नेकपा (एमाले) ले गुरू बराललाई उपाध्यक्षमा मनोनीत गरेको छ।
२०८० भदौ २६ गते उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि रिक्त रहेको पदमा बिहीबारको सचिवालय बैठकले बराललाई उपाध्यक्ष मनोनीत गरेको हो।
बराल मदन भण्डारी स्मृति प्रतिष्ठानका संस्थापक र अध्यक्ष छन्।
उनी लामो समयदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मानिन्छन्।
अध्यक्ष ओलीसँग वैचारिक मत मिल्ने हुनाले नै उनी जिम्मेवारी बाँडफाँटमा छुटाइँदैनन् भन्ने चर्चा एमालेभित्र हुने गर्छ।
२०७९ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा अध्यक्ष ओलीले बराललाई राष्ट्रपतिकै उम्मेदवार बनाउन चाहेका थिए।
एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन कायम रहँदा अध्यक्ष ओलीले उनको नाम पनि अघि सारेका थिए। तर राष्ट्रपतिको निर्वाचनमा पुग्दानपुग्दै एमाले र माओवादीको गठबन्धन भत्कियो। कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई अघि सारेपछि र माओवादी केन्द्रले सघायो। त्यसबेला पौडेलसँग प्रतिस्पर्धामा उत्रिएका थिए- सुवास नेम्वाङ।
बरालको उम्मेदवारी चर्चामै सीमित रह्यो। त्यसपछि उनलाई पार्टीको बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिइयो। गत असार ३१ गतेबाट बिहीबारसम्म बराल उक्त जिम्मेवारीमा थिए।
बरालले आफू २०२९ सालदेखि नै पार्टीमा क्रियाशील रहँदै आएको बताए। मोरङको दुलारीमा रहेको साजीलाल माध्यमिक विद्यालयको प्रारम्भिक कमिटीमा आबद्ध रहेका बराल २०३१ सालमा महेन्द्र बहुमुखी क्याम्पसको स्ववियूको सदस्यसमेत निर्वाचित भएका थिए।
त्यसपछि केही समय शिक्षक राजनीतिमा पनि आवद्ध भएको उनले बताए। तीसको दशकको अन्त्यतिर उनी नेपाल राष्ट्रिय शिक्षक संगठनको मोरङ जिल्ला सचिव थिए।
त्यसपछि पार्टी राजनीतिमा क्रियाशील बनेका बराल २०४४ सालमा नेकपा (माले) को मोरङ जिल्ला कमिटी सचिव थिए। २०४६ मा व्यवस्था परिवर्तनको आन्दोलन चर्कियो। त्यो आन्दोलनले पञ्चायती व्यवस्थाको अन्त्य गर्यो। त्यतिबेला उनी तत्कालीन कोशी अञ्चलको इञ्चार्ज थिए।
२०५० सालमा चितवनको दासढुंगाको दुर्घटनामा तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जिवराज आश्रितको निधन भयो।
२०५० मै उनले मदन भण्डारी स्मृति प्रतिष्ठान खोलेर संस्थापक बने। अहिले मदन भण्डारी संग्रहालयको प्रवर्द्धनमा पनि सक्रिय रहेको उनले बताए।
बरालसँग राजकीय जिम्मेवारीको अनुभव भने कम छ।
२०५१ सालमा मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यसबेला एमालेले अल्पमत सरकार बनाएको थियो। तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए।
त्यतिबेला एमालेले अघि सारेको ‘आफ्नो गाउँ आफैं बनाऊँ’ र वृद्ध भत्ता कार्यक्रमको वैचारिक आधार तयार पार्न भूमिका खेलेको बताउँछन्।
‘त्यतिबेला आफ्नो गाउँ आफै बनाउने विचारको प्रवर्तन गर्न भूमिका खेले। ज्येष्ठ नागरिक भत्ता सुरू गर्ने विचारमा पनि पृष्ठपोषण गर्ने काम गरेँ,’ उनले भने, ‘सामाजिक न्याय र आर्थिक समृद्धिका लागि राजनीतिको मियो सही दिशामा सवलीकरण गर्नुपर्छ भन्ने लागिरहन्थ्यो। जनसंख्यालाई जनशक्तिमा रुपान्तरण गर्न शिक्षामा सुधार, प्राविधिक र व्यावसायिक शिक्षा, प्रविधि र उद्यमशीलता जोडिएको प्रौद्योगिक शिक्षाको खाँचो औंल्याइरहेँ,’ उनले भने।
२०४९ सालदेखि लगातार पार्टी केन्द्रीय कमिटीमा रहेका बरालसँग संसदीय फाँटको अनुभव भने कम छ। २०५१ पछि उनी संसदीय फाँटमा छैनन्।
२०७८ माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा कोशीबाट उनको र कांग्रेसका उम्मेदवार गोपाल बस्नेतको मत बराबर (४ हजार ४८८) आएको थियो। चिट्ठा तान्दा बस्नेत निर्वाचित भए। त्यतिबेला आफ्नै पार्टीका सांसदबाट धोका भएको चर्चा पनि पार्टीभित्र चलेको थियो।
केन्द्रीय कमिटी सदस्य, पोलिटब्यूरो, स्थायी कमिटी हुँदै उपाध्यक्ष मनोनीत भएका बराल पार्टीको शिक्षा तथा मानव स्रोत विभागको प्रमुख रहिसकेका छन्।
अहिले उपाध्यक्ष मनोनीत गरिनुका पछाडि पार्टीको देश र जनताको हित प्रवर्द्धन गर्ने चिन्तन नै कारण रहेको उनले बताए।
‘राष्ट्रिय आवश्यकता, देश र जनताको हित प्रवर्द्धन, सबल संगठित र राजनीति हिसाबले सुदृढ बनाउने जिम्मेवारीका रुपमा मैले यसलाई लिएको छु,’ उनले सेतोपाटीसँग भने, ‘त्यही काममा दृढ संकल्पित छु।’
यो पनि: गुरू बराललाई उपाध्यक्ष मनोनीत गर्ने एमाले सचिवालय बैठकको निर्णय