प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूलाई लाग्दै आएको अस्थिरताको आरोपको खण्डन गरेका छन्।
प्रधानमन्त्री प्रचण्डले १५ महिनामा तीनपटक गठबन्धन परिवर्तन गरे। नेकपा (एमाले) सँगको उनको सहकार्यको कडी गत फागुन २१ गते जोडिएको हो।
त्यसयता उनले फेरि उथलपुथल गर्ने बताउँदै आएका छन्। उनले जीवन पर्यन्त उथलपुथल गरिरहने पनि बताएका छन्।
उनको त्यस्तो अभिव्यक्तिलाई अस्थिर मनोवृत्तिको द्योतकको रूपमा बुझेका छन्।
आइतबार एकीकृत समाजवादीको दसौं महाधिवेशनको उद्घाटनमा शुभकामना दिन पुगेका प्रधानमन्त्री प्रचण्डले जमेर प्रतिवाद गरे।
एकीकृत समाजवादीले राजनीतिक दस्तावेजमा आफूलाई अस्थिर भनेको प्रचण्डको अभिव्यक्ति थियो त्यसको जवाफ दिँदै उनले अस्थिरतालाई गतिशीलताको रूपमा व्याख्या गरे। आफूबारे प्रचण्डले यो व्याख्या अक्सर गरिरहन्छन्।
‘मैले तपाईंहरूको दस्तावेज पूरै पढ्न त भ्याएको छैन। तर तपाईंहरूले विभिन्न राजनीतिक दलहरूको मूल्यांकन गर्दा हामीलाई अलि नजिकको मित्र पनि भन्नु भएको छ। साथसाथै अलि बढी अस्थिर भन्नुभएको छ। तपाईंहरूको त्यो भन्ने अधिकारमाथि म प्रश्न उठाउन चाहन्न। हरेक पार्टीले अर्को राजनीतिक दृष्टिकोण आफ्नो बनाउन जरुरी पनि छ। तपाईंहरू बनाउनूस्, जे बनाउन मन लाग्छ, त्यो तपाईंहरूको अधिकार क्षेत्रको कुरा हो। तर म यति त भन्छु। आज नेपाल संविधान सभामा गयो, संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो, शान्ति प्रक्रिया भयो, संवृद्धिको प्रक्रिया चलिरहेको छ, प्रचण्ड अस्थिर नभएको भए हुँदैनथ्यो,’ उनले प्रतिवाद गर्दै भने।
उनले प्रचण्ड अस्थिर नभएको भए जनयुद्ध पनि नहुने र अहिलेको परिवर्तन पनि नआउने जिकिर गरे।
‘प्रचण्ड अलि अस्थिर (इन्भर्टेड कमाको अस्थिर है! साँच्चैको अस्थिर होइन है) नभएको भए शान्ति सम्झैता पनि हुँदैनथ्यो, तपाईंहरूको दृष्टिकोणअनुसारको अस्थिर नभएको भए यो प्रक्रियामा हामी यहाँ आइ पनि पुग्दैन थियौं,’ उनले भने।
उनले यो परिवर्तन निम्त्याउने गतिशील पात्र अरू कोही छ भन्दै प्रश्न पनि गरे। र, गतिशीलताको लामो व्याख्या गरे।
‘गतिशीलता भनेको के हो? द्वन्द्वात्मक भौतिकवाद; हरेक चिज परिवर्तनको प्रवाहमा हुन्छ प्रक्रिया भन्ने कुरा के हो? किलोजस्तो एक ठाउँमा ठोक्किएर बसिराख्नु मार्क्सवाद हो कि? जमेको पानी पोखरीजस्तो मार्क्सवाद हो कि गडगडाउँदो नदीजस्तो भएर हुर्रिएर बग्ने मार्क्सवाद हो? तपाईं सबैले यो कुरालाई विचार गर्नुपर्छ। मार्क्सवाद जमेको पोखरीजस्तो एउटा कुरा भनेपछि भनेको भन्दै गर्ने होइन, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर परिस्थितिअनुसार अगाडि बढ्ने मार्क्सवादी हो,’ उनको तर्क थियो।
उनले नेकपा (माओवादी केन्द्र) मात्र नभई माओवादी आन्दोलनबाट आएका नेताहरू एकै ठाउँमा बस्न नरुचाउने बताए। उनले विप्लवतिर देखाउँदै भने, ‘यहाँ विप्लवजी पनि हुनुहुन्छ, एक ठाउँमा बस्ने भन्ने हुँदैन हाम्रो, हामी दौडिराखेका छौं,’ उनले भने।
यो प्रवृत्ति सही हो कि गलत भनेर अहिलेको परिवर्तनको आँखाबाट मूल्यांकन गर्नुपर्ने उनको तर्क थियो।
‘यो सही थियो कि गलत हो भनेर मूल्यांकन कसरी गर्ने एउटा सवाल छ। त्यो दौडाइबाट नेपाली समाज अगाडि बढ्यो, सामन्ती निरङ्कुशतन्त्रबाट देश लोकतान्त्रिक गणतन्त्रमा गयो भने त्यो गतिशीलता हो, अस्थिरता होइन,’ उनले तर्क पेश गरे।
युद्धबाट शान्तिमा देश आयो भने त्यो गतिशीलता भएको र अस्थिरता, अराजकता नभएको उनको भनाइ थियो।
संविधान सभाबाट देशका सबै जाति, लिंग, उत्पीडित, उपेक्षितहरूले पहिचान र अधिकार प्राप्त गरे भने त्यो गतिशीलता भएको र अस्थिर नभएको उनको भनाइ छ।
जे गतिशील र द्वन्द्वात्मक चिज हो, जसले परिवर्तनलाई आत्मसात गर्यो, त्यसलाई अस्थिरताको आरोप लगाउँदा जड्तामा फस्ने खतरा हुने औंल्याए।
‘जसलाई सम्मान गर्नुपर्ने हो उसलाई अपमानित गरियो भने त राम्रो कुरा हुँदैन नि! महाधिवेशनमा बहस गर्नुहोला,’ उनले भने।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तयार पारेको राजनीतिक परिवर्तनमा सशस्त्र द्वन्द्वको सञ्चालनदेखि शान्तिप्रक्रिया हुँदै आहिलेसम्म आउँदा माओवादी केन्द्र रूपान्तरणको प्रक्रियाबाट गुज्रिएको उल्लेख छ। नेकपाको विभाजनपछि फेरि माओवाद अँगालेको हुँदा यो पार्टी स्वयं सैद्धान्तिक अन्यौलमा फसेको तर्क गरिएको छ।
‘माओवादी केन्द्र जनवादी क्रान्तिका उपलब्धीहरूको रक्षा गर्न प्रतिवद्ध देखिन्छ। समाजवादी मोर्चामा हामी सँगै छौं,’ दस्तावेजमा भनिएको छ।
प्रचण्डले दस्तावेजको प्रसंग निकालेर प्रतिवाद गरेपछि महासचिव घनश्याम भूसालले माओवादी आन्दोलनको ऐतिहासिक पक्षको चर्चा गरेको बताएका थिए।
‘प्रधानमन्त्रीज्यू मैले उत्तर दिन खोजेको त होइन, मेरो स्पष्टीकरण मात्रै हो। पार्टी र पार्टीको दस्तावेजको तर्फबाट। हामीले असाध्यै ऐतिहासिक निष्कर्ष निकालेका छौं। तपाईंको आन्दोदनको मूल्यांकन पनि हामीले गरेका छौं। हामीले भनेका छौं। लेखेको छौं। नयाँ जनवादले नेपालको राजनीतिकलाई वर्गमा लग्यो। जनताको बहुदलीय जनवादले अहिलेका प्रचलित लोकतान्त्रिक मूल्यहरूसँग सघन बनायो। जनयुद्धले वाम आन्दोलनलाई यहाँका विविधता र वास्तविकतासँग परिचित गरायो। प्रचारात्मक तहमा रहेका गणतन्त्रलाई क्रियात्मक तहमा पुर्यायो,’ उनले भनेका थिए।