राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अप्ठ्यारो परिस्थितिमा पनि काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा अध्यक्ष जितेको छ।
रास्वपाका सभापति रवि लामिछाने गत कात्तिक २ देखि प्रहरीको हिरासतमा छन्। उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिले लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। चितवन लगायत ठाउँबाट पनि पक्राउ पुर्जी जारी भएकाले उनको हिरासत बसाइ अझै लम्बिने देखिन्छ।
स्थानीय तह उपनिर्वाचनअनन्तर्गत जारी मतगणनामा देशैभरि अरू कुनै स्थानमा जित हात नपारे पनि काठमाडौं–१६ को मत परिणामले रास्वपालाई राहत दिएको छ।
यसपालि रास्वपाले पहिलो पटक स्थानीय तह चुनावमा भाग लिएको थियो। सहभागी भएको पहिलो चुनावमै नेकपा (एमाले) र नेपाली कांग्रेस दुवैको प्रभाव क्षेत्र मानिएको काठमाडौं–१६ मा रास्वपाले जित्यो।
रास्वपाकी रोजिना श्रेष्ठ २ हजार ९ सय २ मत ल्याएर वडाध्यक्ष निर्वाचित भइन्। निकटतम प्रतिस्पर्धी एमालेका लक्ष्मीरत्न तुलाधरले २ हजार २ सय २० मत पाए। यसअघि चुनाव जितेको कांग्रेस तेस्रो भयो। कांग्रेसका देवेन्द्र पाठकले २ हजार २ सय १४ मत प्राप्त गरे।
संघीय राजधानी काठमाडौंमै पार्टीप्रति कायम रहेको यो रूझानले रास्वपाका कार्यकर्ताले राहत महसुस गरेका छन्।
काठमाडौं–१६ मा २०४६ सालको जनआन्दोलनका कमाण्डर तथा कुनै समयका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको निवास रहेको वडा पनि हो।
उनका छोरा र कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह यही वडामा पर्ने उनीहरूको निवास चाक्सीबारीमा बस्छन्। आइतबारको उपचुनावमा उनले यही वडाबाट मतदान गरे।
उनकी पत्नी सिर्जना सिंह २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरको प्रत्यासी थिइन्। ८४ हजार ४४१ जनसंख्या रहेको यस वडामा २१ हजार बढी मतदाता छन्। काठमाडौं महानगरको ठूलो वडा पनि हो।
परम्परागत मतदाता रहेको यस क्षेत्रमै रास्वपाले आफ्नो पकड विस्तार गरेको छ। तर गएको संसदीय निर्वाचनलाई हेर्ने हो भने रास्वपाको यो जित अस्वाभाविक भने होइन।
रास्वपाको स्थानीय तह उपनिर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीले पार्टी सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरिरहेका बेला जनताले न्याय दिएको प्रतिक्रिया दिए।
‘सरकारले हामीमाथि नाङ्गो नाच देखाइरहेको थियो। षड्यन्त्र गरिराखेको थियो। त्यसका विरूद्ध सचेत जनताले आफ्नो अभिमत जाहेर गर्नुभएको छ,’ उनले भने, ‘यो मत कांग्रेस, एमालेलाई सच्चिनका लागि सन्देश पनि हो। अब पनि सच्चिएनौ भने तिमीहरूको खैरियत छैन भन्ने अर्थमा पनि यसलाई बुझ्नुपर्ने हुन्छ।’
काठमाडौं–१६ का मतदाताको ठूलो अपेक्ष नरहेको बताउँदै वडाले प्रवाह गर्ने सेवालाई छिटो, छरितो, सहज बनाउने उनले बताए। मन परिवर्तन गरेर रास्वपाप्रति मत लगानी गर्ने नागरिकहरूलाई निराश नबनाउने गरी कार्यसम्पादन गर्ने पनि उनले बताए।
‘हामीले मतदान होइन, मत लगानी गर्ने हो। त्यसको प्रतिफल उम्मेदवारले दिनुपर्छ भनेर भन्दै आएका थियौं। त्यो कुरालाई यहाँका मतदाताले स्वीकार गर्नुभएको छ,’ उनले भने।
उपनिर्वाचन भएका ४४ स्थानमध्ये रास्वपाले २३ ठाउँमा रास्वपाले उम्मेदवारी दिएको थियो। काठमाडौंकै कीर्तिपुर नगरपालिकाको प्रमुख, वडा नम्बर १ र ४ मा पनि निर्वाचन हुन लागेको भए पनि रास्वपाले त्यहाँ उम्मेदवारी दिएको थिएन।
काठमाडौं–१६ मा मात्रै उम्मेदवारी दिएर पार्टीबाट निर्वाचित सांसद र केन्द्रीय नेताहरू परिचालन गरेको थियो।
यहाँ रास्वपाले गत निर्वाचनको मतलाई जोगाउन सफल मात्रै भएन, परिणाम आफ्नो पक्षमा पार्दै पार्टी पंक्तिमा उत्साह सञ्चार गर्यो।
काठमाडौं महानगरको ३२ वडामध्ये रास्वपाबाट निर्वाचित रोजिना श्रेष्ठ एक्ली महिला वडाध्यक्षसमेत हुन्।
२०७९ को प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले काठमाडौंका ४ स्थान जितेको थियो।
काठमाडौं–२ मा सोबिता गौतम, काठमाडौं–६ मा शिशिर खनाल, काठमाडौं–७ मा गणेश पराजुली र काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ निर्वाचित भएका थिए।
काठमाठौं–९ मा रास्वपा दोस्रो स्थानमा थियो। काठमाडौं–९ मा एमालेका कृष्णगोपाल श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर निर्वाचित हुँदा रास्वपाका टेकबहादुर पोखरेलले १० हजार ९ सय ६१ मत ल्याएका थिए।
काठमाडौं महानगरपालिका–१६ निर्वाचन क्षेत्र नम्बर ७ मा पर्छ।
प्रतिनिधि सभा निर्वाचनमा पराजुलीले ८ हजार ७ सय ४३ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत प्राप्त गरेका थिए।
तेस्रो मत मानुषी यमी भट्टराईले प्राप्त गरेकी थिइन्। नेकपा (माओवादी केन्द्र) को चुनाव चिह्नबाट उम्मेदवारी दिएकी उनले ६ हजार ६३ मत प्राप्त गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवविक्रम मल्लले २ हजार ८६३ र स्वतन्त्र उम्मेदवार यादवलाल कायस्थले २ हजार ७ सय ८३ मत प्राप्त गरेका थिए।
काठमाडौं ७ मा कांग्रेस र माओवादी केन्द्रले साझा उम्मेदवारका रूपमा मानुषी यमीलाई अघि सारेका थिए।
समानुपातिकतर्फ भने रास्वपाले उल्लेख्य मतले एमाले, कांग्रेसलगायत दललाई पछि छाडेको थियो। रास्वपाले काठमाडौं ७ बाट १० हजार ५ सय ८८ मत प्राप्त गरेको थियो। एमालेले ६ हजार २ सय ९९ मत ल्याएको थियो। कांग्रेसले ५ हजार ४० मत प्राप्त गर्दा राप्रपाले ४ हजार ६२९ मत ल्याएको थियो।
एकीकृत समाजवादीले २ हजार २ सय ७८, हाम्रो नेपाली पार्टीले १ हजार ६ सय ७२, माओवादी केन्द्रले १ हजार ६ सय ६८ र जनता समाजवादी पार्टीले १ हजा र ४ सय ७ मत ल्याएका थिए।
अहिलेको उपनिर्वाचनले काठमाडौंमा रास्वपाको मताधार नखस्किएको संकेत गरेको छ।