नेपाली कांग्रेसका नेता भूपेन्द्रजंग शाही लगायतले कात्तिक २३ गतेदेखि मंसिर ४ गतेसम्म पूर्वको मेचीनगरदेखि पश्चिमको महेन्द्रनगरसम्म युवा संकल्प यात्रा गरे।
भ्रष्टाचार उन्मुलन र सुशासन, युवालाई रोजगारीको सुनिश्चितता, महँगी र मूल्यवृद्धि नियन्त्रणलगायत विभिन्न एजेन्डाहरूमा केन्द्रित रहेर उनीहरूले मेचीनगरदेखि महेन्द्रनगरसम्म करिब ५० वटा कार्यक्रम गरेका हुन्।
सरकार नागरिकमैत्री हुनुपर्ने, नागरिकलाई सहज जीवनयापनका लागि राहत तथा सहुलियत दिनुपर्ने, हरेक क्षेत्रमा युवाको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने र सहकारी पीडितका बचत फिर्ता गरिनुपर्ने एजेन्डा उनीहरूको थियो।
यद्यपि शाहीको अभियानलाई पार्टीका केही नेताहरूले भने नेता शेखर कोइरालाको माहोल बुझ्न गएको रूपमा व्याख्या पनि गरेका थिए।
यिनै सन्दर्भमा केन्द्रित रहेर युवा संकल्प यात्रा सकेर काठमाडौं आइपुगेका शाहीसँग सेतोपाटीले गरेको कुराकानीको सम्पादित अंश:
तपाईंको नेतृत्वमा कांग्रेसका नेताहरूले मेचीनगरदेखि महेन्द्रनगरसम्म युवा संकल्प यात्रा गर्नुभयो, संकल्प यात्राका केही घोषित एजेन्डाहरू पनि थिए। यात्रामा आफ्ना कुरा राख्नुभयो, अरूका कुरा सुन्नुभयो, आमनागरिक र कांग्रेसका नेता, कार्यकर्ताको प्रतिक्रिया के रह्यो?
गत कात्तिक २३ गते पूर्वको मेचीनगरबाट युवा संकल्प यात्रा प्रारम्भ गरेका थियौं, मंसिर ४ गते पश्चिमको महेन्द्रनगरमा समापन गर्यौं। अहिले जनताले भोगिरहेका समस्याहरू, मुख्य १० बुँदे एजेन्डासहित हामी यात्रामा गएका थियौं।
भ्रष्टाचार, बेरोजगारी र सहकारी पीडितका समस्यालगायत एजेन्डा हामीले उठान गर्यौं। जोसुकै, जुनसुकै पार्टीका मानिस भए पनि सहकारीको बचत लुट गर्नेहरूमाथि कारबाही हुनुपर्यो र सहकारी पीडितका बचत फिर्ता हुनुपर्यो, फिर्ता गर्न सकिन्न भने राज्यले राहतको व्यवस्था गर्नुपर्यो भन्ने विषय हामीले उठाएका थियौं।
महँगीले गर्दा जनताले हातमुख जोर्न गाह्रो परेको अवस्था छ। यो परिस्थितिमा राज्यले के खालको राहत वा सहजीकरण गर्न सक्छ ध्यान दिनुपर्छ भनेर हामीले युवा संकल्प यात्राका क्रममा जिल्ला-जिल्ला पुगेर आवाज उठायौं।
यी मुद्दाहरू उठाएर पूर्वदेखि पश्चिममा पुग्दा हामीले किसान, मजदुर, युवा, खेलाडी, पत्रकार, बुद्धिजीवि लगायतलाई भेट्यौं। हामीले उठाएका एजेन्डाहरू देशका राष्ट्रिय समस्या हुन् र यसको समाधानका लागि साझा रूपमा सबैले पहल गर्नुपर्छ भन्ने प्रतिक्रिया आएको छ। यो एजेन्डामा समयमै सरकारको ध्यान पुग्नु पर्छ।
युवा संकल्प यात्राका केही एजेन्डा, जस्तो सहकारीको बचत फिर्ता गराउनेजस्ता कुरा तपाईंहरूकै पार्टी कांग्रेस संघीय सरकारमै छ, त्यहाँबाट नगर्ने, सडकमा गएर भनेर हुन्छ त?
हामी सडकमा जाने वा नजाने भन्ने कुरा ठूलो होइन। मुख्य कुरा सहकारी पीडितको बचत फिर्ता र राहत पाउनुपर्यो भन्ने हो। हामीले आवाज नउठाएर र सडकमा नगएर पनि बचत फिर्ता हुन्छ भने त हामी किन दु:ख गर्छौं र, रहर त थिएन।
हामीले पीडितका पक्षमा नबोल्ने हो भने झन् समस्या आउने, पीडितले बचत फिर्ता नपाउनेजस्ता समस्या आउने देखिएकोले पूर्वदेखि पश्चिमसम्म यो विषयमा आवाज उठाएका हौं। सरकारलाई अलिकति दबाब दिन र सरकारलाई ध्यानाकर्षण गराउन पनि हामीले आवाज उठायौं।
सरकार हाम्रो छ भनेर मुखमा टेप लगाएर बस्ने कुरा त भएन। सरकारका विरूद्धमा हामीले चक्काजाम गरेको त होइन। मशाल जुलुस गरेको होइन। बेलाबेला सरकारलाई झक्झक्याइँ राख्ने हाम्रो दायित्व पनि हो। यो देशको प्रधानमन्त्री केपी शर्मा ओली आफै सडकमा आउनुभएको छ, सडक जाम गरेर भाषण गर्नु भएको छ भनेदेखि हामी आफै त सरकारमा छैनौं नि त। त्यसैले प्रधानमन्त्रीलाई त सडकको आवाज चाहिन्छ भनेपछि हामी पार्टीको सदस्यको नाताले आवाज उठाउनु स्वाभाविक हो, अन्यथा होइन।
तपाईं पार्टीमा केन्द्रीय समितिलगायत केही भूमिकामा हुनुहुन्न, तर गतिशील र ऊर्जासहित पूर्वपश्चिम अभियानमा पुग्नुभयो, किन हो? केका लागि हो?
पार्टीभित्र जो जिम्मेवारी र भूमिकामा हुनुहुन्छ वा भूमिकामा नभएका धेरैले के भन्ने गर्छौं भने पार्टीले पार्टीले, पदाधिकारीले, नेताले यसो गरेन, उसो गरेन भनेर चिया पसलदेखि भट्टीसम्म भन्छौं। गुनासो र आलोचना तथा प्रश्न गर्ने मात्र परम्परा छ। तर मलगायत रञ्जित कर्ण, प्रेमिका राना मगरलगायत केही साथीहरू ३०/४० जना बसेर कुराकानी गर्यौं। हामी पनि यो पार्टीको सदस्य हो, आजका दिनमा ठूलो भूमिका नहोला तर सचेत युवा र पार्टी सदस्य हुनुको नाताले हाम्रो पनि दायित्व छ। अरूलाई गाली गर्नेभन्दा पनि हामी आफै केही गरौं, नागरिकका मुद्दामा अभियान गरौं भनेर युवा संकल्प यात्रा गरेको हो।
कुनै व्यक्तिगत फाइदा, गुटको फाइदामा भन्दा पनि नागरिकका मुद्दामा, भुइँ मान्छेका मुद्दामा, बेरोजार युवाका पक्षमा, सहकारी पीडितका पक्षमा, भ्रष्टाचारबाट आक्रान्त भएका आमजनताको पक्षमा हामीले आवाज उठाउनका लागि पद नै हुनुपर्छ भन्ने छैन।
सभापति शेरबहादुर देउवानिकट केही नेताहरूले संस्थापनइतर समूहका नेता शेखर कोइरालाको माहोल बुझ्न पनि भूपेन्द्रजंग शाहीलगायत पूर्वपश्चिम यात्रामा निस्केका हुन् भनेर आरोप लगाउँछन्, हो?
हाम्रो पार्टीका नेता शेखर कोइराला हुनुहुन्छ। अभियानमा हिँड्दा पक्कै पनि केही कुरामा छलफल त हुन्छ। तर यो अभियान स्पष्ट १० बुँदे एजेन्डामा थियो। त्यो जनतासँग जोडिएका मुद्दा थिए। जनताका जीवनशैलीसँग जोडिएका मुद्दामा हामीले युवा संकल्प यात्रा गरेको हो। तपाईंले पूर्वदेखि पश्चिमसम्म जाँदा हेर्नुभयो भने कहीँ पनि गुट र व्यक्तिको गन्ध आएको छैन र कहीँ पनि यसलाई पार्टीकरण गरेको छैन। पार्टीसँग समन्वय गर्यौं, हरेक जिल्लामा जिल्ला सभापति, क्षेत्रीय सभापति उपस्थित भएर संस्थागत रूपमै कार्यक्रम गर्यौं।
कि १५ औं महाधिवेशनमा पदाधिकारी उठ्न आफ्नो आधार तयार गर्न यो यात्रा गर्नु भएको हो?
पार्टीभित्रै काम गरिरहेका छौं। हिजोका दिनमा नेविसंघ केन्द्रीय उपाध्यक्ष, नेपाल तरूण दलको महामन्त्री भएँ। १४ औं महाधिवेशनमा कर्णाली प्रदेशको सभापति उठेँ, दुई पटक सांसदको उम्मेदवार पनि भएको छु। त्यो नाताले आउने महाधिवेशनमा महामन्त्री, सहमहामन्त्री उठिएला केही न केही उठिएला त्यो फरक कुरा हो। तर आज नै हतारिएर महाधिवेशनको मिति नै घोषणा नहुँदै महाधिवेशन तयारीमै हिँडे भनेर भन्नुचाहिँ हतार हुन्छ।
अहिले हामीले उठाउन खोजेको जनताकै मुद्दा हो। कांग्रेस पार्टीलाई पनि जनताका बीचमा पुर्याउने, जनताका मुद्दामा बोल्ने पार्टी बनाउने हो। जनताले भोगिरहेका समस्यामा कांग्रेस बोल्नुपर्छ आफ्नो मात्र बखान गर्ने होइन। जनताका विषयमा नबोल्ने हो भने त पार्टी कसरी बलियो हुन्छ? युवाहरूलाई पनि पार्टीमा आकर्षित गरौं। बेरोजगारी, शिक्षा र स्वास्थ्यलगायत समस्या होलान् समाधान गरौं भन्ने हो। युवालाई उद्यमशीलतामा जोड्ने विषयमा पार्टीले बोल्नुपर्छ भनेर संकल्य यात्रा गरेको हो यसमा महाधिवेशनको सम्बन्ध छैन।
तपाईंहरूले यसअघि कांग्रेस रूपान्तरण अभियान गर्नुभएको थियो। त्यसबेला प्रदेशस्तरमा गएर ल्याएका सुझाव बुझ्न सभापति देउवाले मान्नु भएन, यसपालि पनि सुझाव प्रधानमन्त्री र सभापतिलाई बुझाउने भन्नु भएको रहेछ, तपाईंहरूले आमनागरिकसँग कुराकानी गरेर ल्याएका सुझाव सरकार र पार्टीले सुन्छ जस्तो लाग्छ?
हामीले यसअघि चलाएको रूपान्तरण अभियान र अहिलेको संकल्प यात्रा फरक छ। रूपान्तरण अभियान भनेको पार्टीभित्रका समस्याका बारेमा आवाज उठाएका थियौं, छलफल गरेका थियौं। पार्टी नेतृत्व ठिक कि खराब, पार्टीले के गल्ती गर्यो? पार्टी कसरी सुध्रनुपर्छ भन्ने विषय केन्द्रित थियो। त्यो हुँदा अलिकति गुटको गन्ध पनि त्यहाँ देखियो। एकपक्षिय मात्र सहभागीता हुने अर्को पक्ष नआउने देखियो।
तर युवा संकल्प यात्रामा कहीँ पनि गुटको गन्ध देखिएन। हामीले के नीति बनाएका थियौं भने पार्टीभित्रका आन्तरिक विषयमा अभियानमा नबोल्ने। गुटबन्दी र यो नेता ठिक त्यो बेठिक भनेर नभनेपछि गुटका कुरा आएन। हाम्रो कार्यक्रममा वडादेखि जिल्ला सभापतिसम्म आउनुभयो, यो अभियान केही युवाकोभन्दा पनि सिंगो पार्टीको जस्तो भयो। वडादेखि जिल्ला सभापतिले नै सम्बन्धित जिल्लाहरूमा कार्यक्रम गरिदिएपछि त सुझाव पार्टीले बुझ्ने वा नबुझ्ने भन्ने कुरा नै भएन।
समयको तालमेल नमिल्दा रूपान्तरण अभियानका सुझाव सभापति शेरबहादुर देउवाले नबुझ्नु भएको हो। हामीले केन्द्रीय कार्यालयमा बुझायौं। यो युवा संकल्प यात्राले पार्टीलाई थप ऊर्जा दिएको छ, फाइदा पुर्याएको छ। धेरैले हामीलाई आमनागरिकका मुद्दा उठाएकोले अभियान ठिक छ पार्टीले पनि यस्तै अभियान सञ्चालन गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ। पार्टी सभापतिलाई प्रतिवेदन बुझाउन हामीलाई केही पनि गाह्रो छैन। हामी अभियानमा जानुअघि सभापति, उपसभापतिहरू, महामन्त्रीहरू, नेता शेखर कोइरालालगायतलाई अभियानबारे जानकारी गराइएको हुनाले पनि यसमा समस्या हुँदैन।
अन्तिममा, पार्टी र नेताहरूले भूमिका नदिँदा पनि व्यक्तिगत रूपमा यस्ता अभियान किन चलाउनु परेको हो?
कांग्रेस पार्टी आफैमा गतिशील भयो, ऊर्जाशील भयो र आफै कार्यक्रमहरू दिएर कार्यकर्ताहरूलाई केही भूमिका र काम दियो भने हामीले छुट्टै खालका कार्यक्रम नगर्दा पनि हुन्थ्यो। तर हाम्रो पार्टीभित्र गतिशील र ऊर्जाशील बनाउन पार्टीले निर्णय गर्ला भनेर कुरेर बस्नुभन्दा पनि हामी आफै पहल गरौं, यसले पार्टीलाई पनि मद्दत हुन्छ भनेर यो अभियान सुरू गरिएको थियो।
म पनि केही न केही गतिविधि गरिराख्ने स्वभावको भएँ। आफ्नो तर्फबाट पनि केही योगदान गरेको हुँ। हामी केही न केही अभियान गरिरहेका हुन्छौं। रूपान्तरण अभियानपछि कर्णालीका १० वटै जिल्लामा पनि अभियान सञ्चालन गरेको हो। कर्णालीका कठिन भूगोलमा पनि हामीले अभियान चलाइसकेको हो।
स्रोतसाधन जुटाउन पनि गाह्रो छ। मैले सोचेभन्दा पनि अझै बढी कांग्रेसका जिल्ला सभापतिहरू, जिम्मेवार र आधिकारिक मानिसहरूले समर्थन र सहयोग गर्नुभयो। उहाँहरूकै संयोजनमा यो अभियान सिंगो कांग्रेसकै अभियानको रूपमा रह्यो। अब नयाँ अभियानमा अघि बढ्नुपर्छ भन्ने ऊर्जा र शक्ति हामीलाई प्राप्त भएको छ।
भिडिओ: