नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले आफूलाई बालुवाटारबाट पक्राउ गरी प्रहरीले मालीगाउँ ल्याएको बताएका छन्।
निर्मला कुर्मीलाई न्याय माग गर्दै रूबी खान लगायतले मंगलबार साँझ बालुवाटारमा प्रदर्शन गरेका थिए। उक्त प्रदर्शनका क्रममा सवारी जाम भएको थियो।
सोही बाटोमा रहेका कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले रूबी खानसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।
‘मलाई बालुवाटारबाट पक्राउ गरेर प्रहरीले मालीगाउँ ल्यायो,’ शिवाकोटीले सेतोपाटीसँग भने, ‘त्यसपछि स्वास्थ्य परिक्षणका लागि भन्दै वीर अस्पताल ल्याएको छ।’
आफूलाई नियन्त्रणमा लिनुको कारण थाहा नभएको उनको भनाइ छ। ‘सवारी जाम भएको रहेछ। के भएको रहेछ भनेर गएको थिएँ, त्यस क्रममा चिनेको एक जना भाइ देखेँ। उनीसँग कुरा गर्दैगर्दा मलाई पनि प्रहरीले पक्राउ गरेर ल्याएको हो,’ उनले भने।