मोरङ ग्रामथान गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसबाट नेकपा (माओवादी केन्द्र) ले खोसेको छ।
उपनिर्वाचनमा यहाँ माओवादीका उम्मेदवार नमोनारायण माझी ६ हजार ९ सय ६९ मतसहित निर्वाचित भएका हुन्।
२०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसले जितेको गाउँपालिकाको नेतृत्व माओवादीले उपनिर्वाचनमार्फत खोसेको हो।
यहाँ कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत ल्याए भने नेकपा (एमाले) का उम्मेदवार तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याएका छन्।
२०७९ को निर्वाचनमा फराकिलो अन्तरले तेस्रो बनेको माओवादीले कांग्रेसको गढ मानिने ग्रामथानमा यसपटक कांग्रेस कार्यकर्ता नमोनारायणलाई भर्खरै मात्रै पार्टीमा भित्र्याएर उम्मेदवार बनाएको थियो।
लामो समय कांग्रेस राजनीतिमा रहेका उनी २०५४ को स्थानीय निर्वाचनमा तत्कालीन लखन्तरी गाविसको अध्यक्षमा कांग्रेसबाटै निर्वाचित भएका थिए।
२०५४ मा निर्वाचित माझीको कार्यकाल २०५९ मा सकियो। स्थानीय निर्वाचन लामो समयसम्म भएन, स्थानीय पिनकाय जनप्रतिनिधिविहीन बने। त्यो रिक्तताका बेला माझी वैदेशिक रोजगारीका लागि विदेशिए। विदेशबाट फर्किएर पुनः कांग्रेसको राजनीतिमा सक्रिय बनेका माझी २०७४ को स्थानीय निर्वाचनमा त्यसबेला गाउँपालिका भइसकेको ग्रामथानमा वडाध्यक्ष बन्न चाहन्थे।
तर कांग्रेसले टिकट नदिएपछि चुनावभन्दा केही समय अघिमात्रै उनी विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक प्रवेश गरेर ग्रामथान १ को वडाध्यक्षको उम्मेद्वार बनेका थिए। थारू बहुल ग्रामथानलाई आफ्नो परम्परागत गढ मान्दै आएको कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै थारु समुदायकै माझी वडाध्यक्षमा निर्वाचित भएका थिए।
यसबीचमा विजयकुमार गच्छदार पुनः कांग्रेसमै फर्किए। उनकै पार्टीबाट वडाध्यक्ष रहेका माझी पनि सोही प्रक्रियामार्फत स्वतः कांग्रेसमा फेरि जोडिए।
२०७९ को स्थानीय चुनावमा पनि माझीले कांग्रेसबाट वडाध्यक्षको टिकटको चाहना राखेका थिए। तर कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र चुनाव लडेका थिए।
२०५४ मा गाविस अध्यक्ष र २०७४ मा वडाध्यक्षमा निर्वाचित माझी २०७९ मा भने पराजित भए। यसअघिको स्थानीय निर्वाचनमा पराजित बनेपछि राजनीतिक रुपमा कतै आबद्ध नरहे पनि उनी गाउँमा भने सक्रिय नै थिए।
२०८० चैतमा ‘गाउँको मन्दिरका लागि माग गरिएको पैसा गाउँपालिकाले नदिएको’ भन्दै माझीकै नेतृत्वमा ग्रामथानको कार्यपालिका बैठकमै हुलहुज्जत भएको थियो। कार्यवाहक अध्यक्ष रहेकी एमालेबाट उपाध्यक्ष निर्वाचित गुणावतीदेवी थारूले समय नदिएको भन्दै दलबलसहित गाउँपालिका पुगेका माझीलाई त्यही निहुँमा मुद्दासमेृत चलाइएको थियो।
पालिकाले बजेट नदिएको आक्रोश पोख्ने क्रममा अभद्र मुद्दा खेपेका नमोनारायण त्यसको आठ महिनापछि गाउँपालिका अध्यक्ष बनेर पालिका कार्यालय प्रवेश गर्ने भएका छन्।
गत भदौ अन्तिममा मात्रै माओवादी प्रवेश गरेका माझी पालिका अध्यक्षको उम्मेद्वार बन्ने शर्तमै त्यता गएको माओवादी नेताहरु बताउँछन्। पूर्व सहमति अनुसार नै माओवादीले उनलाई उम्मेदवार बनायो।
कात्तिक ५ मा ग्रामथानमै सार्वजनिक कार्यक्रम गरेर माओवादीले उनलाई अध्यक्षको उम्मेद्वार घोषणा गर्दा कांग्रेस र एमालेले भने ‘अहिल्यै उम्मेदवार घोषणा गर्ने बेला भइनसकेको’ बताउँथे। माओवादीभन्दा धेरै पछि मात्रै कांग्रेस र एमालेले उम्मेद्वारी टुंगो लगाएका थिए।
यी दुई दलले उम्मेदवारी टुंगो लगाउँदै गर्दा माओवादी उम्मेदवार माझीले भने एकचरण घरदैलो भ्याइसकेका थिए।
मोरङ–४ मा पर्ने ग्रामथानमा जनताले बलियो विकल्प रोजेको बताउने संघीय सांसद अमनलाल मोदी आफूहरुले तयारी पनि लामो समय गर्न पाएको बताउँछन्।
माझीलाई गाउँपालिका अध्यक्ष जिताउने अभियानको मुख्य नेतृत्वकर्ता बनेका सांसद मोदी दुई महिनायता ढुक्कै गाउँमै खटिएक थिए। त्यतिमात्रै होइन, मोदीले माओवादीका जिल्ला, प्रदेश तथा केन्द्रीय नेताहरुलाई पनि घरघरै पुग्न बाध्य पारेका थिए।
अध्यक्षमा निर्वाचित माझीले चुनावअघि आफूले माओवादी र मोदीकै क्रेजकै कारण पनि चुनाव जित्ने दाबी गरेका थिए।
नभन्दै अढाई वर्ष अघि २७ सय हाराहारी मत ल्याएर तेस्रो बनेको माओवादी यसपटक कांग्रेस –एमालेलाई फराकिलो मतले पछि पार्दै अध्यक्ष जित्न सफल बनेको छ।
२०७९ को स्थानीय चुनावमा कांग्रेसबाट विजेता बनेका जयप्रकाश गच्छदारले ७ हजार ६०५ मत पाएका थिए भने एमालेका शिवनारायण माझीले ६ हजार ९३ मत प्राप्त गरी दोस्रो भएक थिए।
त्यसबेला तेस्रो बनेको माओवादी केन्द्रका विजयकुमार सरदारले २ हजार ७२७ मत पाएका थिए। ग्रमथानलाई आफ्नो पुरानो गढ मान्ने कांग्रेसले ७३ वर्षीय बलराम सरदारलाई उम्मेद्वार बनाउँदा परम्परागत मतकै विरासतमा जित हासिल हुने अनुमान गरेको थियो।
अध्यक्षका उम्मेदवार रहेका सरदार शेखर कोइराला पक्षका नेता हुन्। सोही पक्षका नेता गुरूराज घिमिरेले चुनावअघिको घरदैलो अभियानमा भनेका थिए, ‘यो पालिकामा हामीले यसअघि १६ सय मतान्तरले जितेका हौं। त्यो मत क्रस गरेर हामीलाई पछि पार्न एक्लाएक्लै लडेका अरु दललाई गाह्रो छ।’
यसअघिको गणित र सरदारको इमानदार छविको बलमा चुनाव सजिलै जित्ने कांग्रेस नेताहरुको दाबी थियो। यसको जवाफमा अहिले अध्यक्ष निर्वाचित माझीले हरेक सभामा भन्दै आएका थिए, ‘जनतालाई कसैले पेवा नठाने हुन्छ। नत्र हर्क, बालेनहरू जन्मिने थिएनन्।’
यसो भनेर ठूला दलहरूलाई उनी लल्कारिरहेका बेला कांग्रेस र एमाले भने मुख्य प्रतिष्पर्धा आफूहरूबीच हुने बताइरहेका थिए। कांग्रेसको कोइराला पक्ष त झन् यति विश्वस्त थियो कि उपनिर्वाचनको मुखैमा पार्टीले आयोजना गरेको प्रदेश सम्मेलन प्रभावित पार्न भन्दै अलग्गै भेलाको तयारीमा जुटेको थियो।
‘ग्रामथानमा कांग्रेसलाई जित्नलाई केही समस्या छैन’, आइतबार मतदानस्थलमा भेटिएका सबैजसो कांग्रेस नेताहरु भन्थे। त्यही ढुक्कपनले कोइराला पक्षका नेताहरु चुनावमा भन्दा मंसिर १८ मा गर्ने समानान्तर भेलाका लागि बढी खटिएका थिए। ‘अरु दललाई कमजोर ठान्नु भूल भयो’, कांग्रेस मोरङका एक नेताले भने ‘बढी आत्मविश्वास देखाए जस्तो भयो।’
लामो समय कांग्रेस राजनीति गरेर अहिले कांग्रेसकै उम्मेदवारलाई हराउँदै माओवादीबाट अध्यक्षमा निर्वाचित नमोनारायण माझीले ‘कांग्रेस–एमालेले विकृत तुल्याएको पालिकालाई सुशासन दिने’ बताएका छन्।
‘विकास त हेर्नुस् क्रमिक प्रक्रिया हो। यो हुँदै जान्छ’, उनले भने ‘मेरो प्राथमिकता पालिकामा व्याप्त भ्रष्टाचार अन्त्य गर्ने र जनतासँग भावनात्मक सम्बन्ध बनाइरहने हो। आफूले भोट जिताएर पठाएको मान्छे आफ्नो सुखदुःख मा साथी होस् भन्ने जनताको चाहना हुन्छ। म त्यो जनचाहना पूरा गर्छु।’