राष्ट्रिय सभा सदस्य एवं नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले संविधान जारी भएपछिका वर्षहरुको गहन समीक्षा जरुरी रहेको बताएका छन्।
शनिबार काठमाडौंमा गणेशमान सिंहको ११० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले सबै एक ठाउँमा उभिएर फेरि एक पटक देशका बारेमा चिन्तन गर्ने बेला भइसकेको बताएका हुन्।
उनले संविधान जारी भएको अब एक दशक पुग्न लागेको उल्लेख गर्दै आफैले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन भयो भन्नेबारेमा गहन छलफल हुन जरुरी रहेको बताए।
'हामी आफैँले बनाएको संविधान कति इमान्दारिताका साथ जनताको हितमा कार्यान्वयन गर्यौं। संविधानमा कतै त्रुटी छ वा राज्य सञ्चालनमा कतै त्रुटी छ, एक पटक गम्भीतापूर्वक समीक्षा गर्ने बेला भएको छ,' उनले भने।
उनले परिवर्तनबाट जनताको आकांक्षा, परिवर्तन बमोजिम आएको संविधानले जनताको अधिकार, हकको लागि जे दिन्छौँ भनेर संविधानबाट संकल्प गरिएका कुरा र संकल्पबमोजिम हामीले जनताको पक्षमा काम भएनभएको गम्भीर्तापूर्व समीक्षा गर्नुपर्ने बताए।
'आवश्यक परे समीक्षाको आधारमा संविधान संशोधन गर्नुपर्छ । राज्य सञ्चारलनका शैलीहरु तलदेखि माथिसम्म परिवर्तन गर्न सक्नुपर्छ । उपलब्धि भएका छन् तर त्यति उपलब्धि पर्याप्त छैनन्,' उनले भने। (न्युज एजेन्सी नेपालबाट)