भारतीय गुप्तचर संस्था 'रअ' का पूर्वअधिकारीले आफ्ना नागरिकको हत्या प्रयास गरेको आरोप अमेरिकाले लगाएको छ।
बिहीबार सार्वजनिक गरिएको अभियोग पत्रमा विकास यादव नामका रअ अधिकारीले भारतमै बसेर न्यूयोर्कमा रहेका भारत सरकारको आलोचना गर्ने अमेरिकी नागरिक मार्ने योजना बनाएको द न्यूयोर्क टाइम्सले लेखेको छ।
यही साता मात्र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो भूमिमा हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि गरेको आरोप भारतमाथि लगाएका थिए।
गत नोभेम्बरमा पनि अमेरिकाले भारतमाथि अमेरिकी र क्यानडेली नागरिकता भएका पृथकतावादी शिख गुरूपतवन्त सिंह पन्नुनको अमेरिकामै हत्या गर्न खोजेको आरोप लगाएको थियो। भारतको चर्को र आक्रामक आलोचना गर्ने पन्नुनको हत्याका लागि निखिल गुप्ता भन्ने भारतीयले भाडामा खोजेका सुटर अमेरिकी सुरक्षा निकायको एजेन्ट परेकाले सो कुराको खुलासा भएको थियो।
त्यस मामिलामा पन्नुनले दोभल र रअका पूर्वप्रमुख सामन्त गोयलसहित भारत सरकारलाई प्रतिवादी बनाई अमेरिकी अदालतमा मुद्दा पनि हालेका छन्। सोही मुद्दाका कारण अरू बेला मोदीसँग विदेश भ्रमणमा जाने दोभल उनको हालैको भ्रमणमा नगएको हुनसक्ने द न्यूयोर्क टाइम्सले लेखेको छ।
द हिन्दुस्तान टाइम्सले पन्नुनको हत्या प्रयासमा संलग्न भनिएका एक व्यक्तिलाई भारतले गिरफ्तार गरिसकेको भनेर अमेरिकालाई जानकारी गराएको लेखेको थियो।
भारतीय अनलाइन पत्रिका द वायरका संस्थापक सम्पादक सिद्धार्थ बर्धराजनको बुधबार प्रकाशित लेख अनुसार पक्राउ परेका ती व्यक्ति रअका अधिकारी हुन्। हत्या लगत्तैको निज्जरको शवको भिडिओमा उनको पहुँच थियो। र, त्यही भिडिओ उनले पन्नुनको हत्या प्रयासको क्रममा निखिल गुप्तालाई पठाएका थिए भन्ने अमेरिकाको संघीय सरकारले चलाएको मुद्दामा उल्लेख भएको उनले लेखेका थिए।
त्यो बेला ती रअ अधिकारीको नाम खुलेको थिएन।
प्रधानमन्त्री ट्रुडोले भारत विरूद्ध संगीन आरोप लगाएको भोलिपल्टै केही भारतीय अधिकारीहरू पन्नुनको हत्या प्रयासको छानबिनबारे कुरा गर्न वासिङटन पुगेका थिए। त्यसपछि ती रअ अधिकारीको नाम विकास यादव भएको खुलाउँदै अमेरिकाले अभियोग पत्र सार्वजनिक गरेको हो।
गत वर्ष जुनमा पृथकतावादी सिख नेता हरदीप सिंह निज्जरको हत्याका कारण बिग्रिएको भारत-क्यानडा सम्बन्धमा फेरि तनाव आएको हो।
क्यानेडियन नागरिक निज्जरको हत्यामा भारतको संलग्नता भएको आरोप क्यानडाले लगाएको थियो। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पोहोर सेप्टेम्बरमा संसदमा बोल्दै निज्जरको हत्यामा भारत सरकारका एजेन्टको हात भएको विश्वासिलो प्रमाण क्यानेडियन सुरक्षा संस्थासँग भएको दाबी गरेका थिए।
त्यसपछि बिग्रिएको दुई देशको सम्बन्ध चिसो नै थियो।
सोमबार ट्रुडोले भारत सरकारलाई क्यानडाको भूमिमा हत्या, जबर्जस्ती असुली लगायत आपराधिक गतिविधि गरेको आरोप लगाउँदै त्यस्तो कार्य अस्वीकार्य भएको बताए।
निज्जरको हत्यामा भारतीयको संलग्नता रहेको प्रमाण भेटिए पनि भारतले अनुसन्धानमा नसघाएको आरोप पनि क्यानडाले लगाएको छ। सो हत्या लगायत अरू क्यानेडियन सिख विरूद्धका गतिविधिमा संलग्नताको आरोप लगाउँदै सोमबार ६ जना भारतीय कूटनीतिज्ञलाई क्यानडाले निस्कासन गरिसकेको छ।
क्यानडाका लागि भारतीय उच्च आयुक्त सञ्जय कुमार बर्मा लगायत ६ जना कूटनीतिज्ञमाथि छानबिनका लागि कूटनीतिक उन्मुक्ति हटाउन भारतले नमानेपछि उनीहरूलाई निस्कासन गरेको हो। सुरक्षा खतरा देखाउँदै भारतले आफै उनीहरूलाई फिर्ता बोलाएको बताए पनि उनीहरूलाई निस्कासन नै गरिएको पश्चिमा मिडियाहरूले जनाएका छन्।
जबाफमा भारतले पनि कार्यवाहक उच्च आयुक्त स्टिवार्ट ह्विलर सहित ६ जना क्यानेडियन कूटनीतिज्ञलाई देश निकाला गरेको छ।
निज्जरको हत्यामा भारतीय एजेन्टको संलग्नता दाबी गरे पनि प्रत्यक्ष रूपमा उच्च सरकारी अधिकारीको संलग्नताबारे क्यानडा बोलेको थिएन। अहिले भने उसले आफ्नो भूमिमा आपराधिक गतिविधिमा भारत सरकारकै संलग्नता भएको दाबी गरेको हो।
अक्टोबर १२ मा भारतीय प्रधानन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल र क्यानेडियन सुरक्षा अधिकारीबीच सिंगापुरमा गोप्य भेट भएको थियो। सो भेटमा क्यानडाले आपराधिक गतिविधिमा भारतको संलग्नताको प्रमाण समेत पेस गरेको द वासिङटन पोस्टले लेखेको छ। भारतले भने त्यस्तो केही पेस नगरिएको दाबी गरेको छ।
वासिङटन पोस्टले क्यानेडियन अधिकारीहरूलाई उद्धृत गरेर लेखेको समाचार अनुसार, उच्च आयुक्त बर्मासहित भारतीय कूटनीतिज्ञले क्यानेडियन शिखहरू विरूद्ध जासुसी गर्थे। यसरी प्राप्त सूचना भारतीय गृहमन्त्री अमित शाह र गुप्तचर संस्था 'रअ' का वरिष्ठ अधिकारीलाई पठाउँथे। अनि कारबाहीका लागि अनुमति लिन्थे।
भारतीय कूटनीतिज्ञहरूबीचको संवाद र मेसेजका आधारमा उनीहरूले मोदीका दाहिने हात मानिने शाहसँग अनुमति लिएको खुलेको क्यानडाको दाबी छ।
त्यसरी प्राप्त जानकारीका आधारमा रअले क्यानेडियन नागरिक छानेर लरेन्स बिस्नोईको गिरोहलाई हमलाका लागि खटाउने गरेको पनि वासिङटन पोस्टले जनाएको छ।
बिस्नोई अहिले गुजरात कारागारमा छन्। गुजरात मोदी र शाह दुवैको गृहजिल्ला हो। उनले त्यहीँबाट आफ्नो आपराधिक गिरोह चलाइरहेको मानिन्छ। उनको गिरोहले विजया दशमीको साँझ महाराष्ट्रका पूर्वमन्त्री बाबा सिद्दिकीको गोली हानी हत्या गरेको छ। उनले भारतीय अभिनेता सलमान खानको हत्या गर्ने धम्की समेत दिइरहेका छन्। बाबा सिद्दिकीको सलमान खान, शाहरूख खान लगायत बलिउड कलाकारहरूसँग राम्रो सम्बन्ध भएको मानिन्छ।
बिस्नोईको गिरोहको क्यानडामा पनि राम्रो पकड छ। आफ्ना पत्र र सन्देशको अन्त्यमा जय श्रीराम लेख्ने बिस्नोईलाई मोदीको हिन्दुवादी सरकारले परिचालन गरिरहेको आशंका छ।
भारतले पाकिस्तान, नेपाल लगायत छिमेकी राष्ट्रमा यस्ता प्रकृतिका हत्या गर्ने र गराउने भनिए पनि पश्चिमा देशमा यस्तो गरेको यसअघि खुलेको थिएन। क्यानडा अमेरिकाको छिमेकी र सबभन्दा नजिकको सम्बन्ध भएको देश मात्रै नभएर नेटो सदस्य र फाइभ आइज राष्ट्र पनि हो। फाइभ आइज अस्ट्रेलिया, क्यानडा, न्युजिल्यान्ड, बेलायत र अमेरिकाको गुप्तचर गठबन्धन हो। यी देशले व्यापक रूपमा जासुसीमा सहकार्य गर्छन् र गोप्य सूचनाहरू साटासाट गर्छन्।त्यसैले क्यानडासँग उसले दाबी गरेजस्ता प्रमाण हुन पनि सक्छन्।
क्यानडाको आरोप र अमेरिकाले आफ्ना नागरिकको हत्या प्रयास गरेको भनेर रअ अधिकारी विरूद्ध मुद्दा चलाएपछि मोदीलाई कूटनीतिक रूपमा अप्ठ्यारो परेको छ।
क्यानडाको आरोप ठाडै अस्वीकार गरे पनि अमेरिकाको आरोपको छानबिनमा भारतले सहयोग गरेको छ। आफै आन्तरिक छानबिन पनि गराएको छ।
भारतको आन्तरिक छानबिनले सो प्रकरणमा केही भारतीय जासुसले अटेर गरेर आफूखुसी काम गरेको र त्यही कारण कैयौं अधिकारीले रअ छोड्नुपरेको देखिएको अमेरिकालाई जानकारी गराएको छ। त्यस्तै रअ अधिकारी विकास यादवलाई पक्राउ पनि गरेको छ।
निज्जरको हत्यामा संलग्न यादवलाई अमेरिकाको आरोपको आधारमा पक्रेपछि भारतले अब निज्जरको हत्याबारे केही थाहा थिएन भन्न पनि नमिल्ने देखिन्छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)