प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्केका छन्।
असोज ४ गते अमेरिकाको न्युयोर्क गएका प्रधानमन्त्री ओली असोज १४ गते अपराह्न स्वेदश फर्केका हुन्।
प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिएर स्वदेश फर्केका छन्। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभालाई असोज १० गते सम्बोधन गरेका थिए।
यो पनि: शान्ति प्रक्रियाका बाँकी काम छिट्टै सक्न नेपाल प्रतिबद्ध छ: प्रधानमन्त्री ओली
महासभामा सम्बोधन गर्नुअघि र पछि प्रधानमन्त्री ओलीले विभिन्न देशका सरकार प्रमुखहरूसँग भेटवार्ता पनि गरेका थिए।
प्रधानमन्त्री ओली अमेरिकामै रहँदा नेपालमा अविरल वर्षा भयो र जनधनमा क्षति पुर्यायो। स्वदेशमा विपद आइलागेका बेला प्रधानमन्त्री ओली कार्यक्रम छोट्याएर स्वदेश नफर्केकोमा पनि आलोचना भइरहेको थियो।
पूर्वनिर्धारित कार्यक्रमअनुसार नै प्रधानमन्त्री ओली सोमबार अपराह्न स्वदेश फर्किए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनको स्वागतमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री प्रकाशमान सिंहलगायत उच्च पदस्थ अधिकारीहरू पुगेका थिए।
प्रधानमन्त्री ओलीले विमानस्थलको अतिविशिष्ट कक्षमा पत्रकार सम्मेलन गरे। परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृत राईले प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघलगायतमा गरेको सम्बोधन र त्यस क्रममा भएका भेटवार्ताहरू लगायतबारे पत्रकारहरूलाई ब्रिफिङ गरेका थिए।
त्यसपछि प्रधानमन्त्री ओलीले पत्रकारहरूका प्रश्न लिए। पत्रकारहरूले अविरल वर्षापछि भएको जनधनको क्षति र सरकारले उद्धार तथा राहतमा गरेको ढिलाइप्रति केन्द्रित रहेर प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए।
यहाँ हामीले पत्रकारहरूका प्रश्न र प्रधानमन्त्री ओलीले दिएका जबाफ जस्ताको तस्तै समावेश गरेका छौं;
पत्रकार: तपाईं अमेरिकामा हुँदा नेपालमा अविरल वर्षा भयो, समयमै सरकारले उद्धार गरेन भन्ने गुनासा छन्। जनताहरू नेपालमा सरकार नै छैन भन्छन्, भ्रमण छोट्याएर तपाईं किन स्वदेश फर्कनु भएन?
प्रधानमन्त्री ओली: प्रश्न पुग्यो। म फर्किएर आएँ, ठिक छ।
पत्रकार: प्रधानमन्त्रीज्यू, विपद्का बेला सरकारको भूमिका देखिएन भन्ने छ, के भन्नुहुन्छ?
प्रधानमन्त्री ओली: विरोधका लागि विरोध होला। सरकारले गर्नेसम्मको प्रयास गर्यो। तत्काल बैठक गरेर सेना, प्रहरी परिचालन गरेर उद्धार गर्यो। अब बाढी आउने कुरालाई त रोक्न सकिँदैनथ्यो। उद्धार गर्ने र राहत पुर्याउने कुरा हो। पूर्वसूचना गरेर पहिरो जाँदैन। पहिरो गएपछि क्षति पुर्याउने नै भयो। त्यसमा सरकारले तदारूकताका साथ उद्धार कार्य र राहत कार्य पुर्याउने हो, त्यो पुर्याएको छ भन्ने मलाई लाग्छ। मैले बाहिरै हुँदा पनि यस विषयमा जानकारी लिँदै आएको छु। निर्देश गर्दै आएको छु। मैले जानकारी पाएअनुसार आफ्नो बुताअनुसार गरेको छ। संवेदनशील बेलामा सबै मिलेर चल्नु राम्रो हुन्छ, विरोधका लागि विरोध गर्ने होइन।
पत्रकार: तपाईं स्वदेश आइसक्नुभयो अब के हुन्छ सरकारको भूमिका?
प्रधानमन्त्री ओली: अझ प्रभावकारी ढंगले उद्धार, राहत र पुनर्स्थापनाका कामहरू अघि बढ्छ।
पत्रकार: संयुक्त राष्ट्रसंघमा तपाईंको सम्बोधनले मुलुकलाई के अर्थ राख्छ?
प्रधानमन्त्री ओली: म कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भनेजस्तो होइन। हाम्रा विचार, समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो। यी समस्याहरू एउटा देशका मात्र होइन, सबैका हुन्। सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो। अल्पविकसित देशहरूले क्षति र मार सहनु परेको छ, त्यसमा विश्वसमुदायको ध्यान जानुपर्छ।
पत्रकार: विपद आउँदैछ भनेर सरकारी संयन्त्रले नै ५६ जिल्लामा रेड अलर्ट गरेको थियो, सरकारले पूर्वतयारी किन गरेन?
प्रधानमन्त्री ओली: एउटा कुरा तपाईंलाई सोध्न चाहन्छु- रेड अलर्ट भनेर पूर्वानुमान गरेको छ हो, तर कहाँ-कहाँ पहिरो जान्छ त भनेको थिएन। पहिरो गएपछि न थाहा भयो। काठमाडौंमा यति डुबान हुने गरी वर्षा होला भन्ने कल्पना पनि थिएन, यस्तो कुरालाई वस्तुपरक ढंगले लिनुपर्छ।
पत्रकार: मेयर बालेन शाहले खोला किनारामा संरचना बनाउँदा डुबान भयो भन्दै आएका छन्, के बालेनका कुरा ठिक हो भनेर नागरिकले बुझ्नुपर्ने हो?
प्रधानमन्त्री ओली: हा हा राम्रो प्रश्न, धन्यवाद।
यो पनि:
दुइटा मौसमी प्रणाली मिसिएर उत्पन्न भएको प्रकोप
बाढीपहिरो पीडितले अस्थायी आवास बनाउन १० दिनभित्रै पहिलो किस्ता पाउने
सर्वदलीय बैठकमा दलहरूले राखेका कुरा
९ वटा निर्णय गर्दै सकियो सर्वदलीय बैठक