मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको प्रमुख र दुइटा वडाध्यक्षका लागि उपनिर्वाचन हुँदैछ।
३३ जिल्लाका रिक्त ४४ पदमा उपनिर्वाचन हुने भए पनि जिल्ला समन्वय समिति ओखलढुंगा, कैलाली र केही वडाध्यक्ष निर्विरोध भइसकेका छन्।
उपनिर्वाचन हुन लागेको एक मात्र नगरपालिका, त्यो पनि काठमाडौं उपत्यकाभित्रकै भएर कीर्तिपुरको चुनाव चर्चामा छ।
यो पनि:
कीर्तिपुरमा सित्तैमा फोहोर उठाउनेदेखि खानेपानी र विद्युत निःशुल्क गर्छु: शिवशरण महर्जन (भिडिओ)
कीर्तिपुरलाई लाख मान्छे बस्नयोग्य सहर बनाउँछु: सुरेन्द्र मानन्धर (भिडिओ)
यहाँ प्रमुख पदका लागि २० जना र वडा नम्बर १ मा ९ र ४ मा १३ जनाले उम्मेदवारी दिएका छन्।
कीर्तिपुरका तत्कालीन प्रमुख राजकुमार नकर्मी, वडा नम्बर १ का अध्यक्ष हिरालाल महर्जन र वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको निधन भएपछि रिक्त पदमा चुनाव हुन लागेको हो।
२०७९ वैशाखको निर्वाचनमा कीर्तिपुर नगरपालिकामा ३० हजार ३ सय २८ मतदाता रहेकामा ७ सय ८४ जना थपिएर ३१ हजार १ सय १२ पुगेका छन्।
१० वडा, २० मतदान स्थल र ३८ मतदान केन्द्र रहेको कीर्तिपुरमा नेपाली कांग्रेस र नेकपा (एमाले) एक्लाएक्लै प्रतिस्पर्धामा छन्।
नेकपा (माओवादी केन्द्र) ले एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको साथ लिएर उम्मेदवारी दिएको छ।
राजनीतिक दलहरूसँगै स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) पनि प्रतिस्पर्धामा छन्। सफाइ अभियन्ताबाट आफ्नो छवि स्थापित गरेमा मानवले समुदायसँग मिलेर कीर्तिपुरमा लहना रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन्।
सफाइसँगै कीर्तिपुरको रैथाने परिकारहरू समेतको प्रबर्द्धन गरिरहेका महर्जन कुनैबेला राजनीतिक दलमा आस्था राख्थे।
नेकपा (एमाले) को नगर कमिटी सचिवसमेत भइसकेका र अहिले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका महर्जनसँग चुनाव प्रचारप्रसार र उम्मेदवारको प्रतिबद्धतालगायत विषयमा केन्द्रित रहेर सेतोपाटीका अक्षर काकाले गरेको कुराकानीः
कीर्तिपुर प्राचीन सहर हो। सांस्कृतिक क्षेत्र मात्र नभइ यातायातमा पनि अग्रणी थियो। कीर्तिपुरको आफ्नै यातायात थियो। अहिले ती धरासायी मात्र होइन बन्द नै छन्। तपाईं मेयरको उम्मेदवार बन्दै गर्दा के-के कार्यसूची बोकेर नागरिककहाँ पुगिराख्नुभएको छ?
नेपालको परिप्रेक्ष्यमा मेरो कार्यसूची लामो छ। यसकारण कि, यहाँ कुनै व्यवस्था नै छैन। सबै चिज व्यवस्थापन गर्नुपर्नेछ। यी सबै बोकेर हिँड्ने हो भने हजारौं कार्यसूची पुग्छ।
यसमध्ये मैले दुई वटा चिजलाई मात्रै प्राथमिकता दिएको छु। परापूर्वकालदेखि बुझ्दै आउने हो भने कीर्तिपुर सबैभन्दा प्राचीन बस्ती भएको ठाउँ हो। कीर्तिपुर जिवन्त संस्कृति बोकेको सहर पनि हो।
अहिलेको आधुनिक परिवेशमा हामीले हाम्रो मौलिकताको जगेर्ना गर्न सक्नुपर्छ। अरूले मौलिकताको सम्बर्द्धन गर्दै आएका छन्। हाम्रो देश प्राकृतिक रूपले संसारमै सुन्दर भए पनि हामीले आफ्नो मौलिक स्वरूप दिन सकेका छैनौं। दिए पनि जोगाउन सकेका छैनौं।
प्रकृतिले दिएका चिजहरूलाई पनि जगेर्ना गर्न सकेनौं। जथाभावी फोहोर गर्ने, अव्यवस्थाका कारण प्राकृतिक सुन्दरता हराउँदै गइरहेको छ।
त्यसकारण कीर्तिपुरको सांस्कतिक वैभवलाई जोगाउने मेरो काम हुनेछ। गोपाल वंशदेखि काठमाडौं उपत्यकाको इतिहास के हो? संस्कृति, परम्परा, मूल्य–मान्यता के हो? त्यसलाई उजागर हुने गरी यसको स्वरूपमा निखारता ल्याउने छौं।
कीर्तिपुरमा तीन फिट, छ फिटका प्राचीन गल्लीहरू छन्। त्यसलाई अझ कलात्मक बनाउन सकियो भने संसारकै सुन्दर सहर हुन्छ। संसारमा त्यस्तो कुनै सांस्कृतिक सहर छैन।
हामीले अहिले कीर्तिपुरमै नेवाः लहना सुरू गरेका छौं। हामीले एउटा सानो उदाहरण प्रस्तुत गरेका छौं। मन पराएका पनि छन्।
समग्र कीर्तिपुरमै यही अभ्यास गरेपछि संसारभरका मानिसहरूलाई आकर्षित गर्न सकिन्छ। नेपालको गौरवको विषय बन्छ।
अहिले नेपालमा सरदर वार्षिक १०–११ लाख पर्यटक आउँछन्। यसलाई सांस्कृतिक सहरका रूपमा विकास गर्न सकियो भने कम्तीमा पनि यसलाई दोब्बर गर्न सकिन्छ।
त्यसकारण मैले योजनाबद्ध विकासबारे सोचेको छु। नेपाल र जनकपुरमा ३ सय ६५ दिन नै सांस्कृतिक गतिविधि हुने भएकाले यसको महत्त्व उजागर गर्नुपर्छ।
अर्को, अहिलेको अवस्थामा कीर्तिपुर नगरपालिकाले सबैभन्दा बढी कर उठाउँछ, करमा कस्छ भन्ने गुनासो छ।
करलाई ५० प्रतिशतसम्म घटाउने मेरो योजना छ। त्यस्तै स्वास्थ्यमा सहुलियत प्रदान गर्ने मेरो अर्को योजना छ।
खेलकुद, यातायात, जात्रा–पर्वको व्यवस्थापन, बाटाघाटाको निर्माण क्रमबद्ध विकासको योजनामा छन्। यी कुराहरू कार्यसूचीमै राख्नुपर्ने विषय होइन। कतै धेरै, कतै थोरै बजेटको व्यवस्था गर्न सके पुगिहाल्छ।
मुख्यतः सांस्कृतिक सहर बनाउने नै हाम्रो प्रमुख विषय हो। जापानको टोकियो, न्युयोर्क, लन्डनजस्तै पहिचानयुक्त सहर बनाउने हाम्रो ध्येय हो।
त्यहाँ आठ–दस लेनको बाटोमार्फत् प्रबन्ध गरिएको छ। यहाँ स–साना चिजहरूको सही व्यवस्थापन गरेर त्यो पहिचान दिलाउनेछौं।
आम्दानी नै घटाएपछि यत्रो योजना पूरा गर्न स्रोतको समस्या होला नि! कहाँबाट ल्याउनुहुन्छ?
त्यत्रो ठूलो बजेटको परिकल्पना छैन। हामीले अघिसारेका योजना पूरा गर्न जम्मा १५ करोड बजेट लाग्ने अनुमान गरेका छौं।
नेपाललगायत तेस्रो विश्वले अब विश्वासको मोडालिटीमा परिवर्तन गर्नुपर्छ।
अमेरिकामा जस्तो विशाल बाटो बनाउने, सय तल्लाको गगनचुम्बी घर बनाउने मात्र विकास होइन। विकास त आफूसँग भएको कला, सम्पदा, वैभवहरूको विकास पो हो त!
त्यसका लागि धेरै खर्च लाग्दैन। १५ करोडमै हामी कीर्तिपुरलाई सांस्कृतिक सहर बनाउन सक्छौं।
कागजमा हेर्ने हो भने कीर्तिपुर नगरपालिकाको अहिलेको बजेट एक अर्ब ३० करोड छ। १५ करोडमै हामीले यो काम गर्यौं भने नेपालकै नमूना हुनेछ।
नगर मात्र होइन, गाउँपालिकामै अहिले १५–२० करोडको बजेट ठूलो कुरा भएन। त्यसकारण उहाँहरूलाई पनि आफ्नो पालिकाको मुहार परिवर्तन गर्ने एउटा नजीर बनाउने हाम्रो परिकल्पना हो।
तपाईंसँग प्रतिस्पर्धामा पार्टीका हस्तीहरू हुनुहुन्छ। ती पार्टीहरूको गाउँटोलसम्म संगठन, समाजको पिँधसम्मै जरा पुगेको छ। त्यसो त तपाईं पनि पहिले पार्टीमै आस्था राख्नुहुन्थ्यो। नेकपा (माले) लाई कीर्तिपुर भित्र्याउन यहाँको योगदान थियो। नेकपा (एमाले) को नगर सचिव नै हुनुहुन्थ्यो। स्वतन्त्र उम्मेदवारीचाहिँ किन, पार्टीप्रतिको वितृष्णा कि, पार्टीले गर्न सक्दैनन् भन्ने निष्कर्ष हो?
पार्टीप्रति वितृष्णा होइन। उहाँहरूको गलत नीतिले गर्दा उम्मेदवारी दिएको हुँ। तपाईंहरूले पार्टी भने पनि म पार्टीको रूपमा मान्दिनँ। अहिलेको अवस्थामा उहाँहरू त गुटहरूको समूह हो। पार्टीमात्रै भए दल रहन्छ। पार्टीभित्र धेरै गुट भएकाले देश बिग्रिएको हो।
म ६० सालसम्म वामपन्थी राजनीतिमा थिएँ। ६० सालदेखि वामपन्थी मात्र होइन, राजनीति नै छाड्नुको अर्थ राजनीतिक दलको कार्यक्षमता, दृष्टिकोण केही देखिएन। त्यसले नेपाल नै बिग्रियो।
नेपाललाई कसरी बनाउने भनेर उहाँहरूसँग खाका पनि छैन।
खाका नहुने नेतृत्वपंक्ति भएकाले देश अन्यौलको अवस्थामा छ। २०४७ देखि अहिलेसम्म जति पनि नेतृत्वमा आउनुभयो, नेपाली कांग्रेस, नेकपा (एमाले), माओवादी केन्द्र), उहाँहरूसँग यसको समाधान छैन। उहाँहरूसँग समस्या मात्र छै।
राजनीतिक दलहरू जहाँजहाँ पुगेका छन्, ती सबै ठाउँ अस्तव्यस्त र समस्या नै समस्या मात्रै देखिन्छ।
नेपालको धेरै उद्योग–धन्दा कलकारखाना उहाँहरूले बेची नै सक्नुभयो। उहाँहरूले नै अव्यवस्था निम्त्याएर घाटामा पुर्याएर, जनतालाई घाटामा गयो भन्नुभयो। गिरिजाप्रसाद कोइरालादेखि नै यसको सुरूआत भएको हो।
उहाँहरूको सोच नै सरकारी, सार्वजनिक सम्पत्तिहरू नष्ट गरेर आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न लागेको जनतामा स्पष्ट भइसक्यो।
राजनीतिक पार्टीहरू देशको विकृति हटाउने होइन, थप्ने हो भनेर स्पष्टै भइसकेको छ।
कीर्तिपुरको ८ वटा वडा कांग्रेसकै छ। उपमेयर जनता समाजवादी पार्टीको छ। चुनाव जित्नुभयो भने त दलसँगै मिलेर काम गर्नुपर्छ नि!
जित्ने आधार नै मेरो ब्रस (कुचो) हो। म १६ वर्षदेखि नेपाल मात्र नभई विश्वकै फोहोर ठाउँ बडार्दै हिँडेको छु। यहाँको जनजनको मनमा परेको छ कि, यो मानिसले कीर्तिपुर सफासुग्घर राख्छ।
कीर्तिपुरमा ४० वर्ष पुरानो ४० रोपनीमा फैलिएको डम्पिङ साइट छ। त्यसलाई अहिले व्यवस्थित बनाउन लागिपरेको छु। यहाँको सामाजिक कार्यमा ११ वर्षदेखि निरन्तर क्रियाशील छु। यी सबै कुरा यहाँका नागरिकलाई थाहा छ। अहिले घरघरमा यसपटकको भोट सफा गर्ने मानिसलाई दिन्छौं भनेर छलफल भइरहेको मैले सुनेको छु।
कीर्तिपुरको ९० प्रतिशत भोट पाउनेमा आशावादी छु। १० प्रतिशत पार्टीका कट्टर कार्यकर्ता होलान्। कट्टर कार्यकर्ता त्यो पनि माथिल्लो पंक्तिले मात्रै पार्टीलाई भोट देलान्। तलका संगठित र साधारण सदस्यहरूले त मलाई नै भोट दिन्छन्।
भिडिओ: