कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले बुधबार पदबाट राजीनामा दिएपछि मन्त्रालयमै पत्रकार सम्मेलन गरे।
पत्रकार सम्मेलनमा उनले आफूलाई ‘मानव तस्करको गिरोहले उपयोग गर्न खोजेको तर थाहा पाएपछि विमानस्थलबाटै फर्केको’ गम्भीर अभिव्यक्ति दिए।
‘तस्कर गिरोह’ ले आफूलाई थाहै नदिइ केही व्यक्तिलाई मन्त्रीको सचिवालयका कर्मचारी बनाएर जापान छिराउन खोजेको जानकारी पनि उनले दिए।
यो घटनामा संलग्न रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ७ जनालाई पक्राउ गरिसकेको अधिकारीले बताए। आन्तरिक मामिला मन्त्रालयलाई प्रदेशको गृह मन्त्रालयका रूपमा पनि चिनिन्छ।
सोही मन्त्रालयका मन्त्री भने सरकारी प्रक्रिया नपुर्याइ सुटुक्क जापान पुगेको र मानव तस्करहरुलाई साथ दिएको अभियोग लागेर पदबाट राजीनामा दिन बाध्य भएका छन्।
अधिकारीका अनुसार उनलाई टोकियोमा हुने सांस्कृतिक कार्यक्रममा निम्त्याइएको थियो। उनले हङकङ पुगेपछि मात्रै गिरोहबारे थाहा पाएको दाबी गरेका छन्।
‘जनक राई, दावा शेर्पा, कन्चन देवकोटा नामका तीन जनालाई मन्त्रीसँगै जापान छिराउन लागिएको खुलेको छ।
‘उनीहरूसँग मन्त्रालयको नक्कली कार्डसमेत रहेछ,’ अधिकारीले भने। आफूलाई जापान लैजाने समूहबारे भने अधिकारीले केही पनि खुलाएनन्।
अधिकारीको दाबी छ, ‘तस्करहरूले मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा पाएपछि म फर्किएँ। म नेपाल आएपछि उनीहरू पनि जापान जान पाएनन्।’
उनले थपे ‘नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङकङबाट जापान उडाउन खोजेका थिए। हङकङ एयरपोर्टमा पुगेपछि मात्रै मैले यो कुरा थाहा पाएँ,’ उनले भने। उनी कात्तिक १३ मा जापानका लागि उडेका थिए भने कात्तिक १७ मा फर्किएका थिए।
मोरङको क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र नम्बर २ बाट दोस्रो पटक प्रदेश सभामा निर्वाचित एमालेका अधिकारी पहिलो कार्यकालमा पनि सुनकाण्डका तस्करको पक्षमा वकालत गरेको भन्दै विवादमा परेका थिए।
मोरङका स्थापित कानुन व्यवसायी अधिकारीले त्यसबेला सनम शाक्य हत्या प्रकरणमा गोरे टिममा रहेका भनिएका प्रहरी अधिकारीहरुको तर्फबाट अदालतमा बहस गरेका थिए।
सोही विवादका कारण एमालेका तत्कालीन संसदीय दलका नेता शेरधन राईले उनलाई स्पष्टीकरण सोध्दै वर्ष दिनभन्दा लामो समय प्रदेश सभामा बोल्ने मौका नै दिएका थिएनन्।
त्यसबेला माधव नेपाल समूहमा रहेका उनी एमाले विभाजित हुँदा १० बुँदे सहमतिकर्ताहरूसँगै एमालेमै रहेपछि भीम आचार्यको पालामा दुई महिना आन्तरिक मामिला राज्यमन्त्री बनेका थिए। त्यसपछि पनि दुई पटक सोही मन्त्रालयमा मन्त्रीको जिम्मेवारी पाएका उनी यसपटक भने मानव तस्करले उपयोग गरेको गम्भीर अभियोग लागेपछि पद छाड्न बाध्य भएका हुन्।
आफूमाथि प्रश्न उठेपछि नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गर्दै अधिकारीले भने, ‘यसबारे छानबिनका लागि सहज होस् भनेर मैले नैतिकताका आधारमा राजीनामा दिएको छु।’
प्रहरी स्रोतले दिएको जानकारीअनुसार मन्त्री अधिकारीसँगै गएका अरू तीन जना र उनलाई जापानी प्रशासनले विमानस्थलबाटै डिपोर्ट गरेको थियो।
खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटालाई जापानी अध्यागमनले डिपोर्ट गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।