नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानून बनाउनुपर्ने बताएका छन्।
काठमाडौंमा बिहीबार 'अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक—२०८०' बारे बोल्दै उनले संविधानको पालना गरेर कानून बनाउनुपर्नेमा नागरिकलाई सजाय दिने किसिमले मात्रै कानून बन्ने गरेको बताए।
उनले सरकार सधैं निरंकुश हुने भन्दै स्टक होल्डहरूसँग बसेर छलफल गरेर मात्रै कानूनहरू बनाउनु उचित हुने बताए। सामाजिक सञ्जाल विधेयक पुनःलेखन नै गर्नुपर्ने उनको भनाइ छ।
‘हामी कानून बनाउँदा अत्यन्त समय लगाउँछौँ र त्यसलाई पूर्णता दिएर अघि बढ्छौं। यो विधेयकको बारेमा कुरा गर्ने हो भने त धेरै कुरा छ। यो विधेयक त पुनर्लेखन नै गर्नुपर्छ जस्तो मलाई लाग्छ। किन यस्तो भइरहेको छ भने स्टेक होल्डरसँग हामीले सरसल्लाह नगरी अघि बढेका छौँ। सरकार निरंकुश हुन्छ भन्नेकुरा बुझौँ। स्टेक होल्डरसँग हरेक कानून बनाउँदा सरसल्लाह गर्यौं भने हामी तपाईंहरूले सोचेको जस्तो कानून बनाउँछौं,’ उनले भने।
कोइरालाले सामाजिक सञ्जालको विषयमा बनाइने कानून स्टेक होल्डरहरुसँग गहन छलफलपछि मात्रै अघि बढाउनुपर्ने बताए।
(न्युज एजेन्सी नेपाल)