिर्ता ल्याउन फेरि सुपरमार्केट गएकी थिइन्। तर फोहोरमा सामान खोज्ने एक ८० वर्षीय मानिसले बन्दुक लगिसकेका थिए। हन्टरले दबाब दिएपछि ह्यालीले बन्दुक हराएको भनेर पुलिस रिपोर्ट दिएकी थिइन्।
अभियोजनकर्ताले यो मुद्दामा ह्याली, हन्टरकी पूर्वपत्नी, पूर्वप्रेमिका लगायतलाई साक्षीका रूपमा पेस गरेका थिए। हन्टरका वकिलले भने बन्दुक किन्न फारम भरेका बेला हन्टरले लागुपदार्थ सेवन नगरेको र सो फारमलाई साँघुरो रूपमा बुझेको दलिल दिए। तर येल विश्वविद्यालयबाट कानुन पढेर सरकारी वकिलको जागिर समेत खाइसकेका हन्टरलाई त्यो फारमको अर्थ थाहा नभएको भन्ने कुरा जुरी सदस्यले मानेका थिएनन्।
यसरी नागरिकले बन्दुक राख्न पाउने व्यापक अधिकार भएको अमेरिकामा हन्टरले बन्दुक किन्दा ढाँटेको अभियोगमा उनी राष्ट्रपतिका छोरा भएकै कारणले उनलाई फौजदारी अभियोग लगाइएको थियो। जबकि उनले न त्यो बन्दुक पड्काएका थिए, न देखाएर कुनै अपराध गरेका थिए। किनेको ११ दिनपछि नै त्यो बन्दुक फोहोरको भाँडोमा फालेपछि हराएको थियो।
त्यसमा अधिकतम २५ वर्षसम्मको कैद सजाय हुन सक्ने थियो। तर उनको आपराधिक विगत नभएकाले कैद सजाय नहुन सक्ने पनि अनुमान थियो।
करछलीको गम्भीर मुद्दा पनि हन्टर बाइडेनको छोरा भएकाले प्रभावित भएको देखिन्छ। ट्रम्पले नियुक्त गरेका न्यायाधीश म्यारिएलेन नोराइकाले नरोकेको भए हन्टरविरूद्ध बन्दुक सम्बन्धी मुद्दै चल्दैन थियो। कर सम्बन्धी पनि सामान्य कसुरमा मात्रै चल्थ्यो। हन्टरले पनि गम्भीर प्रकृतिको गल्ती स्वीकार गर्नैपर्ने थिएन।
तर हन्टरले अमेरिकाविरूद्ध गरेको वा गरेको हुन सक्ने सबैखाले संघीय कसुरमा पनि बाइडेनले माफी दिएका छन्। हन्टरले विगत एघार वर्षमा मुद्दा चलिरहेका बाहेक अरू जुनसुकै संघीय अपराध गरेको भए पनि बाइडेनले दिएको निःशर्त र पूर्ण माफीले उनलाई उन्मुक्ति दिएको छ।
यो भने बाइडेनले बचाउ गर्नै नसकिने काम गरेका हुन्।
अर्कातिर ट्रम्पले आफूमाथि राजनीतिक रिसिइबी साध्न विभिन्न मुद्दा चलाइएको आरोप लगाउँदै आएका थिए। त्यसैले चुनावअघि नै उनले आफू फेरि राष्ट्रपति बने आफ्ना विरोधीलाई नछोड्ने बताउँदै आएका थिए।
त्यसै अनुसार उनले जे भने पनि मान्ने खालका व्यक्तिलाई कानुनी कारबाही गर्ने मुख्य निकाय जस्टिस डिपार्टमेन्ट र फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबिआई) का प्रमुखका लागि चुनेका छन्। त्यस्तै सन् २०२० को राष्ट्रपतीय निर्वाचन अघिदेखि नै हन्टरसँग जोडेर बाइडेनलाई समेत फसाउन युक्रेनमाथि दबाब हालेका उनले कार्यभार सम्हालेपछि फेरि हन्टरमाथि मुद्दा चलाउने प्रबल सम्भावना छँदै थियो।
सन् २०१४ मा हन्टर युक्रेनको ग्यास कम्पनी 'बरिज्मा' को बोर्डमा नियुक्त भएका थिए। त्यो बेला जो बाइडेन बाराक ओबामाका उपराष्ट्रपति थिए। बाइडेन सिनेटर हुँदा विदेश मामिला सम्बन्ध हेर्ने सिनेट समितिका प्रमुख थिए। त्यसैले उपराष्ट्रपति हुँदा पनि ओबामालाई विदेश मामिलामा सघाउँथे।
बरिज्मा कम्पनी पछि भ्रष्टाचार मामिलामा जेलियो। बाइडेन सन् २०२० मा निर्वाचन लड्ने भएपछि ट्रम्पले हन्टरले पनि भ्रष्टाचार गरेको आरोप लगाउँथे। त्यति बेला भर्खरै युक्रेनका राष्ट्रपति बनेका भोलोदिमिर जेलेन्स्कीलाई बाइडेनलाई सो मामिलामा ‘फसाउन नमानेको’ भन्दै केही समय अमेरिकाले युक्रेनलाई दिँदै आएको हतियार सहायता ट्रम्पले रोकेका थिए। त्यसका लागि ट्रम्प राष्ट्रपति हुँदै उनीमाथि दोस्रो पटक महाअभियोग लगाइएको थियो।
अहिले फेरि ट्रम्पले सो मामिलामा हन्टरमाथि मुद्दा चलाऊलान् भनेर बाइडेनले उनका ११ वर्षसम्मका सबै संघीय अभियोगमा माफी दिएका हुन सक्छन्।
'हन्टरमाथि निरन्तरको आक्रमण भए पनि, छानीछानी मुद्दा चलाए पनि, उनी साढे पाँच वर्षदेखि दुर्व्यसनमा लागेका छैनन्। हन्टरलाई तोड्न खोजिएको छ। उनीहरूले मलाई पनि तोड्न खोजेका छन्। उनीहरू यहाँ रोकिन्छन् भनेर विश्वास गर्नुपर्ने कुनै कारण छैन। इनफ इज इनफ,' बाइडेनले आफ्नो निर्णयको बचाउ गर्दै भनेका छन्।
बाइडेनको निर्णयले ट्रम्पका गैरकानुनी काम र पहिले चुनावको परिणाम उल्टाउन गरेको प्रयासलाई यसपालि चुनावको मूल मुद्दा बनाएको डेमोक्र्याटिक पार्टीलाई भने अप्ठ्यारोमा पारेको छ। बाइडेनले हन्टरलाई माफी मात्र दिएका छैनन्, आफ्नै सरकार अन्तर्गतको जस्टिस डिपार्टमेन्टलाई पनि राजनीतिक मुद्दा चलाएको आरोप लगाएका छन्।
बाइडेनको निर्णय र आरोपबाट जस्टिस डिपार्टमेन्टले राजनीतिक मुद्दा चलाउँछ भन्ने पुष्टि भएको छ। भोलि ट्रम्पले कार्यभार सम्हालेपछि कुनै पनि प्रकारको निर्णय लिन सजिलो हुनेछ। किनभने ट्रम्पले जस्टिस डिपार्टमेन्टलाई यस्तै आरोप लगाउँदै आएका थिए।
त्यसैले बाइडेनको निर्णय एक ८२ वर्षीय बाबुको नितान्त पुत्रमोहबाहेक अरू केही हो भनेर मान्न सकिँदैन। दुई छोरा भएका बाइडेनका जेठा छोरा बो बाइडेनको मस्तिष्क क्यान्सरको कारण सन् २०१५ मा मृत्यु भएको थियो। आफ्नो जीवनको अन्तिम क्षणमा बाँकी रहेका अर्का छोरा पनि जेल नजाऊन् भनेर उनले यो निर्णय लिएको मान्नुपर्ने हुन्छ।
बाइडेनले भर्खरै हन्टरसँग 'थ्यांक्स-गिभिङ' चाड मनाएका थिए। हन्टरलाई माफी दिने निर्णय त्यसै क्रममा लिएको पनि उनले बताएका छन्।
ट्रम्पले जस्तोसुकै अक्षम्य अपराध गरे पनि जनताले मतलब समेत नगर्ने र उल्टै चुनाव जिताउने भएकाले फोस्रो आदर्शका कारण आफ्नो छोरा चाहिँ किन जेल बस्नुपर्ने भन्ने पनि बाइडेनले ठानेका हुन सक्छन्।
'मलाई आशा छ अमेरिकी जनताले एक बाबु र राष्ट्रपतिले किन यस्तो निर्णय लिनुपर्यो भनेर बुझ्ने छन्,' उनले आफ्नो विज्ञप्तिमा भनेका छन्।
उनले भनेजस्तै जनताले पक्कै बुझ्नेछन्। तर उनको बचाउ गर्नै नसकिने निर्लज्ज निर्णयले कानुनी शासनको दुहाइ दिने उनको दल डेमोक्रेटिक पार्टीलाई अप्ठ्यारो पारेको छ। त्योभन्दा बढी ५० वर्षभन्दा बढी मेहनत गरेर बनाएको बेदाग राजनीतिज्ञको छविमा जीवनको अन्त्यमा पुत्रमोहका कारण उनले नमेटिने धब्बा लगाएका छन्।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्।)