गोर्खा मिडिया नेटवर्कले सहकारीबाट लिएको ऋणको ब्याज तिर्न रवि लामिछाने आफैले हस्ताक्षर गरेको चेकको प्रमाण भेटिएपछि यो प्रकरणको छानबिनमा एउटा महत्वपूर्ण ‘च्याप्टर क्लोज’ भएको छ।
गोर्खा मिडिया नेटवर्कमा सहकारीको पैसा आएको कुनै जानकारी आफूलाई नभएको भन्ने लामिछानेले लामो समयदेखि गर्दै आएको दावीको ‘च्याप्टर कोल्ज’ भएको हो।
सहकारीबाट लिएको ऋणको ब्याज तिर्न तीनै सहकारीको नाममा लामिछाने स्वयमले हस्ताक्षर गरेर काटिएका चेक प्रहरीले फेला पारेको छ।
संसदीय छानबिन समितिले पनि फेला पार्न नसकेका ति चेक प्रहरीले फैला परेपछि लामिछानेले गरेको दाबी खण्डित भएको छ। सूर्य थापा नेतृत्वको संसदीय छानबिन विशेष समितिले रवि लामिछानेको प्रत्यक्ष संलग्नता पुष्टि हुने कुनै कागजात फेला पार्न सकेको थिएन।
रास्वपाका सांसदहरूले कागजात फेला नपरेको विषयलाई रवि लामिछानेले ‘क्लिन चिट’ पाएको भन्दै जोडतोडले प्रचारबाजी गरेका थिए।
सहकारीबाट लिएको ऋणको ब्याज तिर्न आफै चेक काटेको मानिसले आफ्नो कम्पनीले सहकारीबाट ऋण लिएको थाहा थिएन भन्ने दाबी स्वत: खण्डित हुन्छ।
लामिछानेले पोखराको सूर्यदर्शन र बुटवलको सुप्रिम सहकारीको ऋणको ब्याज भुक्तानी गर्न काटेको चेक प्रहरीले फेला पारेको हो।
रूपन्देहीमा सरकारी वकिलसँगको बयानको क्रममा प्रहरीले लामिछानेलाई उनी आफैले काटेको चेक देखाएको थियो। त्यसपछि उनी ‘स्तब्ध’ बनेको प्रहरीले बताएको छ।
गत कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई सुप्रिम सहकारीको विषयमा बयानका लागि कात्तिक २७ गते रूपन्देही पुर्याइएको थियो।
जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीमा भएको बयानका क्रममा लामिछानेलाई आफ्नै हस्ताक्षर सहितको चेकको प्रतिलिपि देखाइएको थियो। चेक देखेपछि लामिछाने स्तब्ध बनेको अनुसन्धानमा संलग्न एक अधिकृतले सेतोपाटीलाई बताए।
चेकको प्रसंग आएपछि लामिछानेले बयानका लागि समय मागेका थिए। त्यसपछि दोस्रो दिन, कात्तिक २८ गते रातिसम्म रुपन्देहीमा उनको बयान लम्बिएको थियो।
चेक भेटिनु अघिसम्म रवि लामिछानेको नाममा सुप्रिम सहकारीकी कर्मचारी रोशनी गुरुङले २०७८ वैशाख ५ गते १ करोड रुपैंया जम्मा गरेको बैंक स्टेटमेन्ट प्रमाण थियो। चेक भेटिएसँगै लामिछानेले ऋण लिएको पुष्टि मात्र भएको छैन उनले भुक्तानी गरेको पनि प्रमाण भेटिएको छ।
यो प्रमाणले अब लामिछानेविरुद्ध सहकारी ऐन २०७४ को दफा १२२ को खण्ड ‘त’ आकर्षित गर्ने सम्भावना बलियो भनेको छ।
यो पनि
गोर्खा मिडिया छिरेकै दिन रवि लामिछानेलाई थाहा थियो यो सहकारीको पैसा हो!
उक्त दफामा ‘सहकारी संस्थालाई हानिनोक्सानी पुऱ्याउने उद्देश्यले कसैले कुनै काम गर्न वा गराउन, मोलाहिजा गर्न वा गराउन, कुनै किसिमको रकम लिन वा दिन नहुने भनेको छ। यो कसुर गरेको देखिए र प्रमाणित पनि भए ६ देखि ८ वर्षसम्म कैद सजाय हुनेछ।
लामिछानेको हकमा सहकारीबाट कम्पनीमा पैसा ल्याएको बैंक स्टेटमेन्ट र कम्पनीबाट एकल हस्ताक्षरमा सहकारीलाई पैसा दिएको प्रमाण भेटिएको छ। यसले उनीमाथि सहकारीलाई हानिनोक्सानी पुर्याउन लेनदेन गरेको अभियोग पुष्टि हुने प्रमाण भेटिएको छ।
किनभने, गोर्खा मिडिया नेटवर्कमा जसरी पैसा ल्याइएको छ, त्यसले सहकारीलाई हानिनोक्सानी पुर्याएको छ। यो प्रकरणमा लामिछाने लाभ प्राप्त गरेका छन् भन्ने अदालतबाट प्रमाणित भए उनलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुन्छ।
त्यस्तै अपचलन गरेको रकम उनीबाटै असुल गरिनेछ। उनको भागमा जति रकमको बिगो देखिन्छ, त्यति नै जरिवाना हुन्छ।
रवि लामिछानेले भने गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला कहिलेकाहीँ हस्ताक्षर गरेर रित्तो चेक छाड्ने गरेको र कसैले नाम र रकम लेखेर पठाएको हुन सक्ने भन्दै बयान दिएका छन्।
सुप्रिम सहकारीबाट लामिछानेसहित गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जिबी) राई, उपाध्यक्ष एवं नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बन्जाडे जोशी लगायतको नामबाट झन्डै साढे १६ करोड रूपैयाँ गोर्खा मिडियामा लगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ।
संसदीय छानबिन समितिका अनुसार गोर्खा मिडिया नेटवर्कमा सहकारीहरूबाट ६५ करोड रकम लगेर अपचलन गरिएको छ।
यो पनि:
रास्वपाका नेताहरू किन रवि लामिछानेमाथि कम्पनी ऐनमात्र आकर्षित हुन्छ भनेर जोड गरिरहेका छन्?