नेकपा (एकीकृत समाजवादी) मा सुषुप्त अवस्था रहेको गुट झाँगिएला भनेर सचेत थिए- अध्यक्ष माधवकुमार नेपाल।
त्यही कारण करिब दुई महिनाअघिको महाधिवेशनमा नेतृत्वमा चुनाव हुन दिएनन्।
नेता चुन्न पाउने प्रतिनिधिको हक कुण्ठित तुल्याएर नेतृत्वले आफूले आफैलाई अनुमोदन गरेको भन्दै सहभागी असन्तुष्ट सुनिएका थिए। तथापि अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गर्दै महाधिवेशन मैझारो गरे।
आफ्नो ‘सर्वमान्य नेता’ को स्थानलाई कसैले चुनौती नदेओस् भनेर अध्यक्ष नेपालले चुनावको सम्भावनालाई टारेका थिए।
किनभने त्यतिबेला सम्मानित नेता झलनाथ खनाल र घनश्याम भूसाल दुवै जना अध्यक्षको आकांक्षी थिए। महाधिवेशनअघि भूसाललाई सघाउने बताए पनि प्रज्ञा प्रतिष्ठानको हलसम्म पुग्दा खनालमा पनि अध्यक्षको आकांक्षा जागिसकेको थियो।
चुनाव भएको भए अध्यक्षमा खनाल, भूसालले टक्कर दिने निश्चितै थियो। त्यसैले प्रतिनिधिलाई भूमिकाविहीन बनाउँदै अध्यक्ष नेपालले मूल नेतृत्व सर्वसम्मत गराइछाडे।
दुई महिना नबिन्दै अध्यक्ष नेपाल आफैले गुटबन्दीलाई प्रश्रय दिएका छन्। पदाधिकारीमा चुनाव गराएर पार्टी केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठकले पदाधिकारी र पोलिट्ब्युरो सदस्य छान्न चुनाव गर्यो। १८ सदस्यीय पदाधिकारीमा १३ जना माधवकुमार नेपाल समूहबाट निर्वाचित भएका छन्।
रोचक कुरा त अध्यक्ष नेपालले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई ल्याउनकै लागि सर्वसम्मत गराए। उनीविरूद्ध उम्मेदवारी दिएका घनेन्द्र बस्नेतलाई वरिष्ठ नेता बनाउने आश्वास दिइयो। बाँकी पदमा सर्वसम्मत गराउने सम्भावना हुँदाहुँदै इतर समूहलाई निमिट्यान्न पार्न पदाधिकारीमा चुनाव गराइएको असन्तुष्टहरूको आरोप छ।
‘राजेन्द्र पाण्डे चुनाव हार्नुहोला भन्ने भय थियो, उहाँको छवि पार्टीभित्र राम्रो छैन। त्यही कारणले वरिष्ठ उपाध्यक्ष सर्वसम्मत गराउनुभयो। बाँकी पदमा इतरसमूहलाई सोत्तर पार्न चुनाव गरियो,’ पदाधिकारीमा पराजित एक नेताले भने।
एकीकृत समाजवादीको विधानमा एक जना अध्यक्ष, वरिष्ठसहित ७ जना उपाध्यक्ष, एक जना महासचिव, ४ जना उपमहासचिव, ७ जना सचिव रहने व्यवस्था छ। वरिष्ठ नेताको संख्या तोकिएको छैन। प्रमेश हमाल र बेदुराम भुसाललाई पनि वरिष्ठ नेताको आश्वासन दिइएको छ।
पार्टी पदाधिकारी निर्वाचनले एमालेको नवौं महाधिवेशनको झल्को दिएको नेताहरू बताउँछन्। त्यतिबेला एमालेभित्र समूहगत प्रतिस्पर्धा भएको थियो। अध्यक्षमा झीनो मतले माधवकुमार नेपाल पराजित भएका थिए।
चुनाव जितेपछि पनि अध्यक्ष केपी शर्मा ओलीले गुटबन्दी राखेको माधव नेपाल समूहले आरोप लगाउने गर्थ्यो। अध्यक्ष ओलीले महाधिवेशनमा भोट नहालेको रिस जिल्ला जिल्लामा साँध्न थालेको, जिम्मेवारी वितरणमा गुटगत आँखाले हेरेको भन्दै असन्तुष्टि पोख्ने गर्थ्यो।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता भएर नेकपा बनेपछि पनि ओलीले आफ्नो समूहलाई किनारामा पारेको भन्दै माधव नेपाल पक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नजिक भएका थिए।
त्यही तिक्तताले नेकपा विभाजनको पृष्ठभूमि तयार पारेको थियो।
एकीकृत समाजवादी निर्माणपछि अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीकै चरित्र ग्रहण गरेको भन्दै नेताहरू असन्तुष्ट बनेका छन्।
महाधिवेशनमा प्रतिनिधिहरूले छान्ने अवसर खोसेर आफैले आफूलाई अध्यक्ष घोषणा गरेका नेपालले पदाधिकारीमा चुनाव गराउँदा गुटबन्दीले प्रश्रय पाएको उनीहरूको तर्क छ।
‘एमालको नवौं महाधिवेशनमा समूहगत प्रतिस्पर्धा गर्दा हार्नेले जित्नेलाई अध्यक्ष नस्वीकार्ने परिस्थिति बन्यो। तलदेखि माथिसम्मै त्यही अवस्था रहेर पार्टी चिरा पर्यो। एकीकृत समाजवादीमा पनि सर्वसम्मत पदाधिकारी छान्ने अवस्था हुँदाहुँदै चुनावै गराइयो,’ ती नेता भन्छन्, ‘चुनावै गराउन मन भएको भए महाधिवेशनको हलमै गराएको भए हुन्थ्यो। त्यसले लोकतान्त्रिक प्रतिस्पर्धालाई पनि बलियो बनाउँथ्यो।’
पदाधिकारी निर्वाचनमा अध्यक्ष नेपाल पक्ष आफैले चिट बाँडेको इतरसमूहको आरोप छ। पार्टी अध्यक्ष नै चिट बाँडेर पदाधिकारीमा चुनाव गराएपछि गुटबन्दी संस्थागत हुन पुगेको उनीहरूको ठहर छ।
अध्यक्ष नेपाल पक्षले उपाध्यक्षतर्फ रामकुमारी झाक्री, रामचन्द्र झा, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा, उर्वादत्त पन्त, विरोध खतिवडाको नामसहित सूची नै बाँडेको थियो।
उपमहासचिवमा रामकुमार भट्टराई, राजेन्द्र राई, नागेन्द्र चौधरी, अम्मरबहादुर थापाको नाम सूचीमा थियो। सचिवको सूचीमा हस्तबहादुर शाही, दिलुकुमारी पन्त, शेरबहादुर कुँवर, धर्मनाथ पौडेल, श्रीनाथ बराल, टोकबहादुर वाइबा, कृष्णबहादुर नेपालीको नाम थियो।
त्यसो त नेपाल पक्षका नेताहरूले आफूअनुकूलका चिट पनि नबाँडेका होइनन्। त्यस्ता कतिपय चिटहरूमा महिला उपाध्यक्षमा रामकुमारी झाक्रीको नाम थिएन। जयन्ती राईको नाम राखेर पनि बाँडिएको थियो।
अध्यक्ष नेपाल पक्षले बाँडेका सूचीका अधिकांश निर्वाचित भएका छन्। नेपाल पक्षले खुलम्खुला चिट बाँड्न थालेपछि सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भूसाल पक्षले पनि चिर्कटो बाँडेको थियो।
अन्तिममा पदाधिकारी निर्वाचन त्रिपक्षीय बन्न पुगेको एकीकृत समाजवादीका नेता बताउँछन्।
हारिन् रामकुमारी, उपमहासचिवमा मेटमणि चौधरीको सर्वाधिक मत
नेकपाकालदेखि नै विद्रोही नेताको छवि बनाएकी रामकुमारी झाक्री एकीकृत समाजवादी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।
नेकपामा छँदा अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेका नेताहरू नै नयाँ पार्टी निर्माण गर्दा छुटे।
भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, रघुजी पन्त लगायत नेताहरूले विभाजनमा साथ दिएनन्। उनीहरू अध्यक्ष ओलीसँग दसबुँदे सहमति गरेर एमालेमा बसेका थिए।
झाक्री भने माधवकुमार नेपालको हातै समातेर विद्रोहमा सामेल भएकी थिइन्। निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न जाँदा झाक्रीले नेपालको हात समातेको फोटोले सामाजिक सञ्जालमा चर्चा बटुल्यो पनि। उनी पार्टीको सचिव पनि भइन्।
तर एकीकृत समाजवादी उनको त्यो ‘छवि’ कायम रहेको देखिएन। पदाधिकारी निर्वाचनसम्म आइपुग्दा त्यो छवि विघटित भइसकेको नेताहरूले टिप्पणी गरेका छन्।
अध्यक्ष नेपाल समूहको टिममा रहेर पनि महिला उपाध्यक्षमा झाक्री उपाध्यक्षमा पराजित भइन्। इतरसमूहकी जयन्ती राई १९९ मत ल्याएर उपाध्यक्ष निर्वाचित भइन्। झाक्रीले ११२ मत पाइन्। राईले पदाधिकारीतर्फ सर्वाधिक नै मत ल्याइन्।
राई २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा सक्रिय भएकी हुन्। उनी २०५४ सालको स्थानीय निकायको निर्वाचनमा भोजपुरका जिविस उपसभापति निर्वाचित भएकी थिइन्। २०६२–०६३ पछि पुनःस्थापित संसदमा सांसद मनोनीत भएकी उनी २०७८ माघमा भएको निर्वाचनमा राष्ट्रिय सभा सदस्य चुनिएकी थिइन्। उनी राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको सभापतिसमेत हुन्।
उपाध्यक्षमा इतरसमूहबाट प्रकाश ज्वाला, भानुभक्त जोशी निर्वाचित भएका छन्। घनश्याम भूसाल समूहले यी तीन जना उपाध्यक्षलाई आफ्नो समूहको दाबी गरेको छ।
त्यसबाहेक नेपाल समूहको सूचीमा नरहेका धर्मनाथ साह पनि उपाध्यक्ष निर्वाचित भए। उनले रामचन्द्र झालाई पराजित गरेका हुन्। झाको नाम भने नेपाल समूहको सूचीमा थियो।
उपमहासचिवतर्फ रामकुमार भट्टराई, मेटमणि चौधरी, राजेन्द्र राई, गरिमा शाह निर्वाचित भए। चौधरीले उपमहासचिवतर्फ सर्वाधिक अर्थात् १५८ मत ल्याए। भट्टराईले १०७, राईले १०६, शाहले १०७ मत ल्याए।
त्यसमध्ये शाहलाई भूसाल पक्षले आफ्नो समूहको दाबी गरेको छ।
सचिवतर्फ गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलातर्फ श्रीनाथ बराल, शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डेय, सावित्रीकुमारी भूसाल निर्वाचित भए।
यसमध्ये बलदेव चौधरीलाई भूसाल पक्षले आफ्नो दाबी गरेको छ।
‘पार्टीमा भूसाल समूह यसै पनि कमजोर छ। तर अध्यक्ष नेपाल नै गुटबन्दीमा उत्रिएपछि त्यसै कमजोर हुने भयो। तथापि पदाधिकारीमा चार जना भूसाल पक्षका निर्वाचित भएका छन्,’ उनी पक्षका एक नेताले भने।
पदाधिकारी निर्वाचनमा सम्मानित नेता झलनाथ खनाल पक्ष भने निकै नै कमजोर देखिएको ती नेताको दाबी छ।
अध्यक्षले बाँडेकै सूचीमा परे पनि रामकुमारी झाक्री हार्नुको पछाडि उनका पछिल्ला गतिविधि जिम्मेवार रहेको एक नेताले बताए। उनले नेतृत्वको आलोचना गरेको, एमालेसँग संवाद बढाएको भन्दै अध्यक्ष नेपाल पक्षका नेता असन्तुष्ट थिए।
सहरी विकास मन्त्रीबाट बहिर्गमित भएपछि पार्टीका गतिविधिमा सक्रियता नदेखाएकोसमेत आरोप नेपाल पक्षले लगाउने गरेको छ। उनले भने त्यतिबेला आफूलाई भूमिकाविहीन तुल्याइएको बताउनेगर्थिन्।
‘नेपाल पक्षले आफ्नो समूहमा राखे पनि त्यही समूहका नेताले उनलाई भोट हालेनन्। बीचमा उहाँले नेतृत्वविरूद्ध नै बोल्दै हिँड्नुभयो। एकीकृत समाजवादी एमालेबाट न अलग्गिएर बनेको हो, एमालेको चरित्रबाट अलग भएको होइन। एमालेमाभन्दा चर्कोसँग व्यक्तिवाद झाँगिएको छ,’ ती नेताले सुनाए।
निर्वाचनप्रति केन्द्रीय सदस्यहरू खुसी छैनन्। पदाधिकारी चुनावमा ३४४ जना केन्द्रीय सदस्य मतदाता थिए। उनीहरूले विभिन्न माध्यमबाट असन्तुष्टि प्रकट गरिरहेका छन्। ‘मनोनीत कमिटीले निर्वाचन गराउने प्रक्रिया नै गलत हो। यसले विधि स्थापित गर्दैन,’ केन्द्रीय सदस्य गौतम राईले भने।
केन्द्रीय सदस्य नरेश शाहीले भने चुनावले प्रणालीलाई बलियो बनाउने बताए। मूल नेतृत्व पनि चुनावबाटै गराउन सकेको भए उत्तम हुने बताउँदै पदाधिकारीमा देखिएको प्रतिस्पर्धाले पार्टीमा लोकतान्त्रिक प्रणाली स्थापित हुने बताए।
‘चुनावबाट पदाधिकारी छान्दा पार्टीभित्रको लोकतान्त्रिक प्रणाली मजबुद बनेको छ। यसलाई गुटबन्दीको रूपमा मात्रै बुझ्नुहुँदैन। प्रतिस्पर्धाको रूपमा बुझ्नुपर्छ,’ शाहीले भने।
केन्द्रीय सदस्य सुदेश पराजुली पनि पदाधिकारी एवम् पोलिट्ब्युरो सदस्य छान्न भएको निर्वाचनले पार्टीको लोकतान्त्रिक मूल्य, प्रणालीलाई जीवित राख्ने बताउँछन्। पार्टी केन्द्रीय सदस्यहरूले रोजेको विधिमा पार्टी गएकाले यसको परिणामबाट निराश हुनुपर्ने अवस्था नरहेको उनको तर्क छ।
‘पार्टी केन्द्रीय सदस्यले निर्वाचनबाटै जिम्मेवारी बाँडफाँट गरौं भनेपछि चुनाव भयो। उत्साहपूर्वक सबैले भाग लिनुभयो। यसले एउटा परिणाम दिन्थ्यो नै। यसलाई मानेर पार्टी निर्माणमा अगाडि बढ्नुपर्छ। यसले पार्टी, आन्दोलनलाई कमजोर बनाएको छैन,’ उनले भने।
यो पनि:
भावुक, बेचैन र विचलित रामकुमारी झाँक्री