प्रधानमन्त्री केपी शर्माले परिवर्तन विरोधी तत्वहरू सक्रिय हुन थालेको भन्दै गणतन्त्रको रक्षार्थ सडक आन्दोलनमा जानुपर्ने हुन सक्ने बताएका छन्।
पोलिटब्युरो बैठकमा बुधबार सदस्यहरूले उठाएका प्रश्नको जबाफ दिने क्रममा उनले परिवर्तन र संविधान नै उल्ट्याउने असफल प्रयास भइरहेको बताउँदै गणतन्त्र जोगाउन सडक आन्दोलनमै जानुपर्ने हुन सक्ने बताएका हुन्।
'परिवर्तन उल्ट्याउन विभिन्न ढंगको कोसिस भइरहेका छन्। आजको युगमा निरंकुश, पारिवारिक, जन्मसिद्ध श्रेष्ठताका आधारमा शासन गर्न सम्भव छ र! तर समाजमा अराजकता मच्चाउने कोसिस भइरहेको छ। संविधान, परिवर्तन नरूचाउने तत्वहरू सक्रिय भइरहेका छन्। तसर्थ यो व्यवस्था हामीले लडेर ल्याएको हो। यसलाई जोगाउन सडकमै जानुपर्ने हुन सक्छ। नागरिकलाई आह्वान गर्नुपर्ने हुन सक्छ,' ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने।
कतिपयले दलहरू असफल भए राजा चाहिन्छ भन्ने प्रकारका चिन्तन प्रकट गर्न थालेको भन्दै यसतर्फ पार्टी पंक्ति सचेत हुनुपर्ने बताएको ती सदस्यको भनाइ छ।
पोलिटब्युरो बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको 'निर्णायक राष्ट्रिय शक्तिका लागि वार्षिक कार्ययोजना' माथि ५१ जना सदस्यहरूले धारणा राखेका थिए।
बैठकले ती सदस्यहरूले राखेका सुझावहरू समेटेर कार्ययोजनालाई अन्तिम रूप दिन सचिवालयलाई जिम्मा दिने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
गौतमका अनुसार बुधबार बोलेका केही सदस्यहरूले पार्टीमा आर्थिक, नैतिक, चारित्रिक आचरणमा उठेका प्रश्नबारे पनि धारणा राखेका थिए।
उनले पार्टी अनुशासन कमजोर बनेको र प्रश्न उठेका नेता-कार्यकर्तामाथि छानबिनको मागसमेत गरेका थिए।
कर्णाली प्रदेश अध्यक्ष गुलाबजंग शाह, पोलिटब्युरो सदस्य मोहन बानियाँ, केन्द्रीय सदस्य ऐन महर लगायत नेताबारे प्रश्न उठेपछि पार्टी अनुशासन समितिले छानबिन समितिसमेत बनाएको छ। त्यसले प्रतिवेदनसमेत बुझाएको छ।
पोलिटब्युरो सदस्यहरूले उठाएको प्रश्न उनीतर्फ पनि लक्षित थियो।
जबाफमा अध्यक्ष ओलीले पार्टी ढल बन्न नसक्ने भन्दै उनीहरूलाई कि राजनीति, कि 'इन्जोय' रोज्न निर्देशन दिएको प्रचार विभाग प्रमुख गौतमले बताए।
'नैतिकहीन, चरित्रहीन, आचरणहीन कुरालाई पार्टीले कुनै हालतमा सहँदैन। एमालेभित्र कुनै हालतमा सम्भव छैन र सह्य पनि हुँदैन भनेर निर्देशन दिनुभएको छ,' गौतमले भने, 'पार्टी ढल होइन। व्यक्ति विशेषका कमजोरी हुन सक्छन्। यस्ता प्रश्न उठेका व्यक्तिहरूलाई कि त राजनीति गर, कि इन्जोय गर भन्नुभएको छ।'
त्यस्तै, कतिपय सदस्यहरूले वामपन्थीबीच सहकार्यको सम्भावनाबारे पनि धारणा माग गरेका थिए।
त्यसको जबाफ दिँदै अध्यक्ष ओलीले वामपन्थीका नाममा कुनै सहकार्य नहुने र २०८४ सालको चुनाव एक्लै लड्ने दोहोर्याएका थिए।
मंगलबारको बैठकमा पनि अध्यक्ष ओलीले २०८४ को चुनाव एक्लै लड्ने र बहुमत ल्याउने बताएका थिए।
'हामी वामपन्थीका नाममा कुनै सहकार्य गर्दैनौं। हामी चुनावअगाडि तालमेलको पक्षमा छैनौं। नेपाली कांग्रेसले पनि एक्लाएक्लै लड्ने निर्णय गरिसकेको छ। हामी २०८४ को चुनाव एक्लै लड्छौं। एकल बहुमत ल्याउने गरी पार्टी कामलाई व्यवस्थित गर्छौं,' ओलीको भनाइ थियो।
प्रचार विभाग प्रमुख गौतमले एमालेले कसैको बैसाखी टेकेर चुनावमा नजाने भनेर अध्यक्ष ओलीले प्रस्ट पारेको जानकारी दिए।
यो पनिः