नेकपा एमाले संसदीय दलका नेता लीला गिरी दोश्रो पटक लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ।
एमाले पोलिट्ब्युरो सदस्यसमेत रहेका गिरी यसअघि २०७९ पुष २७ गते पहिलो पटक लुम्विनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। नेकपा (माओवादी केन्द्र)को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका गिरीको उक्त कार्यकाल भने जम्मा १०७ दिनको रह्यो।
अहिले भने नेपाली कांग्रेससँँगको गठबन्धनमा मुख्यमन्त्री बन्दै छन्। असार १७ गते नयाँ समीकरण बनेका कारण १५ महिनापछि लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा गिरीको कमब्याक निश्चित भएको हो।
रूपन्देहीको क्षेत्र नं २ क बाट लुम्बिनी प्रदेश सभामा दोश्रोपटक निर्वाचित गिरी तत्कालिन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको नेतृत्व गरेका थिए।
गिरीलाई मुख्यमन्त्री बनाउन एमाले र कांग्रेसका नेताहरुले सोमबार दिउँसो १ बजे प्रदेश प्रमुख अमिक शेरचन समक्ष दाबी पेश गर्ने तयारी गरेका छन्।
माओवादीका जोखबहादुर महराले आइतबार राजीनामा बुझाएसँगै प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि सोमवार साँझ ६ बजे सम्मको समय सीमा दिएर आइतबार साँझ नै दाबी पेश गर्न आह्वान गरेका थिए।
प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ गरी ८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठुलो दलको रूपमा रहेको नेकपा (एमाले)सँग १८ जना प्रत्यक्ष र समानुपातिक ११ जना गरी २९ जना सांसद छन्। नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद छन्।
लुम्बिनी प्रदेशमा १० वटा दल र १ जना स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले दुई दल मिल्दा मात्रै पनि सरकार बनाउन प्रयाप्त बहुमत पुग्छ। नयाँ सत्ता समीकरणमा नागरिक उन्मुक्ति पार्टीका ४ जना, लोकतान्त्रीक समाजवादी पार्टीका ३ जना र जनता समाजबादी पार्टीका ३ जना गरी थप १० जना सांसद छन्।
यो पनि:
लुम्बिनी सरकारः ६ वर्षमा ५ मुख्यमन्त्री, भएन उल्लेखनीय काम