गौरा पर्वमा काठमाडौंको टुँडिखेलमा भएको कार्यक्रममा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध नाराबाजी भयो। यो घटना भदौ १० गतेको हो।
त्यो दिन दर्शकदीर्घामा रहेकाहरूले होहल्ला गरेपछि कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मञ्चबाटै जबाफ फर्काएका थिए।
त्यस्तै कात्तिक ११ गते साफ महिला च्याम्पियनको फाइनल खेल हेर्न पुगेका प्रधानमन्त्री ओलीविरूद्ध दशरथ रंगशालामा नाराबाजी भयो। प्यारापिटमा रहेकाहरूले प्रधानमन्त्रीविरूद्ध 'अमर्यादित भाषा' प्रयोग गरेको भन्दै प्रहरीले ‘स्क्रिनिङ’ पनि गर्यो।
प्रधानमन्त्री ओलीलाई लक्ष्य गरेर भएका यस्ता गतिविधिलाई नेकपा (एमाले) ले 'अराजकता'को संज्ञा दिएको छ। त्यसपछि बसेका पार्टी सचिवालयको बैठकमा एमालेले समाजमा अराजकता बढ्न थालेको भन्दै चिन्तासमेत व्यक्त गरेको थियो।
गत असार ३० गते ओली नेतृत्वमा सरकार बनेयता विपक्षी दलहरू नै अराजकता मच्चाउन लागिपरेको एमालेको निष्कर्ष छ। र, उसले जबाफ सडक प्रदर्शन गरेर दिन लागेको छ।
बुधबार एमालेले काठमाडौंमा पत्रकार भेटघाटको आयोजना गर्यो। उपमहासचिव प्रदीप ज्ञवालीले मंसिर ७ गतेको जागरण सभाको औचित्यबारे विवेचना गरे।
‘अराजकता र अस्थिरता सँगैसँगै देखियो’
उपमहासचिव ज्ञवालीले गत असार २८ गते विश्वासको मत नपाएर आफ्नो सरकार ढलेपछि नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका पुष्पकमल दाहाल 'प्रचण्ड'मा ‘सत्ता छटपटी' बढेको बताए।
सरकारबाट बहिर्गमित भएलगत्तै देशलाई ‘श्रीलंका र बंगलादेश बनाइदिन्छु’ भन्नु त्यसैको उदाहरण भएको ज्ञवालीको भनाइ छ। ‘अस्थिरताबाट लाभ उठाउन खोज्ने र सत्ता बेचैनीका पात्र एकै ठाउँमा देखिन थालेका छन्,’ ज्ञवालीले थपे।
प्रधानमन्त्री ओलीविरूद्ध मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको अपुष्ट कागजात माओवादी केन्द्रनिकट नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा धेरै सेयर गरेको उनको आसय थियो।
यसले पनि अराजकता र अस्थिरता निम्त्याउन खोज्नेहरू सँगसँगै रहेको पुष्टि हुने उनको तर्क थियो। उनले माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीदेखि राजावादीहरूसम्म अराजकतालाई समाजमा प्रश्रय दिन लागिपरेको टिप्पणी गरे।
त्यसलाई पुष्टि गर्न केही दिनअगाडि माओवादीका अध्यक्ष प्रचण्डसँगको भेटपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता रवीन्द्र मिश्रले फेसबुकमा पोष्ट गरेको स्ट्याटसको सहारा लिए।
‘प्रचण्डलाई भेटेबारे रवीन्द्र मिश्रले फेसबुकमा लेख्नुभयो। त्यसपछि प्रचण्डको सचिवालयले खण्डन त गर्यो तर मिश्रजीले मैले त भेटपछि भन्न मिल्नेमात्रै सार्वजनिक गरेको हुँ। यहाँ उल्लेख गर्न नमिल्ने पनि कुराकानी भएका छन् भन्नुभएको थियो,’ ज्ञवालीले भने।
उपमहासचिव ज्ञवालीले कुनै बेला भारतविरूद्ध सुरूङयुद्ध गर्नुपर्छ भनेर खाल्डो खन्ने माओवादीका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीले चिनियाँ कार्ड खेल्न लाग्यो भनेर अमर्यादित टिप्पणी गरेको पनि बताए।
‘सरकारविरूद्ध जे-जे हतियार पाइन्छ प्रयोग गरेर जानुपर्छ भन्नेजस्तो देखिएको छ,’ ज्ञवालीले भने।
ज्ञवालीले राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि प्रतिशोध साँधेको भन्दै गरिरहेको सडक आन्दोलनप्रति पनि टिप्पणी गरे।
आगामी निर्वाचनमा एमाले र कांग्रेस नै प्रतिस्पर्धी रहेको बताउँदै रास्वपाप्रति प्रतिशोध साँध्नुपर्ने कुनै कारण नरहेको उनको भनाइ थियो।
‘रास्वपाको सभापति भएका हिसाबले रवि लामिछानेले छुट पाउनुपर्छ भन्ने हुँदैन। हामीले कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीको विषय आउनेबित्तिकै अनुसन्धानमा सघायौं, एमाले, कांग्रेस जो कसैका हुन्, गलत गर्नेमाथि कारबाही हुन्छ,’ उनले भने।
सरकारले गति लिएको दाबी
अन्तरक्रियात्मक पत्रकार भेटघाटमा उपमहासचिव ज्ञवालीले अध्यक्ष ओलीले सरकार सम्हालेपछि अर्थतन्त्रमा सकारात्मक सूचक देखिएको, बाढी–पहिरोको पुनःनिर्माणले गति लिएको दाबी गरे।
‘अर्थतन्त्रमा सुधारको संकेत देखिएको, शिथिलताबाट बाहिर आएको छ। निजी क्षेत्रले सरकारलाई विश्वास गरेको अवस्था छ। सेयर बजार एउटा इन्डिकेटर हो,’ उनले भने, ‘सेयर बजारले सरकारलाई अभिभावक ठानेको अवस्था छ।’
एमाले नेतृत्वमा सरकार बनेपछि संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगिएको, विधेयक अनुसार आयोग बनेर बाँकी रहेको काम पूरा हुने अवस्थामा रहेको उनको दाबी थियो।
यसबीचमा सहकारी पीडितहरूको बचत फिर्ताको प्रक्रिया सुरू भएको दाबी गरे। यसबीचमा एक लाखभन्दा मुनि बचत रहेका करिब ६ हजार पीडितको पूर्ण र ४ हजार पीडितको आंशिक बचत फिर्ता भएको बताए।
बाढी–पहिरोबाट भएको क्षतिको पुनर्निर्माणले पनि गति लिएको उनले बताए।
खुर्कोटको बेलिब्रिज बगाएपछि रामेछाप २० वर्षपछि धकेलियो भनेर टिप्पणी भइरहेका बेला सरकारले २० दिनमै उक्त पुल जोडेर आवागमन सहज बनाएको पनि उदाहरण दिए।
केही वर्षयता लक्ष्यअनुरूप राजस्व उठ्न नसकेको र पूर्ववर्ती सरकारले ६ खर्बको दायित्व सिर्जना गरेकाले विकास–निर्माणले अपेक्षित गति लिन नसकेको बताए। तथापि सरकार गठनको चार महिनाको अवधिमा भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, ऊर्जाको क्षेत्रीय व्यापार (बंगलादेशमा विजुली निर्यात) सुरू हुनु उल्लेखनीय काम भएको बताए।
पत्रकारहरूले ज्ञवालीलाई चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनामा कांग्रेस र एमालेको मत नमिलेकोबारे पनि धारणा मागेका थिए।
जबाफमा ज्ञवालीले कांग्रेसका केही नेताहरूले बिआरआइअन्तर्गत अनुदान मात्रै स्वीकार गर्नुपर्छ, ऋण लिनुहुँदैन भन्ने मान्यता रहेको बताउँदै यसबारे छलफल भइरहेको बताए।
प्रधानमन्त्री ओली चीन भ्रमण जानुअघि कांग्रेस, एमाले साझा निष्कर्षमा पुग्ने पनि जानकारी दिए।
एमालेले मंसिर ७ गते दरबारमार्गमा जागरण सभा गर्दैछ।
एमालेको काठमाडौं, ललितपुर, भक्तपुर, विशेष जिल्ला कमिटी, सम्पर्क समन्वय कमिटीको आयोजनामा उक्त सभा गर्न लागिएको हो।
करिब १ लाख कार्यकर्ता, पार्टी समर्थक, शुभेच्छुक उतार्ने लक्ष्य राखिएको बागमती इन्चार्ज राजन भट्टराईले जानकारी दिए।
राजनीतिक दल सत्तामा नहुँदा र हुँदा पनि जनताका जानुलाई स्वाभाविक रूपमा लिनुपर्ने बताए।
‘राजनीतिक दललाई जनतामा जान उत्प्रेरित गर्नुपर्छ। यो सभा उपनिर्वाचनको तयारी र मत माग्नका लागि पनि हो,’ उनले भने, ‘जागरण सभा जनतालाई सुन्ने अवसर पनि हो।’