प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र)ले खबरदारी सभा गरी सरकारलाई जनविरोधी कदमविरूद्ध सचेत गराएको छ।
शनिबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेताहरूले वर्तमान सरकारले भ्रष्टाचारीको पक्षपोषण गरेको र त्यसको संरक्षण गरेको आरोप लगाए।
वक्ता रहेका अधिकांश नेताहरूले माओवादी नेतृत्वको अघिल्लो सरकारले जनताको पक्षमा राम्रो काम गरेको देखिनसकेर एमाले र कांग्रेस मिलेर सरकार बनाएको आरोप लगाए। उनीहरू मिल्नुकै एउटै उद्देश्य भ्रष्टाचार गर्नु र भ्रष्टाचारीको संरक्षण गर्नु रहेको पनि वक्ताहरूको भनाइ थियो।
सभाको अन्त्यमा बोलेका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यतः आठ विषयमा सरकार र सत्तापक्ष दलहरूलाई खबरदारी गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सुरूमै खबरदारी सभालाई सरकारले गम्भीरतापूर्वक लिन खबरदारी गरे।
'यदि सरकारले यो खबरदारी सभाको सन्देशलाई गम्भीरतापूर्वक लिएन भने भोलिको दिन कस्तो हुनेछ भन्ने कुराको संकेत यही सभाले गरेको छ। त्यसैले गम्भीर रूपले लिन चुनौती दिन्छु,' उनले भने।
प्रचण्डले दोस्रो खबरदारी असोज दोस्रो हप्ताको बाढी पहिरोको घटना र राहत उद्धार र पुनर्स्थापनामा सरकारले देखाएको लापरबाहीबारे गरे।
सरकारले त्यतिबेला लापरबाही गरेको दाबी गर्दै फेरि पनि त्यस्तै लापरबाही नदोहोर्याउन चेतावनी दिए।
'हिजोको लापरबाही फेरि नदोहोरियोस्। उद्धार राहत र पुनर्स्थापनाको कामलाई जिम्मेवारीपूर्वक अगाडि बढाइयोस्,' उनले भने।
तेस्रो खबरदारीको विषय थियो- सरकार भ्रष्टाचारीको संरक्षणतर्फ लागेको भन्नेबारे।
उनले सरकारबाट बाहिरिएपछि आफूले रोस्ट्रमबाट भनेको कुरा प्रमाणित हुँदै गएको दाबी गरे। त्यसलाई प्रमाणित गर्ने प्रशस्त तथ्यहरू सार्वजनिक नै भएको उनले बताए।
'सरकार सुशासनविरूद्ध बन्यो, भ्रष्टाचारीलाई बचाउन बन्यो। रातको समयमा आफ्नै पार्टी पंक्तिलाई समेत ढाँटेर जालझेल र षड्यन्त्रको तरिकाले बन्यो। दलालहरूका घरघरमा गएर रातको १२ बजे बन्यो। सय दिन पुग्दा नपुग्दै जे चिन्ता व्यक्त गरेका थियौं त्यो पुष्टि भएको छ। सरकार आफैले पुष्टि गरेको छ,' उनले भने।
सरकार परिवर्तनताका संविधान संशोधनको चर्चा भए पनि क्रमशः सेलाउँदै गएको र त्यो एउटा बहाना मात्रै भएको पनि उनको भनाइ थियो।
'उद्देश्य भ्रष्टाचारीलाई बचाउन मात्रै थियो। त्यो त पुष्टि भई नै सक्यो,' अध्यक्ष प्रचण्डले भने।
सत्तापक्षका सात दलले शुक्रबार विज्ञप्ति जारी गर्दै सडकबाट सरकारको विकल्प खोज्नु संविधान र लोकतन्त्र विरोधी गतिविधि हुने भनेको थियो।
खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले त्यसको खण्डन गर्दै माओवादी तत्काल सत्ता परिवर्तनको खेलमा नलागेको स्पप्ट पार्दै सत्तापक्षलाई भ्रममा नरहन खबरदारी गरे।
उनले शनिबारको खबरदारी सभा सरकार ढाल्नका लागि नभएको पनि बताए।
'खबरदारी कार्यक्रम घोषणा गर्नेबित्तिकै सत्तापक्षमा जुन आतंक देखापर्यो। खबरदार! तपाईंहरू सरकार ढल्छ भन्ने डरले अझ बढी बेथितितिर नजानुहोला। अझ बढी भ्रष्टाचारीहरूको संरक्षणतिर नलाग्नुहोला,' प्रचण्डले भने।
पाँचौं खबरदारीको विषय थियो- सत्ता समीकरण र सहकार्य।
यसअघि प्रधानमन्त्री हुँदा प्रचण्डले कांग्रेस र एमाले दुवै पार्टीसँग सत्ता सहकार्य गरे।
शनिबारको खबरदारी सभाबाट यी दुई दलहरूसँग अब कहिल्यै सत्ता सहकार्य नगर्ने र समीकरण बनाएर चुनावमा नजाने प्रचण्डले उद्घोष गरे।
'अब तपाईंहरूसँग फेरि समीकरण गरौं। मन्त्री मनाइदिनुस्, प्रधानमन्त्री बनाइदिनुस् भनेर आउने छैनौं। तपाईंहरूको संगतले हामी पनि केही बिग्रिएका थियौं। जनताबाट टाढिएका थियौं। अब फेरि जनतातिरै फर्किएका छौं। धन्यवाद। हल्का रूपले नलिनुहोला,' उनले भने।
त्यसकारण ढुक्क भएर सरकार चलाउने र फेरि माओवादी कसैसँग मिलेर आउँछ कि भन्ने टेन्सन नलिन प्रचण्डले आग्रह गरे।
सरकारलाई खबरदारीबारे प्रचण्डको छैटौं विषय आगामी दिनमा अझै सशक्त ढंगले विरोध गर्नेबारे थियो।
उनले शनिबारको खबरदारी सभा चार दिनको मात्रै तयारीमा गरिएको बताए। चार दिनकै तयारीमा त्यतिका मानिसहरू उपस्थित हुँदा पछि विरोध नै गर्नुपर्ने अवस्था आए सरकारले थेग्नै नसक्ने प्रचण्डको दाबी थियो।
'यो उत्साहपूर्ण उपस्थितिले भोलि माओवादीले खबरदारी होइन विरोधै गर्ने सभा गर्यौं, चार दिन होइन एक महिनाको तयारी गर्यौं भने काठमाडौंमा के होला? थेग्न सक्छ यो सरकारले? पचाउन सक्छ?,' उनको प्रश्न थियो।
त्यसकारण जनताका माओवादीले बुझाएको ज्ञापनपत्रका बुँदाहरूमा उल्लिखित काम गर्न र माओवादी नेतृत्वको अघिल्लो सरकारले गरेको सकारात्मक कामलाई उल्ट्याउने दुस्साहस नगर्न प्रचण्डको खबरदारी थियो।
'ज्ञापनपत्रका बुँदाहरूलाई, जनताका मुद्दाहरूलाई, वर्षाबाट भएको जनधनको क्षति, त्यसको उद्धार, राहत र पुनर्स्थापनाको कामलाई, भ्रष्टाचारीहरूलाई जोगाउने षड्यन्त्रपूर्ण क्रियाकलापलाई रोक्नुभएन भने सशक्त ढंगले प्रस्तुत हुन्छौं,' उनले भने।
प्रचण्डको सातौं खबरदारीको विषय बन्द रहेको उद्योगबारे थियो।
वर्तमान सरकारले रूग्ण उद्योगहरूलाई निजीकरण गर्ने निर्णय गरेको र त्यो स्वीकार्य नहुने उनको भनाइ थियो। आफू सरकारमा हुँदा त्यसलाई सञ्चालन गर्ने प्रक्रिया अगाडि बढ्दै गरेको बताउँदै प्रचण्डले अहिले त्यसलाई निजीकरणको नाममा बेच्न लागिएको बताएका हुन्।
'बिचौलियाहरूलाई बेच्दैछ। एउटा पनि उद्योग बिचौलियालाई बेच्ने काम गरियो भने त्यो नेपाली जनतालाई सह्य हुनेछैन,' उनले भने।
उनले देश कांग्रेस र एमालेको बिर्ता नभएकाले संख्याको प्राविधिक बलमा जस्तोसुकै अपराध गरे पनि हुन्छ भन्ने नसोच्न चेतावनी दिए।
'संख्या होइन, सत्य ठूलो कुरा हो। संख्या होइन, जनता ठूलो कुरा हो। हामी सत्य र जनताको पक्षमा छौं। हाम्रो जित हुन्छ,' उनले भने।
र, अन्त्यमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कुरा गरेको नसुहाउने प्रचण्डको तर्क थियो। नेकपा हुँदा नै ओली दुई तिहाइको प्रधानमन्त्री भएको स्मरण गराए।
'आफ्नै दुई तिहाइकोमा बन्चरो हान्ने नेताले कांग्रेसको वैशाखीको दुई तिहाइको धाक दिन मिल्छ? आफ्नै दुई तिहाइ हुँदाहुँदै संविधान मिचेर संसद विघटन गर्ने र त्यो दुई तिहाइलाई प्रहार गर्नेले कांग्रेसको बुइँ चढेर मेरो दुई तिहाइ छ भन्नु कति लाजमर्दो कुरा हो,' उनले भने।