पछिल्लो समयमा सहकारी ठगी प्रकरणमा विभिन्न राजनीतिक दलका नेताहरूको नाम जोडिँदै आइरहेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले गोर्खा मिडिया प्रालिमा सहकारीहरूबाट रकम भित्र्याएको आरोपमा संसदीय छानबिन बेहोरिरहेका छन्।
कांग्रेस उपसभापति धनराज गुरूङमाथि पनि उनकी पूर्वश्रीमती ज्योति गुरूङको नाम जोडेर आरोप लागिरहेको छ। धनराजले भने आफूमाथि खुला छानबिन गर्न आफै माग गरिरहेका छन्।
यही क्रममा मोरङको उमागौरी कृषि सहकारी संस्थाको ठगी प्रकरण पनि बाहिर आएको छ। जहाँ संसदको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइरालाको नाम पनि जोडिएको छ।
मोरङको धनपालथान गाउँपालिका वडा नम्बर ४ कर्सियामा रहेको यो सहकारीमा कुनै बेला सञ्चालक समिति सदस्य रहेकी अञ्जलाले भने सहकारीबाट आफै ठगीमा परेको र सहकारीकै कारण आफू कालोसूचीमा परेको दाबी गरिरहेकी छिन्।
सहकारी नियमन गर्ने प्रदेशस्थित निकाय प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयलाई सेतोपाटीले यसबारे सोधेको छ।
कार्यालय प्रमुख हरिबहादुर खत्रीलाई हामीले सोधेका थियौं, 'उमागौरी सहकारीमा करोडौं रकम हिनामिना भएको चर्चा छ। तपाईं नेतृत्वको कार्यालय यसबारे के कति जानकार छ?'
कार्यालय प्रमुख खत्रीले आफ्नो कार्यालयले अहिलेसम्म उमागौरी कृषि सहकारीको हिसाबकिताब र निर्णय पुस्तिकाहरू हेर्नसमेत नपाएको बताए।
'हामीले त्यस सहकारीबारे केही हेर्न पाएको छैनौं। त्यो सहकारीले आफ्ना कागजातहरू हामीलाई अहिलेसम्म बुझाएकै छैन,' खत्रीले भने, 'हामीले सोही संस्थाका अन्य सञ्चालक सदस्यहरूबाट अनौपचारिक रूपमा प्राप्त गरेको कागजात हेर्दा संस्थामा अहिले करिब १८ करोड रूपैयाँभन्दा बढीको ब्यालेन्स-सिट देखिन्छ, जसमा १२ करोड रूपैयाँ बाह्य ऋण हो। दुई करोड ६० लाख बचत देखिन्छ। दुई करोड जति पब्लिककै सेयर तथा केही कोषहरूमा रकम देखिन्छ। ती सबै गरेर कुल १८ करोड रूपैयाँभन्दा बढीको वासलात देखिन्छ।'
प्रदेश सहकारी कार्यालयले संस्थाका अध्यक्ष शम्भुप्रसाद रौनियारलाई पटक पटक संस्थाको सम्पूर्ण विवरण कार्यालयमा ल्याएर बुझाउन लिखित र मौखिक निर्देशन दिएको तर उनले नमानेको पनि कार्यालय प्रमुख खत्रीले बताए।
'हामीले अध्यक्षलाई संस्थाको सम्पूर्ण विवरण पेस गर्न भनेर बारम्बार भनेका छौं। अहिलेसम्म औपचारिक रूपमा केही बुझाउनुभएको छैन। अहिले त सञ्चालक सदस्यहरू नै हामी पीडित भयौं भन्दै हामीकहाँ आउन थाल्नुभएको छ,' खत्रीले भने, 'हामीले उहाँहरूबाटै वासलात फेला पारेका हौं। केही दिनअघिसम्म सम्पर्कमा रहेका अध्यक्ष अहिले सम्पर्कमै हुनुहुन्न।'
एकातिर सहकारीको नियमनकारी निकायका प्रमुखले उक्त संस्थाबारे केही जानकारी प्राप्त नभएको बताउनु, अर्कातिर संस्थाका अध्यक्ष कार्यालय नै बन्द गरेर अहिले सम्पर्कविहीन बनेपछि उमागौरी सहकारीमा अनियमितता भएको आशंका सरोकारवालाले गरेका छन्।
कार्यालय प्रमुख खत्रीले भने, 'हामीकहाँ सदस्यहरू, सञ्चालक सदस्यहरू नै पीडित भयौं भन्दै आउनुभएको छ। त्यसले त्यहाँ गडबडी भएको हुनसक्ने आधार देखाएको छ।'
मोरङ जिल्ला सहकारी संघका एक जना पदाधिकारीका अनुसार धनपालथानको सो सहकारी सुरूदेखि नै अध्यक्ष रौनियारको व्यक्तिगत सम्पत्ति जस्तो गरेर चलेको देखिएको थियो। तर सदस्यहरूदेखि नियमनकारी निकायसम्मले यसलाई देखेको नदेख्यै गरेका थिए।
जब सहकारीले सञ्चालक सदस्य र ऋणी सदस्यहरूकै जग्गा धितो राखेर अन्य वित्तीय संस्थाहरूबाट ऋण लिएको र लामो समयदेखि सहकारीले पैसा नतिरेको थाहा भयो, त्यसपछि सहकारीमा आर्थिक अपचलनको शंका सबैलाई भयो।
'यो विषय हामीसम्म आउन थालेको १५ दिन जति भयो,' प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख खत्रीले भने, 'सञ्चालक सदस्य नै आफूहरूलाई केही थाहा नभएको, अध्यक्षले झुटो विवरण देखाएर फसाएको भन्दै आइरहनुभएको छ।'
सहकारी संघका ती पदाधिकारीले भनेजस्तै अध्यक्ष रौनियारले आफूलाई सहकारीको 'प्रोप्राइटर' भनेर चिनाउँथे। बिहीबार उनले सहकारीकै लेटरप्याडमा जारी गरेको एउटा विज्ञप्तिमा पनि उनले आफूलाई प्रोप्राइटर नै भनेका छन्। जबकि सहकारी सामूहिकतामा चल्ने, सञ्चालक समितिबाट चल्ने वित्तीय संस्था हो।
संस्थाका पूर्व सञ्चालक समिति सदस्य रोशन राजवंशीका अनुसार उमागौरी कृषि सहकारी संस्था २०६८ सालमा स्थापना भएको थियो। सुरूबाटै संस्थाको अध्यक्ष रहेका रौनियार एमाले कार्यकर्ता हुन्।
अहिले संस्था छोडिसकेको बताउने राजवंशीले आफ्नो जग्गा धितो राखेर रौनियारले २०७४ सालमै माछापुच्छ्रे बैंकबाट ८५ लाख रूपैयाँ ऋण लिएको बताए।
'मैले सहकारी छोडिसकेको छु। तर मेरो जग्गा फिर्ता गरिदिन अध्यक्ष रौनियारलाई बारम्बार भनिरहेको छु। सहकारी सञ्चालनका लागि त्यस बेला मेरो जग्गा राखेर ऋण निकालिएको थियो। अध्यक्षले मनपरी गर्नुभयो,' उनले भने, 'अहिले मेरो परिवारमा अंशबन्डा गर्नुपर्नेछ, जग्गा चाहिँ बैंकमा छ।'
१८ करोड ४९ लाख रूपैयाँको वासलात देखिने सहकारीले १७ करोड ८७ लाख ४२ हजार कर्जा तथा सापटी लगानी गरेको देखाइएको छ। तर प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयले त्यो रकम कहाँ र कसलाई लगानी गरेको हो भनेर विवरण माग्दा अध्यक्षले उपलब्ध नगराएको बताएको छ।
'अध्यक्षले सधैं सबै पैसा लगानी भएको छ, उठाएर सर्वसाधारणको बचत फिर्ता गर्ने हो भन्ने जबाफ दिनुहुन्छ,' कार्यालय प्रमुख खत्रीले भने, 'मैले पटक पटक त्यसको विवरण माग्दा उहाँले दिनुभएन। केही दिनअघि फोटो खिचेर पठाउनुभएको छ। त्यहाँबाट त्यति धेरै रकम लगानी भएको वैधता स्थापित हुने देखिँदैन।'
उनका अनुसार यो सहकारीका धेरै सदस्यले संस्थाबाट लिएको ऋणको किस्ता नियमित बुझाएका छन्। संस्थाले भने बैंक तथा अन्य वित्तीय संस्थाबाट लिएको ऋण तिरेको देखिँदैन।
'सदस्यहरू संस्थालाई बुझाउँदै जाने, संस्थाले भने बैंक तथा अन्य संस्थालाई रकम नै नबुझाएको देखिन्छ,' खत्रीले भने, 'संस्था भनेकै अध्यक्ष रौनियार, उनी नै संस्था जस्तो रहेछ। अरू सदस्य र सञ्चालकहरू निरीह देखिएका छन्।'
सहकारीमा सदस्यहरूले अध्यक्षसहितको सञ्चालक समितिलाई प्रजातान्त्रिक नियन्त्रणमा राख्नुपर्छ। तर स्थापनायता त्यो अभ्यास सहकारीमा भएको देखिँदैन। अहिलेसम्म साधारणसभा गरेको विवरण एकपटक मात्रै प्राप्त भएको अभिलेखबाट देखिन्छ।
२०६८ सालमा सहकारीको तदर्थ समितिको कागजात पहिलोपटक कार्यालयलाई प्राप्त भएको थियो भने अर्कोपटक २०७८ सालको सञ्चालक समितिबारेको कागजात मात्रै कार्यालयमा दाखिल छ। त्यसअघिको १० वर्ष र त्यसयताको ३ वर्षको कुनै विवरण कार्यालयमा नभएको खत्रीले बताए।
१२ करोडभन्दा बढी रकम ऋणीहरूले लगेको बताउने अध्यक्ष रौनियारले लगानी गरेको ठाउँ अहिलेसम्म कसैलाई देखाउन नसकेको यो घटनामा मोरङ २ का एमाले सांसद एवं सार्वजनिक लेखा समिति सभापति पत्नी अञ्जलाको नाम कसरी जोडियो त?
के सभापति पोखरेल कुनै न कुनै रूपमा जोडिएको देखिन्छ?
हामीले यी प्रश्न पनि सहकारी रजिस्ट्रारलाई सोध्यौं।
उनले आफूले अहिलेसम्म देखेको कागजात र विवरणले सांसद पोखरेल जोडिने सम्भावना नभएको बताए।
'उहाँ त्यो संस्थाको सदस्य पनि होइन, कारोबार गरेको केही प्रमाण र विवरण पनि छैन भने उहाँ जोडिने कानुनी आधार हुने कुरै भएन,' खत्रीले भने।
अञ्जला भने कुनै बेला उक्त सहकारीको सञ्चालक सदस्य रहेको र उनको नाम बैंकले कालोसूचीमा राखेको लगायत कारणले उनको नाम जोडिएको हुनसक्ने खत्रीले बताए।
उनले भनेझैं आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०७९ कात्तिक १६ गते अञ्जलालाई कर्जा तीर्न ३५ दिने सूचना जारी गरेको थियो।
'यस वित्तीय संस्थाबाट तपसिलमा उल्लेखित संस्था/व्यक्तिले लिएको कर्जाको साँवाब्याज लगायत अन्य रकम समेत कर्जा लिँदाका बखत यस संस्थासँग गरेको सर्त कबुलियत बमोजिम समय समयमा तिर्न बुझाउनुपर्नेमा साँवाब्याज नतिरी, नबुझाइ कर्जासम्बन्धी सर्त बन्देज उल्लंघन गर्नुभएकाले र पटक पटक मौखिक तथा लिखित तरताकेता गर्दा समेत बक्यौता चुक्ता भुक्तान गर्ने सम्बन्धमा कुनै चासो नदेखाइ बेवास्ता गर्नुभएकाले यो ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ,' सूचनामा भनिएको थियो।
त्यति बेला अञ्जालको नाम सञ्चालक समितिमा थियो।
सेतोपाटीसँगको कुराकानीमा भने अञ्जलाले उमागौरी कृषि सहकारीसँग आफ्नो कुनै संलग्नता नरहेको बताइन्। उनले सबै कुरा अध्यक्षलाई थाहा छ भन्दै बारम्बार पन्छिइन्।
'तपाईं पनि समयमा ऋण नतिरेर कालोसूचीमा पर्नुभएको रहेछ। रकम हिनामिनामा तपाईंको पनि संलग्नताको आशंका गरेका छन्। यसबारे जबाफ दिनुपर्ला नि' भन्ने सेतोपाटीको जिज्ञासामा उनले 'अध्यक्षलाई सोध्नुस्' भनिरहिन्।
'मैले सहकारी छाडेको ६-७ वर्ष भइसकेको छ। कसले के प्रयोजनलाई समाचार छापेका छन् मलाई के थाहा हुन्छ,' अञ्जलाले भनिन्, 'सहकारीबारे बुझ्नुछ भने सबै अध्यक्षलाई थाहा छ, उहाँलाई नै सोध्नुस्। मेरो विषय पनि उहाँले नै भन्नुहुन्छ।'
सहकारी रजिस्ट्रार कार्यालयका प्रमुख खत्रीले पनि अञ्जलाको जस्तै कुरा गरे।
'उहाँहरू आफै कालोसूचीमा परेर हामी पीडित भयौं भनेर गुहार मागिरहनुभएको देखिएको छ। सञ्चालक सदस्यहरू निरीह देखिएका छन्। यसबारे केही भन्न सकिएन,' उनले भने।
खत्रीले अरू सञ्चालक सदस्यहरूलाई 'निरीह' भने पनि उमागौरी कृषि सहकारीले नबिल, माछापुच्छ्रे सहितका बैंक तथा वित्तीय संस्थाबाट त्यस बेला ऋण लिएको देखिन्छ, जति बेला पोखरेल पत्नी अञ्जला पनि सञ्चालक सदस्य थिइन्। यसरी सञ्चालक सदस्य तथा संस्थाका साधारण सदस्यहरूको जग्गा प्रयोग गरेर सहकारीले १२ करोड हाराहारी रकम ऋण लिएको देखिएको सहकारी कार्यालयले जनाएको छ।
सहकारीका अध्यक्ष रौनियार कर्सियाका स्थानीयबासी हुन्। उनी एमालेका कार्यकर्ता मात्रै थिएनन्, कुनै बेला सो क्षेत्रमा ऋषिकेश पोखरेलका विश्वासपात्र पनि थिए। त्यसैले रौनियारले सहकारीका कार्यक्रमहरूमा सधैं पोखरेललाई नै प्रमुख अतिथि बनाएर बोलाउँथे। कुनै बेला पत्नी सञ्चालक सदस्य रहेको, अध्यक्ष रौनियारसँग सांसद पोखरेलको राम्रो व्यक्तिगत र राजनीतिक सम्बन्ध भएकै कारण सहकारीबाट पीडितहरू रौनियारलाई पोखरेलको संरक्षण हुन सक्ने आशंका गर्छन्। तर पोखरेलले यसलाई अस्वीकार गर्दै आएका छन्।
संस्थाका सदस्यहरूले पैसा र बैंकहरूमा धितो राखेको जग्गा फिर्ता माग्न थालेपछि अध्यक्ष रौनियारले कार्यालय बन्द गरेको र सम्पर्कबाहिर रहेको पीडितहरू बताउँछन्।
मोरङ जिल्ला प्रहरीका प्रवक्ता डिएसपी ज्ञानबहादुर बस्नेतले भने उमागौरी सहकारीका पीडितहरू यसअघि एकपटक उजुरी लिएर आएको तर दर्ता नगरी फर्केपछि फेरि प्रहरीमा नआएको बताउँछन्। मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले उक्त सहकारीका पीडितहरूको उजुरी नआएको बताए।
'अहिलेसम्म उजुरी आएको मलाई जानकारी छैन,' कार्कीले भने।
श्रीमतीले ऋण लिएको र कालोसूचीमा परेको विषयमा सार्वजनिक लेखा समितिको सभापति जस्तो पदमा बहाल ऋषिकेश अनजान हुने सम्भावना पीडित नकार्छन्। आफै पटक पटक अतिथि भएर जाने सहकारी र यसमा भएको बचत अपचलनबारे उनलाई थाहा नहुने अवस्था नभएको उनीहरूको तर्क छ।
सेतोपाटीसँगको कुराकानीमा पोखरेलले भने यसबारे कुनै जानकारी नभएको भन्दै पन्छिए।
हामीले उनका भनाइ जस्ताको तस्तै यहाँ राखेका छौं —
मैले मेरो कुरा फेसबुकमा लेखिसकेको छु। त्यसैले यसबारे मलाईभन्दा संस्था (उमागौरी सहकारी) लाई नै सोध्नु उचित हुन्छ। अहिले जसलाई जे भन्दिए पनि भएको छ। पुष्टि गर्नुपर्ने होइन। यसबारे पहिले माओवादीको मुखपत्र, जुन विराटनगरबाट निस्कन्छ; त्यसबाट प्रकाशित भयो। अहिले सबैले काम पाएका छन्।
सहकारी सदस्यहरूमाथि लगानी गर्ने संस्था हो। त्यसमा न म सदस्य छु, न कारोबार गरेको छु। घोटाला गर्न कारोबार त गर्नुपर्यो होला नि! यति सामान्य कुरा नबुझी मलाई किन जोडेका हुन्? आश्चर्य लागेको छ।
सार्वजनिक लेखा समितिले यसबीच ठुल्ठूला निर्णय गरेका छन्। एनसेल, टेरामक्स, पछिल्लो समय धितोपत्र बोर्डसँग सम्बन्धित विषयहरूमा। लुम्बिनीको रामग्राम क्षेत्र त पाँच सय वर्षका लागि लिजमा दिन लागिएको थियो। त्यो पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' घरबेटीलाई। हामीले त्यसरी गर्न पाइँदैन भनेर निर्णय गर्यौं।
हामीले माओवादी केन्द्रले छुट दिएको १६ अर्ब खै भन्यौं। त्यसपछि तिल्मिलाएर उनीहरू यता लागेका हुन्। सहकारीको बचत दुरूपयोग, हिनामिना, ठगी र यसभित्र देखापरेका समस्याबारे पहिलो पटक संसदमा आवाज उठाउने मानिस मै हुँ। यसरी समाधान गर्न सकिन्छ भनेर उपाय देखाउने मै हुँ। संसदको रेकर्ड हेर्दा हुन्छ।
हाम्रो कोसीपूर्वतिर घरघरै सहकारीका सदस्य छन्। पत्नी पनि भइन् होला। हाम्रातिर त सहकारीको सदस्य नभएको घर हुँदैन। अन्यत्रको म जान्दिनँ, कोसीपूर्वतिर यस्तो छ। अब मैले कहिले कोसँग हात मिलाएँ, कोसँग बोलेँ भनेर त्यसैमा धारणा बनाउने हो र चत्रिरहत्या गर्ने हो भने मानिसहरूले सामाजिक जीवन कसरी बाँच्न सक्छन्? कसरी काम गर्न सक्छन्?
यो बिलकुलै चरित्र हत्या गर्ने गरी ल्याइएको प्रसंग हो। कहीँ कतै मेरो संलग्नता छैन। उनीहरूले त्यो देखाउन सकेका पनि छैनन्। सहकारीको रकम अपचलन गरेँ रे..! म २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचित भएर आएपछि सम्पत्ति विवरण राज्यलाई बुझाएको छु। अहिले पनि बुझाएको छु। त्यसमा हेर्दा भयो नि। मेरो सम्पत्ति कत्ति छ!
अन्तिममा भन्छु, कसका मुखपत्रले कहाँ के छाप्छन्, त्यसको जबाफ दिँदै हिँडेर कहाँ साध्य हुन्छ? साध्य हुने कुरा हो र?'
यो पनि:
एक महिना अघिसम्म सहकारीमा श्रीमती ज्योतिको ऋण तिर्दै थिए धनराज गुरूङ