अबिच्युरी
विद्यार्थी कालदेखि राजनीतिमा लागेका, राजनीति सँगसँगै वकालतमा सक्रिय रहेका र सक्रिय राजनीतिबाट बाहिरिएपछि पनि राजनीतिक मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका पूर्वसभामुख दमननाथ ढुंगानाको आइतबार निधन भएको छ।
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार क्रममा उनको निधन भएको हो। उनी ८३ वर्षका थिए।
२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित सरकार र संसदमाथि 'कू' गरेपछि विद्यार्थीलाई संगठित गर्ने अभियानमा होमिएर ढुंगानाले राजनीतिक यात्रा सुरू गरेका थिए। काठमाडौंमै जन्मे-हुर्केका उनले राजा महेन्द्रको कदमविरूद्ध त्रिभुवन विश्वविद्यालयका विद्यार्थी संगठित गर्दै त्यसको नेतृत्व लिए। उनी नेविसंघ गठन हुनुअघि नै विद्यार्थी राजनीतिमा सक्रिय थिए।
नेपाली कांग्रेसले २०२७ सालमा नेविसंघ गठन गरेपछि भने उनी राजनीतिभन्दा वकालततिर सक्रिय रहे। उनी नेपाल बार एसोसिएसनमा सचिव र महासचिवसम्म बने। वकालत पेसाकै माध्यमबाट उनले पञ्चायतविरूद्ध भूमिका खेलिरहे।
ढुंगानाले २०४५ सालसम्म वकालतलाई धेरै समय दिए। कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईसँग निकट रहेका ढुंगानाले संविधान सुझाव आयोग सदस्य रहेर पनि काम गरेका थिए। उनलाई २०४६ सालमा कांग्रेसले प्रवक्ता बनायो। त्यसपछि भने उनले पूर्णकालीन राजनीतिलाई समय दिए।
२०४८ सालको आमनिर्वाचनमा कांग्रेसले ढुंगानालाई काठमाडौं क्षेत्र नम्बर २ को टिकट दिएको थियो। त्यति बेला नेकपा (चौथो महाधिवेशन) समूहबाट उम्मेदवार बनेका मल्ल के सुन्दरलाई हराएर ढुंगाना निर्वाचित भए।
पार्टीमा आफ्नो विकल्पका रूपमा यदाकदा चर्चा हुने गरेका ढुंगानालाई तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मन्त्री बनाउन चाहेका थिए। ढुंगाना मानेनन्। उनले 'म सांसद नै ठिक छु' भन्ने जबाफ दिएका थिए। तर कम्युनिस्टको वर्चश्व रहेको काठमाडौंबाट चुनाव जितेकाले पनि हुनुपर्छ, ढुंगानालाई कुनै न कुनै जिम्मेवारी दिनुपर्ने बाध्यतामा थिए, प्रधानमन्त्री कोइराला।
उनले कानुनी पृष्ठभूमि भएको भन्दै ढुंगानालाई सभामुखका रूपमा अघि सारे। २०४८ असार ९ गते ढुंगाना सभामुख बने।
२०४६ को राजनीतिक परिवर्तनपछिको पहिलो प्रतिनिधिसभाले पाँचवर्षे कार्यकाल पूरा गर्न पाएन। २०५१ सालमा मध्यावधि भयो। ढुंगाना पनि चुनाव उठे तर एमालेकी उम्मेदवार विद्या भण्डारीसँग पराजित भए।
सभामुख छाडेलगत्तै भएको चुनाव हारेका ढुंगाना सक्रिय राजनीतिबाट ओझेल पर्दै मानवअधिकारका क्षेत्रतर्फ मोडिए।
२०६२/६३ को जनआन्दोलनसम्म आइपुग्दा ढुंगाना नागरिक अगुवा तथा माधवअधिकारवादीको सक्रिय भूमिकामा थिए। उनले द्वन्द्वरत पक्ष नेकपा माओवादी र तत्कालीन सत्तापक्षबीच मध्यस्थकर्ताको भूमिका पनि खेलेका थिए।
ढुंगाना कांग्रेसबाट पहिलो संविधानसभा २०६४ को सदस्य हुन चाहन्थे। संविधान सुझाव आयोग सदस्य रहेर काम गरेको अनुभव उनीसँग थियो। कांग्रेसले निलाम्बर आचार्यको सट्टा आफूलाई संविधानसभा सदस्य बनाओस् भन्ने उनको इच्छा रहेको कांग्रेस नेताहरू बताउँछन्।
पहिले पनि संविधानका लागि काम गरेको, मानवअधिकार क्षेत्रमा योगदान गरेको र माओवादीहरूसँग पनि एकखालको सम्बन्ध बनेकाले आफूलाई कांग्रेसले संविधानसभा सदस्य बनाउनेमा ढुंगाना ढुक्क थिए। तर कांग्रेसले त्यो भूमिका नदिएपछि उनी राजनीतिमा छेउ पर्दै गए।
लामो समय सक्रिय राजनीतिमा नदेखिएका ढुंगानालाई २०७४ को चुनावमा सभापति शेरबहादुर देउवाले भक्तपुर क्षेत्र नम्बर २ को टिकट दिए। तर एमाले उम्मेदवार महेश बस्नेतसँग उनी पराजित भए। कांग्रेसबाहेक कसैबाट पनि उनले मत तान्न सकेनन्। संसदमा सभामुखका रूपमा खेलेको भूमिकालाई सबभन्दा धेरै कम्युनिस्टहरूले प्रशंसा गर्थे तर त्यसलाई उनले भोटमा बदल्न सकेनन्। त्यसपछि ढुंगाना फेरि सक्रिय राजनीतिबाट किनारामा परे।
पूर्वसभामुख ढुंगानाले खेलेको भूमिका र योगदानलाई चरणबद्ध रूपमा हेर्नुपर्ने कांग्रेस केन्द्रीय सदस्य मीनेन्द्र रिजालको भनाइ छ।
विद्यार्थी राजनीति, वकालत, सभामुख र मानव अधिकारवादी, माओवादीलाई मूलधारको राजनीतिमा ल्याउने भूमिकामा ढुंगानाको योगदान रहेको उनी बताउँछन्।
'बिपी कोइराला छँदा पनि उहाँ क्षमतावान् र सबैले पत्याएकै नेता हुनुहुन्थ्यो। २०१७ सालमा बिपी जेल परेपछि विद्यार्थी राजनीतिको सुरूआत उहाँहरूले नै गर्नुभएको हो। नेविसंघ स्थापना हुनुअघि नै उहाँहरूले विद्यार्थीहरूलाई संगठित गरिसक्नुभएको थियो,' उनले भने, 'शेरबहादुर देउवाहरू २०२२ सालमा आउनुभएको हो, त्यसअघि नै उहाँले विद्यार्थी राजनीति सुरू गर्नुभएको हो।'
ढुंगानाले जे-जति जिम्मेवारी लिए र भूमिका पाए, त्यसमध्ये सभामुखको कार्यकाललाई लिएर अझै चर्चा हुन्छ। सदनमा सत्ता र प्रतिपक्षबीच विवाद हुँदा होस् वा सभामुखको भूमिकामाथि प्रश्न उठ्दा ढुंगानालाई सांसदहरूले सधैं सम्झन्छन्। उनले आफ्नो सभामुखको कार्यकालमा संसद भनेको प्रतिपक्षको हो भन्ने मान्यता स्थापित गरेका थिए।
नेकपा (एकीकृत समाजवादी) का नेता विरोध खतिवडा ढुंगानालाई व्यावहारिक नेताका रूपमा स्मरण गर्छन्।
'उहाँ व्यावहारिक नेता हुनुहुन्थ्यो, कानुनी पृष्ठभूमि भएकाले पनि होला के जायज के नाजायेज ठम्याउनु हुन्थ्यो,' उनले भने, 'बहुदल आउनुअघि उहाँ मानवअधिकार गतिविधिमा संलग्न रहनुभयो। त्यस क्रममा उहाँले सबै पार्टी र नेताहरूसँग सामीप्य राख्नुभयो, घुलमिल हुनुभयो। केही मानिस आफ्नो पार्टीको मात्र नेता हुन्छन्, एकोहोरो प्रवृत्तिका। तर उहाँमा सबैलाई बराबर हेर्ने र चिन्तन र अध्ययन गर्ने खुबी थियो।'
उनले अगाडि भने, 'बहुदलीय व्यवस्थापछिको पहिलो सभामुख भएर पनि होला, त्यो बेला सभामुखलाई विशेष महत्त्वले हेरिएको थियो। कानुनी पृष्ठभूमि, काठमाडौंमा नपत्याएको सिट जितेकाले पनि ढुंगानालाई मन्त्री वा सभामुख बनाउनुपर्ने बाध्यतामा कांग्रेस थियो होला।'
ढुंगानाले आफू कांग्रेसको मात्र नभई सिंगो संसद र संसदमा रहेका सिंगो पार्टीहरूको सभामुख हुँ भन्ने मान्यता स्थापित गरेको खतिवडाले बताए।
'कांग्रेसको सभामुख भन्ने मान्यतालाई उहाँले क्रस गरिदिनुभयो। त्यही भएर त्यस बेलाको सत्तापक्ष कांग्रेस उहाँसँग रिसाएको थियो,' खतिवडाले भने, 'प्रतिपक्षलाई अलिकति स्पेस दिएकाले हामी त खुसी हुन्थ्यौं नै।'
सभामुख ढुंगानाले एकदिन प्रतिनिधिसभा बैठकमा बोलेका कुरा सम्झँदै खतिवडाले थपे, 'प्रतिपक्षलाई स्पेस दिएको भनेर सायद उहाँलाई कांग्रेसले भित्रभित्रै गाली गर्थ्यो होला, त्यसको भडास उहाँले एकदिन संसदमै पोख्नुभयो- सरकार सत्तापक्षको, संसद प्रतिपक्षको भनेर।'
सत्तापक्षको त सरकार हुन्छ, केही कुरा राख्न परे मन्त्रीदेखि प्रधानमन्त्री हुन्छन्। तर प्रतिपक्षको पहुँच सत्तासँग हुने कुरा भएन। त्यसैले प्रतिपक्षलाई जनताका कुरा संसदमा राख्न दिनुपर्छ भन्ने ढुंगानाको मान्यता थियो।
'प्रतिपक्षका सांसदहरूको सत्तापक्षजस्तो पहुँच हुँदैन। पहुँच नभएपछि कहाँ बोल्ने, संसदमै हो,' सभामुख ढुंगानाले त्यस बेला राखेका धारणा सम्झँदै खतिवडाले भने।
संसद प्रतिपक्षको हो भन्ने मान्यता सभामुख ढुंगानाले स्थापित गरिदिएको र उक्त कुरा त्यस बेलाको सत्तापक्ष कांग्रेसलाई चित्तबुझ्दो नरहेको पनि खतिवडाले बताए।
'उहाँले सकभर सदनलाई सन्तुलित बनाउन खोज्नुभयो। सबै पक्षका सांसदले जनताका आवाज सुनाउने थलो संसद हुनुपर्छ भन्ने उहाँको मान्यता थियो। कार्यसूचीबाहेक पनि बोल्न प्रशस्त समय दिनुहुन्थ्यो। संसदमा हरेक विषयमा छलफल र बहस होस् भन्ने उहाँ चाहनुहुन्थ्यो,' उनले भने।
संसद पट्यारलाग्दो भएका बेला ढुंगानाले हँसीमजाकको वातावरण बनाउने खतिवडाले सम्झे।
'आफूमाथि आक्रमण भएका विषयलाई पनि सहज रूपमा लिनुहुन्थ्यो,' उनले भने, 'सांसदहरू उत्तेजनामा आएका छन् भने त्यसलाई मिठासपूर्ण ढंगले समाधान गरिदिनुहुन्थ्यो।'
केही विवाद देखापरेका बेला राति दुई-तीन बजेसम्म सदन चल्ने गरेको र ढुंगाना धैर्यपूर्वक सभामुखको कुर्सीमै बसेर सांसदका कुरा सुनिराख्ने खतिवडाको भनाइ छ।
'हामी कहिलेकाहीँ राति दुई-तीन बजेसम्म नारा लगाउँथ्यौं। उहाँले बैठक स्थगित भयो भनेर उठेर हिँड्न पनि मिल्थ्यो तर रातिसम्मै सुनेर बसिरहनुहुन्थ्यो,' उनले भने, 'उहाँले एक अर्थमा हाम्रो आवाज सुनिदिएको हो। चाहिनेभन्दा बढी गर्छौ भने म पनि बसिराख्छु, कतिन्जेल नारा लगाउँदा रहेछौ भनेर हेर्नुभएको पनि हो कि!'
पूर्वसञ्चारमन्त्री जेपी गुप्ता पनि ढुंगानालाई सफल सभामुखका रूपमा लिन्छन्।
'संसदलाई सबभन्दा बढी ग्राह्य बनाउने सभामुख दमननाथ ढुंगाना हुनुहुन्थ्यो। उहाँ सबैको स्थान सुरक्षित गरिदिनुहुन्थ्यो। त्यस अर्थमा दमनजी सफल सभामुख हुनुहुन्थ्यो,' उनले भने, 'सबै राजनीतिक दलहरूमाझ उहाँले सदन साझा सम्पत्ति हो भन्ने स्थापित गरिदिनुभयो।'
'सभामुखलाई सत्तापक्षले आफूअनुकूल हिँडाउन खोज्ने र प्रतिपक्षले आफ्नो इसारामा डोहोर्याउने मनस्थिति राख्ने गर्छन्। दमनजीले भने सदनलाई सबै संसदवादी दलहरूको सम्पत्ति बनाउनुभयो। उहाँले स्थापित गरेको यो मान्यताले नै संसद नमान्ने कतिपय शक्तिहरूले पनि आफ्नो राजनीतिक दस्तावेजमा सुधार गरेर ससर्त भए पनि संसद मानेर, संसदबाटै धेरै समाधान गर्न सकिन्छ भनेर संसदीय परिधिमा आए। त्यस अर्थमा उहाँको भूमिका पृथक नै रह्यो,' उनले भने।
ढुंगाना राजनीतिकर्मीसँगै मानवअधिकारवादी, बहिष्कृत समुदायका अभियन्ता र द्वन्द्व बेला राजनीतिक मध्यस्थकर्ताको भूमिकामा पनि रहेको उनले बताए।
'माओवादीसँग उहाँले नेगोसिएसन गर्नुभयो। शान्तिपूर्ण राजनीतिमा उहाँको विशिष्ट योगदान छ। मधेस आन्दोलन र आदिवासी आन्दोलनमा पनि उहाँको ठूलो योगदान छ,' उनले भने।
ढुंगानाको जीवन एक राजनीतिक मध्यस्थकर्ताका रूपमा बितेको उनले बताए।
'कांग्रेसको राजनीति गर्दा मध्यस्थताको भूमिकामै रहनुभयो। संसदमा रहँदा सत्ता र प्रतिपक्षको मध्यस्थकर्ता हुनुभयो। अनि द्वन्द्व बेला माओवादी र राज्यपक्षबीच मध्यस्थकर्ताकै भूमिकामा देखिनुभयो,' उनले भने, 'मुलुकले एक सुसंगठित विचारका ठूला मध्यस्थकर्ता गुमाएको छ।'
ढुंगानाको निधनमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा लगायतले दु:ख व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले ढुंगानाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई मुलुकले सधैं स्मरण गर्ने बताएका छन्।
'पञ्चायत कालमा विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएका ढुंगानाले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचान बनाउनुभयो। उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानलाई मुलुकले सधैं स्मरण गरिरहनेछ,' राष्ट्रपति पौडेलले भने।
प्रधानमन्त्री ओलीले पूर्वसभामुख ढुंगानाको निधनले आफूलाई दु:खी बनाएको बताएका छन्।
'२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापनापछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुंगानाको निधनको खबरले अत्यन्त दुःखी छु। नेपालमा मानवअधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यास प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु,' प्रधानमन्त्री ओलीको भनाइ छ।
कांग्रेस सभापति देउवाले नेपालको लोकतन्त्र, मानवअधिकार र न्याय क्षेत्रमा पूर्वसभामुख ढुंगानाको योगदान महत्त्वपूर्ण रहेको बताएका छन्।
ढुंगानाका दुई छोरा र एक छोरी छन्। उनका एक छोरा विदेशमा रहेकाले उनी आएपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।