संघीय संसद सचिवालयका कर्मचारीहरूको आन्दोलनका कारण प्रतिनिधि सभा बैठक प्रभावित हुन थालेको छ।
कर्मचारीको आन्दोलनकै कारण बुधबार पनि निर्धारित समयमा प्रतिनिधि सभा बैठक चल्न सकेन।
बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक झन्डै एक घन्टापछि सभामुख देवराज घिमिरेले सुरू गरेका हुन्।
आन्दोलनरत संसद सचिवालयका कर्मचारीहरूले सभामुख र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयलाई मध्याह्न १२ बजे अघि बैठक सञ्चालन गरे 'सहयोग नगर्ने' चेतावनी दिएका थिए। त्यसैले बैठक ढिला सुरू गरियो।
कर्मचारीहरूले अतिरिक्त समयमा काम गरेको सेवा सुविधा पाउनुपर्नेलगायत ११ बुँदे मागसहित गत जेठ २१ गतेदेखि आन्दोलन गरिरहेका छन्।
कर्मचारीका माग सम्बोधन गर्न सभामुख घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले पहलसमेत गरेका थिए। तर सरकार र कर्मचारीबीच सहमति नहुँदा त्यसको प्रभाव संसद बैठकमै देखा परेको छ।
मंगलबारको प्रतिनिधि सभा बैठकमा झन् भिन्न दृश्य देखिन्थ्यो।
संसद बैठक सुरू हुनुभन्दा अघिदेखि नै कर्मचारी धर्नामा बसेका थिए। यो कुरा प्रतिनिधि सभा बैठकमा पनि नेकपा (एमाले) का सांसद रघुजी पन्त र नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल लगायतले उठाएका थिए। कर्मचारीका माग जायज भएकोले सरकारले पूरा गर्नुपर्ने सांसदहरूको भनाइ थियो।
प्रतिनिधि सभा बैठक युटुवमा प्रत्यक्ष प्रशारण गरिन्छ।
मंगलबारको बैठक पनि प्रत्यक्ष प्रशारण गरिएको थियो। तर केहीबेरसम्म सभामुखलाई मात्र देखाइयो भने बोलेका सांसदहरूलाई देखाइएन, आवाज मात्रै सुनिन्थ्यो।
प्राविधिक कारणले यस्तो हुन पुगेको हो कि कर्मचारीहरूको आन्दोलनले हो भन्ने प्रश्न सेतोपाटीले संसद सचिवालयका कर्मचारीहरूसँग राख्दा आन्दोलनकै कारण प्रत्यक्ष प्रशारणमा केहीबेर सभामुखलाई मात्रै देखाइएको बताएका छन्।
मंगलबारको बैठकको प्रत्यक्ष प्रशारणमा कर्मचारीहरूले बोलिरहेका सांसदहरूलाई देखाउन रोकेका थिए। आकस्मिक समयको झण्डै १२ मिनेटसम्म प्रत्यक्ष प्रशारणमा सभामुख घिमिरेलाई मात्रै देखाइएको थियो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्मालाई केहीबेर देखाएपछि कर्मचारीहरुले लाइभ फिडमा सभामुखलाई मात्र देखाएका हुन्।
लगत्तै बोलेका सत्तारूढ एमाले सांसद रघुजी पन्त र हर्कमाया विश्वकर्मालाई लाइभमा देखाइएन।
संघीय संसद सचिवालय कर्मचारी युनियनका गोविन्दप्रसाद बेल्वासेले सभामुख र संसद सचिवालयका महासचिवलाई जानकारी दिएर नै संसदको लाइभ फिडमा सभामुखलाई मात्र देखाइएको सेतोपाटीलाई बताए।
'कर्मचारी आन्दोलनमा छन्, धर्नामा छन् भनेर हामीले सभामुखलाई जानकारी गराएका थियौं। तपाईंले जबरजस्ती हाम्रो आन्दोलन नसकिँदै संसद बैठक चलाएमा सिंगल भिडिओ जान्छ भनेर भनेका थियौँ', बेल्वासेले चेतावनी दिँदै भने, 'धर्नाको समयमा बैठक अघि बढाइए फेरि पनि त्यस्तै अवस्था आउँछ।'
संसदका कर्मचारीहरूले बुधबार बिहान पनि संसद भवनमा एक घन्टा धर्ना दिएका छन्। उनीहरुले बिहान ११ बजेदेखि १२ बजेसम्म संसद भवनमा धर्ना बसेका हुन्।
कर्मचारीको आन्दोलनले प्रतिनिधि सभा बैठकको प्रत्यक्ष प्रशारण भिडिओ नै रोकिने अवस्था उत्पन्न भएपछि सभामुखले बुधबार मध्याह्न १२ बजे मात्र बैठक चलाएका हुन्।
संघीय संसद सचिवालयका कर्मचारीहरूले अतिरक्त समय काम लगाए बापत अतिरिक्त प्रोत्साहन भत्ताको माग गर्दै आएका छन्।
संसदको बैठक कार्यालय समयभन्दा अघिपछि पनि बस्ने गर्छ। संसदीय समितिका बैठकहरू पनि बिहानको समयमा हुने गरेका कारण कर्मचारीहरुले कार्यालय समयको अतिरिक्त काम गर्दै आएका छन्।
संघीय संसद सचिवालय कर्मचारी ट्रेड युनियनले उठाएको मागमा सभामुख, राष्ट्रिय सभा अध्यक्षको तलब बढाउने माग पनि छ।
हाल उपसभामुख र राष्ट्रिय सभाका उपाध्यक्षको भन्दा सभामुख र अध्यक्षको तलब थोरै छ।
सरकारले विगतमा उच्च ओहोदामा रहेकाहरुको तलब छुट्टै निर्णय गरेर बढाउने भने पनि नबढाउँदा उपसभामुख र उपाध्यक्षको तलब सभामुख र अध्यक्षको भन्दा धेरै हुने स्थिति छ।
ट्रेड युनिनयले करारका कर्मचारीलाई बजेट प्रोत्साहन दिनुपर्ने र योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने, हलुका सवारी चालकलाई कार्यालय सहयोगी सरह छैटौँ तहको तलबमान कायम गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन्।
भिडिओ: