नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले अहिलेको उपलब्धिहरूलाई कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी संविधान संशोधन गर्न आवश्यक रहेको बताएका छन्।
सिंहदबारमा आइतबार संविधान सभा सदस्य परिषद् नेपालको केन्द्रीय तदर्थ समितिले दशौं संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उपलब्धिको रक्षा हुने गरी संविधान संशोधन भए आफूहरुको पूरा सहयोग रहने बताए।
‘संविधान संशोधनको जहाँसम्म कुरा छ, तीन वटै कोणबाट यसलाई हामीले विचार गरौँ। एउटा संविधान जारी गर्दाखेरि नै अहिलेसम्मको अनुभवको आधारमा हामी सबैले करिव करिव स्वीकार गरेको त्यही तार्किक संगति पनि नमिलेको केही पक्ष छन्। हामी सबै सहमत भएको अन्तरवस्तु तर बुँदा, धारा मिलाउँदा एक अर्कासँग मिल्ने गरी, सरल ढंगले सबैले स्पष्ट हुनेगरी केही समस्या छन्, त्यसलाई मिलाउँ,’ उनले भने।
उनले समावेशी, समानुपातिक पक्षहरुमा पछि नहट्ने हो भने सहयोग रहने पनि बताए।
‘अहिलेको उपलब्धिहरुलाई कुनै पनि कोणबाट कुठाराघात नगर्ने गरी परिमार्जन र विकास गर्नेगरी साझा सहमतिका आधारमा संविधान संशोधन गरौँ। त्यसमा हाम्रो सबै सहयोग रहन्छ,’ उनले भने।
(न्युज एजेन्सी नेपाल)