प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले गत असार १९ गते बालुवाटारमा मन्त्रीहरूलाई गीत सुनाए- यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले।
नेकपा (एमाले) का ८ जना मन्त्रीहरू पदबाट राजीनामा दिएर पत्र बुझाउन बालुवाटार पुगेका थिए। सोही मौकामा प्रधानमन्त्री दाहालले फत्तेमान राज भण्डारीको गीत गुनगुनाएर मन्त्रीहरूलाई सुनाएका थिए।
एमाले मन्त्रीहरूको राजीनामा बुझ्दै प्रधानमन्त्री प्रचण्डले यादव खरेलले लेखेको र फत्तेमान राजभण्डारीले गाएको गीतको हरफ 'यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले' सुनाएका हुन्।
गत असार १७ गते संसदका दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ समीकरणबाट सरकार बनाउनेलगायत सहमतिमा हस्ताक्षर गरेका थिए। लगत्तै एमालेले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिन भनेको थियो।
प्रधानमन्त्री दाहालले राजीनामा नदिएपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन लगाएको थियो।
यसबीचमा कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले पनि एमालेसँग भएका सहमतिलाई अनुमोदन गरेको थियो। कांग्रेसले पनि प्रधानमन्त्री दाहाललाई मार्गप्रशस्त गरिदिन आग्रह गरेको थियो।
तर प्रधानमन्त्री दाहाल संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभाबाट विश्वास मत लिनेतर्फ अघि बढे। यही असार २८ गते प्रधानमन्त्री दाहालले विश्वासको मत प्रस्ताव प्रतिनिधि सभामा राख्ने तयारी गरेका छन्। त्यो जानकारी सभामुख देवराज घिमिरेले आइतबार नै प्रतिनिधि सभामा जानकारी गराइसकेका छन्।
एमाले र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिएपछि दाहाल नेतृत्वको अहिलेको संघीय सरकार अल्पमतमा परेको छ।
अल्पमतमा परेको सरकारलाई प्रतिनिधि सभाका आइतबार र सोमबार बैठकमा बोल्ने सांसदहरूले बचाउ र आलोचना गरेका छन्। केही सांसदहरूले त गीतमार्फत् नै प्रधानमन्त्री दाहालको आलोचना र बचाउ गरे।
आइतबार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद सुनिल शर्माले पनि गीत सुनाए। कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनको सहमति भइसकेको अवस्था रहेको बताएका उनले रामकृष्ण ढकालको गीत संसद बैठकमा सुनाएका हुन्।
'गीतकार आनन्द अधिकारी र संगीतकार न्ह्यू बज्राचार्य र गायक रामकृष्ण ढकालको गीत छ', शर्माले भने, 'ओराली लागेको हरिणको चाल भयो, बाँचुञ्चेलसम्म पनि मरेकै हाल भयो, त्यो जोडी देख्दा सबैले भन्थे ईश्वरकै बर पाएको, माया त रहेछ धारिलो छुरा रेटिनै पर्यो नि!'
सांसद शर्माले यो गीत प्रचण्डलाई समर्पित गर्न चाहेको बताए।
सोमबारको प्रतिनिधि सभामा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पनि प्रधानमन्त्रीलाई गीतबाटै जबाफ फर्काए।
'म प्रधानमन्त्रीलाई अञ्जु पन्तको गीत स्मरण गराउन चाहन्छु', सांसद बर्तौलाले भने, 'तिमीले पराई ठानेपछि पराई हुनु के भयो र, तिम्रो मेरो बीचको नाता भन्नु पनि के रह्यो र।'
दाहाललाई प्रधानमन्त्रीमा पछिल्लो पटक एमालेलगायत दलले सहयोग गरेका थिए। एमालेले दाहाल सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा प्रतिपक्षी सिटमा बसिसकेको छ।
एमाले प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले सदवै सँगै रहने तर अर्को दाउपेचको प्रक्रियालाई जोडिरहने गरेको आरोप लगाए। 'हामी सरकारमा थियौँ, एमालेलाई एक्ल्याउने अवस्था भयो,' बर्तौलाले भने।
संसदमा गीतबाट प्रधानमन्त्री दाहालमाथि आलोचना हुन थालेपछि प्रधानमन्त्री दाहालको दल नेकपा (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले पनि गीतबाटै बचाउ गरे।
'मलाई पनि एउटा गीतको अन्तरा भन्न मन लाग्यो', सांसद घर्तीले कुन्ति मोक्तानले गाएको र शिलाबहादुर मोक्तानले संगीत भेरको गीत सुनाए, 'कति जल्छौँ आरिशले अझै जल्दै गर, म त हिँड्छु आफ्नै बाटो खुट्टा तान्दै गर।'
माओवादी सांसद घर्ती यतिमै रोकिएनन्। अर्को गीत पनि गाए। एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै उनले 'मुरलीधरले एउटा गीत गाउनु भएको छ- उडायो सपना सबै हुरीले भन्ने चरितार्थ नबनोस्,' भने।
असार १७ मा भएको सहमतिअनुसार पहिलो कार्यकाल ओली प्रधानमन्त्री बन्ने कांग्रेस र एमालेबीच सहमति छ।
संसदमा गीतबाटै सवाल जबाफ चलेपछि राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले व्यङ्ग्य कसिन्।
'आजकाल सदन रोचक भएको छ। कविता सुनिन्छ, गीत सुनिन्छ। कुनैदिन अगाडि नाच पनि हेर्न पाइएला,' उनले भनिन्।
नेकपा (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले केही दिन यता संसदमा दोहोरी चलेको टिप्पणी गरे। 'एउटाले आहान भनेको छ, अर्कोले गीत गाएको छ. गीत गाउँदैमा हाम्रो अवधि जाने हो कि!' उनले भने।
भिडिओ: