नेकपा (एमाले) सँग विभाजन भएपछि २०७८ भदौ २ गते निर्वाचन आयोगमा दर्ता भएको पार्टी हो- नेकपा (एकीकृत समाजवादी)।
पार्टी निर्माणको झन्डै तीन वर्षपछि काठमाडौंमा समाजवादीले पहिलो महाधिवेशन गर्दैछ।
यद्यपि आफ्नो पार्टी पनि २००९ सालमा गठन भएको नेकपाकै निरन्तता भएको भन्दै यो पार्टीले आउँदो महाधिवेशनलाई पार्टीको दसौं महाधिवेशन भनेको छ। महाधिवेशन आइतबारबाट सुरू हुनेछ भने असार २० गतेसम्म चल्नेछ।
एकीकृत समाजवादीमा अहिलेसम्म स्पष्ट प्रत्यासीका रूपमा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भूसाल देखिएका छन्। तथापि नेताहरूले सहमतिबाटै नेतृत्व चयन हुने बताइरहेका छन्।
नयाँ नेतृत्व विकासको अवसरका रूपमा समेत रहेको यो महाधिवेशनलाई सो पार्टीका युवा नेताहरूले भने कसरी हेरेका छन्? हामीले एकीकृत समाजवादीका केही प्रतिनिधि युवाहरूसँग कुराकानी गरेका छौं।
आरती लामा अध्यक्ष, अनेरास्ववियू
हामी दसौं महाधिवेशनको संघारमा छौं। २०६२-०६३ को जनआन्दोलनको उपलब्धी मात्र होइन, हामीले गरेको विद्रोह र त्यसका कार्यभारहरूलाई संस्थागत गर्ने बेला पनि हो यो।
नेपालको वामआन्दोलन अहिले समग्रतामा नयाँ चरणमा प्रवेश गरेको छ।
२०६२/०६३ को जनवादी क्रान्ति सम्पन्न भएपछि नेपाली समाजले समाजवादी आन्दोलनको बाटो समातिसक्नुपर्ने थियो। तर वामपन्थीहरू बीचको असमझदारी त्यतातर्फ जान ढिलाइ हुँदै आयो। यसर्थ अब हामीले नयाँ अर्थात् समाजवादी आन्दोलनको सूत्रपात गर्नुपर्नेछ।
२०७२ मा हामीले नयाँ संविधान जारी गर्यौं। वास्तवमा त्यो परिवर्तनको एउटा अभूतपूर्व कडी बन्यो। जसको प्रस्तावनामै समाजवादउन्मुख व्यवस्था उल्लेख छ। त्यसकारण अबको हाम्रो दायित्व समाजवादको आधारशीला तयार गर्ने हो। अबको क्रान्तिको बाटो भनेको समाजवादी क्रान्तिको बाटो हो भनेर त्यस अर्थमा भन्न खोजिएको हो ।
नेपालमा अहिलेसम्म विभिन्न क्रान्तिहरू सम्पन्न भए। तर ती संस्थागत हुन सकेनन्। तिनले वैचारिक रूपरेखा तयार पार्न सकेनन्। राजनीतिक, वैचारिक आधारहरू तयार पार्न नसक्दा उपलब्धीहरू गुम्ने खतरा देखिन थाल्यो हामीले लडेर ल्याएको परिवर्तन हाम्रै हातबाट खोसिने अवस्था बन्ने हो कि भन्ने आशंकासमेत बढेको छ।
अतः हाम्रो पार्टी यो महाधिवेशनले समाजवादी क्रान्तिको रूपरेखा तयार पार्ने जस्तो ऐतिहासिक काम सम्पन्न गर्दैछ। एक हिसाबले भन्दा अहिलेको हाम्रो महाधिवेशन नेपाली क्रान्ति र कम्युनिष्ट आन्दोलनको एउटा ‘डिपार्चर’ नै बन्दछै। समाजवादी क्रान्तिको कोशेढुगा बन्दैछ।
यो महाधिवेशनले मुलतः कम्युनिस्ट आन्दोलनको दिशाहीनता चिर्नेछ। वैचारिक मार्ग निर्देशन गर्नेछ। वैज्ञानिक समाजवादको बाटो समात्न निर्णायक भूमिका खेल्नेछ।
दोस्रो, यो महाधिवेशनले हाम्रो आफ्नै यात्राबारे पनि निर्मम समीक्षा गर्नेछ। हाम्रो विद्रोह, अलग यात्राको सान्दर्भिकता र औचित्य पुष्टि हुँदाहुँदै पनि हामीले राष्ट्रिय पार्टीको आकार लिन सकेनौं। यसको निर्मम र वस्तुपरक समीक्षा गरेर पार्टी–आन्दोलनमा देखापरेका कमीकमजोरीको निराकरण गर्नेछौं। हामीले यसबीचमा गरेका गतिविधि, पार्टी निर्माणको सिंहावलोकन पनि गर्नेछौं।
यो महाधिवेशनले युवाको प्रतिनिधित्व बढाउनेछ। अहिलेकै अवस्थामा केन्द्रीय कमिटीमा २० प्रतिशत युवाको प्रतिनिधित्व सुनिश्चित हुँदैछ।
तर यो आकार र हैसियतले मात्र कम्युनिस्ट आन्दोलन ऊर्जावान् हुँदैन। यसले हस्तक्षेप र समाज परिवर्तनको अगुवाइ गर्न सक्दैन। हामीले पार्टीको संरचनामा अझ युवाको प्रतिनिधित्व बढाउनुपर्नेछ। उनीहरूलाई राजनीतिक, वैचारिक र कार्यक्रमिक हिसाबले प्रशिक्षित र तीक्ष्ण तुल्याउँदै समाज परिवर्तनमा अहम् भूमिका खेल्न सक्ने बनाउनुछ।
नीति र नेतृत्वमा उनीहरूको सशक्त भूमिका अहिलेको आन्दोलनले अपेक्षा गरेको छ यसलाई पूर्ति गर्नका निम्ति तदनुरूपको नेतृत्व निर्माण गर्नु नै अहिलेको आवश्यकता हो।
गौतम राई केन्द्रीय सदस्य, एकीकृत समाजवादी
महाधिवेशनका लागि गर्नुपर्ने सबै तयारी पूरा भएको छ।
नीतिगत तयारी पनि पूरा भएको छ। केन्द्रीय कमिटीको बैठकले पारित गरेर चार वटा प्रतिवेदन (राजनीतिक, सांगठनिक, नेपाली विशेषको समाजवादको कार्यक्रम, र विधान संशोधन) तल पठाएका छौं। त्यसमा आधारित भएर घनिभूत छलफल भएको छ।
जिल्ला तहसम्म भएका छलफलहरूलाई केन्द्रीय समितिमार्फत् एकीकृत गरेर सुझावको रूपमा प्रतिनिधिहरूको बीचमा पठाइएको छ। पार्टी केन्द्रीय सदस्यहरूले प्रतिनिधिबाट आएका सुझावका आधारमा आ–आफ्नो राय प्रस्तुत गर्नुभएको छ। त्यसैका आधारमा दस्तावेजहरू प्रस्तुत गरिनेछ।
नेपालको कम्युनिस्ट आन्दोलन २००६ सालमा स्थापना भयो। त्यसयतादेखि नेकपाले २०६२/०६३ को आन्दोलनसम्म जनवादी क्रान्तिकै वकालत गर्दै आयो। नेपाली कम्युनिस्ट आन्दोलनले नेपाली क्रान्तिको बाटो भनेकै जनवादी क्रान्ति हो भनेर व्याख्या–विश्लेषण गर्यो।
२०३६, २०४६ र २०६२–०६३ सालको परिवर्तनमा आधारभूत क्रान्तिको दिशा जनवादी क्रान्तिकै थियो। २०६२/०६३ सालको आन्दोलनलाई जनवादी क्रान्तिकै एउटा रूप मान्नुपर्छ भन्ने निष्कर्षमा हामी सबै पार्टी पुगिसकेका छौं।
नेकपा (एमाले), माओवादी केन्द्रमात्र होइन एकीकृत समाजवादीलगायत सबै घटकहरू २०६२÷०६३ को आन्दोलनमार्फत् जनवादी क्रान्ति आधारभूत रूपमा पूरा भएको मान्न सहमत भएका छौं।
अबको समाजवादी क्रान्तिको बाटो के हुन्छ भनेर कुनै पनि पार्टीले औपचारिकरूपमा आफ्ना दस्तावेजमार्फत् खाका दिन सकेका छैन्। एक किसिमले भन्दा बाटो देखाउन सकेका छैनन्।
गएको दुई दशकदेखि कम्युनिस्ट आन्दोलनमा एउटा अलमल नै देखिन्छ। समाजवादको अमूर्त नाराहरू लाग्ने तर त्यो प्राप्तिको बाटो वा दिशा के हो? कुन वैचारिक पक्षधरताले त्यसको बहन गर्छ? त्यसको कार्यक्रम के हो?त्यसलाई हामीले कसरी कार्यसम्पादन गर्छौं भन्ने कुराचाहिँ तय भएको छैन।
चाहे त्यो एमालेको दसौं महाधिवेशन होस् वा गएको माओवादी केन्द्रको आठौं महाधिवेशन। कसैले पनि तय गर्न सकेन।
माओवादीको त्यो महाधिवेशनले पनि समाजवादमै जाने हो चाहिँ भन्यो तर कसरी जाने? आजको हाम्रो समाजको प्रधानअन्तरविरोध के हो? हामीले कसका विरूद्ध लड्ने? कसका विरूद्ध संघर्ष गर्ने? कसको पक्षधरता लिने? जस्ता कुराहरू किटान गरेन। त्यसको कार्यक्रम पनि बनाउन सकेन।
नेकपा (एमाले) ले त त्यो बनाउने कुरै भएन।
एमालेले त अहिले पनि २०४९ सालमा मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादकै आलोकमा समाजवादी क्रान्तिको आधार तयार पार्ने भनिरहेको छ। तर जबज त जनवादी क्रान्तिकै एउटा कार्यक्रम थियो। उनीहरूले जनवादी क्रान्तिकै आधारमा समाजवादी कार्यक्रम बनाउने भन्ने कुरा आफैमा अमिल्दो छ।
एमाले त वैचारिक संकट र अन्तरविरोधको अवस्थामा छ। त्यसो हुँदा नेपालको कम्युनिस्ट आन्दोलनसँग जोडिएका यत्तिका धेरै पार्टी छन्। घटकहरू छन्। उनीहरूसँग बाटो छैन। बाटो नपाएर अलमलिएका छन्।
अहिले समाजवादी पार्टीको मात्रै होइन कि, सिंगो कम्युनिस्ट आन्दोलनका लागि समाजवादी क्रान्तिको बाटो चाहिएको छ। कार्यदिशा चाहिएको छ। क्रान्तिको कार्यक्रम चाहिएको छ।
त्यसो हुँदो एकीकृत समाजवादीले दसौं महाधिवेशनबाट त्यो बाटो तय गर्दैछ। समाजवादी कार्यदिशाको बाटो तय गर्र्दैछ। समाजवादी कार्यक्रम प्रस्तुत गर्छ। कार्यक्रममा हाम्रा आफ्नै रूपरेखा हुनेछन्। यसरी–यसरी समाजमा जान्छौं। यसरी–यसरी अन्तरविरोधहरूमा संघर्ष गर्छौं। यस्तो गरेर हामी सिंगो समाजलाई समाजवादतर्फ अभिमूखीकरण गर्छौं भन्ने प्रकारको हाम्रो आफ्नो कार्यभार यो दसौं महाधिवेशनले सम्पन्न गर्नेछ।
एकीकृत समाजवादीको दसौं महाधिवेशनले देखाउने बाटो भनेको केवल एकीकृत समाजवादीको कार्यक्रम होइन, सिंगो कम्युनिस्ट आन्दोलनका लागि देखाइने एउटा बाटो हो।
त्यसो हुँदा यो महाधिवेशन ऐतिहासिक हुनेछ। यो विशेष हुनेछ। यो महाधिवेशनले सिंगो कम्युनिस्ट आन्दोलनको दिशा तय गर्नेछ। समाजवादी क्रान्तिको एउटा मोडल दिनेछ।
हाम्रो दस्तावेज, महाधिवेशन र त्यसले पारित गर्ने कार्यक्रम विशेष हुनेछन्।
महाधिवेशन सम्पन्न गर्ने परम्परागत जे तौरतरिका छन्, त्योभन्दा भिन्न तरिका हाम्रो हुँदैन। दस्तावेजमाथि छलफल हुनेछन्, तिनलाई पारित गरिनेछ। नेतृत्व चयनमा पनि लोकतान्त्रिक विधि जे भनिन्छ, त्यहीअनुसार नै हामी अगाडि बढ्नेछौं।
नेतृत्व चयनका सन्दर्भमा हामीबीच ठूलाखाले अन्तरविरोध छैनन्। सामान्य अन्तरविरोध छन्। जीवन्त पार्टीमा ती स्वाभाविक हुन्। नेतृत्व, पदाधिकारी, केन्द्रीय कमिटीमा आकांक्षीहरू देखिनुभएको छ।
उहाँहरूले ‘म चुनाव लड्छु’, ‘म जित्छु’ भन्ने भन्दा पनि सहमतिकै बाटोबाट नेतृत्व निर्माण गर्र्छाैं भनिराख्नुभएको छ।
नेपालको राजनीतिक इतिहासमै पहिलोपल्ट एकीकृत समाजवादीले विधानमै युवाको सहभागितालाई सुनिश्चित गरेको छ, जुन आजसम्म नेपालका कुनै पनि पार्टीले गरेका छैनन्।
गएको दोस्रो राष्ट्रिय प्रतिनिधि परिषद् र सातौं केन्द्रीय कमिटीको बैठकबाट हामीले ४० प्रतिशत युवालाई केन्द्रीय कमिटीमा प्रतिनिधित्व गराउन माग गरेका थियौं।
परिषद्को बैठकसम्म पुग्दादेखि कम्तीमा २० प्रतिशतमा रहने व्यवस्था गरेका छौं। परिषद् बैठकबाट निर्णय गराएका छौं। कम्युनिस्ट आन्दोलनका लागि नभई सम्पूर्ण पार्टीहरूको जीवनका लागि यो ठूलो परिघटना हो।
कि कुनै पनि पार्टीले आफ्नो विधानमै निश्चित प्रतिशत तोकेर युवाहरू सहभागिता गराउने भनेका छैनन्। हामीले यो काम गरेका छौं।
विचार, कार्यक्रम, कार्यदिशाका हिसाबले एकीकृत समाजवादी नयाँ दिशामा गयो। त्यतिमात्र होइन, प्रतिनिधित्वका हिसाबले पनि एकीकृत समाजवादी नयाँ दिशामा गएको छ भन्ने सन्देश दिन सकेका छौं।
२९९ को केन्द्रीय कमिटीमा ६० जना युवा केन्द्रीय कमिटीमा रहनेछन्। यो क्रान्तिकारी परिवर्तन हो। यसले युवाहरूले मात्रै ऊर्जा प्राप्त गर्ने छैनन् कि, पार्टी आन्दोलन स्वयंले ऊर्जा प्राप्त गर्नेछ।
यसले के संकेत गरेको छ भने नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्ने जुन पुस्ता थियो, त्यो पुस्तालाई हामीले सम्मान गर्दै समाजवादी क्रान्ति गर्ने अर्को एउटा पुस्ता हामीले खडा गर्नेछौं।
समाजवादी क्रान्तिको नारा, आवाज, बाटो र आन्दोलन उठान गर्ने एउटा सिंगो पुस्तालाई हामीले पार्टीमा निर्माण गर्दैछौं।
यसले चाहिँ पार्टी जीवनमा नयाँ खालको रक्तसञ्चार गर्ने हामीले अपेक्षा गरेका छौं। पार्टीको नेतृत्व तहमा पनि विभिन्न खालका नेताहरूको मागदाबी रहँदै आएका छन्। पार्टी अध्यक्ष, सम्मानित नेता, पार्टी महासचिवज्यूको दाबी रहँदै आएको छ।
उहाँहरूका बीचमा विभिन्न खालको छलफलहरू चलिरहेका छन्। उहाँहरूका बीचमा पनि सहमतिमै नेतृत्व चयन गर्ने समझदारी जुटेको छ। मलाई लाग्छ, त्यो छलफल, त्यो सहमतिले पार्टीमा नयाँ, नयाँअनुहार, नयाँ विचार दिन सक्यो भने त्यसले पार्टीलाई साँच्चै अगाडि बढाउनेछ।
समाजवादी क्रान्तिको नयाँ विचार, नयाँ कार्यदिशा र नयाँ कार्यक्रम दिनेछौं भनेर भन्दै गर्दा नेतृत्व पनि नयाँ दिन सक्दा एकीकृत समाजवादी पार्टी वास्तविक नयाँ हुनेछ। हामी युवाले पनि त्यही तयारी गर्दैछौं। यो विचार र दृष्टिकोणलाई पार्टीभित्र जबरजस्ती स्थापित गर्दैछौं।
यो दिनसम्म आइपुग्दा पार्टीका अध्यक्ष सम्मानित नेताहरूले आफ्नो सिंगो पार्टी, आन्दोलन, क्रान्तिलाई दिनुभयो। अब उहाँहरूले यो पार्टी, आन्दोलन नयाँ पुस्तालाई हस्तान्तरण गर्ने हो। अर्को पुस्तालाई हस्तान्तरण गर्ने हो। त्यसो हुँदा नेतृत्व हस्तान्तरण हुनेछ भन्नेमा पनि हामी विश्वस्त छौं।
सुदेश पराजुली, केन्द्रीय सदस्य
महाधिवेशनको प्रतिनिधि चयनलाई अन्तिम रूप दिनका निम्ति उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा शुक्रबारसम्म बैठक बसेको थियो। सबै प्रतिनिधिको टुंगो लागेको छ। दुई प्रतिशत स्थानमा विवाद भएको छ। यसको निरूपण हुनेछ।
राजनीतिक विचारका हिसाबले पार्टीमा अभूतपूर्व देखिएको छ। एउटै दस्तावेज आएको छ। त्यसमा विस्तृत र विहङ्गम छलफल भएको छ।
यहाँहरूलाई भनौं, हामीले यसलाई दसौं महाधिवेशन भनेका छौं तर समाजवादमा जाने यो पहिलो महाधिवेशन हो। यो महाधिवेशनले तीनवटा कार्यभारलाई अघि बढाउने विश्वास लिएका छौं।
पहिलोः हामीले किन विद्रोह गर्यौं? विद्रोह के थियो? यसबारे सुसूचित गर्नेछौं र अनुमोदन गर्नेछौं। दोस्रोः विद्रोह गर्दाको विचार के थियो? कुन दिशामा जान खोजेका थियौं? कुन परिस्थितिमा कुन मनोदशाका साथ हामीले विद्रोह गरेका थियौं? यी विविध विषयमा हामीले घनिभूत छलफल गर्नेछौं र विद्रोहको विचारलाई अनुमोदन गर्नेछौं।
तेस्रो विद्रोह गर्ने मूल नेतृत्व सहितको थियो? त्यो नेतृत्वलाई अनुमोदन गर्ने गरी हामी महाधिवेशनमा जाँदैछौं।
यो महाधिवेशन कम्युनिस्ट आन्दोलनको विचारको केन्द्र रुपमा स्थापित गर्ने, समाजवादमा जाने मुद्दा, दृष्टिकोण र सैद्धान्तिक आयामका रूपमा महाधिवेशनका रूपमा केन्द्रित हुँदैछ।
सम्पूर्ण वामपन्थी दलहरू, समाजवादलाई मान्ने पार्टीहरूको केन्द्रीकृत विचारको अगुवाइ गर्ने पार्टीको रूपमा हाम्रो पार्टीलाई लिएको छ।
हुन त अहिलेक कम्युनिस्ट आन्दोलन पुस्तान्तरणको चर्चा पनि सुनिन्छ। यो मार्क्सवादी दृष्टिकोणबाट अमिल्दो कुरा हो। बरु हस्तान्तरण भन्ने कुराचाहिँ सुहाउँदिलो हुनसक्छ।
कम्युनिस्ट पार्टी त प्रतिस्पर्धा, संघर्ष, सहमतिमार्फत् चुनिएर, प्रतिनिधिहरूबाट चुनिने पो हो त। पुस्तान्तरण त कुलीन, राजकीय भाषा हो। कम्युनिस्ट पार्टीमा हुनैसक्दैन। नेतृत्व हस्तान्तरण हुन सक्ला। हामी त विद्रोहको जगमा खडा भएका शक्ति हौं। हिजो हामीले देख्यौं नि नयाँ पुस्ताका नेताहरू त विद्रोहमा जान डराए।
पुरानै पुस्ताका नेताहरूले आँट देखाउनु भयो। अतः हामी नेपालको कम्युनिस्ट आन्दोलनमा विचारका हिसाबले नयाँ उचाइमा पुर्याउँछौं। नेतृत्वका हिसाबले पनि नयाँ ढंगले लिएर जाने नेतृत्वलाई अनुमोदन गर्छौं। त्यो अहिलेको आवश्यकता हो। पुस्तान्तरण त कुलीन शब्दकोषको अंग हो। सम्भावना छैन।
हाम्रो यो महाधिवेशनको मूल मर्म भनेकै दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौं, समाजवादको दिशामा लागौं भन्ने नै हो। पहिलो कार्यभार समाजवादको आधार तयार पार्नु हो। समाजवादी शिक्षा के हो? त्यसको जागरणका लागि कसरी लाग्छौं? नेतादेखि कार्यकर्तासम्मलाई बुझाउन जरुरी छ।
प्रथमतः समाजवाद भनेको मानिसलाई मानिस बनाउने विचार पद्धति हो। अर्को कुरा, योग्यताअनुसारको काम, कामअनुसारको पारिश्रमिकको जरुरी हुन्छ। योग्यलाई काम देऊ, परिश्रमअनुसारको मूल्य देऊ भनेर राज्यलाई त्यता लैजाने हो।
अहिले हामीले योग्यलाई काम पनि दिन सकेका छैनौं। दाम पनि दिन सकेका छैनौं। त्यसो हुदाँ योग्यहरू मुलुकै छाडेर जाने परिस्थिति बनेको छ। राष्ट्रिय पुँजीको विकास गर्ने हो भने यी जनशक्ति नेपालमै राख्नुपर्यो। सरकार सम्पूर्ण अंगहरूमा समाजवादीकरण गर्नुपर्यो। सबैक्षेत्रमा दलाल पुँजीहावी भइरहेको छ। अर्थतन्त्र उनीहरूकै नियन्त्रणमा हुने अवस्था बनेको छ।
पुँजीवादभित्र विश्वव्यापी विकराल स्थिति देखापरेको छ, त्यसलाई मानिसलाई नियन्त्रणमा राखेको छ। अहिले त डाटा एकाधिकारवाद जन्माएको छ। जसले पुँजीवादलाई अर्को समस्यामा लैजाँदैछ। यसबाट कसरी बच्ने र समाजवादको दिशा समात्ने भन्ने नै अहिलेको चुनौती छ। महाधिवेशनले यो चुनौती चिर्ने उत्साह प्राप्त गर्नेछ।
संगीता पाख्रिन, दोलखा जिल्ला उपाध्यक्ष
विद्रोहको आलोकमा हामीले आजबाट एकीकृत समाजवादीको दसौं महाधिवेशन सुरू गर्न गइरहेका छौं। देशभरिबाट प्रतिनिधिहरू आइसक्नुभएको छ। राजनीतिक, सांगठनिक दस्तावेजहरू पारित गर्ने र त्यसले देखाएको बाटोअनुरूप संगठन र मूलतः समाजवादी आन्दोलनलाई दिशाकृत गर्ने जमर्को गर्दैछौं।
सबैलाई थाहा छ, हामी सामू ठुल्ठूला चुनौती छन्। संगठनलाई गति दिनुपर्ने, आन्दोलनमा ऊर्जा भर्नुपर्ने, कम्युनिस्ट आन्दोलनलाई आजको आवश्यकतासँग सामञ्जस्यता मिलाएर लैजानुपर्ने दायित्व छ। यसर्थ, यसको अगुवाइ कसले गर्ने? कसको नेतृत्वमा आन्दोलनलाई अगाडि बढाउनेजस्ता मूलभूत प्रश्न हामी सामू छन्।
यो महाधिवेशनले २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। २१ सदस्यीय पदाधिकारी चयन हुनेछ। यसका अतिरिक्त हामीले ४० वर्ष मुनिका २० प्रतिशतभन्दा बढी युवा केन्द्रीय कमिटीमा समेट्दैछौं। कम्युनिस्ट आन्दोलनमा अर्को एउटा नयाँ पुस्ता तयार हुँदैछ। यो महाधिवेशनले नयाँ ऊर्जा पनि ल्याउनेछ।
महाधिवेशन भन्नेबित्तिकै स्वाभाविक नेतृत्वबारे बहस हुन्छ। आकांक्षा प्रकट हुन्छ। आन्दोलनको अगुवाइ मैले गर्न पाएहुन्थ्यो भन्ने इच्छा हुनु नौलो कुरा भएन।
तर यो मामिलामा पनि हामीले फरक छाप छाड्नेछौं। उदाहरण नै स्थापित गर्नेछौं। यहाँहरूले पनि सुन्नुभयो होला, केही दिनअगाडि मात्रै पनि सातै प्रदेशका अध्यक्षहरूले नेतृत्व सर्वसम्मत टुंग्याउनुपर्छ भनेर सामूहिकरूपमा धारणा राख्नुभयो।
दस्तावेजमा एक मत देखिएको छ। कुनै पनि अन्तरविरोध देखिएको छैन। नेतृत्व पनि सर्वसम्मत नै टुंगियोस् भन्ने चाहना आम प्रतिनिधिका बीचमा देखिन्छ। यसो हुन नसकेको खण्डमा हामीले अभ्यास गर्दै आएको लोकतान्त्रिक विधि पनि छँदैछ।
हाम्रो आन्दोलनको आवश्यकता हामीले गरेको विद्रोहको पुष्टि पनि हो। यसैको आलोकमा आन्दोलनलाई नयाँ गति दिनुपर्नेछ। त्यसो हुँदा नेतृत्वमा माधवकुमार नेपालको विकल्प देखिँदैन। विद्रोहको पुष्टि भइसकेपछि र सांगठनिक आकार लिइसकेपछि नेतृत्व हस्तान्तरणको बहस सान्दर्भिक, औचित्यपूर्ण, तर्कसंगत पनि हुन्थ्यो होला।
तर आजको राष्ट्रिय राजनीतिक, अन्तर्राष्ट्रिय कूटनीति सबै हिसाबले हेर्दा माधव नेपालको बाहेक सम्भावना छैन। हामीले उहाँलाई नै सर्वसम्मत गरेर जानुपर्छ।
हाम्रो विद्रोह जायज थियो भनेर अनेक कोणबाट पुष्टि भइसकेको छ। तर राष्ट्रिय पार्टी बन्न सकेन। यसको निर्मम समीक्षा हुनुपर्छ। के कारणले राष्ट्रिय पार्टी बन्न सकेन भनेर बहस होला। अध्यक्षको हिसाबले कति जिम्मेवारी लिने भन्ने कुरा आउला। तर एक्लो अध्यक्षको प्रयासले मात्र सबैकुरा आर्जन हुने होइन। सामूहिक यत्नको पनि खाँचो पर्छ।
त्यसकारण यो महाधिवेशनले त्यस्तो सामूहिक बल आर्जन गर्नेछ, त्यसकै सामर्थ्यको आधारमा हामी राष्ट्रिय पार्टी बन्नेछौं। आउँदो चुनावमा एक्लै मैदानमा जाँदा पनि सन्तोषजनक परिणाम ल्याउनेछ भन्नेमा हामी विश्वस्त छौं।