राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दसैं–तिहार लगत्तै महाकाली–मेची जागरण यात्रा गर्ने भएको छ।
रास्वपाको केन्द्रीय परिषद्को राष्ट्रिय भेलाले महाकाली–मेची जागरण यात्रा गर्ने निर्णय गरेको थियो।
त्यसको प्रारूप बनिरहेको सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार रास्वपाको जागरण यात्रा महाकालीको किनार दार्चुलाबाट सुरू हुनेछ। पूर्वको सिमानासम्मै छिचोल्ने यात्रा पूर्वपश्चिम राजमार्ग हुँदै गर्ने कि मध्यपहाडी लोकमार्ग केन्द्रित भएर गर्ने तय भइनसकेको उनले बताइन्। उनका अनुसार यात्रा आरम्भ गर्ने मिति पनि तय हुन बाँकी छ।
‘दार्चुलाबाट यात्रा सुरू गर्ने तयारी गरेका छौं। अहिले हामी त्यसैको गृहकार्यमा छौं। कुन रूटबाट यात्रा गर्नेचाहिँ तय भइसकेको छैन,’ उनले भनिन्।
पार्टी सभापति रवि लामिछाने जागरण यात्राभर रहने र नागरिकसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने तयारी रहेको रावलले बताइन्। मध्यमहाडी राजमार्गकेन्द्रित जागरण यात्रा हुन सक्ने पनि उनले बताइन्।
‘हाम्रो उपस्थिति (पार्टीको संगठन नबनेका) कमजोर भएको ठाउँमा जागरण यात्रा केन्द्रित हुनेछ,’ उनले भनिन्, ‘यात्राको दौरान हामी नागरिकले भोग्नुपरेका समस्यालाई सिंहदरबारसम्म ल्याउने छौं।’
उनले यात्राका क्रममा गाडीको लावालस्कर लगाउने भन्दा पनि नागरिकसँग संवाद गरिने पनि बताइन्।
‘हामी नागरिकसँग अन्तर्क्रिया गर्नेछौं। गाउँबस्ती, खेतबारीसम्म पुगेर उनीहरूका पीरमर्का सुन्नेछौं। समस्यालाई सकेसम्म स्थानीयस्तरमै समाधान गर्नेछौं। उनीहरूको समस्या समाधानमा पार्टी परिचालन गर्नेछौं,’ उनले भनिन्, ‘त्यसरी समाधान गर्न नसकिने समस्या, विकास–निर्माणका चाहना, त्यसमा भइरहेका ढिलासुस्तीलाई सिंहदरबारसम्म ल्याउनेछौं।’
रास्वपाले पछिल्लो एक वर्ष संगठन निर्माणमा गति दिन सकेको छैन। ४०० पालिका र २००० वडामा पार्टीको संरचना रहेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटी बताउँछन्।
रास्वपाको पहिलो महाधिवेशन वैशाख २५ देखि २७ गतेसम्म हुँदैछ।
त्यसअघि ५०० पालिकामा तदर्थ समिति पुर्याउने संगठन विभागको लक्ष्य छ।
हाल गण्डकीमा म्याग्दी, मुस्ताङ, मनाङ जिल्लामा एउटा पनि पालिका समिति बन्न सकेका छैनन्। लुम्बिनीमा रुकुमपूर्व, सुदूरपश्चिममा बाजुरामा एउटा पनि पालिका समिति बनेको छैन।
त्यस्तै रामेछाप जिल्लामा एउटा पनि वडा समिति बनेको छैन।
म्याग्दी, मुस्ताङ, मनाङ जिल्ला पनि वडा समितिविहीन् छन्। गुल्मी, रुकुमपूर्व, बझाङ, बाजुरा, अछाम जिल्लामा पनि वडा समिति छैन।
महाधिवेशनअघिसम्म कम्तीमा ४००० वडामा तदर्थ समिति पुर्याइसक्ने रास्वपाको लक्ष्य छ।
केन्द्रीय सदस्यहरू तथा केन्द्रीय विभागीय पदाधिकारीहरूको नेतृत्वमा जिल्ला अनुसार विशेष संगठन निर्माण अभियान गर्ने रास्वपाले तयारी गरेको छ।
केन्द्रीय टिमले प्रदेश, जिल्ला तथा पालिकामा भएका हालको नेतृत्वहरूको संलग्नतामा जिल्लामा बैठक गरी विशेष संगठन निर्माणलाई परिचालन गर्ने पनि उसको लक्ष्य छ।
महाकाली–मेची जागरण यात्राले संगठन निर्माणलाई पनि गति दिने रावलले बताइन्।