गत वर्ष मंसिरमै वडा अधिवेशन सुरू गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महाधिवेशन कहिले गर्छ अझै निश्चित भइसकेको छैन।
शनिबार सकिएको कार्यशालाले २०८२ वैशाख तेस्रो साता महाधिवेशन गर्न पार्टीलाई सुझाव दिएको छ। यो सुझाव केन्द्रीय समितिले अङ्गीकार गरे आउँदो वैशाखमा रास्वपाको पहिलो महाधिवेशन हुन सक्छ।
रास्वपाले यसअघि पनि महाधिवेशनको जमर्को गरेको थियो। महाधिवेशन प्रक्रिया सुरू गर्न तदर्थ समिति बनेको एक महिना पनि नबित्दै गत मंसिर २८ गतेबाट वडा तहका अधिवेशन सुरू भएको थियो।
पार्टी गठन भएको छोटो समयमै रास्वपाले २०७९ को निर्वाचनमा भाग लिएको थियो।
२०७९ असार ७ गते गठन भएको र असार १७ गते निर्वाचन आयोगमा दर्ता भएको रास्वपाले आगामी आम निर्वाचन २०८४ मा भाग लिन महाधिवेशन गरी त्यसको विवरण निर्वाचन आयोगमा बुझाउनुपर्ने हुन्छ।
रास्वपाको अघिल्लो विधानमा संघीय निर्वाचन सकिएको एक वर्षभित्र राष्ट्रिय महाधिवेशन गरिसक्ने उल्लेख थियो। यसबीचमा विधान संशोधन गरेर रास्वपाले त्यो प्रावधान हटायो। संशोधित विधानको धारा ४७ अनुसार रास्वपाले पाँच वर्षभित्र राष्ट्रिय महाधिवेशन दुई चरणमा गर्न सक्नेछ।
पहिलो चरण सकिएको १८ महिनादेखि ३६ महिनाको अवधिमा दोस्रो चरणको महाधिवेशन गर्ने विधानमा उल्लेख छ।
त्यसैमा टेकेर रास्वपाले वडा, पालिका हुँदै केन्द्रीय महाधिवेशन गर्ने बताएको थियो। त्यतिबेला एक वडा एक प्रतिनिधि पठाएर रास्वपाले तहगत समितिको अधिवेशनलाई अभियानकै रूपमा अघि बढाएको थियो।
तर वडा तहकै अधिवेशन नै नसकिएपछि महाधिवेशन कहिले हुने भन्ने स्पष्ट हुन थिएन।
दुई दिने बन्द कार्यशालाले २०८२ वैशाख तेस्रो साता राष्ट्रिय महाधिवेशन गर्न सुझाव दिएपछि रास्वपा त्यसको प्रक्रियातिर अघि बढेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए।
‘आगामी वैशाख तेस्रो साता महाधिवेशन गर्न केन्द्रीय समितिमा सुझाव आएको छ। अब हामी त्यसमा छलफल गरेर निष्कर्षमा पुग्छौं, महाधिवेशन गर्ने दिशामा पार्टी अघि बढेको छ,’ बुर्लाकोटीले भने।
पार्टी स्थापना भएको २५ महिना पूरा भइसक्दा पनि रास्वपा सबै वडा र पालिकामा पुग्न सकेको छैन। ७७ जिल्लामा संयोजक र सहसंयोजक तोकिएका छन्।
७५३ मध्ये ४०० हाराहारी मात्रै पालिकामा तदर्थ समिति छ। ६ हजार ७ सय ४३ मध्ये दुई हजार हाराहारी मात्रै वडामा कमिटी पुगेको बुर्लाकोटीले बताए।
‘अहिलेसम्म तीन सय हाराहारी मात्रै वडामा अधिवेशन गरेका छौं। वडा तहको अधिवेशन सकिएपछि मात्रै पालिका तहको अधिवेशन सुरू हुनेछ,’ उनले भने।
उनले बाँकी वडा तहका समितिको अधिवेशनको कार्ययोजना बनिरहेको बताए।
रास्वपाले पालिका र वडा तहका समितिको कार्यकाल पनि पाँचै वर्ष तय गरेको छ। वडा र पालिकाका तहका कमिटीको अधिवेशनको मिति तोक्ने काम पनि केन्द्रीय निर्वाचन आयोगले नै गर्नेछ।
‘वडाको संख्या धेरै भएकाले एकैदिन मिति तोकेर अधिवेशन गर्न सकिँदैन। क्षेत्र छुट्टयाएर वडा तहको अधिवेशनको मिति तोक्छौं। तीनै तहको पार्टी संरचनाको अधिवेशनको मिति वैशाख तेस्रो सातासम्म गरिसक्ने गरी सुझाव आएको हो। त्यसैमा केन्द्रित रहेर तालिका बनाउँछौं,’ उनले भने।
उनले अब छिट्टै अधिवेशनको तालिका सार्वजनिक गर्ने पनि बताए। रास्वपाले असोज ३ र ४ गते राष्ट्रिय भेला गर्ने तयारी गरेको छ। भेलामा जिल्ला र पालिका समितिबाट प्रतिनिधित्व गराउने तयारी रहेको बुर्लाकोटीको भनाइ छ।
कर्णाली प्रदेश समिति भएन पुनर्गठन
कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै गत फागुन ६ गते बसेको रास्वपा सचिवालय बैठकले कर्णाली प्रदेश समिति विघटन गरेको थियो। कर्णाली सभापति धिरज वली थिए।
पाँच महिनादेखि कर्णाली समिति पुनर्गठन हुन सकेको छैन। अहिले त्यहाँ कमिटी विहीनकै अवस्था रहेको बुर्लाकोटीले बताए।
कर्णालीमा पार्टीको उपस्थिति कमजोर बनेपछि रास्वपाले विशेष अभियान चलाउने पनि तयारी गरेको छ। गत साउन १० गते बसेको पार्टी केन्द्रीय समितिको बैठकले भदौको दोस्रो साता कर्णाली विशेष अभियान चलाउन लागेको हो।
त्यसको विस्तृत कार्ययोजना तयार पार्ने जिम्मा सहमहामन्त्री विपिनकुमार आचार्यले पाएका छन्। ‘उक्त अभियानमा पार्टी सभापति रवि लामिछाने पनि सहभागी हुनुहुन्छ,’ उनले भने।