सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिले नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य धनराज गुरूङमाथि अनुसन्धान गरी शीघ्र कारबाही गर्न सुझाव दिए पनि केपी शर्मा ओली नेतृत्वको सरकारले आलटाल गरेको छ।
समितिको प्रतिवेदनकै आधारमा प्रहरीले पूर्वउपप्रधान एवं गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कात्तिक २ गते पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। तर समितिले दिएको निर्देशन कांग्रेस सांसद गुरूङको हकमा कार्यान्वयन भएको छैन।
सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनको पृष्ठ नम्बर ४३८ मा लेखिएको छ, ‘सहकारी संस्थाका तर्फबाट निज ज्योति गुरूङ र धनराज गुरूङ समेतका उपर प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय हेटौँडामा उजुरी परी केन्द्रीय अनुसन्धान ब्युरोमा आएकोमा समितिले सो सम्बन्धमा थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अगाडि बढाउन समितिको अन्तिम बैठकबाट निर्देशित समेत गरेको छ।’
समितिले सरकारलाई २०८१ भदौ ३१ गतेको ६६ औं बैठकबाट यस्तो निर्देशन दिएको हो।
‘६६ औँ बैठकबाट धनराजसहितलाई छानबिन गर्न, सहकारी सम्बन्धविच्छेदलाई अनुसूचीमा राख्न, ज्योति गुरूङलाई विदेशबाट खोजी ल्याएर कारबाहीमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन गरेका छौं’, समिति सभापति सूर्य थापाले भने, ‘उहाँ (धनराज गुरूङ) को प्रत्यक्ष संलग्नता हो कि होइनभन्दा मितेरी सहकारीको छानबिन समितिले २०७५ सालमा १२ करोड ५० लाख व्यवस्थापक ज्योति गुरूङले हिनामिना गरेको देखायो। जब सहकारीको नोटिसमा हिनामिनाको विषय आयो। २०७६ सालमा धनराज गुरूङले सम्बन्धविच्छेद गरेको कागजात हामीले पायौं। त्यसलाई हामीले सहकारी सम्बन्धविच्छेद भनेका छौं। फेक सम्बन्धविच्छेद, विवाह, अशंवन्डा र साधारणसभाबारे मैले संसदमा पनि बोलेको थिएँ। धनराजजीको पनि त्यहि कोटीको विषय हो।’
अडिओ:
समितिको प्रतिवेदन रास्वपा सभापति लामिछानेको हकमा कार्यान्वयनमा तदारुकता देखाएको सरकारले धनराजको हकमा प्रमाण खोजीरहेको बताएको छ।
गृहमन्त्री रमेश लेखकले पोखरामा गत कात्तिक १४ गते प्रमाणले गैरकानुनी काम गरेको देखिए कारबाही हुने बताएका हुन्।
‘धनराज गुरूङमाथि पनि अनुसन्धान हुन्छ, यदि प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने कारबाही हुन्छ,' गृहमन्त्री लेखकले भने, ‘कोही व्यक्तिको नाम लिनै पर्दैन, तथ्य प्रमाणले जे देखिन्छ, त्यही ढंगले अघि बढ्छ, ज-जसले गल्ती गर्नुभएको छ उनीहरूमाथि कारबाही हुन्छ। गल्ती गर्नु भएको छैन भने हुँदैन।’
जबकि रवि लामिछानेको हकमा प्रहरीले पक्राउ गरेर छानबिनमार्फत् प्रमाण संकलनको काम गरिरहेको छ। धनराजको हकमा सरकारले पक्राउ नगरी तथ्य प्रमाणको विषयलाई प्राथमिकता दिएको छ।
संसदीय छानबिन समितिले मितेरी बचत तथा ऋण सहकारी संस्थाको ललितपुरस्थित कार्यालयमा पुगेर अनुगमन गरेको थियो। सहकारीका अध्यक्ष कुम्मराज गुरूङले समितिमा दिएको बयानमा सहकारीका ९ जना सञ्चालकले अपचलन भएको रकम तिर्ने विषयमा धनराज गुरूङ र ज्योति गुरूङसँग छलफल गरेको बताएका छन्।
‘ऋण जोखिम कर्जा उठाउन सकियो र ज्योति गुरूङबाट अपचलन भएको रकम फिर्ता लिन सकियो भने समस्या समाधान गर्न सकिन्छ’, समिति समक्ष कुम्मराजले दिएको बयानमा भनेका छन्, ‘संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरूङ र उहाँकी श्रीमती ज्योति गुरूङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिक प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। तर पूरा भएन। हाल ज्योति गुरूङ कहाँ हुनुहुन्छ मेरो जानकारी छैन।’
कुम्मराजले सेतोपाटीसँगको कुराकानीमा धनराजसँग सहकारीको रकम अपचलनको विषयमा छलफल भएको बताएका थिए।
‘धनराज र ज्योतिलाई एकै ठाउँमा राखेर हामीले मगर सेवा समाज, रानिबुमा छलफल गर्यौं। त्यहाँ ज्योतिले गल्ती स्वीकार गरिन्। उनले पैसा बैंकक गएको बताइन् र ल्याएर आना पाई हिसाब गर्छु भनिन्,’ कुम्मराजले छलफलमा भएको कुरा सम्झँदै भने, ‘धनराजले धुरूधुरू रूँदै छोरा इन्जिनियर रहेको र अस्ट्रेलियामा भएकाले विस्तारै पैसाको व्यवस्था मिलाउने बताए। उनले आफू अब सांसद भएकाले मौका पाउँदा सहयोग गर्ने र सहकारीलाई बचाउन भूमिका खेल्ने बताएका थिए।’
मितेरी सहकारीले ज्योति गुरूङले १४ करोड ८० लाख रुपैयाँ अपचलनको आरोप लगाएको छ। कांग्रेस सांसद धनराज गुरूङले मितेरी सहकारीबाट ९१ लाख २५ हजार ऋण लिएकोमा २०८१ बैशाखमा चुक्ता गरेका छन्।
२०७५ सालमा मितेरी सहकारीको रकम अपचलन भएको आन्तरिक छानबिनबाट देखिएको थियो। लगत्तै २०७६ सालमा धनराजले ज्योतिसँग सम्बन्धविच्छेद गरेका थिए। तर त्यसपछि पनि मितेरी सहकारीबाट २०७७ सालमा धनराजले ऋण लिएका थिए। ऋण फारममा श्रीमतीको नाममा ज्योति गुरूङको नाम राखिएको छ। त्यस्तै २०७९ मंसिरमा भएको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा धनराजले श्रीमतीको रुपमा ज्योतिको नाम उल्लेख गरेका छन्।
कुम्मराजका अनुसार संस्थाको महाप्रबन्धक ज्योति गुरूङलाई संस्था सञ्चालन गर्न सम्पूर्ण जिम्मेवारी दिइएको थियो। उनले १२ करोड ५० लाख रकम हिनामिना गरेको र सोही रकम रकम ब्याज समेत गरेर १४ करोड ८१ लाख पुगेको हो।
संसदीय छानबिन समितिमा मितेरी सहरकारीका अध्यक्ष कुम्मराज गुरुङको बयान
तपाईंले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा कारबाहीका लागि लेखी पठाउनु भएको देखिन्छ। के भएको हो? खुलाई दिनुहोस्।
हाम्रो सहकारी संस्थामा बचतकर्ताको बचत रकम अपलचन भएदेखि सञ्चालक समितिको सदस्य सूर्जबहादुर थापाको संयोजकत्वमा आन्तरिक छानबिन समिति गठन गरी हेर्दा माननीय धनराज गुरूङको श्रीमती महाप्रबन्धक ज्योति गुरूङले १२ करोड ५० लाख रकम हिनामिना गरेको हुँदा संस्था प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा कारबाहीका लागि निवेदन पेस गरेको हो। हाल उक्त निवेदन नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोमा पुगेको छ।
तपाईंको संथाका महाप्रबन्धक ज्योति गुरूङले त्यति ठूलो बचत रकम कसरी अपचलन गरेको भन्नेबारे तपाईंलाई केही थाहा छ?
ज्योति गुरूङले संस्थाको नाममा लिएको १२ करोड ५० लाख रकम बैंककमा बस्ने कास्कीका ज्योतिबहादुर भण्डारीमार्फत् बिटक्वाइनमा लगानी गर्न हङकङ पठाइएको भन्नेसम्म मैले बुझेको हो। भण्डारीले मलाई टेलिफोन गरी ज्योति गुरूङको पैसा म तिर्छु, उहाँलाई केही नभन्नुस् समेत भनेका छन्।
विद्यमान अवस्थामा तपाईंको सहकारीको समस्या समाधान गर्न सक्नुहुन्छ? के, कुन प्रबन्ध भयो भने समाधान सहज हुन्छ?
विद्यमान अवस्थामा सहकारीको समस्या समाधान गर्न सकिन्छ। ऋण जोखिम कर्जा उठाउन सकियो र ज्योति गुरूङबाट अपचलन भएको रकम फिर्ता लिन सकियो भने समस्या समाधान गर्न सकिन्छ। संस्थाका सञ्चालक समितिका ९ जना सदस्यसहित माननीय धनराज गुरूङ र उहाँका श्रीमती ज्योति गुरूङ बसेर संस्थाको समस्या समाधान गर्छौं भन्ने मौखिम प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। तर पूरा भएन। हाल ज्योति गुरूङ कहाँ हुनुहुन्छ मेरो जानकारी छैन।
यो पनि:
प्रमाण देखियो भने धनराज गुरूङमाथि कारबाही हुन्छ: गृहमन्त्री लेखक
धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग
धनराज गुरूङमाथि थप अनुसन्धान गर्न सिफारिस गरेका छौंः छानबिन समिति सदस्य दाहाल (भिडिओ)
एक महिना अघिसम्म सहकारीमा श्रीमती ज्योतिको ऋण तिर्दै थिए धनराज गुरूङ
धनराज गुरूङले भने- मितेरी सहकारीमा कुनै आशंका भए ममाथि तुरून्त छानबिन गरियोस् (भिडिओ)
मैले सहकारीको रकम ठगी गरेको भन्ने समाचार भ्रामक होः धनराज गुरूङ
सांसद धनराज गुरूङलाई प्रश्न– कारबाहीबाट बच्न तपाईंले श्रीमतीसँग नक्कली डिभोर्स गरेको आरोप छ नि?
कांग्रेस सांसद धनराज गुरूङ र ज्योतिविरूद्ध सहकारी बचत ठगीको उजुरी परेको छ: सांसद पराजुली