नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीमा विधि र पद्धतिको वकालत गर्छन्। विधि र पद्धतिको लय बिथोलिएको र त्यसको स्थान स्वेच्छाचारिताले ओगट्न थालेको भन्दै उनले नेकपा एमालेबाट विद्रोह गरे। त्यही विद्रोहको आलोकमा उनले एकीकृत समाजवादीलाई आकार दिएका हुन्।
तर तिनै अध्यक्ष नेपालले पार्टीको महाधिवेशनलाई नेतृत्व चयनमा खुला बनाउन सकेनन्। आफ्नो नेता आफै छान्ने प्रतिनिधिको सार्वभौम अधिकारलाई कुण्ठित तुल्याउँदै नेताले नै नेता छान्ने पुरानै विधिमा पार्टीलाई पुर्याएको प्रतिनिधिहरूले बताएका छन्।
एकीकृत समाजवादीले बिहीबार पार्टी अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत रूपमा छान्यो। कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा जारी दसौं महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाललाई सर्वसम्मत रूपमा छान्यो। सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भूसाललाई छान्ने सचिवालयको निर्णय पनि हलले अनुमोदन गर्यो।
दसौं महाधिवेशनअन्तर्गत् बन्द सत्रमा बुधबारसम्म दस्तावेजमाथि छलफल भएको थियो। बिहीबारबाट निर्वाचनका कार्यक्रम अगाडि बढाउने अध्यक्ष मण्डलले बताएको थियो। त्यसका लागि बुधबार रातिसम्म मतदाता नामावली सार्वजनिक गरिने भनिएको थियो। तर बिहीबार बिहान मात्रै मतदाता नामावली टाँसियो, १ हजार ८४७ जनाको।
बिहीबार दुई बजेबाट उम्मेदवारी दर्ता सुरू गर्ने निर्वाचन समितिले जानकारी दिएको थियो। तर मनोनयनको फारम वितरण सुरू गरिएन। बरु प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयको पूर्वतर्फको कोठामा पदाधिकारी तहका नेताहरू भेला भए। बैठक सुरू गरे।
दिनभरि सहमतिको प्रयास गरेपछि अध्यक्ष, सम्मानित नेता र महासचिव सर्वसम्मत रूपमा टुंग्याउन सकिएको एक पदाधिकारीले बताए।
त्यही नाम अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले बन्द सत्रको हलमा लगेर सुनाएका थिए।
'१२ वटै समूहको सुझावअनुसार हामीले केही पदमा सहमति गरेर यहाँ आएका छौं। म ती नामहरू यहाँ अनुमोदनका लागि राख्न चाहन्छु,' अध्यक्ष मण्डलका अध्यक्ष खनालले भनेका थिए, 'यी नामहरूलाई अनुमोदनका लागि अनुरोध गर्छु।'
उनले अध्यक्षमा नेपाल, सम्मानित नेतामा आफै र महासविचमा घनश्याम भूसालको नाम प्रस्ताव गरेका थिए। सिंगो हलले अनुमोदन गर्यो।
बाँकी पदाधिकारी र सदस्यहरूको प्रस्ताव सचिवालयले नै तयार पार्ने र शुक्रबार बिहान ११ बजे बन्द सत्रको हलमा पेस गर्ने उनले बताएका छन्।
एकीकृत समाजवादीले अवलम्बन गरेको यो विधि नेकपा (एमाले) सातौं महाधिवेशनभन्दा पनि पछाडि फर्किने प्रकृतिको देखिएको प्रतिनिधिहरूले सुनाए।
उनीहरूले एमालेको दसौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले नचाहँदा नचाहँदै पनि केही पदमा चुनाव भएको सम्झिए। अहिले महासचिव सर्वसम्मत चुनिएका घनश्याम भूसाल एमालेको दसौं महाधिवेशनमा उपाध्यक्षका प्रत्यासी थिए। त्यस्तै भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। दुवै जना पराजित भए। त्यति बेला अध्यक्षको ओलीको अनिच्छाका बाबजुद धेरै पदमा चुनाव भएको थियो।
एकीकृत समाजवादीको यो महाधिवेशन एमालेले अवलम्बन गरेको लोकतान्त्रिक विधिभन्दा पनि पछाडि फर्किने अवस्थामा पुगेको भन्दै प्रतिनिधिहरूले असन्तुष्टि जनाएका हुन्।
रामकुमारी झाँक्रीले फेसबुकमा स्ट्याटस लेखेर पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मलाई सर्वसम्मत गर्यौं भनेर प्रतिनिधिलाई घर पठाउने म्यान्डेट कसले दियो भनेर प्रश्न गरेकी छिन्।
'अध्यक्ष र महासचिव सर्वसम्मत गर्न म समेतको प्रयास सफल भएको हो। तर अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनाललाई पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म सर्वसम्म गर्यौं/भयो भनेर प्रतिनिधिहरूलाई घर पठाउने म्यान्डेट कसले दियो? को पदाधिकारी, को सदस्य, खै त खनाल कमरेड?,' झाँक्रीले प्रश्न गरेकी छिन्।
केन्द्रीय सदस्य गौतम राई पनि महाधिवेशन नेतृत्वमा को रहने भन्ने रस्साकस्सीमै केन्द्रित रहेको बताउँछन्। पार्टी पद्धति बदल्न नसकेको वरिपरि नै दृश्य देखिएको उनको तर्क छ।
'हामीले विद्रोह गरेर यता आइसकेपछि पार्टीभित्रका समस्याहरू ज्युँका त्युँ नै थिए। विभिन्न प्रकारका अन्तरविरोधहरू, विभिन्न प्रकारका अन्तरद्वन्द्वहरू जारी नै थिए। त्यसो हुँदो त्यो अवस्थाबाट पार्टीका नयाँ ऊर्जा थप्न, नयाँ विधि र पद्धति स्थापना गर्न यो महाधिवेशन कोशेढुंगो हुन्छ भन्ने धेरैको अपेक्षा थियो। तर महाधिवेशन नेतृत्वमा को रहने भन्ने मात्रै केन्द्रित रह्यो। हामीलाई पार्टी पद्धतिलाई बदल्न नसकेको वरिपरि नै दृश्य देखिन्छ,' उनले भने, 'किनभने यो महाधिवेशनबाट हामीले समजवादी कार्यक्रम ल्यायौं भन्दैछौं। संगठनात्मक सिद्धान्त नयाँ ढंगले विकास गर्यौं भन्दैछौं। त्यो कति नयाँ, कति सान्दर्भिक, कति सार्थक छ भनेर भविष्यमा कठघरामा उभिने नै छ।'
एकीकृत समाजवादीको जारी महाधिवेशनले विधान अधिवेशनको म्यान्डेट विपरीत कमिटीको आकार बढाउने तयारी गरेको छ। यद्यपि अध्यक्ष मण्डलले हलबाट भने सोको म्यान्डेट लिएको छैन। सचिवालयलाई कमिटीको प्रस्ताव ल्याउन बन्द सत्रको हलले अनुमति दिइसकेकाले सोही अनुसार सचिवालयले टुंग्याउने अनुमान प्रतिनिधिको छ।
पार्टी संरचना सोली (नेता धेरै, कार्यकर्ता थोरै) जस्तो भयो भनेर केन्द्रीय कमिटीको आकार घटाउने निर्णय गरेको थियो। विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने र केन्द्रीय अध्यक्षदेखि सदस्यसम्म आ-आफ्ना भूगोलबाट प्रतिनिधि चुनिएर आउनुपर्ने निर्णय गरेको थियो। २५ देखि ४० वर्षसम्मको २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउने निर्णय गरेको थियो।
राष्ट्रिय प्रतिनिधि परिषद बैठकले समेत पारित गरेको यो निर्णय सचिवालयले उल्ट्याएको प्रतिनिधिहरूले बताएका छन्। युवाको उमेर समूह बढाएर ४५ वर्ष पुर्याइएको छ। केन्द्रीय कमिटीको आकार २१ पदाधिकारीसहित २९९ सदस्यीय बनाउने निर्णय सचिवालय बैठकले गरिसकेको छ। सचिवालय बैठकले नै केन्द्रीय सदस्यहरू तलबाट चुनिएर प्रतिनिधि आउने निर्णय उल्ट्याएको थियो।
केन्द्रीय कमिटीको आकार अझै बढ्न सक्ने प्रतिनिधि बताउँछन्। यद्यपि महाधिवेशनको बन्द सत्रको हलमा प्रस्तुत नगरिएकाले यसै भन्न नसकिने उनीहरूको भनाइ छ।
पदाधिकारीमा पुरानै अनुहार
एकीकृत समाजवादीको पदाधिकारीमा पुरानै अनुहार आउने सम्भावना रहेको एक नेताले बताए। ती नेताका अनुसार सुरूमा घनश्याम भूसालले वरिष्ठ उपाध्यक्ष मागेका थिए। उनले प्रकाश ज्वालालाई महासचिवमा व्यवस्थापन गर्नुपर्ने माग पनि अघि सारेका थिए।
तर सचिवालयका नेताहरूले उनलाई महासचिव नै बन्न आग्रह गरेपछि प्रकाश ज्वाला उपमहासचिव नै बन्ने सम्भावना रहेको ती नेताले बताए।
राजेन्द्र पाण्डे वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना छ। केशवलाल श्रेष्ठ, जयन्ती राई, बेदुराम भूसाल, घनेन्द्र बस्नेत, प्रमेश हमाल, लगायत नेताहरूलाई उपाध्यक्ष बनाउने तयारी छ। जगन्नाथ खतिवडा, विजय पौडेल, गंगालाल तुलाधर लगायत नेताहरू उपमहासचिव बन्नेछन्। राजेन्द्र राई, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, नागेन्द्र चौधरी सचिव नै बन्ने सम्भावना रहेको एकीकृत समाजवादीका नेताले बताए।