सहकारी ठगी र संगठित अपराध कसुरको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि आइतबार चौथो पटक म्याद थप हुँदैछ।
यसअघि तीन पटक अदालतबाट म्याद थप गरेर प्रहरीले उनीमाथि अनुसन्धान गरेको थियो।
गत कात्तिक २ गते पार्टी कार्यालय चःमतिबाट पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका लामिछानेमाथि प्रहरीले सम्पत्ति शुद्धीकरणमा समेत अनुसन्धान गरिरहेको छ।
रास्वपाले सभापति लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाइरहेको छ।
हिरासत बाहिर राखेर अनुसन्धान गर्न सकिने अवस्था हुँदाहुँदै, अभियुक्त भागेर जाने, प्रमाण नष्ट गर्न नसक्ने अवस्था विद्यमान हुँदाहुँदै सभापति लामिछानेको हिरासत बसाइ लम्ब्याउन खोज्नु प्रतिशोध साँधेको पुष्टि हुन पर्याप्त हुने उनीहरूको दाबी छ।
रास्वपाले सभापति लामिछानेको रिहाइका निम्ति सडक आन्दोलन गर्दै आइरहेको छ। तर त्यो दबाबमूलक हुन नसकेको आवाज पार्टीभित्रैबाट उठ्न थालेको छ।
आन्दोलन सशक्त बनाउन माग गर्दै शनिबार झापा–४ का पूर्वउम्मेदवार शम्भु सुस्केरालगायत पाँच जना पार्टी कार्यालयमा धर्ना नै बसे। उनीहरूले आफ्नै नेतालाई 'नो नट अगेन' भन्ने अवस्था नआओस् भन्दै प्लाकार्ड प्रदर्शन गरेका थिए।
रवि लामिछाने हिरासतमा बसेको २३ दिन बित्दा पनि पार्टीले मूर्त धारणा सार्वजनिक गर्न नसकेपछि बाध्य भएर धर्ना बसेको सुस्केराले बताए।
‘सरकारले राजनीतिक प्रतिशोध साँध्न पार्टी सभापति रवि लामिछानेलाई हिरासतमा राखेको छ। पार्टीको आन्दोलन प्रभावकारी बन्न सकेको छैन। पार्टीले ठोस धारणा पनि तय गर्न सकेको छैन। आन्दोलन सशक्त बन्न सकेको छैन,’ उनले भने, ‘रवि लामिछाने दोषी नै हो भने त्यही निष्कर्ष निकाल, पार्टीबाट कारबाही गर, कसैले नेतृत्व लेऊ, हैन भने आन्दोलन सशक्त बनाऊ भन्ने नै हाम्रो अभिप्रायः हो।’
सदनबाट २१ जनाले बोलेर सरकारले नसुन्ने बताउँदै प्रभावकारी सडक संघर्षको जरूरी रहेको बताए।
सहकारीको समस्या घरघरै रहेको तर सहकारीको बचत अपचलन, ठगीको मुद्दा रवि लामिछानेको वरिपरि मात्रै रहेको पनि उनले बताए।
‘सहकारी पीडित ऋणमा चुर्लुम्म डुबेका छन्। उनीहरूको बचत फिर्ता गर्ने आन्दोलनको अगुवाइ पनि रास्वपाले गर्नुपर्नेछ। तर आन्दोलन सेलाउन थाल्यो। २४ वर्षदेखि भ्रष्टाचारको आहालमा मुलुक छ। थप तीन वर्ष यिनीहरूले सरकार चलाए मुलुकको अवस्था के हुन्छ? दुध बिक्रेता किसानले भुक्तानी पाएका छैनन्। छुर्पीको अन्तर्राष्ट्रिय बजार ध्वस्त छ। हामी पोखरा गएर आयौं। त्यहाँ पनि हेर्यौं। माथिग टलल हिमाल टल्किएको छ। मुलुक नबिगारे पुग्छ। तर कांग्रेस एमाले सत्तामा छन्। आन्दोलनको विकल्प छैन भन्ने नै हाम्रो बुझाइ हो,’ उनले भने।
यसबारे केन्द्रीय नेताहरूसँग कुराकानी भएको उनले बताए।
‘उहाँहरूले हाम्रो मर्मअनुसार निर्णय पनि गर्नुभएको छ। आन्दोलन सोहीरूपमा अगाडि बढ्छ भन्ने सोचेका छौं,’ उनले भने। शनिबार बसेको केन्द्रीय समिति बैठकले आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ।
दोस्रो चरणको सशक्त आन्दोलन कस्तो हुनेछ भनेर हामीले पार्टीका कार्यवाहक प्रवक्ता मनिष झालाई सोधेका छौं।
उनले सडक आन्दोलन उग्र र विध्वंशउन्मुख नहुने बताए।
अबको आन्दोलनको प्रारूप र आयाममा फेरबदल हुने उनको भनाइ छ।
‘सशक्त भन्नेबित्तिकै उग्रता अपनाउने भन्ने हुँदैन। फरक प्रारूप र फरक आयामबाट आन्दोलन अगाडि बढाउँछौं। फरक तरिकाले आवाज मुखरित गरेर, तथ्य तथ्यांक प्रस्तुत गरेर, सरकारको बदमासीबारे नागरिकलाई सुसुचित गर्ने उपाय अपनाउँछौं,’ उनले भने।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधेको सरकारको गतिविधिले त्यसलाई पुष्टि गर्दै गएको उनले बताए।
‘ऋषिकेश पोखरेल (एमाले सांसद तथा सार्वजनिक लेखा समिति सभापति) पत्नीलाई पक्राउ पुर्जी जारी नगर्ने, संस्थाका अरूलाई पक्राउ पुर्जी जारी गर्नेबाट पनि प्रतिशोध साँधेको पुष्टि नै भयो,’ उनले भने।
सभापति लामिछानेलाई पक्राउ नै गर्नु हुँदैन भन्ने पार्टीको धारणा नभएको उनले बताए। भागेर जाने, आफूमाथि लागेको अभियोग सम्बन्धमा प्रमाण गर्ने अवस्था नहरँदा नरहँदै पनि हिरासतको बसाइ लम्ब्याउन म्याद थप भइरहनु प्रतिशोध पुष्टि गर्ने कदम भएको उनले बताए।
‘हाम्रो मानिस किन समातिस भनेको होइन। सभापति रवि लामिछानेमाथि जुन प्रतिशोध साँधियो, त्यसमा हाम्रो आपत्ति हो। पार्टीका सभापति उहाँ भागेर जाने अवस्था छैन। प्रमाण नष्ट गर्ने ठाउँमा पनि हुनुहुन्न। त्यसैले हिरासतबाहिर राखेर अनुसन्धान गर्न सकिन्छ। हाजिरी जमानीमा छाडेर अनुसन्धान गरेका उदाहरण छन्,’ उनले भने।
सभापति लामिछानेको हिरासत लम्बिइरहँदा डायस्पोरा लगायतका ठाउँबाट समर्थन प्राप्त भइरहेको उनको दाबी छ।
‘अहिले हामीले बाहिरबाट समर्थन प्राप्त गरेका छौं। डायस्पोराबाट हामीमाथि अन्याय भयो भनिरहनुभएको छ। कुनै पार्टीमा संलग्न नभएकाहरूले पनि हामीलाई समर्थन गरिराख्नुभएको छ। हामीलाई अदालत प्रभावित पार्न खोजियो भनिएको छ। तर मुद्दा अदालतमा पुगेकै छैन। अदालत जोडिएको म्याद थपमा मात्र हो,’ उनले भने।
पर्यटन क्षेत्रमा असर नपुर्याओस् भनेर पनि पोखराको आन्दोलन अन्यत्र केन्द्रित गरेको उनले बताए। भर्खर भर्खर तंग्रिन थालेको र पर्यटन क्षेत्रमा ४०–५० प्रतिशत हिस्सा ओगट्ने पोखराको आर्थिक गतिविधि, पर्यटकको चहलपहल प्रभावित नहोस् भनेर सुझबुझका साथ आन्दोलन रोकिएको उनले बताए।
‘अर्को प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिंसात्मक आन्दोलन, त्याग, जेलनेल व्यहोरिसक्नुभएको छ। अब उहाँहरूलाई हिंसात्मक, ध्वंशात्मक आन्दोलनले छुँदैन। त्यस प्रकृतिका आन्दोलनले केही फरक नै पार्नेवाला छैन। सडकको उग्रतालाई उहाँहरू हल्काफुल्का रूपमा लिनुहुन्छ,’ उनले भने।
यो बीचमा तिहार, छठले आन्दोलन मत्थर देखिए पनि फरक प्रारूप र आयामका साथ आन्दोलन अघि बढ्ने उनको भनाइ छ।
बाँडिन थाल्यो मत
सभापति लामिछाने रिहाइका निम्ति आन्दोलन मत्थर बन्दै गएपछि पार्टीकै नेताहरूको अगुवाइमा कार्यकर्तालाई केन्द्रीय कार्यालयमा धर्ना राखेको कतिपयको बुझाइ छ। धर्नाबारे केन्द्रीय समिति बैठकमा पनि कुरा उठेको थियो। धर्नापछि संस्थामाथि व्यक्ति हाबी छ भनेर जताउन खोजिएको भन्दै सांसद सुमना श्रेष्ठले असन्तुष्टि प्रकट गरेकी थिइन्।
उनले अहिले सबै एकै ठाउँमा उभिनुपर्ने र पार्टीको मूल्यप्रणाली जोगाउनुपर्ने धारणा राखेको एक सदस्यले जानकारी दिए।
धर्नाकै दबाबको कारण दोस्रो चरणको आन्दोलन गर्ने निर्णय गर्ने निष्कर्षमा केन्द्रीय समिति पुगेको थियो। तर, आन्दोलनको प्रकृति र मिति भने केन्द्रीय समितिले निर्क्यौल गर्न सकेन।
बैठकमा सोबिता गौतम लगायतले आन्दोलन सशक्त गर्नुपर्ने धारणा राखेकी थिइन्। उपसभापति स्वर्णिम वाग्लेको पनि त्यही मत थियो।
बैठकलगत्तै केन्द्रीय सदस्य गणेश कार्कीले सामाजिक सञ्जालमार्फत् 'क्षमा' मागे।
कोशीका निवर्तमान मन्त्री तथा सांसद लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको र उनीमाथि छानबिनका लागि अनुरोध गर्नुलाई उनले सह्रानीय भनेका थिए।
‘जनही १० देखि १४ लाखसम्म लिएर ३ जनालाई नक्कली कर्मचारी बनाएर जापान पुर्याएको तर जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ। उनीमाथि छानविनका लागि अनुरोध गरेको छ । यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ। अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौं। र, नयाँ पार्टीकारूपमा, नयाँ नेताकारूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रकारूपमा हामी चुकेका छौं। मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिकरूपमा माफी माग्छु,’ उनले फेसबुकमार्फत भनेका छन्।