नेपाली कांग्रेसभित्र 'विरासत' बोकेका तीन जना नेता संवादमा जुटेका छन्।
पूर्वमहामन्त्री शशांक कोइरालाले निवास महाराजगञ्जमा पूर्वउपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई बोलाएर कुराकानी गरेका हुन्।
शशांक बिपीका छोरा हुन्, विमलेन्द्र महेन्द्रनारायण र प्रकाशमान गणेशमानका छोरा हुन्। राजनीतिक परिवारमा जन्मेहुर्केका शशांक, विमलेन्द्र र प्रकाशमानलाई 'विरासत' भएका नेताका रूपमा कांग्रेसभित्र चर्चा गर्ने गरिन्छ।
तर तीनै जना नेताहरूले विरासतका आधारमा भन्दा पनि आफूहरू संगठनमै दु:ख गरेर नेता बनेको बताउने गर्छन्। यीमध्ये सिंह अहिले पार्टीको नेतृत्व गरेर केपी शर्मा ओली नेतृत्वको सरकारमा उपप्रधान तथा सहरी विकास मन्त्री छन्।
कोइराला निवासमा सोमबार उनीहरू संवादमा जुटेको फोटो कोइरालाले नै सार्वजनिक गरेका हुन्।
यो छलफलमा सहभागीमध्ये एकले सेतोपाटीसँगको कुराकानीमा आफूहरू अब समान धारणा बनाएर अघि बढ्न सहमत भएको प्रतिक्रिया दिएका छन्।
यसको अर्थ कांग्रेसको १५ औं महाधिवेशनसम्म सकेसम्म सबैलाई टिममा समेटेर अघि बढ्नु रहेको ती नेताले बताए।
‘हामीहरूले पार्टीको आन्तरिक जीवनबारे लामो कुराकानी गर्यौं, निष्कर्ष के छ भने- आगामी दिनमा समान धारणा बनाएर सबैलाई समेट्दै अघि बढ्ने नै हो,’ ती नेताले भने।
आगामी दिनमा पनि यसखालका बसाइँ गर्ने उनीहरूबीच समझदारी बनेको छ। उनीहरूले यस्तो बसाइँ आलोपालो निवासमै गर्ने भनेका छन्। विगतमा पनि तीनै जना नेताले यस्तो अभ्यास गरेका थिए।
१३ औं महाधिवेशनअघि पनि कोइराला, सिंह र निधिबीच कुराकानी भइरहन्थ्यो। २०७८ मा भएको १४ औं महाधिवेशनमा कोइराला केन्द्रीय सदस्य मात्रै उठ्दा सिंह र निधि भने सभापति पदमै आमनेसामने भएका थिए।
कोइरालाले त्यसबेला सभापतिमा शेरबहादुर देउवालाई मौन समर्थन गरेको चर्चा पनि चल्यो। तर महाधिवेशनमा देउवा र शेखर कोइराला प्यानल दुवैमा शशांकको नाम थियो। त्यसबेला दाजु शेखरले भाइ शशांको खुलेरै सहयोग अपेक्षा गरे पनि पाएनन्। धेरै भोटसहित शशांक केन्द्रीय सदस्य जिते।
१४ औं महाधिवेशनमा पहिलो चरणमा कसैले पनि ५१ प्रतिशत मत ल्याएन। त्यसबेला शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, विमलेन्द्र निधि र कल्याण गुरूङ उठे पनि धेरै मत देउवाले नै ल्याए।
दोस्रो चरणमा मतदान हुनुअघि देउवा सहयोग माग गर्दै सिंह र निधि निवास पुगेका थिए। सिंह र निधि दुवैले सहयोग गर्दा सभापतिमा देउवा चुनिएका थिए।
सभापति देउवाले २७२४ मतसहित सभापति निर्वाचित भएका थिए। पहिलो चरणमा निधि र सिंहको सहयोग नहुँदा ५० प्रतिशत पनि मत नकटाएका देउवा उनीहरूको सहयोग पाउँदा दोस्रो चरणमा ६० प्रतिशत मतसहित निर्वाचित भएका थिए।
देउवासँग पराजित भएका शेखरले १८१७ मत ल्याए। पहिलो चरणमा सिंहले ३७१, निधिले २५० र गुरूङले २२ मत प्राप्त गरेका थिए यो मत दोस्रो चरणमा देउवालाई गएको देखिन्थ्यो। त्यसबेला महाधिवेशन प्रतिनिधि ४७४३ जना थिए। पहिलो चरणमा ४६७९ र दोस्रो चरणमा ४५६४ मत खसेको थियो।
सभापतिमा देउवालाई जिताउन निर्णायक मत दिएका निधि र सिंह तथा मौन बसेर सहयोग गरेका शशांक १५ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारका आकांक्षी छन्।
सभापति देउवाले कसलाई समर्थन गर्छन् वा रामचन्द्र पौडेल जसरी नै महाधिवेशनका बेला मौन बस्छन् यकिन छैन। सभापति देउवा एमालेसँगको सहमतिअनुसार २०८३ असारमा प्रधानमन्त्री हुने पालो कुर्दैछन्।
विधानअनुसार दुई पटक सभापति भएका देउवा अब तेस्रो पटक सभापति पदमा उम्मेदवार हुन पाउँदैनन्। सभापति देउवाले केही दिनअघि उमेरले पनि अब आफू अवकाशमा जाने बताइसकेका छन्। यसको संकेत विधान संशोधन गरेर उनी तेस्रो कार्यकाल सभापति उठ्दैनन् भन्ने हो।
सभापति देउवाले १५ औं महाधिवेशनमा कसलाई 'आशीर्वाद' दिन्छन् यकिन छैन। र, महाधिवेशन कहिले हुन्छ पनि निश्चित भइसकेको अवस्था छैन। २०७८ मंसिरमा महाधिवेशन भएकोले नियमित महाधिवेशन चार वर्ष अर्थात् २०८२ मंसिरमा हुनुपर्ने हो, तर अहिलेसम्म केन्द्रीय समितिले कार्यतालिका नै ल्याएको छैन, २० प्रतिशत मात्रै क्रियाशील सदस्यता बाँडिएको अवस्था छ।
अब हुने महाधिवेशनको तिथिमिति नै टुंगो नलागे पनि महाधिवेशन तयारीमा भने नेताहरू जुटिसकेको देखिन्छ। 'एक पटक यसैपटक' नारासहित १४ औं महाधिवेशनमा सभापति उम्मेदवार बनेका शेखर कोइराला पनि १५ औं महाधिवेशनमा सभापति उठ्ने बताइरहेका छन्।
महामन्त्री गगन थापा पनि सभापतिमा उठ्ने तयारीमा छन्। उपसभापति पूर्णबहादुर खड्का पनि सभापति उठ्ने उनीनिकट नेताहरू दाबी गर्छन्। यसमा शशांक, निधि र सिंहमध्ये एक वा तीनै जना पनि उम्मेदवार हुन सक्छन्। त्यसले गर्दा १५ औं महाधिवेशनमा पनि सभापतिमा धेरै नेताले उम्मेदवार हुने सम्भावना देखाउँछ।
१४ औं महाधिवेशनअघि तीन नेता भेटको सुरूवात गरेका थिए- विमलेन्द्र निधिले। यसपालि शशांकले उक्त भेटको सुरूवात गरेका हुन्।
सभापति देउवाले यदाकदा 'सभापति छाड्न परेका दिन बिपीका छोरालाई छाड्छु' भनेको चर्चा पनि कांग्रेसभित्र हुने गर्छ। सभापति देउवाबाट केही संकेत मिलेर पनि शशांकले यसपालि नेता जुटाउने र संवादको थालनी गरेको उनीनिकट दाबी गर्छन्।
‘नेपाली कांग्रेसको अवस्था अहिले जे-जस्तो छ, यसलाई सुदृढीकरण कसरी गर्ने र तीनै जनाको एउटै भ्वाइस एउटै बनाएर जानुपर्यो भन्ने प्रस्ताव थियो,’ शशांक निवासमा भएको कुराकानीबारे जानकारी दिँदै ती नेताले भने, ‘यसमा तीनै नेता सहमत भयौं, यस्ता बैठकलाई निरन्तरता दिऔं।’
छलफलमा प्रकाशमानले २०४६ सालको आन्दोलनताकाका क्रियाशील, त्यसअघिका र त्यसपछि पार्टीमा जोडिएका नेता, कार्यकर्तासँग पनि संवाद गर्दै जानुपर्ने बताएका थिए।
‘सबैलाई एकताबद्ध गरेर पार्टीलाई बलियो बनाउन जरूरी छ, त्यसका लागि हामी तीन जनाले अग्रसरता लिऔं भन्ने कुरा भयो,’ ती नेताले भने। आगामी बैठकमा आउँदो महाधिवेशनलगायत पार्टीभित्रका आन्तरिक विषयमाथि पनि छलफल गर्ने उनीहरूबीच समझदारी छ।
‘हामी तीन जनाले त छलफललाई निरन्तरता दिइहाल्छौं, देशभर छरिएर रहेका पुराना र नयाँ पुस्ताका साथीहरूलाई पनि समेट्दै जान्छौं,’ ती नेताले भने, ‘समकालीन, सिनियर र जुनियर पुस्ताका साथीहरूलाई समेट्दै, संवाद गर्दै जान्छौं।’
आउँदो महाधिवेशनसम्मै यस्ता छलफललाई निरन्तरता दिने पक्षमा तीन नेता छन्।