मंसिर १६ गते तोकिएको उपनिर्वाचन कर्णाली प्रदेशका ८ ठाउँमा हुँदैछ। कर्णालीमा एक जना गाउँपालिका अध्यक्ष, एक जना उपाध्यक्ष, एक जना नगरपालिकाका उपमेयर र चार जना वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ।
आइतबार मनोनयनका लागि तोकिएको समयभित्र यी आठै ठाउँमा दल तथा स्वतन्त्र उम्मेदवारी परेका छन्।
कर्णालीमा दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर र हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो।
यस्तै, कालीकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नम्बर ५, जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ र रूकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो।
यी आठ पदका लागि ४५ जनाको उम्मेदवारी परेको छ। जसमध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन्।
अध्यक्ष, उपाध्यक्ष र उपमेयर पदका लागि २० जनाको उम्मेदवारी परेको छ। यीमध्ये दुई जना स्वतन्त्र उम्मेदवार छन्।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष पदका लागि सात जनाको उम्मेदवारी परेको छ। नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एस), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीबाट उम्मेदवारले मनोनयन दिएका छन्।
मुख्य निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेका अनुसार कांग्रेसबाट झलकबहादुर भण्डारी, एमालेबाट जंगबहादुर शाही, माओवादी केन्द्रबाट जंगबहादुर बराल, नेकपा एकीकृत समाजवादीबाट जगत हमाल, रास्वपाबाट प्रकाश बुढा, राप्रपाबाट सुर्जे रावत र नेमकिपाबाट दुर्गबहादुर मगरले उम्मेदवारी दिएका छन्।
एमालेबाट उम्मेदवार बनेका शाही यसअघि २०७४ मा नेकपा एमालेबाट महाबुको अध्यक्ष बनेका थिए। २०७९ को निर्वाचनमा उनी एकीकृत समाजवादीबाट उम्मेदवार बनेर पराजित भएका थिए। अहिले केही समयअघि मात्र एमालेमा फर्किएर उनी पुनः महाबुको अध्यक्ष उम्मेदवार बनेका हुन्।
यसअघि नेपाली कांग्रेसबाट निर्वाचित महाबु गाउँपालिका अध्यक्ष लछुमन गुरूङको २०७९ माघ २७ गते मृत्यु भएको हो।
जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर पदका लागि छ जनाको उम्मेदवारी परेको छ।
सहायक निर्वाचन अधिकृत धर्मबहादुर बुढाका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी परेको छ।
उनका अनुसार नेपाली कांग्रेसबाट इन्द्रा चन्द सिंह, नेकपा एमालेबाट सुनिता बोहरा, राप्रपा नेपालबाट सुनिता पुन रावल, माओवादी केन्द्रबाट देवका लामिछाने, नेपाल समाजवादी पार्टीबाट पवित्रा जैसी र रास्वपाबाट पार्वती पुनको उम्मेदवारी परेको छ।
यसअघि २०७९ को निर्वाचनमा नेपाली कांग्रेसबाट उपमेयरमा निर्वाचित भएकी सरिता सिंहको गत वर्षको भूकम्पमा परी मृत्यु भएको थियो।
अहिलेको उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी इन्द्रा सरिताकी भाइबुहारी हुन्।
हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि दुई जना स्वतन्त्र उम्मेदवारसहित सात जनाको उम्मेदवारी परेको छ।
नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र रास्वपाले सर्केगाडको उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।
मुख्य निर्वाचन अधिकृत शम्भुप्रसाद बरालका अनुसार नेपाली कांग्रेसबाट सबिता बुढा, एमालेबाट जाना शाही, माओवादी केन्द्रबाट देवकी तिमल्सेना, राप्रपाबाट संगिता शाही र रास्वपाबाट बाँचा शाहीले उम्मेदवारी दिएका छन्।
नरेश शाही र रामसरा खड्काले स्वतन्त्र उम्मेदवारी दिएका बरालले जानकारी दिए।
नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेकी तिमल्सेना माओवादी हुम्लाका अध्यक्ष डा. दीपेन्द्र रोकायाकी श्रीमती हुन्। डा. रोकाया मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा प्रदेश योजना आयोगका सदस्य थिए।
गत भदौ ४ गते सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको गाडी दुर्घटना हुँदा सर्केगाडका उपाध्यक्ष चन्द्र सिंह कार्कीको मृत्यु भएको थियो। उनले २०७९ को निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेर उपाध्यक्ष बनेका थिए।
यस्तै पाँच जना वडाध्यक्ष पदका लागि २५ जनाको उम्मेदवारी परेको छ। जसमध्ये २४ जना दलबाट छन् भने एक जना स्वतन्त्र उम्मेदवार छन्।
कालिकोटको तिलागुफा नगरपालिका वडा नम्बर ४ को वडाध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दिएका छन्।
नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
जिल्ला निर्वाचन कार्यालय कालीकोटका अनुसार एमालेबाट ऐनबहादुर शही, नेमकिपाबाट खड्कबहादुर शाही, रास्वपाबाट गगन बम, राप्रपाबाट गोगनबहादुर शाही, माओवादी केन्द्रबाट नैनशोभा शाही र नेपाली कांग्रेसबाट पैलबहादुर शाहीले वडाध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।
२०७९ को निर्वाचनबाट यो वडामा नेकपा माओवादीबाट उम्मेदवार बनेर परबहादुर शाही वडाध्यक्ष निर्वाचित भएका थिए।
२०७९ असोज २२ गते राँचुलीमा आएको बाढीले बगाएर उनको मृत्यु भएको थियो।
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५ को वडाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। सहायक निर्वाचन अधिकृत हरिगोपाल ज्ञवालीका अनुसार नेकपा एमालेबाट नरबहादुर रोकाया, नेकपा (एस) बाट ज्योति घर्ती, नेकपा माओवादी केन्द्रबाट नरबहादुर झाँक्री र नेपाली कांग्रेसबाट राजेन्द्र प्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन्।
यो वडामा २०७९ मा नेकपा एमालेबाट नन्दलाल रोका वडाध्यक्ष बनेका थिए। गत माघमा उनको मृत्यु भएको थियो।
यस्तै, दैलेखको दुल्लु नगरपालिका वडा नम्बर १३ मा वडाध्यक्ष पदका लागि ६ जनाले मनोनयन दर्ता गराएका छन्।
उक्त पदका लागि नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्।
निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लका अनुसार एमालेबाट लालबहादुर शाही, कांग्रेसबाट शेरबहादुर शाही, माओवादीबाट ढकेन्द्र शाही, राप्रपाट रेशम शाही, रास्वपाबाट रामबहादुर शाही र नेमकिपाबाट पूणर्प्रसाद उपाध्यायले मनोनयन दर्ता गराएका हुन्।
यसअघिका वडाध्यक्ष बिर्खबहादुर शाहीको गत माघमा ब्रेनट्युमरका कारण मृत्यु भएको थियो। २०७९ मा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए।
जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ को अध्यक्ष पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्। जिल्ला निर्वाचन कार्यालय जाजरकोटका अनुसार नेकपा एमालेबाट डम्बरबहादुर घर्ती, नेपाली कांग्रेसबाट खम्बबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट गोरखबहादुर नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लालबहादुर खत्री र स्वतन्त्र पार्टीबाट कमान सार्कीले उम्मेदवारी दिएका हुन्।
रूकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ५ को अध्यक्ष पदका लागि चार जनाले उम्मेदवारी दिएका छन्।
नेकपा माओवादी केन्द्रबाट जसीराम बस्नेत, नेपाली कांग्रेसबाट मोतीराम खत्री, नेकपा एमालेबाट हंशराज पुरीले उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत गोविन्द रूपाखेतीले जानकारी दिए।
सोही पदका लागि वीरबहादुर बस्नेतले स्वतन्त्र उम्मेदवारी दिएका छन्।