राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल (डिपी) ले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेटका लागि समय माग गर्दै मोबाइलमा पठाएको म्यासेजको स्क्रिनसट अहिले सामाजिक सञ्जाल फेसबुक लगायतमा चर्चाको विषय बनेको छ।
सहकारी ठगी र संगठित अपराध कसुरमा गत कात्तिक २ गते सभापति रवि लामिछाने पक्राउ परेपछि रास्वपा दिनहुँजसो आन्दोलनमा छ।
रास्वपाको आन्दोलन सरकारविरूद्ध जस्तो देखिएको छ। सरकार नढलेसम्म आन्दोलन रोकिँदैन भनेर सभापति लामिछानेबाटै नागरिकलाई आह्वान पनि गर्ने र अर्कोतिर सत्तापक्षसँग संवादको कसरत पनि गर्ने रास्वपाको नीतिप्रति राजनीतिक वृत्तमा टिप्पणी भइरहेको हो।
कास्की प्रहरीको हिरासतमा रहेका सभापति लामिछानेलाई दोस्रो पटक म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
दोस्रो पटक थपिएको म्याद बिहीबार सकिँदैछ। तर बिहीबार तिहारको सार्वजनिक बिदा भएकाले अब अदालत खुलेपछि मात्रै लामिछानेलाई उपस्थित गराइनेछ। बाँकी प्रक्रिया त्यसैले निर्क्यौल गर्नेछ।
सहकारीको बचत अपचलन, दुरूपयोग, ठगी र हिनामिनाबारे अध्ययन गर्न नेकपा (एमाले) का सांसद सूर्य थापा नेतृत्वमा संसदीय विशेष छानबिन समिति गठन गरिएको थियो।
समितिले ९९ दिन लगाएर संसदलाई प्रतिवेदन बुझाएको थियो। समितिले तत्कालीन समयमा लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा ६५ करोड रूपैयाँ विभिन्न सहकारीबाट आएको देखिएको ठहर गरेको थियो।
लामिछाने आफै संलग्न भएर सहकारीका रकम नल्याएको तर आएको पैसा परिचालनमा उनको संलग्नता देखिएको भन्दै उनीमाथि प्रचलित कानूनअनुसार कारबाही गर्न समितिले सिफारिस गरेको थियो।
तर रास्वपाले सभापतिलाई राजनीतिक प्रतिशोध नै साँधिएको भन्दै सुरूआतमा आन्दोलनबाटै गलाउने नीति लिएको थियो।
यसैबीचमा रास्वपाले दुई उपसभापति डिपी अर्याल र स्वर्णिम वाग्लेलाई अलगअलग जिम्मेवारी दिँदै आन्दोलन सशक्त बनाउने निर्णय गरेको थियो। कात्तिक १० गते बसेको केन्द्रीय समितिको बैठकले आन्दोलन सञ्चालन गर्न उपसभापति अर्यालको संयोजकत्वमा मूल समिति गठन गरेको थियो।
त्यस्तै मुद्दा मिल्ने र परिवर्तनकारी राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सम्पादकहरूसँग संवाद गर्न उपसभापति वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको थियो।
निर्णयलगत्तै सेतोपाटीसँग कुराकानी गर्दै कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले सत्तापक्षमा रहेका नेपाली कांग्रेस, नेकपा (एमाले) रास्वपासँग संवादका लागि तयार नरहेको भन्दै मुद्दा मिल्ने दलहरूसँग मात्रै छलफल गर्ने बताएका थिए।
तर सडक आन्दोलनको मोर्चा सम्हालिरहेका उपसभापति अर्याल आफै अहिले सत्तापक्षका नेताहरूसँग संवादको कसरतमा देखिन्छन्। आन्दोलनको तागतमा लामिछानेको रिहाइ सम्भव नदेखेपछि रास्वपाले सत्तापक्षसँग संवादको ढोका पनि खोलेको पार्टीका नेताहरूको बुझाइ छ।
उपसभापति अर्यालले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई भेटेर कुराकानी गरे। गृहमन्त्री भेट्न उनी एक्लै गएका थिए भने प्रधानमन्त्रीसँगको भेटमा भने प्रमुख सचेतक सन्तोष परियार पनि सँगै थिए।
प्रधामन्त्रीसँगको भेटमा उनीहरूबीच केही छेडखानी पनि चल्यो। पक्राउ पर्दै गर्दा सभापति रवि लामिछानेले ‘सरकार मर्यो, हामीलाई जुठो पर्यो! तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी?’ भन्दै फेसबुकमा स्टाटस पोस्ट गरेका थिए।
साथै सभापति लामिछानेको रिहाइको माग गर्दै चितवनमा पार्टीका नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीको पुतला दहन गरेका थिए।
सभापति लामिछानेको अभिव्यक्ति र चितवनको प्रदर्शन प्रधानमन्त्री ओलीलाई बिझाएको रहेछ।
‘नयाँ भनिएका दलहरूको पनि पुरानै पाराको प्रदर्शन’ भन्दै प्रधानमन्त्री ओलीले छेडखानी गरेको प्रमुख सचेतक परियारले बताए। चितवनको पुतला दहन पार्टीको नीति, घोषित कार्यक्रमको स्वरूप नभएको भन्दै गल्ती महसुस गरिएको र उप्रान्त त्यस्ता गतिविधि नहुने जानकारी पनि प्रधानमन्त्रीलाई गराएको उनले बताए।
उपसभापति अर्याल र प्रमुख सचेतकले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्नुको तात्पर्य बुधबारको बालुवाटार घेराउ शान्तिपूर्ण हुने जानकारी गराउनु रहेको बताउँदै आएका छन्।
प्रधानमन्त्री ओलीको सचिवालयले भने भेटवार्ता त्यतिमा मात्रै सीमित नरहेको बताउँछ। प्रधानमन्त्री ओलीसँगको भेटमा रास्वपाका नेताहरूले रवि लामिछानेमाथि प्रतिशोध साँधिएको बताएका थिए। उनीहरूले हिरासतमा पनि सभापतिमाथि गैरकानूनी व्यवहार भएको दाबी गरेका थिए।
जबाफमा ओलीले रास्वपाका सांसद शिशिर खनालले समेत हस्ताक्षर गरेको र संसदले सर्वसम्मत अनुमोदन गरेको सहकारीसम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नु कसरी राजनीतिक प्रतिशोध हुन्छ भन्ने प्रतिप्रश्न गरेका थिए।
‘तपाईंहरूको सांसदले हस्ताक्षर गरेका छन्, प्रतिवेदनमा फरक मत छैन। संसदले सर्वसम्मत अनुमोदन गरेको प्रतिवेदन कार्यान्वयन गर्नु सरकारको कर्तव्य हो। सरकारले आफ्नो दायित्व पूरा गर्दा कसरी राजनीतिक प्रतिशोध हुन्छ?,’ प्रधानमन्त्री ओलीको प्रतिप्रश्न थियो।
उपसभापति अर्यालले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग भेटका लागि आफूले समय मागेको बताए।
सभापति लामिछानेलाई हिरासतमा राखिएको विषयमा कुराकानी गर्न नभई श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित विषयमा कुराकानी गर्न परराष्ट्र मन्त्री राणालाई भेट्न खोजेको उपसभापति अर्यालको भनाइ छ।
‘श्रम मन्त्रालयले दीर्घकालीन प्रभाव पार्ने केही गम्भीर प्रकृतिको निर्णय गर्दैछ भन्ने चाल पाएको छु। श्रम मन्त्रालयको कतिपय निर्णयमा परराष्ट्र मन्त्रालय पनि जोडिन्छ। त्यहाँबाट पनि चासो प्रकट हुन्छ। मन्त्रीज्यूलाई त्यसबारे थाहा छ कि छैन भनेर छलफल गर्न खोजेको हुँ, मन्त्रीज्यू पनि नयाँ हुनुहुन्छ। सचिवज्यू पनि नयाँ आउनुभएको होला,’ पूर्व श्रम तथा रोजगार मन्त्रीसमेत रहेका उनले भने।
श्रम मन्त्रालयले दक्षिण कोरियाको इ–७ भिसा लगायतका विषयमा निर्णय गर्न लागेको थाहा पाएकाले त्यसबारे छलफल गर्नैपर्ने ठानेर समय माग गरिएको उनले बताए।
‘जोसँग भेटे पनि सभापतिज्यू (रवि लामिछाने) कै विषयमा छलफल गर्न खोजिएको भनेर टिप्पणी गरिन्छ। सभापति हिरासतमा रहेकाले पार्टीमा त्यसपछिको जिम्मेवारीमा रहेको मैले केही राजनीतिक संवाद गर्नुपर्ने हुन्छ। सत्तापक्ष र प्रतिपक्षबीच अरू कुनै मुद्दामा कुरा नै हुँदैन त?,’ उनले प्रतिप्रश्न गर्दै भने।
उपसभापति अर्यालले भेटको प्रतिरक्षा गर्न खोजे पनि रास्वपाका नेताहरूभने सत्तापक्षसँग संवाद बढाउनै खोजेजस्तो देखिन्छ। सभापति पक्राउयताका सडक प्रदर्शनमा प्रधानमन्त्री ओलीसहित सत्तापक्षका नेताहरूलाई व्यक्तिगतरूपमै गालीगलौज गरेपछि थप दुरी बढ्ने र सम्बन्ध थप बिग्रने भय रास्वपाका नेताहरूलाई छ।
रास्वपाका एक नेताले दिएको जानकारीअनुसार सभापति लामिछाने पक्राउ पर्ने सूचना भित्रभित्रै फैलिएपछि उनीहरूले कांग्रेस र एमालेका नेताहरूसँग संवाद गर्न खोजेका थिए। कतिपयसँग त्यतिबेलै कुराकानी भएको ती नेता बताउँछन्।
‘दसैंलगत्तै, तिहारपछि पक्राउ गरिँदैछ भन्ने सुनेपछि 'ड्यामेज कन्ट्रोल'का लागि त्यतिबेला पनि छलफल गर्न खोजेका थियौं, केही नेतासँग संवाद भयो तर कांग्रेसका केही नेता संवादका लागि तयार नै हुनु भएन,’ ती नेताले भने।
अहिलेको संवादको कडी पनि सत्तापक्षसँग थप दुरी नबढोस् भनेरै भएको उनको भनाइ छ।
के हुन्छ अब आन्दोलन?
सभापति लामिछानेको हिरासत बसाइ लम्बिइरहँदा रास्वपाको सडक आन्दोलन पनि लम्बिएको छ।
बुधबारको बालुवाटार घेराउपछि रास्वपाले सडक प्रदर्शन गरेको छैन। तिहारको बीचमा सडक प्रदर्शन स्थगित गर्ने र सरकारलाई खबरदारी भने गरी नै रहने तयारी भइरहेके उपसभापति अर्यालले बताए।
‘आज आन्दोलन सञ्चालन मूल समितिको बैठक बस्दैछ। छठपछि सडक प्रदर्शनलाई निरन्तरता दिने तयारी छ। यसबारे आन्दोलन सञ्चालन मूल समितिले नै निर्णय गर्नेछ,’ उनले भने।
सभापति लामिछानेको मनशाय पनि त्यही रहेको उनले बताए।
‘सभापतिज्यूसँग आजैमात्र पनि संवाद भएको थियो। यसबीचमा उहाँलाई भेटेर पनि आएँ। तिहार पारिवारिक मेल, भ्रातृत्व आदान–प्रदानको पर्व भएकाले आन्दोलन नगर्ने कि भन्ने धारणा राख्नुभएको थियो। उहाँ यो लडाइँ जित्ने दृढ मनोबलमा पनि हुनुहुन्छ,’ उनले भने।
यसबीचमा पार्टीले दीपावली, नेपाल सम्वत्, छठ, इदलगायत पर्वको शुभकामना आदान–प्रदान कार्यक्रम पनि राखेको छ। पार्टीका कमिटीहरूले देउसी–भैलो पनि आयोजना गरेकाले ती कार्यक्रममार्फत सरकारलाई खबरदारी गरिने उनले बताए।