मंसिर १६ गते हुन लागेको स्थानीय तह उपनिर्वाचनमा उम्मेदवार तय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले तीनवटा विकल्पमाथि छलफल थालेको छ। उपचुनाव हुन लागेको स्थानीय तहमा पार्टीको अवस्था बुझ्न रास्वपाले यसबीचमा कार्यदलसमेत बनाएको छ।
गत असोज १३ गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले सहमहामन्त्री विपीनकुमार आचार्यको नेतृत्वमा ७ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा कोको सदस्य रहने, कार्यादेश के हुने भनेर संयोजक आचार्यले आज सभापतिसँग छलफल गर्न लागेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
स्थानीय तह निर्वाचनमा पहिलो पटक सहभागी हुन लागेको रास्वपाले असोज १५ गते दल दर्ता गरिसकेको कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए।
चुनाव हुन लागेको स्थानीय तहमा पार्टी संगठनको अवस्था, संगठन भए सम्भावित उम्मेदवार को हो? संगठन नभएको ठाउँमा पार्टीको संगठन बन्ने आधार छ कि छैन? संगठन नहुँदा स्वतन्त्र उम्मेदवारलाई सघाउने अवस्था के कस्तो छ भनेर बुझ्न कार्यदल बनाएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
‘यसअघि पार्टी सभापतिले राजनीतिक प्रतिवेदनमार्फत पनि विभिन्न विकल्प प्रस्ताव गर्नुभएको थियो। केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेलाले त्यसलाई पारित गरेको थियो। तिनै विकल्पमा आधारित भएर सहमहामन्त्रीज्यूले प्रतिवेदन तयार पार्नुहुनेछ। दसैंपछि बस्ने केन्द्रीय समिति बैठकमा त्यसमाथि छलफल हुनेछ,’ उनले भने।
रास्वपाले संघ, प्रदेश र स्थानीय तह तिनै निर्वाचनमा उम्मेदवार हुन लिडरसिप एकेडेमीको अवधारणा ल्याएको छ। लिडरसिप एकेडेमीमा प्रशिक्षित नभई उम्मेदवार बन्न नपाउने रास्वपाको नीति छ।
‘स्थानीय तहमा हामीले विभिन्न क्षेत्रका विज्ञको एउटा अब्बल समूह विजयी गराउनु पर्नेछ। जसले सम्बन्धित तहमा समग्र क्षेत्रको पुनःनिर्माण गर्न सकोस्।
‘रास्वपाबाट घन्टीवाहक भई स्थानीय तहको निर्वाचनका विजेता जनप्रतिनिधिलाई पार्टीको भारीबाट मुक्त गर्नेछौं। लिडरसिप एकेडेमीबाट प्रशिक्षित नभई चुनाव लड्न पाइने छैन,’ सभापति रवि लामिछानेको प्रतिवेदनमा भनिएको छ।
यसरी प्रशिक्षित भई चुनाव जितेपछि स्थानीय तहको त्यो उम्मेदवार ततपश्चात तत्काल स्वतन्त्र रहने रास्वपाले बताएको छ।
निर्वाचित जनप्रतिनिधिहरूलाई बिनाहस्तक्षेप निर्वाध काम गर्न दिन पार्टीले यस्तो नीति लिएको सभापति लामिछानेले बताएका छन्।
उनले पार्टीले योग्य उम्मेदवार तयार गर्न नसकेमा गैरदलीय योग्य उम्मेदवारलाई सघाउन सक्ने प्रतिवेदनमा उल्लेख गरेका छन्।
‘स्थानीय तहमा राजनीतिक दलका आधारमा नभइ स्वतन्त्र र योग्य व्यक्तिबीच नेतृत्व क्षमता र परिणाम दिन सक्ने सम्भावनाका आधारमा गैरदलीय निर्वाचन गर्ने पद्दति अबलम्वन गर्नुपर्ने हो कि भन्ने कोणबाट पनि केही तर्क सुझावका रूपमा आइरहेका छन्। यो सुझाव उपर पार्टीका सबै तहमा व्यापक छलफल गर्न सकिनेछ,’ सभापति लामिछानेको प्रतिवेदनमा उल्लेख छ।
मंसिर १६ गतेको उप निर्वाचनमा पार्टीको योजनाको लिडरसिप एकेडेमीबाट योग्य उम्मेदवार तयार हुने सम्भावना नभएकाले लामिछानलेले विभिन्न विकल्पमा जान सकिने बताएका थिए।
उपनिर्वाचनमा पार्टीले आफ्नो उम्मेदवार उठाउने, योग्य गैरदलीय स्वतन्त्र उम्मेदवारहरूलाई घन्टी चिह्न दिने वा कुनै गैरदलीय स्वतन्त्र उम्मेदवारलाई समर्थन मात्र दिनेमध्ये एक विकल्प छान्न सक्ने सभापति लामिछानेको विकल्प थियो।
‘तयारी र योग्यता पुगेको उम्मेदवार बिना चुनावमा सहभागी हुनु कदापि ठीक हुँदैन। सके हाम्रोले नसके स्वतन्त्र राम्रोले जित्नु पर्छ भन्ने प्रस्ताव यो भेलामा राख्न चाहन्छु,’ उनले भनेका थिए।
सहमहामन्त्री आचार्यले कार्यदलले आज अन्तिम रूप पाउने जानकारी दिए।
‘कार्यदलमा कोको सदस्य रहनेछन् भनेर आज तय हुनेछ। त्यसपछि हामी केन्द्रीय समितिको कार्यादेशअनुरूप काम थाल्नेछौं,’ उनले भने।
मंसिर १६ गते रिक्त ३९ स्थानमा स्थानीय तह उपनिर्वाचन हुँदैछ। जिल्ला समन्वय समितिका प्रमुख २, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ३, वडाध्यक्ष ९ रिक्त पदमा उपनिर्वाचन हुँदैछ।
त्यस्तै नगरपालिका प्रमुख १, उपप्रमुख १ र २१ वडाध्यक्षको रिक्त पदमा चुनाव हुन लागेको छ।
कोशी प्रदेशमा ८, मधेसमा ६, बागमतीमा ७, गण्डकीमा १, लुम्बिनीमा ३, कर्णालीमा ८, सुदूरपश्चिम प्रदेशमा ६ स्थानमा उपचुनाव हुँदैछ।
नेपालको संविधान तथा स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र नगरपालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा र एक वर्षभन्दा बढी पदावधि बाँकी रहेको अवस्थामा बाँकी अवधिका लागि रिक्त पद पूर्ति गर्न उपचुनाव हुने व्यवस्था छ।
कहाँकहाँ हुँदैछ स्थानीय तह उप निर्वाचन?
जिल्ला समन्वय समिति प्रमुख
१) ओखलढुंगा
२) कैलाली
नगरपालिका प्रमुख
१) काठमाडौं, कीर्तिपुर नगरपालिका
नगरपालिका उपप्रमुख
१) जाजरकोट, नलगाड नगरपालिका
गाउँपालिका अध्यक्ष
१) मोरङ, ग्रामथान गाउँपालिका
२) दैलेख, महाबु गाउँपालिका
गाउँपालिका उपाध्यक्ष
१) हुम्ला, सर्केगाड गाउँपालिका
२) बाजुरा, स्वामी कार्तिक खापर गाउँपालिका
३) दोलखा, गौरीशंकर गाउँपालिका
महा/उप/नगरपालिकाका वडाध्यक्षहरू
१) झापा, कन्काई नगरपालिका–६
२) तेह्रथुम, लालिगुराँस नगरपालिका–८
३) उदयपुर, त्रियुगा नगरपालिका–१२
४) उदयपुर, बेलका नगरपालिका–९
५) सप्तरी, डाक्नेश्वरी नगरपालिका–४
६) धनुषा, धनुषाधाम नगरपालिका–१
७) महोत्तरी, रामगोपालपुर नगरपालिका–२
८) रौतहट, ईशनाथ नगरपालिका–७
९) रौतहट, राजपुर नगरपालिका–६,
१०) रौतहट, गढीमाई नगरपालिका–८
११) काठमाडौं, कीर्तिपुर नगरपालिका–१
१२) काठमाडौं, कीर्तिपुर नगरपालिका–४
१३) काठमाडौं, काठमाडौं महानगरपालिका–१६
१४) मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१२
१५) गोरखा, गोरखा नगरपालिका–५
१६) गुल्मी, मुसिकोट नगरपालिका–१
१७) बर्दिया, ठाकुरबाबा, नगरपालिका–४
१८) दैलेख, दुल्लु नगरपालिका–१३
१९) कालिकोट, तिलागुफा नगरपालिका–४
२०) डोल्पा, त्रिपुरासुन्दरी नगरपालिका–५
२१) कञ्चनरपुर, भीमदत्त नगरपालिका–६
गाउँपालिकाका वडाध्यक्षहरू
१) सुनसरी, गढी गाउँपालिका–६
२) ओखलढुंगा, मोलुङ गाउँपालिका–५
३) रोल्पा, रुन्टीगढी गाउँपालिका–४
४) रुकुमपश्चिम, सानीभेरी गाउँपालिका–५
५) बझाङ, सुर्मा गाउँपालिका–४
६) डोटी, पूर्वीचौकी गाउँपालिका–६
७) दार्चुला, दुहुँ गाउँपालिका–५
८) नुवाकोट, ककनी गाउँपालिका–२
९) जाजरकोट, कुशे गाउँपालिका–७