हमासले गत वर्ष अक्टोबर ७ मा इसराइलमाथि गरेको हमलाको प्रमुख योजनाकार याह्या सिन्वर बिहीबार मारिएका छन्। गजापट्टीमा इसराइलले गरेको नियमित कारबाहीमा सिन्वर मारिएको इसराइलले बिहीबार घोषणा गरेको हो।
उनको नाम याह्वाको अर्थ अरबीमा 'जीवित' भन्ने हुन्छ। तर इसराइलले मार्ने भनेर बनाएको शत्रुको सूचीमा उनको नाम माथि थियो। अन्ततः इसराइलले उनलाई जीवित छोडेन।
उसो त सिन्वरको मृत्यु उनैलाई निशाना बनाएर गरिएको आक्रमणमा भएको होइन। दक्षिणी गजामा पर्ने रफाहमा इसराइली सेनाले गरेको नियमित कारबाहीमा सिन्वर मारिएका हुन्।
यो घटनाको विस्तृत विवरण खुल्न अझै बाँकी नै छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार बुधबार राती नियमित गस्तीमा रहेको इसराइली सैनिकको एउटा टोलीले केही मान्छे एउटा भवनबाट अर्को भवनमा भाग्दै भित्र पसेको देखेको थियो।
उनीहरू हमासका लडाकु भएको आशंका भयो। त्यसपछि सेनाले भवनमा ट्यांकले आक्रमण गरेको थियो। सोही हमलामा सिन्वर घाइते भएको मानिन्छ। त्यसपछि त्यहाँ गोली हानाहान सुरू भयो। सैनिक टोलीसँग ड्रोन थियो। त्यसैले गोली हानाहानकै क्रममा भित्रको गतिविधि नियाल्न उनीहरूलाई मद्दत पुग्यो। त्यस क्रममा तीनजना हमासका लडाकु मारिए।
उज्यालो भएपछि भित्र पसेर हेर्दा एउटा शव सिन्वरजस्तै देखियो। शवको टाउको र खुट्टामा ठूलो चोट लागेको थियो। छेउछाउमा धेरै हतियार, विस्फोटक पदार्थ र पैसा पनि थियो।
त्यसपछि इसराइलले त्यो शवको परीक्षण गर्यो। दुई दशकभन्दा बढी समय सिन्वर जेलमा रहेकाले इसराइलसँग उनको दाँत र औंठाछापको रेकर्ड थियो। त्योसँग शवको विवरण जुधाएर बिहीबार इसराइलले सिन्वर मारिएको पुष्टि गर्यो। पछि डिएनए परीक्षणबाट पनि पुष्टि भयो।
अमेरिकी अनलाइन एक्सियसका अनुसार सिन्वरको हत्या गर्ने सेनाको टोलीमा १९ वर्षे जवानहरू थिए। ती कलिला सैनिकहरू टुकडी कमान्डरको प्रशिक्षार्थी रहेको बताइन्छ।
अक्टोबर ७ को हमलापछि नै सिन्वरलाई पक्राउ गर्न इसराइल र अमेरिकाले धेरै खर्च गरेर सूचना संकलन गरिरहेको थियो। धेरैपटक उनलाई पक्रिन प्रयास गरेपनि सफलता हासिल भएको थिएन।
जनवरी अन्त्यमा इसराइल र अमेरिकाले सिन्वर दक्षिणी गजाको खान युनिसमुनिको बृहत सुरूङ संरचनामा लुकेको सूचना पाएपछि इसराइली कमान्डोले विशेष कारवाही गरेका थिए। तर त्यसको केही दिनअघि नै उनी त्यहाँबाट अन्तै गएका थिए। त्यहाँ सैनिकले कैयौं दस्तावेज र करिब १० लाख अमेरिकी डलर बराबरको इसराइली मुद्रा बरामद गरेको थियो।
त्यस्तै अगस्टमा रफाहको सुरूङमा हमासले बन्दी बनाएका ६ जनाको शव फेला परेको थियो। सिन्वर त्यहाँ पनि पहिले रहेको संकेत भेटिएको दाबी इसराइली रक्षामन्त्री योभ गल्यान्टले गरेका थिए।
अहिले उनी मारिएको भवनमा भने कोही पनि बन्दी नभेटिएको इसराइलले जनाएको छ। उनी त्यो इलाकामा लामो समयदेखि बसिरहेका थिए वा बसाइ सर्ने क्रममा केही समय मात्र त्यहाँ थिए भन्ने पनि अहिलेसम्म खुलेको छैन।
गत वर्षको हमलामा हमासले तीन सयभन्दा बढी इसराइली सैनिक र दर्जनौं विदेशी नागरिकसहित लगभग १२ सय जनाको हत्या गरेको थियो। गजा नजिकै कृषि फार्ममा काम गर्ने दस जना नेपाली विद्यार्थी पनि मारिएका थिए। हमासले विदेशीसहित करिब २५० जनालाई बन्दी बनाएर गजातर्फ लगेको थियो। करिब एक सय अझै पनि कब्जामा रहेको मानिन्छ। विपिन जोशी पनि त्यही बन्दी समूहमा भएको मानिन्छ।
त्यति बेला हमासका गजा प्रमुख रहेका सिन्वर र सैन्य कमान्डर मोहम्मद देइफले शीर्ष नेता इस्माइल हनियेलाई समेत जानकारी नदिई उक्त हमलाको योजना बनाएको मानिन्छ। यसअघि सो हमलाबारे कतारमा रहेका हनियेलाई पूर्व जानकारी नदिइएको मानिएको थियो। तर गजामा सैनिक कारबाहीका क्रममा इसराइलले हमासका दस्तावेज हात पारेको र ती हेर्दा हनियेलाई हमलाअघि जानकारी दिइएको देखिन्छ भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।
इसराइलले देइफ र हनियेको हत्या गरिसकेको छ।
६१ वर्षीय हनियेको इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन इरानको राजधानी तेहरान पुगेका बेला जुलाई ३१ मा हत्या भएको थियो। हनियेलाई इसराइलले मारेपछि सिन्वर हमास प्रमुख चुनिएका थिए।
हनियेको हत्या भएको भोलिपल्टै इसराइलले हमासका सैन्य कमान्डर देइफलाई १९ दिनअघि मारेको दाबी गरेको थियो। जुलाई १३ मा गजाको खान युनिस सहरबाहिर एउटा पर्खालले घेरिएको भवनमा हवाई आक्रमण गरेर देइफलाई मारेको इसराइलले बताएको थियो। अरू ९० जनाभन्दा धेरैको मृत्यु भएको त्यो आक्रमणमा पछि उसले हमासका अर्का सैन्य कमान्डर रफा सलामाको पनि मृत्यु भएको बतायो।
त्यसअघि मार्चमा इसराइलले देइफपछिका हमासका सबैभन्दा ठूला सैन्य कमान्डर मरवन इशालाई पनि मारेको थियो।
गजामा रहेका वरिष्ठ हमास अधिकारीमध्ये सिन्वर, देइफ र इशा सबभन्दा कट्टरपन्थी मानिन्थे। अन्ततः इसराइलले उनीहरू तीन जनालाई नै मारेको छ।
सिन्वरले इसराइलका लागि जासुसी गर्ने प्यालेस्टिनीलाई क्रुरताका साथ मारेर 'बुचर अफ खान युनिस' का नामले चर्चा कमाएका थिए। उनको जन्म सन् १९६२ मा गजामा भएको थियो। सन् १९४८ मा यहुदीको छुट्टै राष्ट्रको रूपमा इसराइल घोषणा भएपछिको युद्धमा प्यालेस्टाइन भूमिबाट लखेटिएका लाखौं प्यालेस्टिनीजस्तै उनको परिवारले पनि भागेर गजामा शरण लिएको थियो।
उनी खान युनिसको विशाल शरणार्थी शिविरमा हुर्केका थिए।
सन् १९८० को दशकमा गजाको इस्लामिक विश्वविद्यालयमा अरबी पढ्दै गर्दा उनी शेख अहमद याशिनको प्रभावमा परे। याशिन ह्विलचेयरमा निर्भर थिए। उनलाई १६ वर्षको उमेरमा साथीसँग कुस्ती खेल्दा स्पाइनल कर्डमा चोट लागेको थियो। याशिन त्यो बेलै इसराइल विरूद्ध चर्का नाराका कारण चर्चामा थिए।
६० को दशकदेखि प्यालेस्टिनीका लागि आन्दोलन गर्ने यासिर अराफातले नेतृत्वको गरेको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पिएलओ) भन्दा धेरै चर्का र धार्मिक रूपमा कट्टरपन्थी कुरा गर्थे याशिन। इस्लामिक केन्द्रका नाममा मस्जिद, स्कुल र स्वास्थ्य क्लिनिक चलाएर लोकप्रिय भएका याशिनसँग कलिला सिन्वर नजिक भए।
सन् १९८७ मा भएको पहिलो इन्तिफादा अर्थात् आन्दोलनपछि याशिनले नै हमास गठन गरेका थिए। इसराइलमा काम गरेर घर फर्किरहेका चार प्यालेस्टिनीको इसराइली गाडीको ठक्करबाट मृत्यु भएपछि सो आन्दोलन सुरू भएको थियो। सो घटना इसराइलीले जानाजान गराएको भनेर आक्रोशित प्यालेस्टिनी युवाहरूले ढुंगा हान्दै प्रदर्शन सुरू गरेका थिए। यसपछि चर्किएको आन्दोलनका कारण हमास बलियो भएको थियो।
हमासले आफ्नो घोषणा पत्रमै इसराइलको विनाश गर्ने उद्घोष गरेको थियो। आज पर्यन्त उसले पूरै भू-भाग प्यालेस्टिनीको हुनुपर्ने भन्दै इसराइलमाथि लगातार आतंककारी हमला गरिरहेको छ।
याशिनले हमासको आन्तरिक अनुशासनका लागि मज्द भन्ने दस्ता बनाएर युवा सिन्वरलाई त्यसको प्रमुख बनाएका थिए। इसराइलका लागि जासुसी गर्ने र इस्लाम धर्मले वर्जित गरेको समलैंगिकता, विवाह इतर सम्बन्धमा संलग्न र पोर्न सामग्रीहरू हेर्ने-राख्नेलाई सो दस्ताले कारबाही गर्थ्यो।
इसराइललाई सूचना दिएको स्वीकार गर्नेलाई तुरून्तै मार्नु भन्ने याशिनको उर्दी पालना गर्ने क्रममा सिन्वरले धेरैलाई क्रुरतासाथ मारेको मानिन्छ। कतिको टाउको उनले आफ्नै हातले काटे, कसैको टाउकोमा उम्लिरहेको तेल खन्याए, अनि कसैलाई जिउँदै गाडे। यही कारण उनको नाम 'बुचर अफ खान युनिस' भएको मानिन्छ।
इसराइलका लागि जासुसी गर्ने प्यालेस्टिनीको हत्या आरोपमा सन् १९८८ मा सिन्वरलाई इसराइलले जेल हालेको थियो। अगस्टमा द न्यूयोर्करले प्रकाशित एक लेख अनुसार सिन्वरले आफूसँगै जेलमा रहेका हमासका एक कमान्डरकी बहिनीको हत्या गर्न पनि सहयोग गरेका थिए।
सो लेखले इसराइलको सैनिक अदालतको अभिलेखमा सन् १९९९ मा सिन्वरबारे बनाइएको ६ पाने दस्तावेजलाई उद्धृत गरेको छ। जस अनुसार सन् १९९७ देखि हमासका कमान्डर मोहम्मद शरथ सिन्वरसँगै थिए। शरथकी गजामा रहेकी बहिनीले विवाह इतर सम्बन्ध राखेकी थिइन्। उनले परिवारको बेइज्जत गरेको भनेर शरथ दुःखी भए। सिन्वरलाई सबै कुरा सुनाएर बहिनीलाई सजाय दिन सिन्वरको सहयोग मागे।
सिन्वरले जेलमा भेट्न आउनेहरू मार्फत आफ्ना भाइ मुहम्मद सिन्वरलाई (अहिले हमासका वरिष्ठ सैन्य कमान्डर) यसबारे खबर पठाए। अनि शरथकै भाइको हातबाट ती बहिनीको हत्या गराएका थिए भनेर सो दस्तावेजमा उल्लेख गरिएको छ।
हमासप्रति सहानुभूति राख्ने धेरै प्यालेस्टिनीहरू भने सिन्वरको क्रुरताका ती कथा झुटा भएको बताउँछन्। अक्टोबर ७ को हमलापछि उनको दानवीकरण गर्न इसराइल र अमेरिकाले फैलाएका हल्ला मात्रै भन्छन्।
सिन्वरले २३ वर्षे जेल बसाइलाई विश्वविद्यालय जसरी लिए। त्यहाँ उनले इसराइलीको हिब्रु भाषा सिके। इसराइली पत्रपत्रिका, सेना र गुप्तचर सम्बन्धी, अवकाश प्राप्त सैनिक अधिकृत र जासुसहरूका लेख र किताबहरू पढे। इसराइल र उनीहरूको सुरक्षा व्यवस्थाबारे गहिराइमा बुझे। आफूले पढेका कतिपय सामग्री आफ्नो भाषामा अनुवाद गरेर जेलका अरू प्यालेस्टिनीलाई पनि पढ्न दिए।
जेलमै हुँदा उनले २४० पृष्ठको उपन्यास पनि लेखे। अलिअलि गरेर हस्तलिखित पानाहरू गोप्य रूपमा जेलबाहिर पठाएर छापिएको सो उपन्यासमा उनले आफूलाई त्यसको मुख्य पात्रमा ढालेको मानिन्छ। सो पात्रको सोचले उनको सोचबारे धेरै कुरा थाहा हुने मानिन्छ।
अक्टोबरको हमलापछि युभल बिट्टन भन्ने दन्तचिकित्सकले सिन्वर जेलमा हुँदा आफूसँग खुलेर कुरा गर्ने गरेको बताएका छन्। बिट्टन कैदीको जाँच गर्थे।
बिट्टनका अनुसार केही वर्षको अन्तरालपछि खुफिया अधिकारीको रूपमा फेरि जेलमा भेट्न जाँदा सिन्वरले सुरूमा उनलाई चिनेनन्। पछि उनले घाँटीको पछाडिपट्टि दुखेको र केहीबेर अघि प्रार्थना गरेर उठ्दा सन्तुलन गुमाएको बताएका थिए। जेनरल मेडिसिन पनि पढेका बिट्टनले उनलाई मष्तिस्कघात भएको हुन सक्ने ठानेर अस्पताल लैजान जेल प्रशासनलाई सल्लाह दिए। अस्पतालमा लगेर उनको आकस्मिक शल्यक्रिया गरिएको र टाउकोमा क्यान्सर हुन सक्ने खालको ट्युमर फालिएको बिट्टनले बताएका छन्।
सिन्वर अध्ययनशील थिए। उनमा नेतृत्वदायी क्षमता थियो। त्यसैले जेलमै रहँदा उनी त्यहाँ रहेका हमास सदस्यहरूको नेता चुनिए। सन् २००६ मा अपहरणमा परेका इसराइली सैनिक जिलाद शालितलाई छुटाउन लामो समयसम्म चलेको वार्तामा उनले जेल भित्रबाटै भाग लिए। इसराइलले आफ्नो सैनिकलाई छुटाउन जे पनि मूल्य चुकाउँछ भन्ने राम्ररी बुझेका सिन्वरले शालितलाई छुटाउन धेरै प्यालेस्टिनी रिहा गर्नुपर्ने सर्त राख्नुपर्छ भन्थे। उनका कारण लामो समयसम्म वार्ता भाँडिएको थाहा पाएर इसराइलले उनलाई केही दिन एकान्त कारावासमा राख्यो। यसपछि मात्रै सो वार्ता सफल भयो।
तैपनि शालितलाई छुटाउन सन् २०११ मा इसराइलले १०२७ प्यालेस्टिनीलाई रिहा गर्यो। इसराइलले सिन्वरलाई पनि छाड्यो। कट्टरपन्थी भए पनि ५० वर्ष पुग्न लागेका सिन्वरले कोही इसराइली नमारेका कारण उनलाई छाडिएको थियो। तर त्यो दिन छुटेका अरू प्यालेस्टिनीले मिलेर लगभग पाँच सय इसराइली मारेका थिए भनिन्छ।
रिहा गर्ने बेलामा इसराइलले प्यालेस्टिनीलाई 'अबदेखि आतंकारी गतिविधिमा संलग्न नहुने' कबोल गराएर कागजमा हस्ताक्षर गर्न लगाएको थियो। अरूले हस्ताक्षर गरे पनि उनले त्यसो नगरेको मानिन्छ।
जेलमै हुँदा नेता बनेका सिन्वरको छुटेपछि छिटो छिटो बढुवा भयो। तत्कालीन हमासका गजा प्रमुख हनिये र देइफजस्ता वरिष्ठ नेताहरूसँग उनको राम्रो सम्बन्ध बन्यो। लेबननमा इरानले चलाएको हिजबुल्लाह समूहसँग पनि उनले सम्बन्ध बिस्तार गरे। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) को विदेशी समूह (हमास, हिज्बुल्लाह, हुथी) परिचालन गर्ने कुद्स फोर्सका प्रमुख जनरल कासिम सुलेमानीलाई पनि उनले तेहरान पुगेर भेटे। सुलेमानीको सन् २०२० जनवरीमा इराकको राजधानी बग्दादमा ड्रोन आक्रमण गरी अमेरिकाले हत्या गरेको थियो।
सन् २०१७ मा हनिये हमासको प्रमुख नियुक्त भएपछि सिन्वर हमासको गजा प्रमुख बने। यसपछि सन् २०१८ मा सिन्वरले एक इटालियन पत्रकारलाई दिएको अन्तर्वार्तामा पनि जेल बसाइले उनलाई अध्ययन गर्न मद्दत गरेको भनेका थिए। त्यस्तै आफू जेलबाट छुटे पनि इसराइल र इजिप्टले मिलेर नाकाबन्दी लगाएको गजा जेल जस्तै रहेको पनि भनेका थिए। बरू इसराइली जेल गजाभन्दा राम्रो भएको, जेलमा खानेपानी, बिजुली र किताब भए पनि गजामा अझ गार्हो भएको बताएका थिए।
सो अन्तर्वार्तामा उनले पहिलेका यहुदीहरू सिग्मन्ड फ्रायड, अल्बर्ट आइन्सटाइन र फ्रेन्ज काफ्काजस्ता गणित र दर्शनका विद्वान भएकामा अहिलेका खाली ड्रोन र गैरन्यायिक हत्यामा मात्रै विशेषज्ञ रहेको पनि औंल्याएका थिए।
हमासको मुख्यतया चार प्रकारको संरचना छ।
एउटा उसको नियन्त्रणमा रहेको गजामा, अर्को उसको प्यालेस्टिनी प्रतिद्वन्द्वी फताहले प्रशासन चलाएको वेस्ट बैंकमा, तेस्रो प्रवासमा र चौथो इसराइली जेलहरूमा। तीमध्ये स्थानीय पकडका कारण गजाको संरचना शक्तिशाली मानिन्छ। इरान र अरब देशहरूसँग संवाद-समन्वय गरिरहनुपर्ने र पश्चिमाहरूसँग पनि वार्ता गर्नुपर्ने भएकाले हमास प्रमुख पनि प्रवासमै बस्ने गर्छन्।
हनिये हमास प्रमुख बनेर कतार बस्न गएपछि सिन्वरले थप शक्ति आर्जन गरे। स्थानीय प्यालेस्टिनीसँग घुलमिल भएर लोकप्रिय पनि बने। उनले जेलमा बस्दैदेखि देखेको सपना पूरा गर्न इसराइलमाथि ठूलो हमला गर्ने योजना बनाउन थाले।
पश्चिमाहरूको समन्वयमा इसराइल र तत्कालीन पिएलओबीच यहुदी र प्यालेस्टिनीका लागि दुई छुट्टै देश बनाउने सम्झौता हमासले मान्दैन थियो। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि यो कुरा मान्दैन थिए। त्यसैले सिन्वरको नेतन्याहु सरकारसँग सहकार्य पनि भयो। हमासको प्रतिद्वन्द्वी फताहले दुई बेग्ला-बेग्लै देश बनाउन मान्थ्यो। त्यसैले नेतन्याहुले फताहलाई कमजोर पार्न हमाससँग सहकार्य गरे।
इसराइलबाट यहुदी लखेटेर भू-मध्य सागर र जोर्डन नदीबीचको सारा भूमि समेटेर प्यालेस्टाइन राज्य बनाउने हमासको सपना थियो। त्यस्तै सबै जमिनमा यहुदीको आधिपत्य गर्ने मनसुवा नेतन्याहु लगायत इसराइली कट्टरपन्थीहरूको छ। शान्ति भएर बेग्ला बेग्लै देश बने दुवैलाई घाटा हुन्थ्यो।
सानातिना हमला गर्नुभन्दा ठूलो हमला गर्नु उचित हुने ठानेर सिन्वरले इसराइलमाथि आक्रमण गर्न छोडे। ठूलो हमला गर्ने योजनामै ध्यान केन्द्रित गरे।
कोरोना महामारीका बेला 'कोभिड लागेर मानिस मरे भने धेरै दुश्मनलाई मारेर शहिद बन्ने मौका पाउँदिनँ कि' भनेर सिन्वरले चिन्ता व्यक्त गरेको हमास निकट केही लेखकहरूले बताएका छन्।
नेतन्याहुले पनि गजाका प्यालेस्टिनीलाई इसराइलमा काम गर्ने अनुमति दिए। गजाको सरकार चलाउन हमासलाई कतारबाट अर्बौं डलर ल्याउन दिए। कतार लगायत अरब राष्ट्रले दिएको सहयोग रकम हमासले सुरूङ खन्न र हतियार किन्न/बनाउन प्रयोग गर्यो। यो कुरा थाहा पाए पनि हमासले त्यत्रो शक्तिशाली इसराइलको केही बिगार्न नसक्ने ठानेर नेतन्याहुले आफ्नो नीतिलाई निरन्तरता दिए। इसराइली सुरक्षा निकायहरूले पनि उसले केही गर्न सक्दैन भनेर ध्यान दिएनन्।
आखिरमा गत वर्ष अक्टोबरमा सिन्वर इसराइलमाथि ठूलो हमला गर्न सफल भए।
त्यसपछि हमासलाई सिद्ध्याउने उद्देश्यले इसराइलले गजामा आक्रमण गर्यो। तर युद्ध जारी राख्ने कुरामा सिन्वर र नेतन्याहु दुवैको स्वार्थ फेरि मिल्यो।
इसराइलले सारा गजा तहसनहस पारेर महिला, केटाकेटीसहित दसौं हजार सर्वसाधारण मारे पनि अमेरिका लगायत पश्चिमा र अरब राष्ट्रले चाहेजस्तो हमासले दीर्घकालीन युद्धविराम गर्न मानेन। कट्टरपन्थीहरूको समर्थनमा सत्तामा रहेका नेतन्याहुलाई युद्धविराम भए प्रधानमन्त्री पद जाने र त्यसपछि भ्रष्टाचारको मुद्दामा जेल नै जाने खतरा थियो। अझै छ। त्यसैले सेनाले गजामा युद्धविराम गरेर थकाइ मार्नुपर्छ भने पनि र बन्धक फिर्ता ल्याउने व्यापक जनदबाब भए पनि उनले बेवास्ता गरेका हुन्।
उता युद्धविराम भए पनि इसराइलले अब आफूलाई ढिलो-चाँडो मार्छ भन्ने सिन्वरले बुझेका थिए। युद्धविरामपछि पनि उनी लुकेरै बस्नुपर्थ्यो। युद्ध चलिरहे इसराइलले झन् धेरै प्यालेस्टिनी सर्वसाधारणको हत्या गर्नेछ र अन्तर्राष्ट्रिय समुदायमा झन् एक्लिँदै जानेछ भन्ने पनि सिन्वरले बुझेका थिए। त्यसैले उनले युद्धविराम गर्न मानेनन्।
जेलमा बस्दा इसराइली सैनिक शालितको बदलामा आफू लगायत एक हजार बढी प्यालेस्टिनी छुटाउन सफल भएका उनी इसराइली सेनाले गजा छोडेर जानुपर्ने सर्तमा अडिग रहे। सैन्य संगठनमा बलियो पकड भएकाले उनले कडा सर्त राखेर युद्धविराम हुन दिएका थिएनन्।
उनी गजामा सुरूङमुनि लुकेर बस्थे। मोबाइल, इन्टरनेट प्रयोग गरे इसराइलले ट्रयाक गर्ने भनेर मान्छे मार्फत सूचना आदान प्रदान गर्थे। त्यसैले युद्धविरामका लागि भएको वार्ता पनि ढिलो चल्थ्यो।
वार्तामा भएको प्रगतिको जानकारी, आफ्ना सर्त र जबाफ उनले हातले लेखेर पठाउँथे। ती सन्देश फेला परे त्यसकै माध्यमबाट पनि पक्राउ पर्न सक्ने भनेर उनले कोडमा लेख्थे भनेर द वालस्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरेको छ। जेलमा हुँदै उनले प्रयोग गर्ने ती कोड सन्देश बोक्ने मान्छेपिच्छे फरक हुन्थ्यो। त्यसरी ती सन्देश मध्यस्थता गर्ने अरब अधिकारीहरू हुँदै वार्तामा पुग्थे।
पूर्व हमास प्रमुख हनिये युद्धविराम गर्नुपर्छ भन्थे। तर युद्ध लम्ब्याउन चाहने सिन्वर हमास प्रमुख भएपछि तत्कालै युद्धविराम हुने सम्भावना टरेको थियो। इसराइल पनि पछिल्ला दिनमा लेबननको हिज्बुल्लाह समूहमाथि एकपछि अर्को सफलता हासिल गरेपछि वार्तामा बस्न चाहेन।
उसो भए अब सिन्वरको मृत्यु भएपछि गजामा युद्ध रोकिन्छ?
इसराइली प्रधानमन्त्री नेतन्याहुले हमाससँग रहेका इसराइली बन्दीहरू छाडे उनीहरूलाई गजाबाट सुरक्षित निस्किन दिने आश्वासन दिएका छन्।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि सिन्वरलाई मार्न सफल भएपछि युद्ध अन्त्य गर्न नेतन्याहुलाई भनेको भनेर एक्सियसले लेखेको छ। बाइडेनले जर्मनी जाँदै गर्दा आफ्नो विमानबाट नेतन्याहुलाई फोन गरेर युद्ध रोकी बन्दी फर्काउन ध्यान दिन बताएका हुन्।
हमास लडाकुले पनि नेतन्याहुको प्रस्ताव मानेर बन्दी छाडे भने करिब सय जना बन्दी छुट्न सक्छन् जसमा विपिन जोशी पनि भएको मानिन्छ।
सिन्वरको हत्या गरिसकेर हमासलाई तहसनहस पारेको र बन्दी पनि छुटाएको देखाउँदै नेतन्याहुलाई पनि चाहेजस्तो पूर्ण विजय हासिल भएको भनेर युद्ध रोक्न सजिलो हुनेछ। तर उनको गठबन्धनमा रहेका कट्टरपन्थीहरूले युद्ध रोक्न नहुने बताइरहेका छन्। अहिले हमासको घाँटीमा आफ्नो बुट रहेको भन्दै हमासलाई सिद्धयाउनु पर्ने र फेरि बौरिने मौका दिनु नहुने जिकिर गरिरहेका छन्।
अर्कोतिर हमासलाई पनि इसराइलको बाचामाथि विश्वास नहुन सक्छ। अहिले सिन्वरको बदला नलिई बन्दी छोडिदिए पनि इसराइलले पछि आफूहरूको हत्या गर्छ भन्ने हमासले ठान्न सक्छ। त्यसैले बन्दीहरूलाई नछाड्ने खतरा हुन्छ।
त्यस्तै अब हमास प्रमुख को बन्छ भन्ने कुराले पनि युद्ध रोकिन्छ कि रोकिँदैन भन्ने निर्धारण गर्नेछ।
सैन्य कमान्डर रहेका सिन्वरका भाइ मुहम्मद सिन्वर प्रमुख बने भने युद्ध रोकिने सम्भावना कम छ। पछिल्ला दिनमा सिन्वरले सबैभन्दा बढी विश्वास गर्ने मोहम्मद दाजुजस्तै कट्टर र आक्रामक भएको मानिन्छ।
तर मोहम्मद नभएर राजनीतिक ब्युरोका खलिल अल-हय्या वा खालिद मेसल प्रमुख भए भने युद्ध रोकिन सक्छ। हनियेपछि पनि अल-हय्या वा मेसल हमास प्रमुख बन्ने अनुमान थियो। तर युद्ध चलिरहेका बेलामा गजामै रहेका सिन्वर धेरै शक्तिशाली रहेको र उनलाई इरानले पनि रूचाएका कारण उनी प्रमुख बनेको मानिन्छ।
एघार वर्षको हुँदा प्यालेस्टिनी भूमि छाडेका र लामो समय इजिप्टको राजधानी कायरो र कतारमा बसेका मेसल इरानका कडा विरोधी मानिन्छन्। हनिये भन्लेदा अघि पनि हमास प्रमुख रहेका मेसलले सुन्नी प्यालेस्टिनीको समूह हमासलाई लामो समयदेखि शिया बहुल इरानको खेमामा नभएर साउदी अरेबिया लगायत सुन्नी अरबहरूको खेमामा लान चाहिरहेका छन्। उनी प्रमुख भए हमासको इरानसँगको सम्बन्ध बिग्रिन सक्छ। इरानसँग सम्बन्ध बिग्रिए अहिले नै तहसनहस भएको हमास सिद्धिन पनि सक्छ।
अर्कोतर्फ नेताहरूको हत्या गर्दैमा हमासजस्ता आतंककारी समूह धेरै कमजोर नहुन सक्छन्। इसराइलले दसौं हजार सर्वसाधारण मारेको र गजालाई ध्वस्त पारेको रिसले नयाँ पुस्ताका धेरै युवा हमासमा लाग्न सक्छन्।
यसरी हमासको शक्ति केही बाँकी रहे पनि अमेरिकासँग राम्रो सम्बन्ध भएका र पछिल्लो समय इसराइलसँग पनि सम्बन्ध सुधार्न खोजिरहेका अरब राष्ट्रहरूले मध्यस्थता गरेर हमासलाई शान्ति सम्झौताका लागि राजी गराउन सक्छन्। अमेरिका लगायत पश्चिमा राष्ट्रले पनि नेतन्याहुलाई मनाएर साउदीसँग सम्झौताको बदलामा प्यालेस्टिनीका लागि छुट्टै राष्ट्र बनाउन मनाउन सक्छन्।
इसराइलमाथि ठूलो हमला गरे जबाफमा गजा ध्वस्त हुन्छ भन्ने जान्दा जान्दै पनि हमला गर्ने र युद्धविराम नगरेर युद्ध लम्ब्याउने सिन्वरको मृत्युपछि गजाका प्यालेस्टिनीमाथि लगातारको इसराइली अत्याचार रोकिन सक्छ।
(प्रेम ढकाल सेतोपाटी अंग्रेजी संस्करणका सम्पादक हुन्)