राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूले तय गरेको उम्मेदवारहरूलाई डर, धम्की, पैसाको प्रलोभन र कतै अपहरणसमेत गर्न थालिएको बताएको छ।
पार्टीले बनाएको केन्द्रीय निर्वाचन परिचालन संयोजन समितिका संयोजक सांसद गणेश पराजुलीले हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षको उम्मेदवार तय गरेकी सुजाता फडेरा थापालाई अपहरणको शैलीमा बन्धक बनाएर मनोनयन दर्ता नगर्न सहमत गराएको बताए।
‘उहाँको परिवारजन फरक पार्टीमा हुँनुहुँदो रहेछ। उहाँलाई अपहरणको शैलीमा दुई–तीन घन्टा गायब बनाएर निकालिसकेपछि उहाँ उम्मेदवारी दर्ता गर्न नसक्ने निष्कर्षमा पुग्नुभयो होला, सायद,’ उनले भने, ‘डर, धम्की देखाइसकेपछि उहाँले पार्टीलाई उम्मेदवार बन्न नसक्ने भन्ने जानकारी गराउनुभएको छ।’
यो प्रवृत्ति मधेसमा अत्यधिक धेरै देखिएको उनले बताए। मारिदिनेसमेत धम्की दिएपछि उम्मेदवार तय भएकाहरू धमाधम पछि हट्ने अवस्था आएको उनले बताए।
‘अस्ति हामीले फलानोलाई मारेको बिर्सिइस् कि क्या हो! भन्नेसम्मका शब्दावली प्रयोग भएको पनि देखियो। जसको प्रमाण नहुने, प्रशासनले उजुरी पनि लिन नसक्ने र सुरक्षा पनि दिन नसक्ने भन्ने साह्रै नै दुर्गतिपूर्ण अवस्था देखियो,’ उनले भने, ‘सुरक्षाको पाटोबाट हेर्दा यस्तो देखियो। साह्रै बेथितिपूर्ण अवस्था पनि देखियो।’
मधेस प्रदेशका रिक्त स्थानीय तहमा उम्मेदवार बन्न खोजेकाहरूलाई १० देखि १५ लाखसम्मको प्रलोभन र नस्वीकारे मारिदिने धम्की दिएको पराजुलीले बताए।
‘लोभले भएन भने सामाजिक बहिष्कार र हत्यासम्मको धम्की दिइएको छ। फलानो ठाउँको वडाध्यक्षलाई हत्या गरेर मारेको भन्ने तँलाई प्रष्टसँग थाहा छ, कसले मारेको छ भन्ने पनि तँलाई थाहा छ, प्रशासनले केही गर्न सक्यो! भन्नेसम्मका शब्दावली प्रयोग गरेर उम्मेदवारी दिन तयार भएका साथीहरू भाग्नुपर्नेसम्म अवस्था सिर्जना भएको छ,’ उनले दाबी गर्दै भने।
देशको शान्ति सुरक्षा, राजनीतिक परिवेश हेर्दा यो पुस्ताले राजनीतिलाई कसरी लिने भन्ने महत्त्वपूर्ण विषय रहेको उनको भनाइ छ।
‘हुम्लाको सर्केगाड अत्यन्तै दुर्गममा छ। अर्को उम्मेदवार तय गर्ने काम भइरहेको होला तर अन्तिम समयमा अर्को मानिस उभ्याउन धेरै नै गाह्रो कुरा हो। रास्वपाबाट उम्मेदवार बन्न सुजाताजी एक हप्ताअगाडि नै तयार भइसक्नुभएको थियो। अन्तिम समयमा शनिबार फरक राजनीतिक दलका मानिसहरूले जुन किसिमले धम्की दिए, त्यसकारण उहाँ पछि हट्नुभयो। व्यक्तिले सुरक्षाको प्रत्याभूति नगरेपछि उहाँ पछि हट्नु स्वाभाविकै हो। हामी यसको घोर भर्त्सना गर्छौं,’ उनले भने।
उनले अहिले बिहान ९ बजेसम्म १९–२० जना उम्मेदवार तय भएको बताए। मनोनय दर्ता गर्नुअघि नै उम्मेदवार सार्वजनिक गर्दा प्रलोभन दिने, डर–त्रास देखाउने क्रम बढेकाले दर्ताको प्रक्रिया टुंग्याएपछि नै सार्वजनिक गर्ने उनले बताए।
‘दर्ता गर्नै नदिने र उम्मेदवारी घोषणा गरिसकेपछि डर धम्की र यो सबै कुरा हुँदा रहेछन्। हामी यसबाट निकै नै अप्ठ्यारो र फरक अनुभूति गरिरहेका छौं। यसबाट हामी राज्यको सुरक्षाप्रति, विशेष गरी सरकारको भूमिकाप्रति निकै नै संशंकित छौं। के भनेर नागरिकका सामू प्रस्तुत गरौं अचम्म लागिरहेको छ,’ उनले भने।
रास्वपाले उम्मेदवार नै अपहरणमा परेको आरोप लगाएपछि हामीले हुम्लाको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयलाई सोध्यौं।
उनले विषय मिलिसकेको जानकारी दिए।
‘हिजो विषय एकछिन आयो। जसले मलाई यस्तो भयो भनेर गुनासो गर्नुभयो। सम्बन्धित व्यक्ति (उम्मेदवार बन्न खोजेकै व्यक्ति) सँग सम्पर्क स्थापित गर्दा उहाँले त्यस्तो होइन। सुरूदेखि नै हामी फरक पार्टीका हौं। अहिले पनि त्यही पार्टीमा छौं। मेरो उम्मेदवारी पनि होइन। म स्वतन्त्र मानिस हुँ। म उम्मेदवारी दर्ता गर्न इच्छुक मानिस पनि होइन भनेर कुरा गरेपछि विषय मिलेको हो भन्नुभयो,' प्रजिअ पाण्डेले भने।
सुरूमा उम्मेदवार नियन्त्रणमा लिए भनेर जानकारी गराउने रास्वपाका नेताले नै कुरा मिलिसक्यो भनेर जानकारी गराएका प्रमुख जिल्ला अधिकारी पाण्डेयले बताए।
शनिबार साँझपख पार्टी कार्यावाहक महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पनि त्यही जानकारी गराएको प्रजिअ पाण्डेयको भनाइ छ।
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयनपत्र दर्ता हुँदैछ।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलहरूले उम्मेदवार टुंगो लगाइसके पनि रास्वपाले भने केही ठाउँमा तय गर्न बाँकी नै छ। यसअघि १७ ठाउँमा रास्वपाले टुंग्याएको उम्मेदवारको सूची सार्वजनिक गरेको थियो।
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्।
उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र बिहीबार नै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्। उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र छवटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएका निर्वाचन आयोगले जनाएको छ।
उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तह तथा वडाको केन्द्र रहेको स्थानमा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएको आयोगका प्रवक्ता पोखरेलले जानकारी दिइन्। मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ।
मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिनसक्ने छन्। सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ।
विभिन्न कारणले स्थानीय तहमा रिक्त जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक÷एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदमा निर्वाचन हुँदैछ।
आयोगले २०७९ सम्पन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष, नगरपालिकाको प्रमुख वा उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख वा उपप्रमुख पदमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेका स्थानीय तहको रिक्त पदमा महिला उम्मेदवार रहनेगरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिएको छ।