दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा (एमाले) ले सुरूआती अग्रता लिएको छ।
आइतबार भएको मतदानअन्तर्गत जारी मतगणनामा महाबुमा एमाले उम्मेदवार जंगबहादुर शाहीले एक हजार मत प्राप्त गरेका छन्। उनी २०७४ को स्थानीय तह निर्वाचनमा सोही पालिकामा अध्यक्ष निर्वाचित भएका थिए।
नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले ७४८ मत प्राप्त गरेका छन्। माओवादी केन्द्रका जंगबहादुर बरालले ४१९ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रकाशकुमार बुढाले १५ ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका सूर्जे रावतले २५, एकीकृत समाजवादीका जगतबहादुर हमालले २ र नेपाल मजदुर किसान पार्टीका दुर्गबहादुर मगरले १० मत प्राप्त गरेका छन्। अहिलेसम्म गनेकामा ३८ मत बदर देखिएको छ।
यसअघि महाबुमा नेपाली कांग्रेसका लछुमन गुरूङले २ हजार ९ सय ७९ मत प्राप्त गरेर निर्वाचित भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद उपाध्यायले २ हजार ५ सय १९ र एकीकृत समाजवादीबाट उम्मेदवार बनेका जंगबहादुर शाहीले २ हजार २ सय ६८ मत प्राप्त गरेका थिए। नेमकिपाका बमबहादुर सिंहले त्यतिबेला ५८ मत प्राप्त गरेका थिए। अघिल्लो चुनावमा त्यहाँ माओवादी केन्द्रले कांग्रेसलाई सघाएको थियो। कांग्रेसबाट उम्मेदवार भई निर्वाचित अध्यक्ष लछुमन गुरूङको निधन भएकाले त्यहाँ उपचुनाव भएको हो।