काठमाडौं–१६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सानदार जित निकाल्यो।
रास्वपाकी उम्मेदवार रोजिना श्रेष्ठ २ हजार ९०२ मत ल्याएर वडाध्यक्ष निर्वाचित भइन्।
संघीय राजधानी काठमाडौंको ठमेल, सोह्रखुट्टे, नयाँबजारदेखि बालाजुसम्म समेटिएको ठूलो वडामा विजयको झन्डा फहराएपछि रास्वपाका नेता/कार्यकर्ता त्यसैको हर्ष बढाइँमा छन्।
स्थानीय तहमा पहिलो पटक उपस्थिति जनाएको रास्वपाले काठमाडौं बाहिर भने निराशाजनक मत ल्यायो।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३ मा नेकपा (एमाले) की कुमारी सावादेन ३ सय ५३ मत ल्याएर निर्वाचित हुँदा रास्वपा उम्मेदवार देवी पौडेलले ७ मत प्राप्त गरे।
त्यहाँ कुल सदर मत ८८३ खसेकामा रास्वपा उम्मेदवार पौडेलले १० प्रतिशत कटाउन सकेनन्। उनको त्यहाँ जमानत जफत भयो।
झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले ४९३ मत ल्याएर निर्वाचित भए। त्यहाँ रास्वपाले उम्मेदवारी दिएको थिएन। ओलीलाई समर्थन गरेको रास्वपाले बताएको थियो।
तेह्रथुमको लालीगुराँस नगरपालिका–८ मा पनि रास्वपाको जमानत जोगिएन।
त्यहाँ कांग्रेसका नगेन्द्र लिम्बू ४ सय ४० मतसहित निर्वाचित भए। लालीगुराँस–८ मा प्रतिस्पर्धामा रहेका रास्वपा उम्मेदवार सञ्जीव खड्कासहित पाँच उम्मेदवारको धरौटी जोगिएन। त्यहाँ रास्वपाका खड्काले ३८ मत प्राप्त गरे। २६ मत ल्याएका माओवादी केन्द्रका उम्मेदवार कुमार विश्वकर्माले पनि जमानत जोगाउन सकेनन्।
मोरङको ग्रामथान गाउँपालिकामा पनि रास्वपाको मत निराशाजनक रह्यो। ग्रामथान अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी ६ हजार ९६९ मतसहित निर्वाचित हुँदा रास्वपाका उम्मेदवार नवीन विश्वास खवासले तीन अंक कटाउन सकेनन्। उनले ३७५ मत प्राप्त गरे। त्यहाँ पनि रास्वपाको धरौटी जफत भयो।
सुनसरीको गढी गाउँपालिकामा पनि रास्वपाको जमानत जफत भयो। कांग्रेसका उम्मेदवार तेतर साहुले ८ सय १६ मत ल्याएर अध्यक्ष जित्दा रास्वपाका शशिकुमार साहुले ३३ मत मात्रै ल्याए।
ओखलढुंगाको मोलुङ गाउँपालिका–५ मा भने रास्वपाको जमानत जोगियो। त्यहाँ कूल सदर मत ७ सय ५६ मध्ये एमालेका गंगाबहादुर तामाङ ३ सय ९९ मत सहित अध्यक्ष निर्वाचित भए। रास्वपाका विष्णु पोखरेलले १ सय ५१ ल्याए। माअोवादी केन्द्रका मानबहादुर सुनुवारले धरौटी जोगाउन सकेनन्। उनले २३ मत प्राप्त गरे।
उदयपुरको त्रियुगा नगरपालिका–१२ मा पनि रास्वपा उम्मेदवार ध्रुवप्रसाद पोखरेलको जमानत जोगिएन। त्यहाँ माओवादी केन्द्रका नवीनकुमार राई ९ सय २३ मत प्राप्त गरी अध्यक्ष बनेका थिए। त्यहाँ रास्वपाका अतिरिक्त राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्तिको पनि जमानत जोखिएन।
महोत्तरीको रामगोपालपुर नगरपालिका–२ मा रास्वपाका खुरसैद खाँले जम्मा ४ मत प्राप्त गरे। रास्वपा उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा कम मत हो। त्यहाँ एमाले उम्मेदवार सकिवुल खाँले ६ सय ३१ मत ल्याएर अध्यक्ष जितेका थिए।
रौतहटको ईशनाथ नगरपालिका–७ मा रास्वपा उम्मेदवार शेख असराजले जम्मा ६ मत ल्याए। त्यहाँ कांग्रेसका शेख अब्दुल खलिकले ६ सय २७ मत ल्याएर अध्यक्ष जिते।
नुवाकोटको ककनी गाउँपालिका–२ मा पनि रास्वपाले अपेक्षाकृत मत ल्याउन सकेन। त्यहाँ माओवादी केन्द्रका उम्मेदवार कृष्ण घिमिरेले १० हजार ८५ मत ल्याउँदा रास्वपाका मंगलसिद्धि लामा तामाङले ८३ मत ल्याए। ककनी–२ मा पनि रास्वपाको धरौटी जफत भयो।
हेटौंडा उपमहानगरपालिकामा रास्वपाले झन निराशाजनक नतिजा हात पार्यो। त्यहाँ रास्वपाका आशावीर बलले जम्मा ८३ मत प्राप्त गरे। हेटौंडा–१२ मा कांग्रेसका अर्जुनप्रसाद तिवारीले २ हजार ६३ मत प्राप्त गर्दै अध्यक्ष जिते।
गोरखा नगरपालिका–५ मा माओवादी केन्द्रका विष्णुबहादुर मगर ४ सय ८६ मतसहित अध्यक्ष निर्वाचित भए। त्यहाँ रास्वपाका मंगलबहादुर थापाले ८२ ल्याएका धरौटी जोगाउन सकेनन्।
गुल्मीको मुसिकोट गाउँपालिकामा पनि रास्वपाको जमानत जफत भयो। कांग्रेसका आनन्द श्रेष्ठले १ हजार १ सय ८४ मत ल्याएर अध्यक्ष जित्दा रास्वपाका उम्मेदवार विकास थापाले ४३ मत मात्रै ल्याए।
कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ मा एमालेका मोहम्मद ताहिरले १ हजार १५० मत ल्याएर अध्यक्ष जित्दा रास्वपाका अवधेशकुमार चौधरीले ९२ मत ल्याए। त्यहाँ पनि रास्वपाको धरौटी जफत भयो।
रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा रास्वपा उम्मेदवार हिमबहादुर पुनले जम्मा ७ मत ल्याए। त्यहाँ कांग्रेसका भूपमणि पुन मगरले ६ सय ४३ मत ल्याएर अध्यक्ष निर्वाचित भए। बर्दियाको ठाकुरबाबा नगरपालिका–४ मा कांग्रेसका अमिन थारू एक हजार ४३ मतसहित अध्यक्ष निर्वाचित भए। रास्वपाका बासुदेव शर्माले १७ मत मात्रै ल्याएकाले जमानत जफत भयो।
कालिकोटको तिलागुफामा नेपाल मजदुर किसान पार्टीले १ सय ४३ मत सहित अध्यक्ष जित्दा रास्वपाका गगन बमले जम्मा ५ मत ल्याए।
दैलेखको दुल्लु नगरपालिका–१३ मा पनि रास्वपाको जमानत जफत भयो। त्यहाँ ५ सय ७४ मत ल्याएर एमालेका लालबहादुर शाहीले अध्यक्ष जित्दा रास्वपाका रामबहादुर शाहीले ५३ मत ल्याए।
दैलेखकै महाबु गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिएका रास्वपाका प्रकाश बुढाले १ सय १२ मत ल्याए। एमालेका जंगबहादुर शाहीले ३ हजार १ सय २७ मत ल्याएर अध्यक्ष जित्दा रास्वपाको यहाँ पनि जमानत जफत भयो।
बाजुराको नलगाढ नगरपालिकामा माओवादीकी देवकी लामिछानेले ४ हजार २ सय ७२ मत ल्याएर उपप्रमुख जित्दा रास्वपाकी पार्वती पुनले १ सय ७९ मात्रै मत पाइन्।
डोटीको पूर्वीचौकी गाउँपालिका–६ मा पनि रास्वपाको दोहोरो अंक कटेन। त्यहाँ कांग्रेसका मोहन थापा ४ सय ६८ मत ल्याएर अध्यक्ष निर्वाचित भए। रास्वपाकी जानकीकुमारी खड्काले ३१ मत ल्याइन्। उनको जमानत जफत भयो।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा कांग्रेसका प्रकाश चन्द १ हजार १ सय ७ मत ल्याएर अध्यक्ष निर्वाचित भए। त्यहाँ पनि सदर मतको दस प्रतिशत कटाउन नसकेकाले रास्वपा उम्मेदवार रामदत्त भट्टको जमानत जफत भयो।
उनले २ सय १८ मत मात्रै पाए। त्यहाँ माओवादी केन्द्र, जनमत, नागरिक उन्मुक्ति, नेपाल मजदुर किसान पार्टीसहितका दलले पनि जमानत जोगाउन सकेनन्।