त्रिभुवन विश्वविद्यालय असुरक्षित भएको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी सहकुलपति विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको प्रबन्ध मिलाइदिन सार्वजनिक अपिल गरेकी छन्।
सामाजिक सञ्जाल फेसबुक र एक्समा स्ट्याटस लेख्दै मन्त्री भट्टराईले त्रिविका उपकुलपति केशरजंग बराललगायत पदाधिकारीलाई केही दिनदेखि 'भौतिक हमला गर्न खोजिएको' भन्दै सुरक्षा व्यवस्था गरिदिन आग्रह गरेकी हुन्।
‘त्रिविमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेको कारण सिंगो विश्वविद्यालय असुरक्षित बनेको छ, त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्छु,’ शिक्षा मन्त्री भट्टराईले भनेकी छन्।
शिक्षा मन्त्री भट्टराईको अपिलप्रति विभिन्न टिप्पणी भइरहेका छन्। विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली शिक्षा मन्त्री भट्टराईकै पार्टी नेकपा (एमाले) का अध्यक्ष पनि हुन्।
त्रिविको यो विषय शिक्षा मन्त्री भट्टराईले कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीलाई जानकारी गराएको वा नगराएकोबारे उनले बताएकी छैनन्।
‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो। कुनै आवेगमा आएर लेखेको होइन, मैले पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु,’ उनले प्रष्ट्याउँदै भनेकी छन्।
शिक्षा मन्त्री भट्टराईले उठाएको 'सुरक्षा थ्रेट' को विषय त्रिवि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयसँग जोडिएको छ।
मानविकी तथा समाजशास्त्र संकायकी डिन कुसुम शाक्यले केही दिनअघि विभागीय प्रमुखमा टीकाराम गौतम, पासाङ शेर्पा र मनहरि ढकालको नाम सिफारिस गरेकी थिइन्। गौतमलाई पहिलो नम्बरमा राखेर सिफारिस गरिएपछि यो विषयलाई लिएर त्रिविमा विवाद भइरहेको छ।
विभागीय प्रमुख नियुक्तिमा विद्यार्थी संगठनकै केही नेताहरूको प्रत्यक्ष चासो देखिँदा झन् यसले विवादलाई बढाएको त्रिविकै पदाधिकारीहरू बताउँछन्।
सत्तापक्ष नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ र एमालेको भ्रातृ संगठन अनेरास्ववियुका नेताहरू नै यस विषयमा विभाजित देखिँदा पछिल्लो समय त्रिविमा सुरक्षा चुनौती थपिएको हो। मन्त्री भट्टराईले पनि यसैतर्फ संकेत गर्दै गृहमन्त्रीसँग सुरक्षाको प्रबन्ध मिलाइदिन भनेकी हुन्।
त्रिविमा विगतमा पनि नेविसंघका नाममा सुरक्षा चुनौती देखिएको थियो। उपप्राध्यापक प्रेम चलाउनेमाथि नै आक्रमण भएपछि नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले नेविसंघ त्रिवि समिति नै विघटन गरिदिएका थिए।
तर त्रिविमा नेविसंघका विभिन्न गुट सक्रिय भइरहेको छ। नेविसंघका केही नेताहरू टीकाराम गौतम समाजशास्त्र विभागको प्रमुख हुनुपर्ने अडानमा छन्।
तर अनेरास्ववियुका नेताहरूले यसमा मुख खोलेका छैनन्। उनीहरूको भित्री चाहना समाजशास्त्र विभागीय प्रमुखमा पासाङ शेर्पालाई अघि बढाउनु रहेको छ।
उपकुलपति केशरजंग बराल र रेक्टर खड्क केसीको चाहना पनि पासाङ शेर्पालाई नै विभागीय प्रमुख बनाउने रहेको आरोप नेविसंघका योगेन्द्र रावल लगायत समूहको छ।
तर रावल यो कुरा स्वीकार गर्दैनन्। उनले वरियताक्रममा माथिल्लो स्थानमा रहेका र डिनबाट सिफारिस भएर आएकालाई विभागीय प्रमुख नबनाउन सहकुलपतिसमेत रहेकी शिक्षा मन्त्री भट्टराई प्रयोग भइरहेको आरोप लगाए।
‘हामीले त्रिविका पदाधिकारी कसैलाई पनि धम्की दिएका छैनौं, केही दिनअघि प्रहरी वृत्त कीर्तिपुरमा यो विषयमा छलफल पनि भएको थियो। त्यहाँ सबै विद्यार्थी संघ–संगठनका प्रतिनिधि थिए। कसैले कसैलाई धम्की दिएको छैन भन्ने कुरा नै त्यहाँ प्रष्ट पारिएको थियो,’ रावलले भने।
२०७७ असोज २० गते समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो। आक्रमणमा रावल समूह नै जोडिएको थियो। उनीहरूलाई अदालतमा मुद्दा पनि छ।
यो घटनामा जिल्ला अदालत काठमाडौंले नेविसंघका रावल, हरि आचार्यसहित ७ जनालाई दोषी ठहर गर्दै दुई वर्षको कैद फैसला सुनाएको थियो। आचार्य भने विदेशमा छन्।
जिल्ला अदालतको फैसलाविरूद्ध आफूहरू उच्च अदालत पाटनमा पुनरावेदनमा गएको रावलले बताए।
‘हामी उच्च अदालतमा पुनरावेदन गर्न गएपछि मुद्दा प्रभावित पार्न फेरि हामीमाथि आरोप लगाइएको छ। विश्वविद्यालयमा कांग्रेस निमिट्यान्न पार्न एमालेका खड्क केसी लागिपरेका छन्। उनी अहिले रेक्टर भएका छन्। के-के भन्दा मुद्दा र विषय प्रभावित पार्न सकिन्छ, उनी त्यही भनिरहेका छन्। शिक्षा मन्त्रीको आवाज पनि केसीकै हो,’ रावलले आरोप लगाए।
रावलले उपकुलपति बराल असुरक्षाको कारण नभई बिरामी भएकोले विश्वविद्यालय नआएको बताए।
अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालले त्रिवि पदाधिकारीहरूले गर्ने निर्णय आफूहरूलाई मान्य हुने प्रतिक्रिया दिए।
‘हामीले विभागीय प्रमुख को हुनुपर्छ भनेर व्यक्ति तोकेका छैनौं। पदाधिकारीहरूले निर्वाध काम गर्न पाउनुपर्यो भन्ने हो। उहाँहरूको निर्णयलाई प्रभावित पार्न कसैले डर, त्रास देखाउन पाइएन,’ उनले भने, ‘अनेरास्ववियुले त्रिवि पदाधिकारीलाई निर्बाध काम गर्नुहोस् भनेको छ।’
यसैबीच सुरक्षाको प्रबन्ध मिलाइदिन माग गर्दै त्रिविका रजिष्ट्रार केदारप्रसाद रिजालले सहकुलपति शिक्षामन्त्री भट्टराईलाई पत्र लेखेका थिए।
उनले गत साउन ३२ गते लेखेको पत्रमा त्रिविमा तत्काल देखिएको असहज परिस्थितिका कारणले पदाधिकारीहरू तथा केन्द्रीय कार्यालय परिसरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेका छन्।
‘त्रिविमा तत्काल देखिएको असहज परिस्थितिका कारणले विश्वविद्यालयका पदाधिकारीहरू र केन्द्रीय कार्यालय परिसरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महशुस बढ्न गएको हुँदा, नेपाल सरकार गृहमन्त्रालयमार्फत् पदाधिकारीहरू उपकुलपतिज्यू, शिक्षाध्यक्षज्यू र रजिष्ट्रारको निजी आवास र केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि सादर अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्तासमेत रहेका एसपी नवराज अधिकारीले त्रिविमा सुरक्षाका लागि डिएसपीकै कमान्डमा सुरक्षा टोली खटिने गरेको बताए।
‘हामीले विश्वविद्यालय सुरक्षा गर्न डिएसपीकै नेतृत्वमा टोली खटाएको छ, प्रहरी वृत्त पनि त्यहीँ छ,’ उनले भने, ‘सम्पूर्ण रूपमा हामी सतर्क छौं, सुरक्षा दिइरहेका छौं।’