संघीय सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले शुक्रबार काठमाडौंको दरबारमार्गमा जागरण सभा गर्यो।
सत्तामै रहेको एमालेले सडकमा कार्यकर्ता उतारेर गरेको शक्ति प्रदर्शनको औचित्यमाथि धेरैले प्रश्न उठाएका थिए।
मुलुकमा बढ्दो अराजकता र अस्थिरताविरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्न एमालेले जागरण सभा गर्ने भनेको थियो।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले जागरण भनिएको सभालाई प्रष्टीकरण सभामा बदले।
विशेष गरी प्रधानमन्त्री ओली र एमालेमाथि नै पछिल्ला समय उठिरहेका प्रश्न र आरोपमाथि केन्द्रित रहेर उनीहरूले ६ वटा प्रष्टीकरण दिए।
पहिलो, सरकारको आयु र नेपाली कांग्रेससँगको गठबन्धन
दोस्रो, कम्बोडियामा ओलीको लगानीबारे लागेको जघन्य आरोपबारे
तेस्रो, ओलीले 'चिनियाँ कार्ड खेलेको' प्रचण्डको अभिव्यक्ति
चौथो, रवि लामिछाने जोडिएको सहकारी बचत अपचलनबारे
पाँचौं, कुलमान घिसिङबारे
र छैटौं, एमाले नेताहरू जोडिएका काण्डबारे।
अब हामी एमालेले प्रष्टीकरण दिएका विषयमा एक-एक गरी चर्चा गर्नेछौं।
सरकारको आयु र नेपाली कांग्रेससँगको गठबन्धन
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेबीचको गठबन्धन २०८४ सालसम्मै जाने बताए।
गत असार १७ गते कांग्रेस र एमालेबीच सात बुँदे सहमति भई असार ३० मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका थिए। कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति छ।
तर कतिपयले माघ–फागुनसम्म मात्रै यो सरकार जाने हल्ला चलाएको प्रसंग उप्काउँदै प्रधानमन्त्री ओलीले २०८४ को चुनावसम्मै गठबन्धन कायम रहने बताएका हुन्।
‘आज मंसिर ७ गते एमाले सरकारमा छ, सरकारमा भएर पनि सभा सञ्चालन गरिरहेको छ। अलिक अगाडिसम्म के हो, कसो भन्ने भन्ने परेको पनि हुन सक्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार बन्दै बन्दैन, बन्यो। विश्वासको मत पाउँदै पाउँदैन, पायो। यो महिना कट्दै कट्दैन, कट्यो। दसैं देख्दै देख्दैन, देख्यो। अब भाका राख्दैछन् फेब्रुअरीको। फेब्रुअरी भनेको, माघ–फागुनको कुरा हो। म भन्न चाहन्छु- २०८४ साल मंसिरसम्म अहिलेको समीकरण कायम रहन्छ।’
प्रधानमन्त्री ओलीले यो कुरा सबैले बुझे हुन्छ, कान खोलेर सुने हुन्छ पनि भनेका थिए।
साथै उनले कांग्रेससँग भएको सात बुँदे सहमतिअनुसार नै प्रधानमन्त्री हस्तान्तरण गर्ने बताए।
‘२०८३ साल असारसम्म म प्रधानमन्त्री रहन्छु, त्यसपछि शेरबहादुरजीलाई प्रधानमन्त्री जिम्मा लगाउँछु, उहाँले फेरि १८ महिना चलाउनुहुन्छ,’ ओलीको भनाइ छ।
थप भिडिओमा हेर्नुहोस्:
कम्बोडियामा ओलीको लगानीबारे लागेको जघन्य आरोपबारे
अब कुरा गरौं, कम्बोडियामा ओलीको लगानीबारे लागेको जघन्य आरोपबारे। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही दिनअघि कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए।
यो पनि: प्रधानमन्त्री ओलीमाथि दुर्गा प्रसाईंको जघन्य आरोप
प्रसाईंलाई उनकै भक्तपुरस्थित निवासबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएर साइबर ब्युरोमार्फत् अनुसन्धान गरिराखेको छ। प्रसाईंमाथि विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कारबाही हुँदैछ।
प्रधानमन्त्री ओलीले प्रसाईंलाई लक्ष्य गर्दै भनेर हुने भए कम्बोडियामा मात्रै किन, अमेरिकाको बैंकको आधा सम्पत्ति पनि मेरो हो भन्दिए हुन्छ भन्ने टिप्पणीसमेत गरे।
‘भन्दिए त भो नि! कम्बोडियामा ३२ हजार करोड, स्वीस बैंकमा यति तपाईंहरू त हेर्न जान सक्नुहुन्न, भन्दिए भो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यो मात्रै किन भन्ने अमेरिकाका बैंकका आधा सम्पत्ति मेरै हो ल, यस्ता फाल्तु कुरा गरेर केही छैन।’
थप भिडिओमा हेर्नुहोस्:
प्रधानमन्त्री ओलीले 'चिनियाँ कार्ड खेलेको' प्रचण्डको अभिव्यक्तिबारे
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले दिएको 'चिनियाँ कार्ड' अभिव्यक्तिमा पनि प्रष्टीकरण दिए।
प्रधानमन्त्री ओलीले ‘चिनियाँ कार्ड’ खेलेको भारतीय पत्रिका द हिन्दुकी पत्रकार सुहासिनी हैदरसँगको अन्तर्वार्तामा अध्यक्ष प्रचण्डले आरोप लगाएका थिए।
यो पनि: प्रधानमन्त्री ओलीले 'चिनियाँ कार्ड' खेलेको प्रचण्डको आरोप
‘हाम्रो स्वाधीनता, भौगोलिक अखण्डताको रक्षा गर्दै विदेश नीतिलाई सन्तुलित गर्छौं। कतिले के-केन व्यवसाय भेट्टाएजस्तो गरेर, पहिले कता जानुपर्ने कता गयो, अपरिपक्व भयो..! कस्तो हुन्छ परिपक्व भनेको? कता जानुपर्ने? धर्मशास्त्रमा लेखेको छ कि, संविधानमा लेखेको छ कि, कानुनमा लेखेको छ कि, संयुक्त राष्ट्रसंघको बडापत्रमा छ कि कहाँचाहिँ बडा परिपक्वता भेट्टाउनुभयो, यी बाहियात र कायर कुराहरू हुन्!,’ प्रचण्डलाई लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले भने।
साथै ओलीले सबै छिमेकीहरूसँग सम्मानपूर्ण सम्बन्ध राख्ने बताए। ‘पारस्परिक लाभका आधारमा सम्बन्ध र व्यवहार राख्छौं। कसैप्रति वैरभाव छैन, छैन हाम्रो शत्रु, सबै छन् मित्रु, सबै मित्रको ढंगले हामी व्यवहार गर्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीको भनाइ छ।
थप भिडिओमा हेर्नुहोस्:
रवि लामिछाने जोडिएको सहकारी बचत अपचलनबारे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की हिरासतमा छन्। उनलाई रास्वपा केन्द्रीय कार्यालय च:मतिबाट प्रहरीले गत कात्तिक २ गते पक्राउ गरेको थियो। कास्की अदालतबाट चार पटकसम्म लामिछानेमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
कास्की, रुपन्देही, चितवन र काठमाडौंका सहकारीका बचत अपचलनमा संलग्न रहेको आरोप लामिछानेमाथि छ। लामिछाने पहिले प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पोखराको सुर्यदर्शनलगायत विभिन्न सहकारीबाट बचत रकम आएको देखिएको भन्दै संसदीय विशेष छानबिन समितिले लामिछानेसहितलाई कारबाही गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ।
तर रास्वपाले सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै सडक प्रदर्शन गरिराखेको छ। रास्वपाको उक्त प्रदर्शनप्रति लक्ष्य गर्दै प्रधानमन्त्री ओलीले 'आफै सहकारी ठगी गर्ने, अरूलाई गाली गर्ने?' भन्दै प्रश्न पनि गरे।
रास्वपा सभापति लामिछानेले कास्की अदालतमा उपस्थित गराउँदा प्रधानमन्त्री ओलीविरूद्ध अभिव्यक्ति दिएका थिए। लामिछानेले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देशैभरिबाट विरोध गर्न आह्वान गरेका थिए।
‘मलाई न्याय अदालतले दिन्छ, तर यो सरकारको विरूद्ध देशैभरिबाट सबैजनालाई उत्रन आह्वान गर्छु,’ लामिछानेले भनेका थिए, ‘मेरो लागि होइन, मलाई त अदालतले न्याय दिन्छ। अधिनायकवादी ओली सरकारका विरूद्ध देशैभरि देशका लागि बाहिर निस्कने बेला आउन सक्छ।’
यो पनि: ओली सरकारविरूद्ध देशभरिबाट उत्रन आह्वान गर्छु: रवि लामिछाने (भिडिओ)
अदालत उपस्थित गराउँदा लामिछानेले यस्तो अभिव्यक्ति दिएपछि गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायहरूसँग चासो राखेका थिए। अनुसन्धानमा रहेका व्यक्तिले वक्तव्य दिएको भन्दै गृहमन्त्रीले चासो राखेका हुन्। यस विषयमा गृह मन्त्रालयअन्तर्गत निकायका प्रमुखहरूसँग गृहमन्त्री लेखकले असन्तुष्टि जनाएका थिए।
प्रधानमन्त्री ओलीले सहकारी ठगी गर्नेहरू अरूलाई गाली गर्दै हिँडेको पनि बताए। 'उल्टै कति कति सहकारीमा ठगीका प्रमाणहरू छन्, आफै सहकारी ठगी गर्ने, अरूलाई मुख छाड्ने? अरूलाई गाली गर्ने?,' प्रधानमन्त्री ओलीले भने।
अहिलेको सरकारलाई कुनै पनि प्रकारका भ्रष्टाचार सह्य नहुने प्रधानमन्त्रीको भनाइ छ।
थप भिडिओमा हेर्नुहोस्:
कुलमान घिसिङबारे- बक्यौता नउठाउने, उद्योगका लाइन काट्ने
प्रधानमन्त्री ओलीले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे पनि अभिव्यक्ति दिए।
‘साम्प्रदायिक विद्वेष मच्चाउने, अर्थतन्त्रलाई ध्वस्त पार्ने यसप्रकारका प्रयासका लागि, उद्योग बन्द गराउँदा गराउँदा केही उद्योग बाँकी छन् भने बक्यौता उठाउन छोडेर, बक्यौता नउठाउने अनि लाइन काट्ने?,’ प्रधानमन्त्री ओलीले भने, ‘दैनिक खपत गरेको विद्युतको मिटरमा आएको हुन्छ, विलअनुसार पैसा तुरून्त असुल गर, लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर, त्यसअनुसार महसुल उठाऊ। त्यो नउठाउने। देशका उद्योग बन्द गरिदिने, लाइन काटेर मजदुरलाई बेरोजगार बनाइदिने, उत्पादन खत्तम बनाउने षड्यन्त्र भइरहेका छन्।’
उद्यमी, व्यवसायी र माडवाडी समुदायलाई खेद भन्ने अभियान चल्ने गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो केका लागि हो भन्ने प्रश्न पनि गरे।
एमाले नेताहरू जोडिएका काण्डबारे
एमाले महासचिव शंकर पोखरेलले अराजकताका विरूद्ध उभिँदा अध्यक्ष ओलीविरूद्ध विभिन्न षड्यन्त्र र बदनामी भएको पनि बताए।
साथै उनले एमालेका नेताहरू जोडिएका विभिन्न प्रकरणको प्रसंग पनि उप्काए।
‘सबैभन्दा बढी चर्चा ओम्नीबारे गरिन्छ, जतिबेला कोभिड महामारीमा सिंगो विश्व आक्रान्त थिए। यातायातको साधन बन्द थिए। लकडाउनको अवस्था थियो। भविष्यको असुरक्षा थियो। त्यस्तो बेला अस्पतालसमेत बन्द हुन थालेका बेला चीनमा अस्पतालका चिकित्सकहरूले उपचारका लागि प्रयोग गर्ने सुरक्षा सामग्री उत्पादन भइरहेको छ भन्ने थाहा पाएपछि, नेपाली जनताको जीवन रक्षाका लागि जसरी भए पनि सामग्री ल्याउन ओम्नी कम्पनीलाई सामग्री ल्याउन अनुमति दियौं,’ महासचिव पोखरेलले भने।
उनले त्यसबेला नेपाल एयरलाइन्सलाई भाडामा लिएर सामान लिन जाँदा जुन कम्पनीले सामान दिने भनेको थियो, त्यो कम्पनीले सबै सामान उठाएर लगेको र ओम्नी कम्पनीले जे सामान पाइन्छ त्यही सामान बोकेर नेपाल फर्किएको भन्दै बचाऊ गरे।
‘तिनै सामानबाट जनताको जीवन रक्षाको अभियान चलायौं तर बुझ्दै जाँदा सम्झौताका सर्तअनुसारका सामग्री नआएको गुनासो आएपछि सरकारले त्यो कम्पनीलाई दिनुपर्ने पैसा रोकिदियो, धरौटी जफत गर्यो। सरकारले एक पैसा पनि खर्च नगरेको परियोजनाबारे एमाले र ओम्नी भनेर प्रचार गरिन्छ। यो कस्तो कुप्रचार हो?,’ महासचिव पोखरेलले भने।
साथै उनले मुलुकमा १८ घन्टासम्मको लोडसेडिङ अन्त्यका लागि एमालेले भूमिका खेलेको तर जस अर्कैले पाएको बताए।
'केपी ओली पहिलो पटक प्रधानमन्त्री हुँदा नेपालमा १८ घन्टा लोडसेडिङ हुन्थ्यो। नेपालको जलस्रोतमा देखिएका समस्याहरूलाई समाधान गरी आधारभूत लोडसेडिङ एक वर्षभित्र हल गर्ने योजना तयार गर्ने प्रधानमन्त्रीका रूपमा पनि केपी शर्मा ओली रहनुभयो।'
त्यही योजनाको परिणामस्वरूप भारतबाट अन्तरदेशीय ट्रान्समिसन लाइन निर्माण गरेर विद्युत आयात गरी नेपाललाई उज्यालो युगतर्फ फर्काउने कामको नेतृत्व एमालेले गरेको उनको दाबी छ।
'तर बिडम्बनाको कुरा काम एउटाले गर्छ जस अर्कालाई दिने हाम्रो समाजको परम्परा बन्न पुगेको छ,' उनले भने।
थप भिडिओमा हेर्नुहोस्: