दलहरूले मध्यावधि समीक्षाका रूपमा लिएको स्थानीय तह उपनिर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ।
अब दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष, कीर्तिपुर नगरपालिकाको प्रमुखको परिणाम आउन बाँकी छ। गौरीशंकर र हुम्लाको सर्केगाडमा नेकपा (माओवादी केन्द्र) अगाडि छ। कीर्तिपुरमा नेपाली कांग्रेस जितको निरन्तरताको प्रतीक्षामा छ।
त्यस्तै उदयपुरको बेलका नगरपालिका–९ को अध्यक्षको परिणाम पनि आउन बाँकी छ। त्यहाँ बदर मतको संख्या ह्वात्तै बढेपछि माओवादी र एमालेबीच विवाद भएपछि मतगणना अवरूद्ध छ।
यी चार स्थानको नतिजा आउन बाँकी रहँदा कांग्रेसले यसअघि जितेका दुई अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्ष गुमाएर १६ वडाध्यक्ष जितेको छ। नेकपा (एमाले) ले एक अध्यक्ष, एक उपाध्यक्षसहित ६ वटा वडामा जित हात पारेको छ।
माओवादी केन्द्रले एक गाउँपालिका अध्यक्ष, एक उपप्रमुख, एक उपाध्यक्षसहित ६ वटा वडाध्यक्ष जितेको छ। जनता समाजवादी पार्टी नेपालले दुई वटा वडाध्यक्ष जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र उम्मेदवारले समान एक–एक स्थान जितेका छन्।
आवधिक निर्वाचन आउन साढे दुई वर्ष बाँकी रहँदा ४१ स्थानमा भएको यो 'मतपरीक्षा'लाई दलहरूले ‘शक्ति जाँच्ने अवसर’का रूपमा लिएका थिए। पार्टी पंक्तिलाई सोहीअनुसार परिचालन पनि गरेका थिए।
अहिलेसम्मको मत परिणामलाई विश्लेषण गर्दा कांग्रेसले यसअघि गठबन्धन गरी २०७९ मा जितेका अध्यक्ष, उपाध्यक्षसहित केही वडामा पराजय व्यहोरेको छ।
एमालेले महाबुको अध्यक्ष, स्वामीकार्तिक खापरको उपाध्यक्षसहित ६ वटा वडा जितेको छ।
एमालेले यसअघि जितेका सात वटा वडामा उपनिर्वाचन भएको थियो। त्यसमध्ये उसले केही गुमायो भने कांग्रेस र माओवादीबाट केही वडा जितेको छ।
१. रास्वपाको पहिलो जित
पार्टी सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण समेतको अनुसन्धानका लागि हिरासतमा रहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी अहिले अप्ठ्यारोमा छ।
पार्टीको शक्ति सभापति लामिछानेको रिहाइमा सडक आन्दोलनमा रहेकाले यो स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने कि नहुने भन्ने अन्योलमा थियो। अन्योलकैबीच उसले २-५ ठाउँमा उम्मेदवारी पनि दियो।
यसअघि सहरी क्षेत्रमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उल्लेख्य मत ल्याएकाले काठमाडौं महानगरपालिकाको १६ नम्बर वडामा उसले उम्मेदवारी दिएको थियो। तर कीर्तिपुरको प्रमुख र वडा नम्बर १ र ४ को उपचुनावमा उम्मेदवारी दिएन। घोषित रूपमा समर्थन पनि कसैलाई गरेन।
तर पहिलो पटक स्थानीय तहमा भाग लिएको रास्वपाले यस निर्वाचनमा आफ्नो सहरी क्षेत्रको बर्चस्व कायमै राख्न सकेको देखियो।
काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठले २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष जितिन्। उनका प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २ मत ल्याए।
संघीय राजधानी काठमाडौंमा मताधार नखस्किएको देखिए पनि अन्यत्र भने रास्वपाको निराशाजनक नै मतपरिणाम देखियो। काठमाडौंबाहेक उम्मेदवारी दिएका २३ ठाउँमा रास्वपा उम्मेदवारको जमानत जोगिएन। २२ ठाउँमा धरौटी जफत भइसकेको छ। मतगणना भइरहेको गौरीशंकर र हुम्लाको सर्केगाडमा पनि रास्वपा पुछारतिर छ।
२. प्रमुख दलकै निराशाजनक मत
निराशाजनक मत ल्याउनेमा रास्वपा मात्र होइन, सत्तारूढ दल र तेस्रो स्थानमा रहेको माओवादी केन्द्रसमेत छ।
डोल्पाको त्रिपुरासुन्दरीमा कांग्रेसका उम्मेदवार राजेन्द्रप्रसाद न्यौपानेले २१ मत ल्याए। त्यहाँ माओवादी केन्द्रका नरबहादुर झाँक्री १ सय ६१ मतसहित निर्वाचित भए।
कालिकोटको तिलागुफा नगरपालिका–४ मा कांग्रेसले निराशाजन मत ल्यायो। तिलागुफामा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार खड्गराज शाही १ सय ४३ मतसहित निर्वाचित हुँदा कांग्रेसका पैलबहादुर शाहीले ४९ मत ल्याए। एमाले उम्मेदवार ऐनबहादुर शाहीले ७८ मत ल्याए।
रूकुम पश्चिमको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर २ मा माओवादीका जगत घर्ती निर्विरोध भएका थिए। त्यहाँ एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि माओवादीनिर्विरोध निर्वाचित भयो।
बझाङको सूर्मा गाउँपालिका वडा नम्बर ४ मा माओवादी केन्द्रका उम्मेदवार पुस्करबहादुर बोहोराले १७ मत प्राप्त गरे। त्यहाँ कांग्रेसका धिरेन्द्र पुजारा ६ सय ५७ मतसहित निर्वाचित भए।
डोटीको पूर्वचौकी गाउँपालिका वडा नम्बर ४ मा माओवादीका देवीलाल थापाले २६ मत प्राप्त गरे। त्यहाँ कांग्रेसका मोहन थापाले ४ सय ६८ मत ल्याए।
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा माओवादी केन्द्रका नानाराम कोलीले १ सय २२ मत ल्याए। त्यहाँ कांग्रेसका प्रकाश चन्दले १ हजार १ सय ७ मत ल्याएर जित हासिल गरे।
ओखलढुंगाको मोलुङ वडा नम्बर ५ मा माओवादीका मानबहादुर सुनुवारले २३ मत ल्याए। त्यहाँ एमाले उम्मेदवार गंगाबहादुर तामाङले ३ सय ९९ मत ल्याएर निर्वाचित भए।
सप्तरीको डाक्नेश्वरी वडा नम्बर १ मा माओवादी केन्द्रका उम्मेदवार प्रमोदकुमार सन्तले २९ मत ल्याए।
डाक्नेश्वरी वडा नम्बर ४ मा एमालेका सञ्जयकुमार यादवले ६८ र माओवादी केन्द्रका उम्मेदवार भागवत रामले ९ मत मात्रै प्राप्त गरे।
३. सिके राउत नेतृत्वको जनमतलाई मधेसमै धक्का!
मधेस सरकारको नेतृत्व गरिरहेको सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मधेसमै अपेक्षाकृत मत ल्याउन सकेन।
मधेस प्रदेशमा जित्ने मात्र होइन, दोस्रो मत ल्याउन पनि सकेन। बरू भर्खरै विभाजन झेलेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले सप्तरीमा आफ्नो उपस्थिति देखायो। डाक्नेश्वरी नगरपालिकाका दुवै वडा कांग्रेसबाट खोस्यो। जबकी सप्तरी जनमत अध्यक्ष सिके राउतकै गृहजिल्ला हो, उनी सप्तरी २ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित भएका थिए।
सप्तरीको डाक्नेश्वरी वडा नम्बर मा १ शैलेन्द्रकुमार साहले ७४ मत ल्याए। डाक्नेश्वरी वडा नम्बर ४ मा उदयनारायण पण्डितले २३१ मत ल्याए।
धनुषाको धनुषाधाम वडा नम्बर १ मा कुशेश्वर मण्डलले २५ मत ल्याए।
रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर ७ मा शेख जमिरुल हकले १ सय ३५ मत पाए। रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा सुरेन्द्र राउत कुर्मीले ८ मत मात्रै पाए। रौतहटको राजपुर नगरपालिका–६ मा क्यामुदिन धुनियाँले ४५ ल्याए।
४. जो पहिला हारे, यो चुनावमा जिते
यो चुनाव अर्को हिसाबले पनि महत्त्वपूर्ण रह्यो। यो उपचनावमा यसअघि पराजित अधिकांश उम्मेदवारले जित हात पारे। त्यस्ता उम्मेदवारको सूची १३ जनाको छ।
सिरिजंघा गाउँपालिका वडा नम्बर ३ मा एमाले उम्मेदवार कुमारी सावादेन ३ सय ९९ मतसहित निर्वाचित भइन्। उनी २०७९ को निर्वाचनमा ३ सय ५३ ल्याएर पराजित भएकी थिइन्।
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली ४ सय ९३ मत सहित निर्वाचित भए। उनी यसअघि ४ सय ४० मत ल्याएर दोस्रो भएका थिए।
उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १२ नवीनकुमार वान्तवा राई निर्वाचित भए। उनी यसपटक ९ सय २३ मतसहित निर्वाचित भए। गत निर्वाचनमा उनले त्यहाँ तेस्रो मत (४ सय ४) पाएका थिए।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ मा जसपा नेपालबाट धिरेन्द्रकुमार साह ६ सय ५२ मतसहित निर्वाचित भए। यसअघि उनी एमालेबाट त्यहाँ उम्मेदवार थिए। त्यतिबेला अध्यक्षमा ४ सय ६८ मतसहित दोस्रो भएका थिए।
धनुषाको धनुषाधाम नगरपालिका–१ मा माओवादी सुनील कापर केवट ६ सय ८४ मतसहित निर्वाचित भए। यसअघिको निर्वाचनमा उनी त्यहाँ तेस्रो (३ सय ६९ मत) भएका थिए।
रौतहटको ईशनाथ नगरपालिका–७ मा कांग्रेसका शेखअब्दुल खलिफ ६ सय २७ मतसहित जिते। उनी यसअघि त्यहाँ ५ सय ७८ मत ल्याएर दोस्रो भएका थिए।
रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ८ मा एकीकृत समाजवादीका बजरंगीप्रसाद यादव ६ सय ५५ मतसहित अध्यक्ष निर्वाचित भए। उनले यसअघि ५ सय १९ मतसहित तेस्रो भएका थिए।
नुवाकोटको ककनी गाउँपालिका २ मा माओवादी केन्द्रका कृष्ण घिमिरे १ हजार ८५ मत ल्याएर अध्यक्ष जिते। उनले यसअघि त्यहाँ ७ सय ३४ मत ल्याएका थिए।
काठमाडौं कीर्तिपुर नगरपालिका वडा नम्बर मा ४ कांग्रेसका राजेन्द्र बानियाँ १ हजार ५५ मत सहित अध्यक्ष निर्वाचित भए। उनी यसअघि त्यहाँ १ हजार ५७ मतसहित दोस्रो भएका थिए। त्यहाँ स्वतन्त्र उम्मेदवारले जितेका थिए। उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो।
हेटौंडा उपमहानगरपालिका १२ मा कांग्रेजका अर्जुन तिवारी २ हजार ६३ मतसहित विजयी भए। यसअघिको निर्वाचनमा उनी १ हजार ३४० मतसहित दोस्रो भएका थिए।
जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा कांग्रेसका खम्बबहादुर सिंह ३ सय ४७ मतसहित अध्यक्ष निर्वाचित भए। उनी २०७९ को निर्वाचनमा सोही वडामा ३ सउ १८ मत ल्याएर पराजित भएका थिए।
दैलेखको महाबु गाउँपालिका अध्यक्षमा एमालेका जंगबहादुर शाही ३ हजार १ सय २७ मतसहित निर्वाचित भए। २०७४ को निर्वाचनमा अध्यक्ष चुनिएका उनी २०७९ सालको चुनावमा एकीकृत समाजवादीबाट उम्मेदवार बन्दा उनले २ हजार २ सय ६८ मत ल्याएर तेस्रो भएका थिए।
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा सुलोचनाकुमारी भण्डारी १ हजार ७ सय ४० मतसहित निर्वाचित भइन्। उनी यसअघि १ हजार ६३७ दोस्रो भएकी थिइन्। त्यहाँ एमाले र माओवादी केन्द्रबीच स्थानीय गठबन्धन भएको थियो। माओवादी केन्द्रले भने एकीकृत समाजवादीलाई मत दिन निर्देशन दिएको थियो।
५. कांग्रेस एमाले मिल्दा पनि सकेनन् माओवादीलाई जित्न
रुकुम पश्चिमको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्तामा रहेका दुई ठूला दलले गठबन्धन गरेर उम्मेदवारी दिएका थिए।
त्यहाँ सत्ता गठबन्धनको साझा उम्मेदवार केशकुमारी तुलाचन थिइन्। एमाले नेता तुलाचन कांग्रेसको चुनावचिह्न लिएर उठेकी थिइन्।
तर उनी माओवादी केन्द्रकी नरपुरा बुढासँग पराजित भइन्। बुढाले ३ हजार ६ सय २७ मतसहित निर्वाचित हुँदा तुलाचनले २ हजार १ सय २८ मत ल्याइन्।
चुनाव चिह्नै साटेर गठबन्धन गर्दा पनि कांग्रेस एमालेलाई त्यहाँको चुनाव अफापसिद्ध भयो।
६. टिकट पाउने शर्तमा पार्टीमा, भित्रिएलगत्तै जित
मोरङको ग्रामथानमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित अध्यक्ष निर्वाचित भए। माझी माओवादी केन्द्रका रैथाने कार्यकर्ता भने होइनन्। उनी गत भदौमा मात्रै कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए। त्यसभन्दाअघि विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकमा रहेका उनले त्यही पार्टीबाट ग्रामथान–१ को वडाध्यक्ष जितेका थिए।
यसपटक उनलाई टिकट दिइने शर्तमा माओवादीले पार्टीमा भित्र्याएको थियो। शर्तअनुसार टिकट पाएर कांग्रेसका उम्मेदवार बलराम सरदार थारूलाई १ हजार ६ सय ३६ मतान्तरले पराजित गरे।
दैलेखको महाबुमा अहिले अध्यक्ष जितेका जंगबहादुर शाहीलाई एमालेले टिकट दिने शर्तमै पार्टीमा भित्र्याएको थियो। टिकट बाँड्ने दुई दिनअघि एमाले प्रवेश गरेका उनी २०७४ सालमा पनि महाबुबाटै अध्यक्ष जितेका थिए।
डाक्नेश्वरी नगरपालिका–१ का धिरेन्द्रकुमार साह पनि एमालेबाट जसपा प्रवेश गरेर वडाध्यक्षको चुनाव जितेका छन्।