मोरङको ग्रामथानको उपनिर्वाचनको परिणामले आहत बनेको नेपाली कांग्रेस कोशी प्रदेशमा यतिबेला आन्तरिक झमेलामा पनि परेको छ।
सोमबार मात्रै कांग्रेस मुख्यालयबाट कोशी प्रदेश समितिका नाममा आएको पत्रले त्यही संकेत गर्छ।
२०७९ को निर्वाचनमा एमालेलाई १६ सयभन्दा बढी मतान्तरले हराउँदै ग्रामथान अध्यक्ष जितेको कांग्रेस उपनिर्वाचनमा १६३६ मतान्तरले माओवादीसँग हारेको छ।
माओवादीले ग्रामथान खोसेपछि मोरङ कांग्रेसमा यतिबेला आरोप–प्रत्यारोप सुरू भइसकेको छ। खासगरी शेखर कोइराला पक्षका केही नेताहरूले संस्थापन पक्षको असहयोग भएको आरोप लगाउन थालिसकेका छन्।
यसरी उपनिर्वाचनमा कोइराला पक्षका बलराम सरदार माओवादीका नमोनारायण माझीसँग हारेकै दिन (आज) कांग्रेस केन्द्रले कोशी प्रदेशलाई पत्र पठाउँदै कोइराला पक्षले मंगलबार विराटनगरमा गर्ने भेलालाई ‘अवैधानिक’ भनेको छ।
कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार कोशी प्रदेश समितिलाई पत्र पठाउँदै ‘मंसिर २२ पूर्व पार्टीको कुनै भेला नभएको’ जानकारी सबै जिल्ला र पालिका सभापतिहरूलाई दिन प्रदेशलाई भनेका छन्।
‘नेपाली कांग्रेसको वैधानिक प्रावधान अनुरूप सबै तहको सम्मेलन गर्ने प्रक्रिया प्रारम्भ भएको’ र सोही अनुसार ‘मंसिर २२ मा प्रदेश सम्मेलन आयोजना गरिएको तथा त्यसपूर्व पार्टीको कुनै कार्यक्रम नरहेको जानकारी जिल्लाहरूमा दिन’ पत्रमा भनिएको छ।
‘पार्टीको जुन तहको कार्यसमिति हो, त्यसले त्यही तहभित्रकै कार्यक्रम आयोजना, समन्वय र नेतृत्व गर्ने वैधानिक व्यवस्था रहेको छ। यस क्रममा कोशी प्रदेशको सम्मेलन मंसिर २२ गते विराटनगरमा हुने गरी प्रदेश समितिको आयोजनामा कार्यक्रम निर्धारित छ ’, पत्रमा भनिएको छ, ‘मसिर २२ पूर्व-कोशी प्रदेश स्तरीय पालिका सभापतिहरूको भेला भनि प्रचारित कार्यक्रममा सहभागी हुनुपर्ने–नपर्ने स्पष्टताका लागि जिल्लाहरूबाट केन्द्रमा सम्पर्क गरिएकाले, मंसिर २२ मा हुने सम्मेलन पूर्वप्रदेश स्तरीय पार्टीको कुनै पनि कार्यक्रम नरहेको जानकारी यस सम्बन्धमा प्रदेश अन्तर्गत रहेका सम्पूर्ण पालिकाहरूलाई आवश्यक जानकारी गराई दिन हुन समेत निर्देशानुसार अनुरोध छ।’
यो पनि:
कांग्रेसमा बल्झिएको किचलो: कोशी सम्मेलनअघि अर्कै भेला आयोजनामा जुट्यो कोइराला समूह
कोशीमा प्रदेश समितिले मंसिर २२ मा प्रथम प्रदेश सम्मेलन आयोजना गर्दैछ। त्यसअघि नै शेखर कोइराला पक्षले मंगलबार विराटनगरमै समानन्तर भेला गर्ने भएको छ। त्यसलाई पार्टी केन्द्रले वैधानिक भेला मान्न अस्वीकार गरेको छ।
मोरङको ग्रामथानसहित देशैभरि उपनिर्वाचन हुनै लाग्दा नेपाली कांग्रेस कोशीमा चर्केको गुटगत लडाइँ उपनिर्वाचन सकिँदासकिँदै उत्कर्षमा पुगेको छ।
आइतबार ग्रामथानमा मतदान चलिरहँदा पनि कोशी प्रदेश समितिका बहुसंख्यक पदाधिकारीहरू भने केन्द्रीय कार्यालयमा सम्पर्क गरेर कोइराला पक्षको भेला रोक्ने गरी एउटा पत्र लेखिदिन आग्रह गरिरहेका थिए।
पार्टीको प्रदेश समितिले मंसिर २२ मा गर्न लागेको पहिलो प्रदेश सम्मेलनको सम्मुखमा मंसिर १८ मा शेखर कोइराला पक्षले समानान्तर भेला गर्न लागेको छ।
कोइराला पक्षको भेलालाई लिएर टाउको दुखाइ खेपिरहेको प्रदेश समिति र त्यहाँका नेताहरूले कोइरालाको भेला रोक्ने लिखित निर्देशन पठाइदिन केन्द्रमा दबाब दिइरहेका थिए।
केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले ‘आइतबार पत्र आउने’ वचन पनि दिएका थिए। तर, आइतबार दिनभरि नै प्रदेशले पर्खेको त्यो पत्र आएन।
विराटनगरमा कोइराला पक्षले आयोजना गर्न लागेको समानान्तर भेला रोक्न केन्द्रबाटै पत्र लेखाउने प्रदेशस्थित संस्थापन पक्षका नेताहरूको प्रयास आइतबार सफल हुन सकेको थिएन।
सभापति शेरबहादुर देउवाले तत्कालै पत्र लेखेर भेला रोक्न निर्देशन दिनु नपर्ने बताएपछि केन्द्रबाट आउने भनिएको पत्र तत्कालका लागि रोकिएको नेताहरूले जानकारी दिएका थिए।
‘हामीले केन्द्रबाटै भेला रोक्नेगरी लिखित निर्देशन दिनुपर्यो भनेर भनेका थियौं, सभापतिज्यूले अहिले नै त्यसो गर्न पर्दैन भन्नुभएछ,’ कांग्रेस कोशी प्रदेशका एक पदाधिकारीले आइतबार राति सेतोपाटीसँग भनेका थिए, ‘आइतबार साँझसम्म पनि हामी केन्द्रको पत्र कुरिरहेका थियौं तर आएन।’
उनका अनुसार सभापति देउवाले ‘अहिले नै किन लेख्नुपर्यो पत्र’ भनेपछि ड्राफ्ट भइसकेको पत्र कोशीमा पठाउन रोकिएको थियो। तर, सभापतिसँग संस्थापन पक्षका अरू नेताहरूले पत्र लेख्न दबाब दिइरहेका कारण सोमबारसम्ममा लिखित निर्देशन आउने सम्भावना भएको ती पदाधिकारीले बताएका थिए।
उनले भने अनुसार सभापति आफैले पत्र त पठाएनन् तर मुख्य सचिव पौडेलको नाममा भने पत्र आएको छ। उक्त पत्रमा भेला रोक्न प्रष्ट निर्देशन पनि छैन। यद्यपि कोइराला पक्षको भेला पार्टीको आधिकारिक भेला नभएको भने पत्रमा प्रष्ट उल्लेख छ।
प्रदेश सम्मेलनको मुखैमा अलग्गै भेला आयोजना गर्दा तलसम्म नराम्रो सन्देश जाने भन्दै कांग्रेस केन्द्रले कोइराला पक्षलाई भेला नगर्न भनेर मौखिक रूपमा भनिसकेको थियो। मुख्य सचिव कृष्णप्रसाद पौडेलले गरेको आग्रह कोइराला पक्षले अस्वीकार गरेपछि प्रदेशको संस्थापन पक्षले सभापतिलाई नै गुहारेको थियो।
कांग्रेस कोशी प्रदेश समितिले मंसिर २२ गते विराटनगरमा पहिलो प्रदेश सम्मेलन आयोजना गर्दैछ। प्रदेश सम्मेलनअघि नै मंसिर १८ मा कोइराला पक्षले विराटनगरमै प्रदेश भरीका पालिकाका पार्टी सभापतिहरूको भेला गर्ने तयारी गरेको छ।