प्रतिनिधि सभाको शुक्रबारको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद कल्पना मियाँ कुसारीले सांसदहरू रक्सी खाएर संसद् बैठकमा सहभागी हुने गरेको खुलासा गरिन्।
उनले उक्त घटनाबारे विस्तृतमा नबताए पनि अघिल्लो वर्षको बजेट छलफलमा सहभागी हुन सांसदहरू रक्सी खाएर आएको खुलाइन्।
उनले यसरी रक्सी खाएर सदनमा आउने सांसदहरू को थिए भन्ने चाहिँ खुलाइनन्। तर उनले पर्वतारोही निर्मल पुर्जाको विषयमा सदनमा अनावश्यक टीकाटिप्पणी गरेको व्यक्ति नै ती सांसद भएकोसम्म दाबी गरिन्।
प्रतिनिधि सभाको शुक्रबारकै बैठकमा नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले घुमाउरो शैलीमा उक्त आरोपबारे जबाफ दिए। उनले पनि सांसदको नाम लिएनन्। तर आफूमाथि संशय पैदा गर्ने गरिएको भन्दै उनले जबाफ फर्काए।
'मैले एउटा जबाफ अथवा केही संशय पैदा गरेको कुरालाई इङ्गित गर्न चाहन्छु। अमेरिकाको डेमोक्रेटले आफ्नोबारेमा सोसलाइजेसन गर्दा रहेछन्। रिपब्लिकनहरूले आफ्नो बारमा सोसलाइजेसन गर्दा रहेछन्। त्यहाँ ड्रिंक्स पनि खान पाइन्छ। सभामुख महोदय, हाम्रो नयाँ बन्दै गरेको संसद् भवनभित्र विदेशी पाहुना आउँदा सोसलाइजन गर्ने बार निर्माण गर्ने हो कि, ध्यानाकर्षण गराउन चाहेँ,' बजगाईले भने।
बजगाईले गत जेठ २२ गते प्रतिनिधि सभाको शून्य समयमा न्यूयोर्क टाइम्समा प्रकाशित एउटा समाचारको विषय उल्लेख गरेका थिए। समाचारमा पर्वतारोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारमा संलग्न भएको आरोप महिला पर्वतारोहीहरूले लगाएका थिए।
बजगाईले पर्वतारोही पुर्जाले नेपाली शेर्पाहरूको बदनाम गरेको तथा नेपाली नागरिकता प्रयोग गरेर हिमाल चढेको तर पछि नागरिकता त्यागेको भन्दै उनलाई नेपाल आउन बन्देज लगाउनुपर्ने टिप्पणी गरेका थिए।
सांसद कुसारीले शुक्रबार सांसद बजगाईको धारणाको प्रतिवाद गर्दै देशलाई विश्वमा चिनाएका निर्मल पुर्जाबारे अनावश्यक टीकाटिप्पणी गर्न कसैलाई छुट नभएको बताएको थिइन्।
भिडिओ: