नेकपा (एमाले) ले ६६ वटा जिल्लामा अधिवेशन सकेको छ।
गैरभूगोलसम्म जोड्ने हो भने ६९ वटा जिल्लामा अधिवेशन सकिएको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए।
उनकाअनुसार एमालेमा अहिले ७७ वटा भूगोलतर्फ र चार वटा गैरभौगोलिक जिल्ला कमिटी छन्।
गैरभौगोलिकतर्फ युवा विद्यार्थीको अधिवेशन बाँकी छ। मजदुर, उद्योगी–व्यवसायी र पेशागत विशेष जिल्लाको अधिवेशन सकिइसकेका छन्।
एमालेले जेठ मसान्तभित्र अधिवेशन सक्न परिपत्र गरेको थियो। अहिलेसम्म कोशी प्रदेशका तीन (इलाम, मोरङ, तेह्रथुम) जिल्लामा अधिवेशनको मिति तोक्न बाँकी छ।
मधेस प्रदेशका सिराहा, सप्तरी र धनुषामा पनि अधिवेशनको मिति तोकिएको छैन।
गण्डकीको मनाङ, कर्णालीको डोल्पा, सुदूरपश्चिम प्रदेशको डोटी, बझाङ र अछामको अधिवेशन हुन बाँकी रहेको निर्वाचन आयोगका प्रमुख सुब्बाले बताए।
‘अधिवेशन गर्न बाँकी रहेका जिल्लाका सन्दर्भमा अब बस्ने सचिवालय बैठकले निर्णय गर्नेछ,’ उनले भने।
एमालेले २०७८ सालमा पनि देशभर एकैपटक अधिवेशन गरेको थियो। त्यतिबेला करिब २२ वटा जिल्लामा निर्वाचनमार्फत् नेतृत्व चुनिएको थियो।
अहिले २५ प्रतिशतमात्र सर्वसम्मत र बाँकीमा चुनावबाट नेतृत्व चयन भएको सुब्बाको भनाइ छ।
भूगोलतर्फ २३ वटा जिल्लामा सर्वसम्मत नेतृत्व चुनिएको छ। गैरभूगोलतर्फ पेशागत र मजदुर विशेष जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत छानिएको थियो भने उद्योगी–व्यवसायी विशेष जिल्ला कमिटीमा चुनाव भएको थियो।
बैतडी, डडेलधुरा, कञ्चनपुर, स्याङ्जा, नवलपरासी, मुस्ताङ, बागलुङ, संखुवासभा, पाँचथर, पूर्वीरूकुम, दैलेख, मुगुमा सर्वसम्मत नेतृत्व चयन भएको थियो। त्यस्तै हुम्ला, पाल्पा, दार्चुला, म्याग्दी, रुकुम पश्चिम, झापा, रामेछाप, दाङ, रूपन्देही, अर्घाखाँचीमा पनि सर्वसम्मत नै अध्यक्ष चुनिएका थिए।
‘अध्यक्षमा सर्वसम्मत भए पनि केही जिल्लामा बाँकी पदमा निर्वाचन भएको थियो। यसपटक केन्द्रबाट समूह भन्नेभन्दा पनि स्थानीय अन्तरविरोधका आधारमा प्यानल बन्ने अवस्था आयो। तर हामीले समूह बनाएर प्रतिस्पर्धा गर्न र त्यसअनुसार प्रचारप्रसारमा कडाइ गरेका थियौं,’ सुब्बाले भने।
अध्यक्ष केपी शर्मा ओलीले जिल्लामा सर्वसम्मतरूपमा नेतृत्व चयन होस् भन्ने चाहेका थिए। आफ्नो गृह जिल्ला झापाको बन्द सत्रको हलमै बसेर उनले सर्वसम्मत रूपमा नेतृत्व छान्न र चुनाव नगर्न निर्देशन नै दिएका थिए।
उनले त्यतिबेला भीम रावलका कारण दसौं महाधिवेशन थप दुई दिन लम्बिएको दाबीसमेत गरेका थिए।
‘दसौं महाधिवेशनमा एक जना साथीले अनावश्यक अर्घेल्याइँ गर्दा दुई दिन बढी समय लाग्यो। ठूलो खर्च व्यहोर्नपर्यो। आखिर परिणाम जे हुनु थियो ठ्याक्कै त्यही भयो। हुने त त्यही हो,’ रावललाई लक्षित गर्दै ओलीले भनेका थिए, ‘हुने त्यही हो, किन दुई दिन अनिँदो बस्ने? किन करोडौं खर्च गर्ने अनावश्यक? नभएको पैसा किन खर्च गर्नु!’
अध्यक्ष ओलीले प्रतिस्पर्धा गर्न तम्सिने तर परिणाम नस्वीकार्ने प्रवृत्ति रहेको र पैसा पनि खर्च हुने भन्दै नेतृत्व सर्वसम्मत छान्नुपर्ने तर्क गरेका थिए।
‘त्यहाँ महाधिवेशनले टुंग्याएपछि त त्यसले टुंगियो भनेर मान्नुपर्यो, तर त्यो नमान्ने। अनि फेरि गाउँतिर गएर हेरन मलाई यस्तो बनाइदिए भन्ने! अनि उपाध्यक्ष बस भन्दा नबस्ने। अध्यक्ष नै खान्छु भन्ने। म कहाँ छोड्छु तँलाई हटाउँछु भन्ने,’ उनले रावललाई नै लक्षित गर्दै भनेका थिए, ‘अनि ल न त हेरौं भन्दा भएन। नभएपछि मान्नु पर्यो नि परिणाम! त्यसमा चित्त नबुझाउने! यो खालका तरिकाहरूमा हामी जानु हुँदैन। संयम र धैर्य राख्नुपर्छ!’
यसपटक एमालेको जिल्ला अधिवेशनमा नवौं महाधिवेशनभन्दा अघिजस्तो केन्द्रीय गुटका आधारमा तल प्यानल खडा भएन। तर स्थानीय अन्तरविरोध भने छरपष्ट देखियो।
प्रदेशको अधिवेशनमा पनि त्यस्तै देखिएको थियो।
सातवटा भूगोलतर्फको अधिवेशनमा लुम्बिनी, बागमती, गण्डकी, कर्णाली र कोशीमा चुनाव भएको थियो। सुदूरपश्चिम र मधेसमा सर्वसम्मत नेतृत्व चुनिएको थियो।
सुदूरपश्चिममा त्यतिबेला कर्ण थापानिकट कृष्णप्रसाद जैशी अध्यक्ष चुनिएका थिए। जिल्ला अधिवेशनमा पनि थापा र दामोदर भण्डारीहरूको नाममा प्यानल खडा भएको एक नेताले बताए।
सुदूरपश्चिमका तीन जिल्लामा अधिवेशन हुन बाँकी छन्। अधिवेशन भएका जिल्लामा थापा, भण्डारी र झपट रावलनिकट अध्यक्षहरू बाँडिएर निर्वाचित भएका छन्।
कैलाली जिल्ला अध्यक्ष निर्वाचित भएका यज्ञराज ढुंगाना भण्डारी र रावल निकट हुन्। कञ्चनपुरकी लक्ष्मी बुढा महासचिव शंकर पोखरेलनिकट हुन्। उनी एमालेको अधिवेशन सम्पन्न भएका ६६ जिल्लामा अध्यक्ष निर्वाचित हुने एक्ली महिला पनि हुन्।
दार्चुला जिल्ला अध्यक्ष ज्ञानेन्द्रबहादुर घर्ती केन्द्रीय सदस्य गणेश ठगुन्नानिकट मानिन्छन्। बाजुरामा भने कर्ण थापानिकट नेता अध्यक्षमा पराजित भए। त्यहाँ निर्वाचित भएका लालबहादुर ओली लालबहादुर थापा र भण्डारी निकट मानिन्छन्।
कर्णाली प्रदेशका जिल्लामा पनि स्थानीय अन्तरविरोधै प्रभावबाट नेतृत्व नवीकृत भएको छ।
मुगुमा पार्टी स्थायी कमिटी सदस्य तथा मुख्यमन्त्री यामलाल कँडेलनिकट पूर्ण रोकाया अध्यक्षमा निर्वाचित भएका छन्।
दैलेख अध्यक्ष सूर्यबहादुर शाही गोरख बोगटीनिकट हुन्। जाजरकोटमा केन्द्रीय सदस्य नीरज आचार्यनिकट नरेन्द्रकुमार शाही अध्यक्षमा निर्वाचित भएका छन्। सल्यानमा प्रदेश अध्यक्ष गुलाबजंग शाहनिकट जिल्ला अध्यक्ष निर्वाचित भएका छन्।
सुर्खेतमा मुख्यमन्त्री कँडेलनिकट कुलमणि देवकोटा निर्वाचित भएका छन्।
लुम्बिनी प्रदेशमा उपाध्यक्ष विष्णु पौडेलनिकट नेताहरू नै जिल्ला अध्यक्षमा निर्वाचित भएका छन्। त्यहाँ पनि मुख्यरूपमा पार्टी महासचिव शंकर पोखरेल र उपाध्यक्ष पौडेलबीच वर्चस्वको लडाइँ देखियो। प्रदेश अधिवेशनदेखि जिल्ला अधिवेशनसम्म त्यसकै प्रभाव देखियो।
प्रदेश अध्यक्षमा पनि पौडेलनिकट राधाकृष्ण कँडेल नै निर्वाचित भएका थिए। लुम्बिनीमा अर्घाखाँची, गुल्मी, प्यूठान, दाङमा महासचिव पोखरेलनिकट नेता अध्यक्षमा निर्वाचित भएका छन्। बाँकी अधिकांश जिल्लामा उपाध्यक्ष पौडेलनिकट नेताहरू निर्वाचित भएर आएका छन्।
गण्डकीमा पृथ्वीसुब्बा गुरूङकै वर्चस्व देखिएको छ।
बागलुङ, म्याग्दी, गोरखा, मुस्ताङ, नवलपुर, स्याङ्जामा उपमहासचिव गुरूङनिकट नेता निर्वाचित भएका छन्।
पर्वतमा कानून न्याय तथा संसदीय मामिलामन्त्रीसमेत रहेका पदम गिरीनिकट नेता गोविन्द पहाडी अध्यक्ष निर्वाचित भएका छन्।
कास्की अध्यक्षमा स्थायी कमिटी सदस्य खगराज अधिकारीनिकट नेता निर्वाचित भएका छन्। तनहुँमा पनि अधिकारीनिकट नै अध्यक्षमा निर्वाचित भएका छन्।
बागमतीका जिल्लाहरूमा पनि स्थानीय अन्तरविरोध नै बलियो देखिएको छ। त्यसैले समूह सिर्जना गरेको र निर्वाचनसम्म पुर्याएको नेताहरू बताउँछन्।
मकवानपुरमा प्रदेश अध्यक्षमा पराजित भएका कृष्ण दाहालले समर्थन गरेका श्रीधर पोखरेल अध्यक्षमा निर्वाचित भए।
काठमाडौंमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समर्थन गरेका दीपक निरौला अध्यक्षमा दोहोरिए। उनलाई महासचिव शंकर पोखरेल पोलिटब्युरो सदस्य कृष्ण राई, केन्द्रीय सदस्य सरिता न्यौपानेलगायतको पनि समर्थन थियो। स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, पोलिट्ब्युरो सदस्य रामेश्वर फुयालले समर्थन गरेका निर्मल देउला पराजित भए।
काभ्रेपलाञ्चोकमा गोकुल बास्कोटाले समर्थन गरेका राजन भुर्तेल अध्यक्षमा निर्वाचित भए।
भक्तपुरमा महेश बस्नेतले समर्थन गरेका मोहनवीर श्रेष्ठलाई पराजित गर्दै बचन देउजा दोहोरिए। पछिल्लो समय देउजा उपाध्यक्ष पौडेलसँग नजिक छन्। जिल्ला अधिवेशनमा उनलाई प्रदेश अध्यक्ष कैलाश ढुंगेलसहितका नेताहरूको समर्थन थिएन।
सिन्धुपाल्चोकमा भने ओलीनिकट होमनारायण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन्।
धादिङमा महासचिव शंकर पोखरेलले नरुचाएका भूमि त्रिपाठी अध्यक्षमा निर्वाचित भएर आए।
ललितपुरमा भने महासचिव पोखरेलनिकट नै मानिएका पुरुषोत्तम आचार्य दोहोरिए। नुवाकोटका अध्यक्ष निर्वाचित भएका बद्री मैनाली पनि महासचिव पोखरेलनिकट नै हुन्।
मधेस प्रदेशका आठमध्ये पाँच जिल्लामा अधिवेशन सकिएका छन्। मधेसमा संस्थापन पक्ष कमजोर देखिएको एक नेताले बताए। पाँचमध्ये तीन जिल्ला बारा, रौतहट, सर्लाहीमा संस्थापन पक्षले नरुचाएका नेताहरू अध्यक्षमा निर्वाचित भएका छन्।
‘बाराको अध्यानन्द पाण्डेलाई रोक्नका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै फोन गर्नुभएको थियो। उहाँहरूले टीना सुवेदीलाई अघि सार्नुभएको थियो। माथिबाट लाइन छैन, हाम्रो समर्थन कसैलाई छैन, नेताको नाम नलिनू भने पनि आफ्ना मानिस जिताउन फोन नै गर्दा रहेछन्। अन्तिमसम्म उम्मेदवारी फिर्ता लिन लगाउँदा रहेछन्। पर्सामा हामीले उम्मेदवार नै टिकाउन सकेनौं। महोत्तरीमा त विजय जुलुस नै निकाले,’ एक केन्द्रीय सदस्यले भने।
उनकाअनुसार महोत्तरीमा बलिराम यादव र पर्सामा विश्वम्भर शर्मा संस्थापन पक्षबाट अध्यक्ष निर्वाचित भएका छन्।
कोशीका तीन जिल्लामा अधिवेशन हुन बाँकी छ। अधिवेशन भएका ११ मध्ये तीन जिल्लामा सर्वसम्मत अध्यक्ष चुनिए। बाँकीमा स्थानीय अन्तसङ्घर्षकै आधारमा प्यानल बनेको र निर्वाचन भएको एक नेताले बताए।
यद्यपि त्यहाँ पार्टी महासचिव पोखरेल, स्थायी कमिटी सदस्य शेरधन राईको नाममा नेताहरू बाँडिएका छन्।
ताप्लेजुङमा योगेश भट्टराई पक्षका बलबहादुर साम्सोहाङ जिल्ला अध्यक्षमा पराजित भए। त्यहाँ स्थायी कमिटी सदस्य राई, प्रदेश अध्यक्ष घनश्याम खतिवडा पक्षका डम्बरध्वज तुम्बाहाङ्फे निर्वाचित भए। भोजपरमा स्थायी कमिटी सदस्य राई पक्षकै मकर खड्का अध्यक्ष चुनिए। पाँचथरमा वसन्त नेम्वाङ पक्षका विष्णुप्रसाद सापकोटा निर्विरोध अध्यक्ष बनेका छन्। धनकुटामा स्थायी कमिटी सदस्य शेरधन राई पक्षलाई पराजित गर्दै शिव आङ्ला लिम्बू अध्यक्षमा निर्वाचित भए। संखुवासभामा जिल्ला अध्यक्षमा सर्वसम्मत चुनिएका खड्गबहादुर राई महासचिव शंकर पोखरेल निकट मानिन्छन्।
जिल्ला अधिवेशन नसकिँदा २०८१ को कार्ययोजना लागू हुन नसकेको एमालेले बताएको छ। जेठ मसान्तसम्म जिल्ला अधिवेशन सक्ने र असार १ गतेबाट संगठन शुद्धीकरण र सुदृढीकरण लागू गर्ने एमालेको तयारी थियो।
‘जिल्ला अधिवेशन नसकिँदा नयाँ कार्ययोजना लागू हुन अप्ठ्यारो हुन्छ नै,’ निर्वाचन आयोग प्रमुख सुब्बाले भने, ‘यसबारे पार्टी सचिवालय बैठकले निर्णय गर्नेछ।
जिल्ला अधिवेशन सकेसँगै एमालेले जिल्ला इन्चार्जहरू पनि परिवर्तन गर्ने तयारी गरेको छ। त्यस्तै केन्द्रीय नेताहरूको जिम्मेवारी पनि हेरफेर हुनेछ।