इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी) ले आफ्ना सबै सदस्यलाई कुनै पनि प्रकारका सञ्चार उपकरण प्रयोग नगर्न उर्दी जारी गरेको छ।
इसराइलले मंगलबार र बुधबार लेबननमा हिजबुल्लाह सदस्यले प्रयोग गरेको पेजर र वाकी-टकी विस्फोट गराएपछि आइआरजिसीले यस्तो उर्दी जारी गरेको हो।
सीमा नजोडिए पनि इसराइललाई घेराबन्दी गर्न इरानले छिमेकमा विभिन्न समूहहरू परिचालन गर्छ। लेबननमा हिजबुल्लाह, गजामा हमास, यमनमा हुथी र इराकमा विभिन्न समूहलाई हतियार र सैन्य तालिम दिएर इसराइलमाथि आक्रमण गराउँछ।
इरानले विदेशमा हिजबुल्लाह, हमास लगायत लडाकू समूहको प्रयोग आइआरजिसीमार्फत गर्छ। इसराइलले गत हप्ता पेजर र वाकी-टकी विस्फोट गराएर हिजबुल्लाहको सञ्चार प्रणाली तहसनहस पारेपछि इरान पनि सचेत भएको हो।
समाचार संस्था रोयटर्सले दुई वरिष्ठ इरानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै आइआरजिसीले आफ्ना सबै उपकरणको परीक्षण सुरू गरेको जनाएको छ। आफ्ना प्रायः सबै उपकरण इरानमै बनेको वा इरानको राम्रो सम्बन्ध भएको चीन र रूसमा बनेको भए पनि इसराइलले जासुस प्रयोग गरेर त्यसमा छेडखानी गरेको छ कि भनेर आइआरजिसीले परीक्षण सुरू गरेको हो।
सञ्चार उपकरण प्रयोगमा बन्देज लगाएपछि झण्डै दुई लाख सुरक्षाकर्मी भएको आइआरजिसीले सञ्चारका अहिले के गरिरहेको छ भनेर खुलाएको छैन। तर ती अधिकारीहरूले जनाए अनुसार तत्कालका लागि धेरै सुरक्षित 'मेसेजिङ सिस्टम' प्रयोग गरिरहेको रोएटर्सले लेखेको छ।
आइआरजिसीले आफ्ना मध्य र उच्च ओहोदाका अधिकारीले इसराइलका लागि जासुसी गरिरहेका छन् कि भनेर उनीहरूको स्वदेशी र विदेशी बैंक खाता पनि हेरिरहेको छ।
इरानी राष्ट्रपति मसुद पेजेस्कियानको शपथ ग्रहण समारोहमा सरिक हुन तेहरान पुगेका हमासका शीर्ष नेता इस्माइल हनियेको जुलाई ३१ मा इसराइलले हत्या गरेको थियो। तेहरानको सम्पन्न मानिसहरू बस्ने इलाकामा रहेको नेशत भनिने आइआरजिसीको गेस्ट हाउसमा हनियेको हत्या भएको थियो। द न्यूयोर्क टाइम्सका अनुसार उनको हत्या गर्न इसराइलले करिब दुई महिनाअघि सो गेस्ट हाउसमा बम पुर्याएको थियो। पछि रिमोट कन्ट्रोलबाट बम विस्फोट गराइएको हो।
विशिष्ट विदेशी पाहुना राख्न प्रयोग गरिने आइआरजिसीको गेस्ट हाउसमै हनियेको हत्या भएको थियो। यसपछि इसराइलले आइआरजिसीमा व्यापक घुसपैठ गरेको खुलासा भएको थियो।
यसैबीच इसराइलले पछिल्ला केही दिनमा लेबननमा लगातार प्रहार गरिरहेको छ। उसले लेबननी सर्वसाधारणलाई हिजबुल्लाहले हतियार भण्डार गर्न प्रयोग गरेका गाउँहरूबाट अन्यत्र जान सोमबार उर्दी पनि जारी गरेको छ। कुन कुन गाउँमा प्रहार गर्ने भनेर नखुलाए पनि इसराइली सेनाले दक्षिण लेबननका १९ गाउँको नक्सा प्रकाशित गरेको द न्यूयोर्क टाइम्सले जनाएको छ।
इसराइलको सोमबार पनि लेबननमा बमबारी गरेको छ। सोमबारको हवाइ आक्रमणमा अहिलेसम्म १०० जनाको मृत्यु भइसकेको लेबननले जनाएको छ।
इसराइली प्रहारको जबाफमा हिजबुल्लाहले आइतबार इसराइलमा कैयौं मिसाइल प्रहार गरेको थियो।
शुक्रबार बेरूतको एक घरमा मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल र अहमद वाहबी मारिएको हिजबुल्लाहले जनाएको छ। इसराइलले भने हिजबुल्लाहको स्पेसल फोर्स राडवान युनिटका कैयौं कमान्डरसहित सो घटनामा करिब ४५ जना मारिएका दाबी गरेको छ। उनीहरू गत अक्टोबर ७ मा हमासले इसराइलमा गरेजस्तो हमला गर्ने योजना बनाइरहेको बेलामा मारिएका इसराइलले जनाएको छ।
गत जुलाइ ३० मा बेरूतमा एउटा आवासीय भवनमा हवाइ आक्रमण गरेर इसराइलले हिजबुल्लाहका सर्वोच्च सैन्य कमान्डर फुआद शुक्रको हत्या गरेको थियो। अकिल पनि शुक्रजस्तै हिजबुल्लाहको सैन्य दस्ताको संस्थापक मध्ये एक हुन्। शुक्रको हत्यापछि अकिलले उनको जिम्मेवारी पूरा गरिरहेको मानिन्थ्यो।
यसरी इसराइलले लगातार प्रहार गरेपछि हिजबुल्लाहले पनि आइतबार व्यापक जबाफी आक्रमण गरेको छ। गत अक्टोबर ७ मा हमासले इसराइलमाथि गरेको हमलाको बदलामा इसराइलले सैन्य कारबाही थालेको थियो। त्यसयता हिजबुल्लाहले इसराइलमा लगातार रकेट प्रहार गरिरहेको छ। तर आइतबारको हमला अरू बेलाको भन्दा ठूलो भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।
हिजबुल्लाहले आइतबार प्रहार गरेको मिसाइल भने तुलनात्मक रूपमा टाढासम्म पुग्ने खालको छ। तीमध्ये एउटा बाहेक अरू सबै मिसाइल आफ्नो सिस्टमले खसालेको इसराइलले दाबी गरेको छ।
हिजबुल्लाहले हमासको समर्थनमा इसराइलमाथि लगातार प्रहार गरिरहेको छ। यो आक्रमण रोक्न कूटनीतिक प्रयास भइरहेको छ। तर हमासले गजामा इसराइली हमला नरोकिएसम्म आफ्नो आक्रमण जारी रहने बताएको छ।
मंगलबार हिजबुल्लाह सदस्यले बोकेका पेजर विस्फोट गराउँदै गर्दा इसराइलले लेबननको सीमातर्फ ठूलो संख्यामा सैनिक परिचालन गरेको थियो। रक्षा अधिकारीहरूले अबको युद्ध केन्द्रविन्दु गजा नभएर लेबननसँगको सीमा हुने बताएका थिए।
इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले समेत हिजबुल्लाहको हमलाका कारण लेबननसँगको सीमा क्षेत्रबाट विस्थापित भएका इसराइली नागरिकलाई घर फर्किने वातावरण बनाउनु आफ्नो प्रमुख उद्देश्य भएको बताएका छन्।
वाकी-टकी विस्फोट र भारी बमबारीपछि इसराइलले लेबननभित्रै सेना पठाएर हिजबुल्लाहमाथि आक्रमण गर्ने खतरा बढेको छ। पछिल्ला दिनको लगातार आक्रमणले हिजबुल्लाह कमजोर भएको ठानेर इसराइलले लेबननभित्र पसेर हमला गर्न सक्ने आकलन अमेरिकाको छ। त्यसैले अमेरिकाले इसराइललाई हिजबुल्लाहसँग युद्ध सुरू नगर्न सम्झाइरहेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा तयार पारिएको)