दैलेखको महाबु गाउँपालिकामा पनि मंसिर १६ गते उपनिर्वाचन हुँदैछ।
२०७९ माघमा अध्यक्ष लछुमन गुरूङको निधन भएपछि यहाँ अध्यक्ष पद रिक्त छ।
उपनिर्वाचनमा सात जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेसबाट झलकबहादुर भण्डारी, नेकपा (एमाले) बाट जंगबहादुर शाही, नेकपा (माओवादी केन्द्र) बाट जंगबहादुर बराल मगर, नेकपा (एकीकृत समाजवादी) बाट जगतबहादुर हमाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाशबहादुर बुढा, राप्रपाबाट सुर्जे रावत, नेमकिपाबाट दुर्गबहादुर मगर उम्मेदवार छन्।
यीमध्ये हामीले कांग्रेस, एमाले, माओवादी र रास्वपाका उम्मेदवारहरूसँग उपनिर्वाचन केन्द्रित रहेर गरेको कुराकानीको सम्पादित अंश;
झलकबहादुर भण्डारीः उम्मेदवार, नेपाली कांग्रेस
तपाईं पहिले पनि उम्मेदवार हुन खोज्नुभएको थियो, पाउनुभएन। यसपालि उम्मेदवारी दिनुभयो, चुनाव जित्नुभयो भने के-कस्ता काम गर्नुहुन्छ?
गत चुनावमा उम्मेदवार हुने मेरो इच्छा थियो। तर पार्टीमा योगदान गर्नुभएको वरिष्ठ नेताअघि सरेकाले मैले उहाँलाई समर्थन गरेको हो।
जहाँसम्म अब छोटो समय बाँकी रहन्छ भन्ने कुरा छ, यो अढाइ वर्ष समयमा पनि धेरै काम गर्न सकिन्छ भन्ने मलाई लाग्छ। किनभने यसअघिका जनप्रतिनिधिले सुरू गरेका र पूर्ण नभएका योजनाहरूलाई नै मैले गति दिन सकेँ भने महाबुका जनतालाई स्थानीय सरकार भएको महसुस हुनेछ।
मेरो मुख्य उद्देश्य भनेको यहाँ सार्वजनिक सेवाका लागि निर्माणको चरणमा रहेको भौतिक पूर्वाधार, अधुरा पूर्वाधार, अलपत्र परेका पूर्वाधारहरूलाई पूर्णता दिने हो। जसले महाबुका जनतालाई ठूलो राहत मिल्छ।
दोस्रो भनेको गाउँपालिका भित्रका सामुदायिक विद्यालयको शिक्षालाई गुणस्तरीय बनाउने हो। हाम्रो विद्यालयहरूमा शतप्रतिशत समुदायको पहुँच पुर्याउने र ती समुदायका बालबालिकालाई गुणस्तरीय शिक्षा दिने योजना छ। यसका लागि सबै किसिमका सरोकारवालासँग सहकार्य गर्नेछु।
स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउनु मेरो अर्को उद्देश्य हो। ग्रामिण भेगका केही नागरिकले घण्टौं हिँडेर स्वास्थ्य सेवा लिनुपरेको छ। तैपनि गुणस्तरीय नभएको गुनासो छ।
मेरो योजना ग्रामिण भेगमा स्वास्थ्य संस्था स्थापना गर्ने र भएका स्वास्थ्य संस्थामा नियमित सेवा, सरकारले नि:शुल्क भनेर व्यवस्था गरेका सबै प्रकारका औषधि उपलब्ध गराउनु हो।
हाम्रोमा यसअघि नै एक घर, एक धारा खानेपानी परियोजना सुरू भएको छ। यो अधुरो भएकाले यसलाई पूरा गर्ने मेरो योजना छ।
शतप्रतिशत घरधुरीलाई विद्युतको पहुँचमा पुर्याउन पनि अबको बाँकी कार्यकालमा सकिन्छ। यहाँ विद्युतका संरचना निर्माण भइसकेका छन्, तिनलाई पूर्णता दिन मात्र बाँकी छ।
मत माग्दै घरदैलोमा पुग्नु भएको होला, जनता कत्तिको उत्साहित छन्?
चुनाव हुन लाग्दा उत्साह देखिने नै भयो। तर जनताले पहिलेका जनप्रतिनिधिले केही गरेनन्, अब आधा कार्यकाल जितेर के काम गर्छौं भनेर उम्मेदवारलाई प्रश्न गरिरहेको पाइन्छ। यो अस्वाभाविक पनि होइन। पहिलेको सुस्तताले जनतामा निराशा छाएको हुन सक्छ।
घरदैलोका क्रममा जनताले सोध्ने प्रश्न, आगामी दिनमा गर्नुपर्ने कामका बारेमा दिने सुझाव, पहिलेका राजनीतिक समीक्षालाई हेर्दा अहिलेको निर्वाचनमा पनि जनता सक्रिय सहभागी हुन्छन् भन्ने महसुस गरेको छु।
जनताको प्रतिक्रिया के पाउनुभयो, कत्तिको चुनौती देख्नुहुन्छ?
खासमा आवधिक निर्वाचन नै जनताले खोजेको उत्तम व्यवस्था हो। तर विविध कारणले राज्यले उपनिर्वाचन गर्नुपरेको छ। यस्तो बेलामा जनतामा थोरै भए पनि निराशा देखिनु स्वभाविक हो। उहाँहरूलाई अहिलेसम्म जनप्रतिनिधिले काम गरेनन्, अबको आधा कार्यकाल कसरी काम गर्लान् भन्ने लागेको हुन सक्छ।
यद्यपि उपनिर्वाचन पनि सरकार छान्ने एक प्रक्रिया हो। यसमा जनताको सक्रिय सहभागिता हुन्छ नै। निर्वाचनको बेला त्यो उत्साह जनतामा कहीँ न कहीँ देखिन्छ।
हामी गएको स्थानीय तह निर्वाचनमा पनि महाबुमा एक्लै लडेका हौं। गएको निर्वाचनको सकारात्मक मतले अहिले हामीलाई चुनौती छ जस्तो लाग्दैन।
जंगबहादुर शाहीः उम्मेदवार, नेकपा (एमाले)
२०७४ को चुनाव जितेर तपाईंले पाँच वर्ष गाउँपालिकामा काम गर्नुभयो। लगत्तै २०७९ वैशाखको चुनाव हार्नुभयो। फेरि अध्यक्षमा उम्मेदवारी दिनुभएको छ, किन?
मैले अघिल्लो पाँच वर्षे कार्यकालमा थुप्रै काम गरेको छु। जनतालाई संघीयताको मर्म बुझाउने गरी काम गर्ने प्रयास गरेको छु।
कतिपय काम अधुरा भए होलान्। अधुरा कामलाई पूर्णता दिनु र अबको बाँकी कार्यकालमा जनताका लागि सामूहिक काम गर्ने गरी म अघि सरेको हो।
अघिल्लो कार्यकालमा कतिपय काम छुटेका छन्। जस्तै, सहज सडक, पूर्ण खानेपानीको पहुँच, विद्युत जस्ता कामहरू केही बस्तीमा पुर्याउने बाँकी थियो। यी कामलाई पूरा गर्ने प्रतिबद्धता पनि जनतासँग गरेको छु।
यसअघि तपाईंले पार्टी परिवर्तन गरेर उम्मेदवारी दिनुभयो, पराजित हुनुभयो। अहिले फेरि पुरानै पार्टीमा फर्किएर उम्मेदवार बन्नुभयो, विगतदेखि निरन्तर पार्टीमै दु:ख गरेकाहरू रिसाएका हुन सक्छन्, यसले चुनौती थपिएजस्तो लाग्दैन?
खासमा हामीले सुरूमा नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) मिलेर चुनावमा जाने निधो गरेका थियौं। जिल्लास्तरका माथिल्लो तहका नेताबीच यही सहमति भएको हो। पछि दुई वटा पार्टीको चुनाव चिह्न छाडेर बीचको चिह्न लिने विषयमा कुरा नमिलेपछि मैले एमालेको चिह्न लिएर अन्तिम घडीमा मनोनयन दर्ता गराएको हो।
अब मैले एमालेको चुनाव चिह्न लिइसकेपछि म समाजवादीमा हुने कुरा भएन, तैपनि हामीले छलफल गरिरहेका छौं। छलफल सकारात्मक निस्कन्छ र मलाई चुनौती हुँदैन भन्नेमा म ढुक्क छु।
उम्मेदवारी दिएपछि जनताका घरदैलोमा पुग्नु भएको होला, नागरिकका प्रतिक्रिया के छन्?
नागरिक अहिलेको निर्वाचनमा पनि विगतका चुनावमा जत्तिकै उत्साहित छन्। निर्वाचन आफ्नो जनप्रतिनिधि छान्ने पर्व भएकाले जनता उत्साहित नहुने कुरै भएन। उहाँहरूले आफ्नो उत्साहसँग हामीलाई आगामी दिनमा गर्नुपर्ने कामका लागि सकारात्मक सुझाव दिइरहनु भएको छ।
तपाईंप्रति मतदाताका प्रतिक्रिया के छन्?
पहिला अध्यक्ष हुँदा केही राम्रा काम गरेको थियो, अब पनि पक्कै राम्रो गर्ला भन्ने प्रतिक्रिया पाएको छु। महाबुका जनताको मप्रति यसअघि जस्तो अपेक्षा थियो त्यो अहिले पनि कायमै छ।
घरदैलोमा एमाले र एकीकृत समाजवादीका कार्यकर्ता पनि भेटिएलान् के भन्छन्?
अवश्य भेट हुन्छ। उहाँहरुले मलाई दलको भन्दा पनि गाउँको नेताको रूपमा हेर्नुहुन्छ। उहाँहरूले मलाई उत्साहित बनाउनुभएको छ।
चुनाव जित्नुभयो भने काम गर्ने समय कम छ, के छन् योजना?
मैले आफ्नो कार्यकालमा गाउँपालिकाका ६ वटै वडालाई समट्ने गरी सडक सञ्जाल विस्तार गरेको छु। ती सडक बीचमा मर्मत पनि गरिएनन्। पहिला त सडकलाई स्तरउन्नती गर्छु।
घरघरमा बिजुली पुर्याउने काम मेरै कार्यकालमा भएको हो। कतिपय बनेका संरचना अहिले पनि अधुरा छन्। यसलाई पूर्णता दिएर गाउँपालिकाभरका सबै घरधुरीमा विद्युतको पहुँच पुर्याउनु मेरो उद्देश्य हो।
बाँकी निरन्तर सुधारका लागि लागिरहनुपर्ने काम स्वास्थ्य, शिक्षा, पूर्वाधारका काम त छँदैछन्। यीमध्ये कतिपय हुँदै गरेका कामलाई निरन्तरता दिने र नयाँ कामलाई सामूहिक रूपमा गर्ने मेरो योजनामा छ।
हाम्रो क्षेत्र कृषिमा निर्भर क्षेत्र भएकाले कृषकको नि:शुल्क बिमा, बाली संरक्षणको उचित योजना ल्याउने काम गर्नेछु। समय थोरै भएकोले एकल रूपमा कुनै पनि काम गर्न सकिँदैन। त्यस्तो झुटो आश्वासन पनि मैले दिएको छैन। जति गर्नुछ, सामूहिक रूपमा अघि बढेर महाबुका जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराउने योजना छ। यी योजना पक्कै पनि बाँकी कार्यकालमा पूरा हुनेछन्।
जंगबहादुर बरालः उम्मेदवार, नेकपा (माओवादी केन्द्र)
तपाईं अध्यक्षको उम्मेवार हुनुहुन्छ, के छन् एजेन्डा?
हामीले विगतदेखि नै उठाउँदै आएको नारा भनेको ‘सुशासन सहितको विकास’ हो। हामीले अहिले मात्र होइन, विगतदेखि नै तल्लो तहमा यही नारा लिएर अघि बढेका हौं। हाम्रो अहिले महाबुमा पनि यही एजेन्डा हो।
हामी सुशासन सहितको विकास भयो भने जनतामा समृद्धि आउँछ भन्नेमा विश्वस्त छौं। यसैसाथ उपनिर्वाचनमा पनि अघि बढेका छौं।
मत माग्न घरदैलोमा पुग्नु भएको होला, जनताको प्रतिक्रिया के पाउनुभयो?
मतदाताहरू निराश देखिन्छन्। जनताको बुझाइ के छ भने निर्वाचनका बेला घरदैलो गर्ने दल वा दलका नेताहरू फेरि फर्किएर आउँदैनन् र जनताको अपेक्षाअनुसार काम गर्दैनन् भन्ने छ। कतिपय अवस्थामा यो यथार्थ पनि हो।
समग्र निर्वाचनको माहोललाई हेर्ने हो भने जनता उत्साहित छन्। आफ्नो मताधिकार प्रयोग गरेर नेतृत्व छान्ने कुरामा जनता खुसी रहेको मैले पाएको छु।
हामीले विगतका कमजोरीलाई आत्मासत गरेका छौं र यसैगरी जनतालाई पनि आशावादी हुन भनेका छौं। विगतमा हामीभन्दा पनि अरू दलले गरेका कमजोरीको नतिजा हामीले बेलाबेला भोग्नुपरेको हो। हामीले उहाँहरूलाई अपेक्षाअनुसार काम गर्ने प्रतिबद्धता गरेका छौं।
तपाईंप्रति मतदाताहरूको प्रतिक्रिया के पाउनुभयो?
म 'जनयुद्ध'मा भूमिगत हुँदा खाइरहेको जागिर छोडेको हुँ। मलाई जनताले लोभ नभएको नेताका रूपमा बुझ्छन्। मलाई उहाँहरूले निर्वाचन जित्नेभन्दा पनि जितेपछि कसरी काम गर्ने भनेर चिन्ता व्यक्त गर्नुभएको पाउँछु। तपाईं इमानदार नेता हो, यो व्यवस्थामा इमान्दार व्यक्तिले काम गर्न सक्ने अवस्था छैन, व्यवस्थाप्रति जागरूक हुनुस् भनेर सजग गराउँछन्।
महाबुमा यसअघिको चुनावमा माओवादीले एकीकृत समाजवादीसँग गठबन्धन गरेको थियो तैपनि हार्यो। अहिले एक्लै लड्दै हुनुहुन्छ, जित्ने आधार के हो?
खासमा जनताले गठबन्धनलाई मिलेर खाने भाँडोको रूपमा बुझेको पाइयो। उहाँहरूले दिने प्रतिक्रियाबाट गठबन्धनभन्दा माओवादी एकल लड्दा उचित हुने महसुस भयो।
विगतका केही निर्वाचनमा एकल रूपमा लड्दा हामीले जुन परिणाम पाएका थियौं, अहिले महाबुमा एकल लड्दा झन् सहज हुने विश्वास छ।
प्रकाश कुमार बुढाः उम्मेदवार, राष्ट्रिय स्वतन्त्र पार्टी
उम्मेदवारी दिइसकेपछि मत माग्न घरदैलोमा पुग्नु भएको होला। रास्वपा पहिलो पटक स्थानीय चुनाव लड्दैछ, मतदाताको प्रतिक्रिया कस्तो छ?
समग्रमा निर्वाचनको माहोलप्रति जनता उत्साहित भएको पाएको छु। तर दलहरूप्रति भने वितृष्णा देखेँ। यसले नयाँ दललाई पनि आक्षेप लाग्ने गरेको छ। चुनावका बेला घरघरमा आएर भेट्ने चुनावपछि जनअपेक्षाको कदर नगर्ने भनेर अरू दललाई भन्दै गर्दा नयाँ दललाई पनि यिनीहरु यस्तै त होलान् भन्ने धारणा जनतामा देखिन्छ।
रास्वपाप्रति नागरिकको धारणा कस्तो पाउनु भयो?
राष्ट्रिय स्वतन्त्र पार्टीप्रति नागरिकहरू अपेक्षित देखिएका छन्। हाम्रोजस्तो ग्रामिण भेगमा पनि रास्वपाप्रति उत्तिकै आकर्षण पाएको छु। नयाँ दलले चुनाव जिते केही हुन्छ भन्ने आशा कायमै रहेछ।
घरदैलोका क्रममा कतिपय युवाहरू संगठनमा जोडिने कुरा पनि गर्नुहुन्छ। तर हामीले अहिले नै संगठनमा जोडिन हतार नगर्न भनेका छौं। भोलि जितेर पनि काम गर्न नसकिने अवस्था भयो भने तपाईहरूको पनि बदनाम हुने गरी युवाहरूलाई सदस्यता दिने हाम्रो कुनै योजना छैन।
अहिलेको निर्वाचनमा तपाईंले यो क्षेत्रमा रास्वपाको सहभागितालाई परीक्षणका रूपमा त लिनुभएको छैन?
यसलाई परीक्षणको रूपमा मात्र लिने कुरै छैन। अहिले मात्र होइन, आगामी दिनमा दललाई कसरी स्थापित गराउने भन्नेमा म केन्द्रित छु।
चुनाव जित्नुभयो भने काम गर्ने समय थोरै छ। महाबुमा के-कस्ता काम गर्ने योजना छ?
गाउँको विकासका लागि रणनीतिक योजना बनाउने मेरो प्रमुख एजेन्डा हो। रणनीतिक योजनामा आवश्यक विकासका थुप्रै योजना राखियो भने क्रमबद्ध रूपले पूरा हुँदै जान्छन्।
विकास निर्माणका काम गर्दा गुरूयोजना शून्य लागतमा गर्छु। विश्वविद्यालयका अनुसन्धानकर्तासँग सम्झौता गरेर गाउँपालिकाको लागत नलाग्ने गरी गुरूयोजना बनाएर अघि बढ्नेछौं।
गाउँमा रोजगारी नपाएर स्वदेश र विदेशमा भएका व्यक्तिको प्रत्यक्ष लगानी हुने गरी उद्योग स्थापना गर्ने योजना पनि बनाएको छु।
गाउँपालिकाभित्र पानी उद्योग स्थापना गर्ने योजना पनि छ। यसले थोरै युवालाई रोजगारी पनि दिलाउँछ।
शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकासका लागि रणनीतिक योजना बनाउने र त्यसअनुसार अघि बढ्छु।