पण्डित जुक्तिबल्लभ शर्मा चिना बनाउमा पोख्त थिए। नेपाली कागजमा घरेलु सामग्रीबाट रंग तयार पारेर चिना बनाइन्थ्यो। त्यही रंगले बुट्टा भरेर चिटिक्कको चिना बनाउने चलन थियो। उनी ३२ हातसम्म लामो चिना बनाउँथे। हातैले पात्रो पनि तयार पार्थे। घरमा पात्रो हेर्न र चिना लेखाउन मान्छेको भिड लाग्थ्यो।
हरेक दिन बाबुले कागजमा रंग भरेको, बुट्टा बनाएको देखिरहेका छोरा भीमप्रसादलाई यो काम सिक्न धेरै समय लागेन। उनी बाबुलाई चिना बनाउन विभिन्न काम गरेर सघाउँथे।
पण्डित जुक्तिबल्लभ साधना गर्थे। उनी छोरालाई पनि आफूजस्तै आध्यात्मिक बनाउन चाहन्थे। तर भीमप्रसादको रुचि त्यसतर्फ खासै थिएन। सघाएबापत बाबुले केही पैसा दिने भएकाले पैसाको आशामा काम गर्थे।
जब कोरोना महामारी सुरू भयो विश्व आक्रान्त बन्यो। मान्छेहरु घरभित्रै सीमित हुन थाले। त्यो समयमा भीमप्रसादले बाबुलाई धेरै सम्झिए। खाली समयमा आध्यात्मप्रतिको बाबुको रुचि र छोरा पनि आफूजस्तै बनोस् भन्ने चाहनालाई स्मरण गरे। अनि त्यससँग सम्बन्धित पुस्तकहरु खोजेर पढ्न थाले।
उनले ‘कुण्डलिनी’ को बारेमा सुनेका थिए। तर धेरै बुझेका थिएनन्। पूर्वीय दर्शनको मान्यताअनुरूप मान्छेको मेरुदण्डको आधारमा रहेको कुण्डलिनीमा जीवन जागृत गराउन सक्ने ऊर्जाबारे जान्ने चाहना थप बढेर गयो। कोरोना कालको शून्य समय शर्माका लागि उक्त ऊर्जालाई जागृत गराउने विधि र साधनाका बारेमा पढ्न र बुझ्न काम लाग्यो।
कुण्डलिनीबारे जति पढ्यो उनी गहिरो बन्दै गयो। जानेका कुराहरुलाई क्यान्भास र डायरीमा उतार्दै गए। सन् २०२१ देखि २०२४ सम्म उनले दर्जनौ चित्र बनाए। तीमध्येका ३७ वटा चित्र अहिले नवलपुरको गैंडाकोटस्थित नगर प्रज्ञा प्रतिष्ठानको हलमा प्रदर्शनका लागि राखिएको छ। चित्रकला प्रदर्शनीको शीर्षक नै ‘कुण्डलिनी’ राखिएको छ। शर्माले डायरीमा उतारेका शब्दहरूलाई पुस्तकको रुप दिएका छन्। २१८ पृष्ठको ‘कुण्डलिनी योग’ चित्रकला प्रदर्शनीको अन्तिम दिन (मंसिर १२ गते) विमोचन गरिँदैछ।
यो चित्रकार भीमप्रसाद शर्माको १२ औं एकल चित्रकला प्रदर्शनी हो। यसअघि उनले जर्मनी र क्यानडामा समेत आफ्ना चित्रकला प्रदर्शनी गरेका थिए।
सन् १९९९ मा गैंडाकोटस्थित विजय विकास स्रोत केन्द्र (भिडिआरसी) मा काम गर्ने क्रममा सामाजिक विकाससम्बन्धी डिप्लोमा कोर्स गर्न क्यानडा गएको बेलामा उनले त्यहाँको आर्ट ग्यालरी देखेका थिए। ग्यालरीमा प्रदर्शनी चलिरहेको थियो। उनले ‘एफोर पेपर’मा दुईवटा चित्र कोरेर आयोजकलाई दिए।
‘एउटा चित्र नेपाली महिलाले बच्चा बोकेर खाना पकाइरहेको थियो। अर्को एक किशोरीले कुखुराको भाले काखमा च्यापेर हिँडेको थियो। आयोजकले ती चित्र प्रदर्शनी हलको भित्तामा टाँसिदिए। म खुसीले गद्गद् भएँ। केही समयमा मेरो खुसी दुगुना भयो, ती चित्र त एक व्यक्तिले सय/सय डलरमा किनिदिएछन्,’ शर्माले भने, ‘म चित्रहरू त कोरिराख्थें। तर विदेशीले डलर खर्च गरेर किन्ने चित्र बनाउन सक्छु भन्ने लागेको थिएन। त्यो क्षणले मलाई उत्साहित बनायो। व्यवसायिक चित्रकलामा लाग्ने प्रेरणा दियो।’
क्यानडाबाट फर्किएपछि उनले चित्रकला बनाउने कामलाई प्राथमिकतामा राखे। भीमप्रसादले सन् २००३ मा ललितपुरस्थित निर भवनमा पहिलो एकल चित्रकला प्रदर्शनी गरेका थिए। नेपालमा विकासको सवाल शीर्षकको प्रदर्शनीमा २२ वटा चित्र प्रस्तुत गरिएको थियो।
क्यानडा बसाइमा बनेको सम्बन्धले त्यहाँ पनि एकल चित्रकला प्रदर्शनी गर्ने बाटो बन्यो। नेपालमा माओवादी सशस्त्र युद्वमा रहेको बेलामा उनले माओवादी आन्दोलनसँग सम्बन्धित सामाजिक अभ्यासको विवेदपूर्ण पक्षसँग सम्बन्धित चित्र तयार पारेका थिए। शर्माले ३७ वटा चित्र समावेश गरेर क्यानडाको एसटिएफएक्स युनिभर्सिटीको आर्ट ग्यालेरीमा ‘नमस्ते फर्म नेपाल’ शीर्षकको चित्रकला प्रदर्शनी गरे। ३७ मध्ये २२ वटा चित्र विक्री भए। केही बाँडे। बचेको लिएर नेपाल फर्किए।
सन् २००७ मा काठमाडौंको ग्यालेरी नाइनमा ‘स्पर्श’ शीर्षकमा गरिएको प्रदर्शनीमा सामाजिक विषयवस्तुमा आधारित चित्रहरु थिए।
सन् २०११ उनी चराको १०९ वटा चित्र बोकेर जर्मनी पुगे। तीन ठाउँमा ‘वर्डस अफ नेपाल’ शीर्षकमा आफ्ना चित्र प्रदर्शन गरे। प्रदर्शनीस्थलमै थप १० वटा चित्र बनाएका थिए उनले।
शर्माले यी चित्र गैंडाकोटमा स्थापना भएको सहज सामुदायिक अस्पतालको लागि खर्च जुटाउन बनाएका थिए। त्यहाँ उनको एउटै चित्र ५ हजार युरोमा पनि बिक्री भएको थियो।
‘त्यो चित्र चराहरुको सभा जस्तो थियो। घर अगाडि मान्छेसँग आश्रित चराहरू चरिरहेको चित्र थियो। नेपाल घुमेर फर्किएका विदेशीले त्यो ५ हजार युरोमा किनिदिए,’ शर्माले भने, ‘चित्र लगेर पैसाभन्दा पनि अस्पतालका लागि आवश्यक पर्ने चालु अवस्थाका उपकरण देउ भनेको थिएँ। धेरै उकरण संकलन भए।’ प्रक्रिया पूरा गरेर ती उकरण नेपाल ल्याउन धेरै समय लागेको थियो।
उनले सातौं र आठौं एकल चित्रकला प्रदर्शनी पनि चराकै गरेका थिए। नवौं प्रदर्शनी सन् २०१८ को बुद्धजयन्ती समारोहमा कपिलवस्तुमा गरेका थिए। ‘वे टु बुद्ध’ शीर्षकको प्रदर्शनीमा राखिएका सत्ताइसैवटा चित्रहरु विक्री भएको शर्माले बताए।
‘पुरानो गाउँ बागलुङ जाँदा देखेका गौँथली र बन्द ढोकाले मेरो ध्यान खिचेको थियो। मैले गौँथलीलाई मन पर्ने फलेकमा चित्र केरें। ३५ वटा चित्रहरु बनाएर सन् २०१९ मा ‘सम्बन्धन’ शीर्षकमा नेपाल आर्ट काउन्सिलमा दशौं चित्रकला प्रदर्शनी गरिएको थियो,’ उनले भने।
शर्माले गरेको एघारौं एकल चित्रकला प्रदर्शनीको शीर्षक थियो ‘इथ्थमविधा चित्र’। गत वर्ष उनले कोरेका २७ वटा चित्रहरुमाथि ५ जना कविहरुले कविता लेखेका थिए। ती कविता र चित्रहरुलाई समावेश गरेर ‘इथ्थमविधा चित्र, इथ्थमविधा कविता’ शीर्षकमा सझा प्रकाशनले पुस्तक नै प्रकाशन गरेको छ।
बाग्लुङ सर्कुवामा जन्मेका ६१ वर्षीय भीमप्रसाद २०३९ सालदेखि गैंडाकोटमा बस्दै आएका छन् । उनी पोखरामा पिएन क्याम्पस पढ्दा दुर्गा बराल‘वात्स्यायन’ सँग हप्तामा दुई दिन चित्रकलाको कक्षा लिन्थे। त्यसबाहेक तालिम लिएका छैनन्।
‘बाबुको काम देखेर चित्र बनाउने रुचि जागेको थियो। आध्यात्ममा पनि चासो थियो। बाग्लुङमा हुँदाबाटै चित्रहरु बनाउँथें। पोखरामा केही समय सिकेपछि रुचि अझै बढ्यो,’ शर्माले भने।
उनले गैंडाकोट बस्ने चर्चित साहित्यकार गोविन्दराज विनोदीसँग मिलेर नारायणघाटमा सनसाइन आर्ट खोले। यसमार्फत साइनबोर्ड लेख्ने, फोटो प्रिन्ट गर्ने कामहरु हुन्थ्यो। फ्लेक्स बोर्डहरुले बजार लिन थालेपछि उनी व्यवसाय छाडेर सामाजिक संस्थाहरुमा सकृय हुन थाले।
शर्माले २०७१ सालमा आफ्नै घरमा कलावती आर्ट काउन्सिल सञ्चालन गरेका थिए।
‘बुबा हुनुहुँदा उहाँले भन्नुभएको कुराहरुमा धेरै ध्यान पुगेन। उहाँ बितेपछि धेरै कुरा सम्झनामा आए। कुण्डलिनीको महत्व पनि पछि धेरै बुझियो। बुझ्ने र चित्र बनाउने उत्तम समय कोरोनाकाल बन्यो,’ शर्माले भने। उनले कतिपय पेन्टिङका लागि महिना दिनसम्म लागेको बताए।
कुण्डलिनीका सात चक्र हुन्छन् भन्ने मान्यता छ। शर्माले एउटा चक्र बुझाउन दुई वटा चित्र कोरेका छन्। एउटा चित्र चक्र साधनाका बारेमा र अर्को चित्र साधनाका लागि गरिने मुद्रासँग सम्बन्धित छ। कुण्डलिनीको विधिसँग सम्बन्धित १४ चित्र प्रदर्शनीमा राखिएको छ। कुण्डलिनी साधनाले हुने प्रभावका बारेमा २३ वटा चित्र छन्।
यी चित्रले कुण्डलिनीबारेमा समाजमा चासो र चर्चा बढोस् भन्ने उनको चाहना छ। कुण्डलिनीलाई कसैले हठ योग, कसैले गुप्त ज्ञान भन्ने गरेको शर्मा बताउँछन्। उनले जीवनका लागि उपयोगी हो भने यसलाई समुदायले उपयोग गर्नुपर्ने बताए।
‘वेदमा रहेको यो कुरा कि मिथ्या हो भन्नुपर्यो। उपयोगी कुरा हो भने चर्चा व्यापक होस् भन्ने चाहन्छु,’ शर्मा भन्छन्, ‘मैले धेरैतिरको सन्दर्भ सामग्री लिएर, जानेबुझेकाको कुरा सुनेर पुस्तक र चित्रहरु तयार पारेको छु। कुण्डलिनी साधनालाई जागृत बनाउन यिनले काम गर्छन् भन्ने विश्वास छ।