नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे।
गत असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर जनधनको क्षति भएपछि कार्यसम्पादन र संसदीय दल बैठक गरेर कांग्रेसले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा हस्तान्तरण गर्ने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार सभापति देउवासहितले असोज २० गते प्रधानमन्त्री ओलीलाई भेटेर राष्ट्रिय वाणिज्य बैंकको ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए। चेकमा सभापति देउवा र मुख्यसचिव कृष्णप्रसाद पौडेलको हस्ताक्षर छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशन भए पनि अहिलेसम्म सभापति देउवाले कोषाध्यक्ष मनोनीत गरेका छैनन्।
कात्तिक ८ गतेको मिति राखेर कांग्रेसले असोज २० मै प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको थियो। उक्त मितिअनुसार २१ दिन हुँदा समेत कांग्रेसले बुझाएको चेकको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको छैन।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकमको विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले दिनहुँजसो अपडेटसहित सार्वजनिक गर्दै आएको छ।
कार्यालयले कात्तिक २८ गतेसम्मको विवरण सार्वजनिक गरिसकेको छ, जसमा कांग्रेसले दिएको ५० लाख रुपैयाँ जम्मा भएको विवरण समावेश छैन।
कहाँ हरायो त कांग्रेसले दिएको रकम? हामीले यसबारे कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेललाई सोध्यौं। ‘कात्तिक ८ गतेको चेक थियो, हामीले चेक नै दिएको हो, गृह मन्त्रालयलगायत निकायले जम्मा गर्न भुले वा के गरे उतै सोध्नुस्,’ उनले भने।
यसबारे हामीले प्रधानमन्त्री कार्यालयअन्तर्गत तत्काल समस्या समाधान तथा विपद् समन्वय शाखाकी उपसचिव मञ्जु शर्मा सुवेदीलाई पनि सोध्यौं। उनले कांग्रेसले दिएको रकम बैंक स्टेटमेन्टमा नदेखिँदा पनि कोषमा जम्मा नभएको हुन सक्ने बताइन्।
‘रकम बैंकको खातामा जम्मा भएपछि त्यसको विवरण (बैंक स्टेटमेन्ट) दैनिक रूपमा हामीकहाँ आउँछ, हामीले सोही विवरण सार्वजनिक गर्ने गरेका छौं,’ उनले भनिन्, ‘कांग्रेसले जम्मा गरेको भनिएको रकम विवरणमा नदेखिएपछि हामीले पनि सोधिखोजी गरेका थियौं, बैंकले स्टेटमेन्ट हेर्दा पनि फेला परेन।’
विवरण नखुलाई जम्मा भएका रकम अन्य शीर्षकमा स्टेटमेन्टमा देखिने उनको भनाइ छ। कोषले सार्वजनिक गरेको दैनिक विवरण सूचीमा कांग्रेसले जम्मा गरेको रकम देखिएको छैन। कात्तिक २७ गते अन्य शीर्षकमा जम्मा ४३ लाख ८३ हजार ३६ रुपैयाँ उल्लेख छ।
राहत कोषमा जम्मा भएको पैसाको विवरण: