राष्ट्रपति रामचन्द्र पौडेलका कानुनी सल्लाहकार तथा वरिष्ठ अधिवक्ता बाबुराम कुँवर कुनै समय जिबी राईको कम्पनीमा कानुनी सल्लाहकार रहेकाले उनीमाथि किन छानबिन भएन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले प्रश्न गरिरहेका छन्।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सेतोपाटीसँगको कुराकानीमा पनि 'सरकारले कुँवरलाई जोगाएको' आरोप लगाएका थिए।
हामीले यसबारे कुँवरसँग उनी जिबी राईका कुन कुन कम्पनीमा कानुनी सल्लाहकार थिए र उनले राई र उनका कम्पनीमा भएका बदमासीको जिम्मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोधेका छौं। कुँवरसँग सेतोपाटीले गरेको संक्षिप्त कुराकानीको संम्पादित अंश —
तपाईं गोर्खा मिडियामा कानुनी सल्लाहकार हुनुहुन्थ्यो? कहिलेदेखि कहिलेसम्म हुनुहुन्थ्यो?
थिइनँ।
जिबी राईका अरू कम्पनीमा त तपाईं कानुनी सल्लाहकार हुनुहुन्थ्यो? कुन कुनमा कहिले कहिले हुनुहुन्थ्यो?
हो, म नेचर हर्ब्सको कानुनी सल्लाहकार थिएँ। त्यो जटिबुटीसम्बन्धी कम्पनी थियो। छविलाल जोशी उपाध्यक्ष थिए। उनैले मलाई कानुनी सल्लाहकार बनाएका हुन्। २०७७ वैशाखदेखि डेढ वर्षसम्म म त्यो कम्पनीको कानुनी सल्लाहकार थिएँ।
त्यो कम्पनीमा तपाईंले कानुनी सल्लाहकारका रूपमा के के काम गर्नुभयो?
जडिबुटी प्रत्यक्ष बिक्री गर्ने कम्पनी हो त्यो। प्रत्यक्ष बिक्री नेपालका लागि नयाँ विषय थियो। यसका कानुनी कुराहरू सम्झाइदिनुपर्यो भनेर छविलालले भनेपछि भिजिटिङ कन्सल्टेन्टका रूपमा काम गरेको हुँ। खासगरी प्रत्यक्ष बिक्रीका कानुनी र सैद्धान्तिक पक्षबारे मैले उनलाई सल्लाह दिएको थिएँ। कम्पनी दर्ता, प्रबन्धपत्र, सेयर ट्रान्सफर, पुँजी वृद्धि जस्ता विषयमा मैले कहिल्यै उनलाई कानुनी सल्लाह दिइनँ।
जिबी राईले सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडिया वा अरू कम्पनीमा पैसा लगेको तपाईंलाई थाहा थियो कि थिएन? थाहा पाउनुपर्ने हो कि होइन?
मलाई कसरी थाहा हुन्छ? सहकारीबाट पैसा ल्याएर कम्पनी खोलेको हो कि अन्तैबाट ल्याएको हो भन्ने कानुनी सल्लाह दिने मान्छेलाई थाहा हुने कुरा हुन्न। छविलाल मेरो गाउँको मान्छे भएकाले मैले उनलाई सल्लाह दिएको हुँ। जिबी राईसँग त्यही समय एक-दुईपटक भेटेको छु। अब उनले कहाँबाट पैसा ल्याएर कम्पनी चलाए भन्ने मलाई थाहा हुने कुरा होइन।
कानुनी सल्लाहकारको नाताले गैरकानुनी काम भएको थाहा पाए रोक्ने जिम्मेवारी तपाईंको हुन्थ्यो कि हुन्थेन?
थाहा भएको भए म जस्तो वकिलले यो के गरेको भनेर प्रश्न गर्थेँ होला। तर मलाई उनीहरूको हिसाबकिताब थाहा थिएन। मेरो कामको प्रकृति नै थाहा पाउने खालको होइन।
तपाईं जिबीकै कम्पनीको कानुनी सल्लाहकार हुनुहुन्थ्यो। सहकारीबाट पैसा ल्याएर कम्पनी चलाएको आरोप लागेका जिबी राई फरार र रवि लामिछाने थुनामा छन्। तपाईं चाहिँ राष्ट्रपतिको सल्लाहकार बसिरहन मिल्छ? राजीनामा दिन पर्दैन?
पर्दैन। कसैले षड्यन्त्र गरी गरी जथाभाबी बोल्दै हिँड्यो भन्दैमा राज्यका निकायमा भएका व्यक्तिले राजीनामा दिँदै जाने हो भने त शासकीय व्यवस्था चल्नै सक्दैन। मैले कानुनविपरीत काम गरेको भए पो पदमा बस्न नहुने हो। अब म कानुनी सल्लाहकारका रूपमा कुनै बेला काम गरेको कम्पनी सञ्चालकले के के गर्छ, त्यसको जिम्मेवारी मैले लिएर राजीनामा दिने?
यो देशमा हजारौं कानुन व्यवसायी कुनै न कुनै कम्पनीका सल्लाहकार छन्। अब कम्पनी सञ्चालकले गरेको गैरकानुनी काममा वकिलहरूलाई प्रश्न गर्ने? कम्पनी सञ्चालकले गरेको बदमासीमा वकिल, चार्टर्ड एकाउन्टेन्ट वा अरू कर्मचारीलाई पनि तान्न मिल्दैन। ऊ पनि संलग्न भएर बदमासी गरेको भेटियो भने एउटा कुरा भयो। सल्लाहकार भनेकै आवश्यक पर्दा सल्लाह दिने हो। कम्पनी सञ्चालकले गरेका निर्णयको भागीदार सल्लाहकार हुँदैन।
त्यसैले यस्तो हचुवा भरमा कसैले लगाएको षड्यन्त्रपूर्ण आरोपका लागि मैले राजीनामा दिन्न।